यी हुन् घरमा बत्तीको बिल घटाउने पाँच उपाय!

प्रत्येक घरमा उर्जा बचत गर्न वा घरलाई उर्जामैत्री बनाउनलाई दैनिक जीवनशैलीलाई परिमार्जन गर्नैपर्छ । 

घरमा उर्जा बचत गर्नुको मुख्य उद्देश्य भनेको बिजुलीको लागत घटाउनु हो । उर्जा बचत गर्नका लागि विभिन्‍न उपायहरुको अवलम्बन गर्न सकिन्छ । तलका केही उपाय तपाईं को घरका उर्जा बचतका लागि प्रभावकारी हुन सक्छन । 

१. दैनिक जीवनशैलीमा सुधार ल्याउने

उर्जामैत्री उत्पादनहरुको खरिद गर्नु मात्रै पनि उर्जा खपत घटाउने विकल्प होइन । तपाईको दैनिक जीवनशैली, तपाईको आचरण, स्वभावले बढि महत्व राख्छ । 

घरमा अतिरिक्त लाइटहरु प्रयोगको आवश्यकता नहुँदा अफ गर्ने र अन्य विद्युतिय उपकरणहरु पनि आवश्यक नपरेको समयमा बन्द गरेर राख्‍नाले पनि उर्जा बचाउन सकिन्छ । यसरी थोरै थोरै गर्दै महिनामा धेरै मात्रामा उर्जा बचत हुने गर्छ । 

प्रविधिको बढ्दो विकाससँगै मानिसहरु सजिलोभन्दा सजिलो तरिका अपनाउँदै परनिर्भर बन्दै गएको पाइन्छ । आफैले गर्न सकिने कामहरु पनि उपकरणको प्रयोगबाट गर्दै विलासी बन्दै गएको पाउँछौ । यस्ता उपकरणले मानिसलाई अल्छि बनाउनुको साथै उर्जाको पनि धेरै खपत गर्छ । 

यी उपकरणहरु हाम्रो जीवनशैलीलाई छिटो र सहज पार्न बनेका हुन्, हाम्रो क्षमता नाश गर्न बनेका होइनन् । त्यसैले शरीरले नसक्दा, छिटो काम सम्पन्न गर्नुपर्ने हुँदा यिनको प्रयोग गर्नु उचित हुन्छ । 

सामान्यावस्थामा हामी आफ्नो कपडा वासिङ मेशिनमा धुनुको बदलामा हातले नै धुन सक्छौ र धोएको कपडालाई ड्रायर मेशिनमा राख्नुको सट्टा घाममा सुकाउन सक्छौ । यसरी दैनिक जीवनशैलीमा परिमार्जन गर्दा पनि धेरै हदसम्म उर्जा बचत गर्न सकिन्छ ।

२. लाइट बल्ब परिवर्तन गर्ने

कतिपय घरमा अझै पनि परम्परागत शैलीका बल्बहरु राख्‍ने गरेको पाइन्छ । बल्ब नबिग्रेसम्म वा नजलेसम्म हामीलाई अर्को फेर्न जागर चल्दैन । त्यस्ता बल्बहरु उच्च वाटको हुन्छ र धेरै बिजुली खपत गर्छ । साथै यसले उज्यालो कम दिनुको साथै आखालाई पनि असर गर्छ । 

अहिले बजारमा कम भन्दा कम उर्जा खपत गर्ने सि.एफ.एल बल्ब र एल.इ.डि. बल्बहरु किन्‍न पाइन्छ । यी बल्बले उर्जा बचत गर्नुको साथै अधिक प्रकाश दिने गर्छ । यस्ता बल्बले ७०–८० % सम्म उर्जा बचत गर्छ र लामो समयसम्म टिकाउ पनि हुने गर्छ ।

३. एअर कण्डिशनरको उचित प्रयोग गर्ने

घरमा प्रयोग हुने उपकरणहरु मध्ये एअर कण्डिशनर उच्च बिजुली खपत गर्ने उपकरणमा पर्छ । यसको उचित रुपमा प्रयोग गर्नुपर्छ । अनियन्त्रित तवरले यसको प्रयोग गर्नाले बिजुलीको बिल अनपेक्षित तरिकाले धेरै आउन सक्छ । 

