घर खरिद गर्ने क्रममा कुराकानी हुँदा कार्पेट एरिया, बिल्टअप एरिया, सुपर बिल्टअप एरिया जस्ता शब्दहरु आउँदा प्रायः खरिदकर्ताहरु अलमलमा पर्छन् ।
तपाइले किन्न लागेको घरको मूल्य निर्धारण हुने मुख्य आधार भने घरको क्षेत्रफल हो, जसलाई बुझाउन यी शब्दहरुको प्रयोग हुन्छ ।
घर खरिद गर्न वा बनाउन लागेका धेरैलाई कार्पेट एरिया, बिल्टअप एरिया र सुपर बिल्टअप एरियाको बारेमा जानकारी नहुने गरेको अजिरा बिल्डर्सका सञ्चालक एवं सभिल इञ्जिनियर अनुप ढुंगाना बताउँछन् ।
‘यी तीन शब्दहरुका बारेमा धेरैलाई जानकारी भएको पाइन, कतिपयले बिल्टअप एरिया र कार्पेट एरियाका बारेमा सुनेका हुन्छन्, तर बास्तवमा फरक चाहीँ के हो भन्ने धेरैलाई थाहा हुँदैन’ उनले भने, ‘अलिकति टेक्निकल शब्द भएर पनि होला, ग्राहकहरुलाई यसको अर्थ बुझाउन पनि धेरै अप्ठ्यारो नै हुन्छ, तर बुझ्दै नबुझ्ने भन्ने होइन ।’

हरेक आवासिय घरको क्षेत्रफल अथवा वर्ग फुटको मापन गर्दा माथि बताइएका तीन वटा पक्षबाट गर्ने गरिन्छ । झट्ट सुन्दा उस्तै सुनिएपनि कार्पेट एरिया र बिल्टअप एरियामा धेरै भिन्नता छ ।
कार्पेट एरिया भनेको के हो ?
ढुंगानका अनुसार, सरल भाषामा भन्नुपर्दा घरको कोठाहरु वा अपार्टमेन्टको भुईमा कार्पेट बिछ्याउन मिल्ने क्षेत्रलाई कार्पेट एरिया भनिन्छ जसमा सबै प्रकारका रुमहरु, किचन, डाइनिङ, लिभिङ र ट्वाइलेट बाथरुम पर्छन् ।
यसलाई प्रयोग योग्य क्षेत्र भनेर पनि बुझ्न सकिन्छ । अर्थात, लिभिङ एरिया । बाहिरी पर्खालले ढाकेको क्षेत्र बाहेक भित्री पर्खाल वा पार्टेशनले ढाकेको क्षेत्रलाई कार्पेट एरिया भनिन्छ, जहाँ कार्पेट बिछ्याउन सकिन्छ ।
अर्थात्, घर भित्रको प्रयोग योग्य क्षेत्र हो कार्पेट एरिया ।
कार्पेट एरियामा वालको मोटाई वा क्षेत्रफल, प्यासेज, सिँढी, आगन, लबी, लिफ्ट लगायत क्षेत्रहरु पर्दैनन् । कार्पेट एरिया मापन गर्ने सरल तरिका भनेको बेडरुमको क्षेत्रफल, लिभिङ रुमको क्षेत्रफल, बाल्कोनी र बाथरुमको क्षेत्रफल जोडेर त्यसमा भित्री पर्खाल (वाल)को भाग घटाउँदा आउने क्षेत्रफललाई मान्न सकिन्छ ।
‘यदि सिँढी पनि घरभित्र छ र डुप्लेक्स डिजाइनको घर हो भने त्यो कार्पेट एरियामा काउन्ट हुन्छ’ ढुंगानाले भने, ‘भाडामा दिने गरी बाहिरबाट सिँढी बनाएर फ्ल्याट बनाइएको छ भने सिँढीलाई कार्पेट एरियामा काउन्ट गरिँदैन ।’
