बुटवल तिलोत्तमा हाउजिङका ४० प्रतिशत घर बुकिङ, मूल्य साढे २ करोडसम्म

रुपन्देहीको तिलोत्तमा नगरपालिकामा निर्माण भइरहेको हाउजिङ परियोजना ‘तिलोत्तमा होम्स’का ४० घर बुकिङ भइसकेका छन् । लुम्बिनी अष्‍टदीप मल्टिनेशनल प्रालिले बुटवल–भैरहवा सडकको भलवारीमा एकीकृत आधुनिक सुविधा सम्पन्‍न आवास परियोजना निर्माण थालनी गरेको हो ।

दुई अर्बभन्दा बढी लगानी हुने तिलोत्तमा होम्स परियोजनाभित्र १०९ घरहरु निर्माण गरिने तिलोत्तमा होम्स परियोजनाका मार्केटिङ प्रमुख सुदिप ढकालले जानकारी दिए । लुम्बिनी अष्‍टदिपले हाउजिङमा १० धुर (५.३४ आना) र १५ धुर (८ आना) क्षेत्रफलका दुई क्याटेगोरीका भूकम्प प्रतिरोधि आधुनिक घरहरु निर्माण गरिरहेको छ । 

१५ धुर क्षेत्रफलका ४२ वटा र १० धुर क्षेत्रफलका ६७ वटा घरहरु निर्माण गर्न लागेको ढकालले बताए । उनका अनुसार, सबै घरहरु साढे दुई तलाका हुनेछन्  । १० धुरमा बनेको घरको मूल्य १ करोड ७५ लाख रुपैयाँ र १५ धुर क्षेत्रफलमा बन्‍ने घरको मूल्य २ करोड ५० लाख रुपैयाँ तोकिएको छ । 

निर्माण तिब्र गतिमा 

तिलोत्तमा होम्स परियोजना भलवारी चोकबाट डेढ किलोमिटर भित्र ६ विगाहा क्षेत्रलफलमा फैलिएको छ । यो ठाउँ बुटवल र भैरहवाको बिचमै पर्छ जहाँबाट भैरहवा र बुटवल चौराहा ९.५ किलोमिटर दुरीमा छन् । 

अहिले घरहरु निर्माणको काम तिब्र गतिमा भइरहेको ढकालले जानकारी दिए । ‘अहिले २७ वटा युनिटहरु बन्दैछन्, कतिपयको स्ट्रक्चर निर्माणको काम सकिएर प्लास्टरको काम भइरहेको छ, कतिपयको स्ट्रक्चर निर्माणको काम भइरहेको छ, कतिपयको बेसमेन्टको काम भइरहेको छ’ उनले भने, ‘हामीले तोकिएको समयमा घर तयार पारेर हस्तान्तरण गरिसक्ने लक्ष्य छ ।’

लुम्बिनी अष्‍टदिपले एकदेखि साढे दुई बर्षभित्र बुकिङकर्ता ग्राहकलाई सबै घरहरु हस्तान्तरण गरिसक्ने लक्ष्य लिएको छ । यो अवधिमा परियोजनाभित्र उपलब्ध गराउने भनिएका सम्पूर्ण सुविधाहरु पनि तयार भइसक्ने छन् ।

धमाधम बुकिङ

अहिले कम्पनीले परियोजनाभित्रका घरहरु धमाधम बुकिङ लिइरहेको छ । ढकालका अनुसार अहिलेसम्म ४० वटा घरहरु बुकिङ भइसकेका छन् । ग्राहकले १० लाख रुपैयाँ बुझाएर घर बुकिङ गर्न सक्छन् । अहिले ब्यापारी, डाक्टर, सीए लगायत प्रतिष्‍ठित व्यक्तिहरुले घर बुकिङ गरेको ढकालले जानकारी दिए ।

कम्पनीले समाजमा प्रतिष्‍ठित व्यक्तिहरु डाक्टर, इन्जिनियर, शिक्षक, व्यापारी, व्यवसायी र सर्वसाधारणलाई लक्षित गरेर हाउजिङ निर्माण गरेको हो । 

कम्पनीले बुकिङकर्तालाई पेमेन्टको सिष्‍टम पनि दिएको छ । अहिले निर्माण भइरहेका घरहरु १२ महिनाभित्र र निर्माण हुन बाँकी घरहरुका लागि १८ महिनाको सेड्युल दिइएको छ । १२ महिनाको लागि २/२  महिनाको अन्तरमा १६ प्रतिशतका दरले ५ वटा किस्तामा ८० प्रतिशत रकम बुझाउनुपर्ने हुन्छ । र, बाँकी रकम घर हस्तान्तरण गर्दा दिनुपर्छ ।

१८ महिनाको सेड्युल दिइएका बुकिङकर्तालाई ३/३ महिनाको ग्यापमा १६ प्रतिशतका दरले ५ किस्तामा ८० प्रतिशत रकम बुझाउनुपर्ने र बाँकी रकम घर हस्तान्तरण गर्दा बुझाउने व्यवस्था गरिएको छ । 

यस्तो बन्दैछ हाउजिङ 

हाउजिङ परियोजना आधुनिक सुविधा सम्पन्‍न हुने कम्पनीको दाबी छ । परियोजना परिसरभित्र खेल मैदान, बँगैचा, स्वीमिङ पुल, बास्केटबल कोर्ट, कभर्ड हल, हेल्थ क्लब, सैलुन, रेष्टुरेन्ट, योगा हल, कमर्सियल कम्पलेक्स, ग्रोसरी स्टोर, पार्क लगायत आधुनिक सुविधाहरु उपलब्ध हुनेछन् । 

पुजा आजाका लागि परियोजनाभित्रै मन्दिर समेत निर्माण गरिने छ ।

वरिपरि उपलब्ध सुविधा

भैरहवा–बुटवल आफैमा उपत्यका बाहिरका सुविधा सम्पन्‍न शहर हुन् । बुटवलले विश्‍वकै आकर्षक आवासिय सहरको पहिचान बनाउँदैछ भने भैरहवा उद्योग, व्यवसाय र पर्यटनको हब बन्दै गइरहेको छ । शिक्षा र स्वास्थ्यमा पनि बुटवल र भैरहवा निकै अग्रणी शहर मानिन्छन् । 

परियोजनाबाट ५ सय मिटरमा स्कुल, त्यसकै नजिक होटल, ३.५ किलोमिटर दुरीमा हस्पिटल रहेको रहेको छ । परियोजनाबाट करीव १४ किलोमिटर दुरीमा गौतम बुद्ध अन्तर्राष्‍ट्रिय विमानस्थल छ । बुटवल र भैरहवा शहर पनि साढे ९ किलोमिटर दुरीमा रहेको ढकाल बताउँछन् ।  

नेत्रलाल वनको नेतृत्वमा तीन जना इन्भेष्‍टरहरुले तिलोत्तमा होम्स परियोजना निर्माण सुरु गरेका हुन् । पछिल्लो समय मोफसलमा पनि व्यवस्थित आवासको माग हुन थालेपछि हाउजिङ निर्माणमा कस्सिएको ढकालले बताए ।

यदि हाउजिङका घरमा ग्राहकको आकर्षण रहेमा र बजारबाट माग आएको खण्डमा कम्पनीले अरु ठाउँहरुमा पनि एकीकृत आवास परियोजना ल्याउने तयारीमा छ । 

Sun Aug 29 2021 08:53:47 GMT+0545 (Nepal Time)