तपाईको सानो बेडरुमलाई फराकिलो बनाउने केही उपायहरु

प्रायः सबैलाई आफ्नो घर ठूलो र त्यसका कोठाहरु फराकिला हुन् भन्‍ने चाहना हुन्छ । तर यदि तपाई महानगरपालिका वा नगरपालिकाका शहरमा बस्‍नुहुन्छ भने ठूला कोठा भएको घर विरलै पाइन सक्छ ।

जनघनत्वको चाप, घरजग्गाको उच्च मूल्य वृद्धिको कारण र नाफा आर्जनको उद्देश्यले मानिसले सानो क्षेत्रफलमा पनि धेरै कोठाहरु समेटेर घर बनाउन थालेका छन् । त्यसैले सानो कोठामा संकुचित भएर बस्‍ने अवस्था छ शहरका घरहरुमा  तर तपाईले बेडरुम सानो छ भनेर चिन्ता लिनुपर्दैन ।

हामी तपाईका लागि उपयोगी सुझावहरु दिदैछौँ जसको पालनाले तपाईले आफ्नो साँघुरो बेडरुमलाई चिटिक्क र फराकिलो बनाउन सक्नुहुन्छ । साना बेडरुमलाई डेकोरेट गरी सिमित ठाँउको सदुपयोग गरी आकर्षक र फराकिलो बनाउने सुझाव बारे चर्चा गरौ ।

सानो बेडरुमको ठाँउ बचाएर सजावट गर्ने उपाय

ठूलो क्षेत्रफलको बेडरुम भएर मात्रै त्यसले विलासी जीवनशैलीको प्रत्याभुति प्रदान गर्दैन । बेडरुम जति नै सानो भएपनि त्यसलाई फराकिलो र आकर्षक बनाउने धेरै तरिकाहरु छन् । तपाईले त्यस बेडरुममा प्रयोग नहुने हरेक सामान बाहिर हटाएर, हावा र प्रकाश छिर्ने वातावरण बनाएर, सुहाउँदो रङहरु लगाएर आफ्नो बेडरुमलाई फराकिलो र चिटिक्क पार्न सक्नुहुन्छ । दिनभरी काम गरेर थाकेर घर आउदा तपाईको शारीरिक तथा मानसिक थकान मेटाई आनन्दको महशुस गराउन सक्छ यस्तो बेडरुमले ।

तपाईले सानो बेडरुमलाई कुशल तरिकाले सजाएमा आकर्षक र फराकिलो देखाउन सकिन्छ । यसका लागि तल दिइएका बुदाँहरुको पालना गर्न सकिन्छ ।

१. सामान नदेखिनेगरी बेडमुनि राख्‍ने 

बेडरुम सानो आकारको छ भन्दैमा किङ साइज बेड राख्‍नै नमिल्ने भन्‍ने हुदैन । ठाँउको सदुपयोग गर्ने राम्रो उपाय भनेको बेड मुनिको भागको प्रयोग गर्नु हो । अहिलेका बेडहरुमा प्लाईवुड निकालेर वा घर्रा तानेर मुनि धेरै सामानहरु राख्‍न मिल्ने गरी व्यवस्था गरिएको हुन्छ । त्यसमा ओछ्यानको सिरक, कम्बल, अफ सिजनको कपडाहरु राख्‍न सकिन्छ ।

यस्तै अन्य सामानहरु पनि बेड मुनि राख्‍न सकिन्छ । बेडमुनी सामान राख्दा भण्डारणको समस्या पनि समाधान हुन्छ र हेर्दा पनि भद्रगोल देखिँदैन ।

२. सिमित सामान मात्र राख्‍ने

आवश्यकता भन्दा बढि सामान बेडरुमभित्र राख्नु हुँदैन । त्यसो हुँदा बेडरुम नराम्रो देखिन्छ । दैनिकरुपमा कोठामा सामान बढ्दै जाने र त्यसले ठाँउ ओगट्दै जादा अशोभनिय देखिन्छ । त्यसकारण आवश्यक सिमीत सामानहरुलाई मात्र राख्‍ने र पुराना प्रयोगमा नआउने सामान हटाउनुपर्छ । हप्तामा एक दिन कोठाको सामानहरुको व्यवस्थापन गर्ने बानी बसाल्नुपर्छ ।