कार्पेट एरिया र घर खरिदकर्ता
घर खरिदकर्ताहरुलाई कार्पेट एरियाको अवधारणा प्रति दुविधा हुँदा निकै समस्या उत्पन्न हुन सक्छ । खरिदकर्ताले आफूले चुकाएको मूल्यको बदलामा कति क्षेत्र प्राप्त गर्छ भन्ने कुरा एकदमै महत्वपूर्ण हुन्छ । त्यसैले क्षेत्रफलको मापन वा गणना प्रोपर्टिको मूल्यको निर्धारक तत्व हो ।
डेभलपरहरुले पनि प्रोपर्टि निर्माण गर्दा सकभर कार्पेट एरियालाई ठूलो बनाउने गरी डिजाइन गरेका हुन्छन् । कार्पेट एरियामा विशेष ध्यान दिँदा प्रोपर्टी बिक्री हुने सम्भावना पनि बढ्छ । कार्पेट एरिया बढि हुँदा प्रोपर्टिको मूल्य पनि बढि हुन्छ र कार्पेट एरिया सानो हुँदा मूल्य पनि केहि हदसम्म कम हुनुपर्छ ।
जग्गा किन्दा मापन गरिने क्षेत्र र घर किन्दा मापन गरिने क्षेत्रको तरिका फरक हुन्छ । निर्माण भएको भौतिक संरचनामा प्रयोग योग्य क्षेत्र वा खाली ठाउँ मापन गर्न कार्पेट एरिया मापन आवश्यक पर्छ । कतिपय एजेन्टहरुले खरिदकर्तालाई गलत जानकारी दिने, क्षेत्रफल यति ठूलो आकारको छ भनेर भ्रममा पार्ने गरेको पनि पाईन्छ । त्यसैले आफू नझुक्किनका लागि पनि कार्पेट एरियाबारे बुझ्न आवश्यक पर्छ ।

घर बनाउने वा खरिद गर्ने ग्राहकहरु सबैले कार्पेट एरियामा डिल नगर्ने गरेको सिभिल इञ्जिनियर ढुंगानाको अनुभव छ । यसतर्फ धेरैमा अवायरनेस कम देखिन्छ । ‘तर, कतिपयले भने घरको डिजाइन गर्दा कार्पेट एरिया कति आयो भनेर सोध्नुहुन्छ, तर यसरी कार्पेट एरिया सोध्ने मान्छेको संख्या चाहीँ एकदम थोरै नै हुन्छ, धेरैको चासो घरको डिजाइन कस्तो बन्यो भन्नेमा रहन्छ’ उनले भने, ‘खासगरी, घरजग्गा खरिद बिक्री र निर्माणमा संलग्न हुनेहरुलाई यस्ता शब्दहरु अलि बढी थाहा हुने गरेको पाएको छु ।’
कार्पेट एरियामा समावेश हुने क्षेत्रहरु
कार्पेट एरियामा समावेश नहुने क्षेत्रहरु
कार्पेट एरियाको मापन
प्रायः जसो घरको बिल्ट अप एरियाको ७० प्रतिशत भाग कार्पेट एरिया हुन्छ । जस्तो कि कुनै प्रोपर्टीको बिल्टअप एरिया २ हजार वर्ग फुट रहेको छ भने त्यसको कार्पेट एरिया १४ सय वर्ग फुट हुनुपर्छ ।
कार्पेट एरिया बारे कसरी निश्चित हुने ?