गर्मी मौसममा अनवरत रुपमा यसको प्रयोग हुनसक्ने हुँदा कम मात्रामा राखेर चलाउनुपर्छ । सधै चलिरहने बेलामा यसलाई २४–२६ डिग्री सेल्सियसमा राखेर चलाउँदा पनि कोठा शितल राख्‍न सकिन्छ । 

घामको प्रकाश हाम्रो स्वास्थ्यको हिसाबले फाइदाजनक भए पनि यसको अधिक प्रवेशले कोठाको भित्री तापक्रम एकदम बढ्ने गर्छ । यस्तो अवस्थामा एअर कण्डिशनरको तह बढाएर चलाउनुभन्दा अनावश्यक प्रकाश र न्यानोपनलाई कोठामा पर्न नदिनका लागि पर्दा बन्द गर्नु उचित हुन्छ । 

तेज गतिमा एअर कण्डिशनर चलाउनुभन्दा यसलाई मध्यम गतिमा चलाउनाले तपाईको बिजुलीको मासिक बिल १०–१५ % सम्म घट्न सक्छ ।

४. उर्जामैत्री उपकरणहरुको प्रयोग गर्ने

विश्‍वव्यापी रुपमै निकट भविष्यमा उर्जा संकट आउन सक्ने कुरालाई मध्यनजर गर्दै अहिले विभिन्‍न प्रतिष्‍ठित उत्पादन कम्पनीहरुले उर्जा समाधानको विकल्पको रुपमा उर्जा मैत्री उत्पादनहरुको विकास गर्दै आइरहेका छन् । 

सामान्यतयाः घरायसी उपकरणहरुले कुल बिजुलीको १३ % सम्म खपत गर्छ । उर्जा मैत्री उपकरणको खरिद मूल्य बढि भए पनि यसको सञ्‍चालन खर्च भने कम पर्न जान्छ । यी उपकरणले सामान्य उपकरणको तुलनामा २५ % सम्म कम बिजुली खपत गर्छ । यस किसिमको उपकरणमा स्मार्ट सेन्सर जडान गरिएको हुन्छ जसले उर्जा बचत गर्छ ।

५. उर्जा खेर जानबाट रोक्ने

घरमा उर्जा बचत गर्ने सबैभन्दा सरल र सहज उपाय भनेको उर्जा खेर जानबाट रोक्नु नै हो । 

हामीले घरको सबै ठाँउमा कहाँकहाँ बढि बिजुली खपत भइरहेको छ भनेर ध्यान दिनुपर्छ । जस्तो कि बैठक कोठामा कति वटासम्म लाइटको आवश्यकता रहन्छ र त्यहाँ कतिवटा लाइट जडान गरिएको छ भनेर विचार पुर्याउनुपर्छ । 

अनावश्यक र अतिरिक्त लाइट भेटिएमा त्यसलाई हटाई त्यसमा आएको बिजुलीको जडान पनि बिच्छेद गर्नुपर्छ । 

अर्को हामीले बेवास्ता गर्ने पक्ष भनेको कुनै पनि उपकरण प्रयोगमा नआउँदा बन्द त गर्छौ तर त्यसको प्लग छुट्याउने काम चाहिँ गर्दैनौ । उपकरण बन्द भएपनि प्लग अन हुँदा बिजुली प्रवाह भईरहेको हुन्छ । तसर्थ उपकरण बन्द गरेसँगै त्यसको प्लग निकाल्ने अथवा प्लग जोडिएको सकेट बक्सको स्वीच अफ गर्ने बानी बसाल्नुपर्छ ।

यसैगरी अन्य स–साना उपकरणहरु जस्तो कि मोबाइल फोन चार्जर, हेयर ड्रायर, टेलिभिजन, भान्सामा प्रयोेग हुने विद्युतिय उपकरणहरु पनि प्रयोगमा नआउँदा स्वीच अफ गर्ने वा प्लग छुट्याउने गर्नुपर्छ ।

यसरी माथि बताइएका सुझावको पालना गरी उर्जा बचत गर्दा तपाईको पैसा पनि बचत हुन्छ र विश्‍वव्यापी उर्जा संकटको समस्यालाई कम गर्न तपाईको तर्फबाट प्रत्यक्ष वा अप्रत्यक्ष योगदान पनि रहन जान्छ ।

Sun Sep 05 2021 08:54:55 GMT+0545 (Nepal Time)