३. सादा रंगको प्रयोग गर्ने
बेडरुमको भित्ताहरुमा अलग अलग रंग लगाउँदा कोठा खुम्चिए जस्तो देखिन्छ । बेडरुमको वालहरुमा एउटै मात्र रंग लगाउनुपर्छ । हेर्दा खेरी आँखालाई शीतलता प्रदान गर्ने रंग प्रयोग गर्नुपर्छ । वालमा सहि रंगको प्रयोग गर्नु महत्वपूर्ण कुरा हो । सानो बेडरुममा सादा वा क्रिम कलर लगाउनु  उचित हुन्छ । सादा रंगले कोठालाई फराकिलो र आकर्षक देखाउन मद्दत गर्छ ।

४. ठाडो र अग्लो फर्निचरको प्रयोग गर्ने

सानो बेडरुममा ठाँउ पनि स्वभाविक रुपमा साँघुरो नै हुन्छ । ठाँउको सदुपयोग गर्न र आफ्नो सामानहरुलाई व्यवस्थित रुपमा मिलाएर राख्‍न अग्ला फर्निचरको प्रयोग गर्नुपर्छ । फराकिलो भन्दा अग्लो र ठाडो दराज राख्‍नाले थोरै ठाँउ ओगटि धेरै सामान राख्‍ने क्षमता वृद्धि हुन्छ । यसै गरी वालमा पनि र्याक जडान गर्न सकिन्छ । वालमा र्याक राख्दा वालमा र र्याकमा एउटै रंगको प्रयोग गर्दा आकर्षक देखिन्छ ।

५. ठूलो ऐना राख्‍ने 
आफ्नो बेडरुमलाई सुन्दर देखाउनको लागि तपाईले एउटा ठूलो ऐना राख्‍न सक्नुहुन्छ । ऐनाले कोठालाई ठूलो र फराकिलो भएको आभास दिलाउँछ । बेडरुमको कुन भागमा ऐना सुहाउँछ सो कुरा विचार गरेर वालभरीको ऐना राख्‍न सकिन्छ । ऐनामा सिलिङ र कोठाको फ्लोर प्रतिबिम्वित भई बेडरुमको क्षेत्रफल ठूलो देखिन सक्छ ।

६. बेडको छेउमा वाल लाइट राख्‍ने

टेबल लाइटले भन्दा वाल लाइटले थोरै ठाँउ ओगट्छ । बजारमा विभिन्‍न डिजाइनका लाइटहरु पाइन्छन् । बेडरुममा सुहाउने र स्टाईलिश देखाउने लाइटको प्रयोग गर्नुपर्छ । बेडको दुबै पट्टिको भागमा समानान्तर हुने गरी वाल लाइट राख्नुपर्छ । यसरी लाइट राख्दा सबैतिर समान प्रकाश पर्ने र पढ्ने लगायत अन्य केहि काम गर्दा सहज हुन्छ । यसरी बेडको छेउमा लाइट जडान गर्दा उज्यालो बढाउनुको साथै डेकोरेशनमा प्रभावकारी नतिजा आउन सक्छ ।

७. सानो चिटिक्कको फर्निचर प्रयोग गर्ने 

बेडरुममा प्रयोग गरिने फर्निचरहरु चिटिक्कको सानो हुनुपर्दछ । जसको कारण बेडरुममा फर्निचरले नै धेरै ठाँउ ओगट्न सक्दैन, र तपाईको बेडरुम फराकिलो देखिन्छ । प्रविधीको विकाससँगै मानिसलाई सहज होस भनेर अहिले बजारमा नँया नँया खालका फरक विशेषता भएका फर्निचरहरु पनि निर्माण हुन थालेका छन् । मल्टिपर्पोज फर्निचर बनाएर प्रयोग गर्न सकेमा सानो ठाँउलाई पनि आकर्षक र व्यवस्थित गर्न सकिन्छ ।

कुनै फर्निचरलाई फोल्ड गर्ने खोल्ने गरेर त्यसैलाई आवश्यकता अनुसार टेबलको रुपमा प्रयोग गर्ने, बेडको रुपमा प्रयोग गर्ने गरी बनाउन सकिन्छ । फोल्ड गर्न मिल्ने फर्निचरलाई प्रयोगमा नआउँदा फोल्ड गरेर राख्‍न सकिन्छ । यसरी बेडरुम खुल्ला र फराकिलो रहन सक्छ । यस्ता फर्निचरको प्रयोगले पनि सानो बेडरुममा सिमित फर्निचरलाई बहुउपयोगी बनाउन सकिन्छ ।

Wed Sep 15 2021 19:21:59 GMT+0545 (Nepal Time)