तपाईले हाउजिङ सोसाइटिमा घर किन्दा वा अपार्टमेन्ट किन्दा बिल्डर वा डेभलपरले सो युनिटको कार्पेट एरियाबारे बताउँछन् । तर, आफूले पनि कोहि विज्ञलाई साथमा लगेर सो क्षेत्रको मापन गर्नु उचित हुन्छ ।
कार्पेट एरियाले घर बास्तवमा कत्रो रहेछ, घरमा प्रयोग गर्न मिल्ने ठाउँ कति रैछ भन्ने बारेमा राम्रो जानकारी दिने हुँदा घरको डिजाइन, आकार, प्रकार सुविधाहरुमा जस्तै घरको कार्पेट एरियाबारे पनि उत्तिकै सतर्क भएर चासो दिनुपर्ने ढुंगाना सुझाव दिन्छन् ।
यदि तपाईले होम लोनको लागि प्रक्रिया बढाउनुभएको छ भने बैंकको प्रतिनिधीले गएर सो प्रोपर्टिको निरीक्षण गर्छन् । बिल्डरले भनेको र बैंकको प्रतिनिधीले जाँचेको कार्पेट एरियाको मापन फरक परेमा बिल्डरसँग मूल्यमा बार्गेनिङ गर्न सक्नुहुन्छ ।
प्रोपर्टि किन्दा याद गर्नुपर्ने कुरा भनेको तपाईलाई कार्पेट एरिया बुझ्न झर्को लाग्छ भन्दैमा बिल्ट अप एरियाबारे मात्र बुझ्नु ठिक होइन । भोलि दैनिक जीवनमा प्रयोग हुने क्षेत्र कार्पेट एरिया नै हो ।
बिल्टअप एरिया भनेको के हो ?
बिल्टअप एरिया भनेको तपाईको घर वा अपार्टमेन्टको कार्पेट एरियामा भित्री पर्खाल र बाल्कोनीको क्षेत्रफल जोडेर निस्किने गणना हो । प्रायः घर वा अपार्टमेन्टको ३० प्रतिशत हिस्सा भित्री पर्खाल र बाल्कोनीमा प्रयोग भएको हुन्छ । यसको मतलब यदि कुनै प्रोपर्टिको बिल्ट अप एरिया १००० वर्ग फुट छ भनेर तपाईलाई कुनै एजेन्टले भन्यो भने कार्पेट एरिया अर्थात प्रयोग योग्य एरिया ७०० वर्ग फुट भन्दा धेरै हुँदैन ।

ढुंगाना भन्छन्, ‘बिल्टअप एरिया भनेको कार्पेट एरियामा वालले लिएको ठाउँ र बाल्कोनी पनि थपेर आउने क्षेत्रफल हो, फ्ल्याट सिष्टमको घरमा सिँढीको भाग पनि बिल्टअप एरिया जोडिन्छ ।’
बिल्ट अप एरियामा समावेश हुने क्षेत्रहरु
बिल्टअप एरियामा समावेश नहुने क्षेत्रहरु
सुपर बिल्टअप एरिया भनेको के हो ?
हाउजिङ सोसाइटी अन्तर्गत धेरै सामूहिक उपयोगका क्षेत्रहरु हुन्छन् । ती साझा सेवा तथा सुविधाकोे मर्मत खर्च र उपयोग गरे बापतको केहि निश्चित रकम मासिक रुपमा बुझाउनुपर्ने हुन्छ ।
त्यस्ता सामुदायिक आवासमा प्रोपर्टि खरिद गर्दा ती साझा रुपमा प्रयोग गरिने सेवा तथा सुविधा र त्यसको भौतिक संरचनाको पनि केहि मात्रामा पैसा तिर्नुपरेको हुन्छ । खरिदकर्तालाई प्रोपर्टि बेच्दा कार्पेट एरियामा ती क्षेत्रबारे उल्लेख गरिएको हुँदैन । किनभने यो अपार्टमेन्ट वा घरको वाल भन्दा बाहिरका संरचना हुन् ।
‘सुपर बिल्टअप एरिया बिशेषतः सामूहिक आवास परियोजना हाउजिङ र अपार्टमेन्टमा बढी प्रयोग हुन्छ’ ढुंगानाले भने, ‘साझा उपयोगका क्षेत्रलाई समेत जोडेर मापन गरिने क्षेत्रलाई सुपर बिल्टअप एरिया भनिन्छ । यस अन्तर्गत लिफ्ट, करिडोर, लबी, सिँढी, गार्डेन, पुल, पार्किङ, क्लब लगायत पर्छन् ।’
कतिपय अवस्थामा साझा रुपमा उपयोग गरिने सुविधाहरु जस्तो कि स्वीमिङ पुल, गार्डेन, क्लबहाउस आदिलाई पनि सुपर बिल्ट अप एरियामा समावेश गरिएको हुन्छ ।
सुपर
बिल्ट अप एरियाको मापनबाट प्रोपर्टि डिल गर्दा क्षेत्रफल धेरै बताउन सकिने र प्रति वर्ग फुटको मूल्य केहि कम राखे जसरी खरिदकर्तालाई आकर्षित पार्न वा प्रभावित पार्नका लागि आजकल कतिपय ठाँउमा सुपर बिल्ट अप एरियाको पद्धती अपनाउने गरेको पाइन्छ ।
सुपर बिल्टअप एरिया यति भनेर मापन गर्दा खरिदकर्तामा गलत बुझाई पर्न पनि जान्छ । उदाहरणको लागि यो प्रोपर्टिको सुपर बिल्टअप एरिया २ हजार वर्गफुट छ भन्दा खरिदकर्ताले आफूले किन्न लागेको प्रोपर्टिको आकार भनेर बुझ्न सक्छन् । तर, त्यो उनीहरुले प्राप्त गर्ने एरिया होइन । यो त बिल्ट अप एरियामा अन्य साझा क्षेत्रहरु समेत जोडेर गरीने गणना हो ।
मानौ कुनै अपार्टमेन्टको कार्पेट एरिया १००० वर्ग फुट छ र त्यसको बिक्रि मूल्य २० हजार प्रति वर्ग फुट भनेर राखियो भने सो अपार्टमेन्टको मूल्य २ करोड पर्न जान्छ ।
तर त्यहि अपार्टमेन्टको मार्केटिङ गर्दा सुपर बिल्ट अप एरिया १३०० वर्ग फुट र बिक्रि मूल्य १८ हजार प्रति वर्ग फुट भनेर गरियो भने सुन्दा खेरी सस्तो लाग्न सक्छ । तर वास्तवमा त्यहि अपार्टमेन्टको मूल्य यसरी मापन गर्दा २ करोड ३४ लाख पर्न आउँछ ।
बिल्डर वा डेभलपरहरुले खरिदकर्तालाई आकर्षित गर्न भिन्नभिन्न रणनीति अपनाउन सक्छन् । त्यसैले सुपर बिल्टअप एरिया भनेको के हो राम्रोसँग बुझ्नुपर्छ । सुपर बिल्टअप एरिया गणना गर्दा प्रत्येक घर अथवा अपार्टमेन्टको बिल्ट अप एरियाको आधारमा साझा क्षेत्रहरुलाई अनुपात मिलाएर त्यसमा जोडिन्छ ।
सुपर बिल्ट अप एरियामा समावेश हुने क्षेत्रहरु
प्रोपर्टि खरिद गर्दा आफूले प्रयोग गर्न सकिने क्षेत्रको यकिन गर्न कार्पेट एरिया कति छ भनेर सोधखोज गर्नुपर्छ । त्यसपछि मूल्यमा बार्गेनिङ गर्ने, नेगोसियसन गर्नुपर्छ ।
यदि कुनै एजेन्ट वा बिल्डरले प्रोपर्टिको मूल्य तोक्दा कार्पेट एरियाको आधारमा तोकेको हुन्छ भने पक्कै पनि प्रति वर्ग फुटमा उच्च मूल्य राखेको हुन्छ । किनभने उसले बिल्टअप एरिया र सुपर बिल्टअप एरियालाई ढाकछोप गर्न खोजेको हुन्छ ।
तपाईले निर्णय लिनुअघि वा खरिद गर्नुअघि त्यस क्षेत्रमा रहेका त्यस्तै खालका अन्य प्रोपर्टिको बारेमा बुझेर उसले राखेको मूल्य उचित हो वा होइन भन्ने कुरा निश्चित गर्नुपर्छ । यदि मूल्य अनुचित र असान्दर्भिक रहेछ भने तपाईले मूल्य घटाउनको लागि कुराकानी गर्न सक्नुहुन्छ ।
