भान्छाकोठामा काठको फ्लोरिङ: हेर्नुहोस् फाइदा र बेफाइदा

काठको फ्लोरिङले न्यानो प्रदान गर्ने भएकोले आजकल धेरै मानिसले घरका भुइँमा काठको फ्लोरिङ गर्ने चलन बढ्दो छ । काठको फ्लोरिङले घरमा विशेष किसिमको आकर्षण पनि बढाउँछ । तर, फ्लोरिङ पेशाकर्मी र विज्ञहरुले चिसो आउने ठाउँमा काठको फ्लोरिङ नगर्न सुझाव दिने गरेको पाइन्छ । 

धेरैजसो कम्पनीहरुले बाक्लो काठको फ्लोरिङको फिनिसिङ पानी प्रतिरोधी हुन्छ भनेर दाबी गर्छन् तर कुनै पनि उत्पादनकर्ताले काठको फ्लोरिङ पूर्णरुपमा पानी प्रतिरोधी हुन्छ भनेर निश्‍चित गर्न भने सक्दैनन् ।
अन्य कोठाको तुलनामा भान्सा कोठामा चिस्यान आउने र ओस पलाउने सम्भावना ज्यादा भएता पनि बाथरुममा जस्तो धेरै पानी भने हुँदैन । त्यसैले भान्सा कोठाको भुईमा काठको फ्लोरिङ सम्भव छ । तर तपाईले भान्सामा काठको फ्लोरिङ गर्ने निर्णय लिनुपूर्व यसका फाइदा र बेफाइदाबारे बुझ्‍न अपरिहार्य छ ।

किचेनमा काठको फ्लोरिङ उपयुक्त छ त ?

यदि तपाई भान्सा कोठामा काठको फ्लोरिङ गर्ने सोंचमा हुनुहुन्छ भने धेरै कुराहरुमा विचार पुर्याउनुपर्छ । के तपाईको घरमा साना बच्चाहरु छन् जो हरदम चकचक गरिरहन्छन् ? यदि छन् भने निश्‍चय नै उनीहरुले भान्सामा पनि चकचक गर्छन् । यसरी भान्सामा पानी पोखिने र चिप्लिएर दुर्घटना हुन सक्छ । यस्तो अबस्थामा काठको फ्लोरिङ उचित हुँदैन । यस्तै तपाईको घरको भान्सासँगै कौसी छ भने पनि मानिसहरु भिजेको खुट्टा लिएर भान्सामा बढि आवतजावत गर्न सक्छन् ।

तपाईले भान्सा कोठा कसरी प्रयोग गर्नुहुन्छ, त्यसअनुसार काठको फ्लोरिङको औचित्य निर्भर रहन्छ । काठको फ्लोरिङलाई लामो समयसम्म टिकाइराख्‍न र यसको सौन्दर्य जोगाइराख्‍नको लागि केहि आवश्यक सावधानी अपनाउनुपर्छ । अब काठको फ्लोरिङको फाइदा र बेफाइदाको चर्चा गरौं । यस पश्‍चात पक्कै पनि तपाईलाई सार्थक निर्णय लिन मद्दत पुग्‍नेछ ।

भान्सामा काठको फ्लोरिङ राख्दाका फाइदाहरु:

आकर्षण

काठको फ्लोरिङको चमक र आकर्षण मनमोहक हुने कुरामा शंकै छैन । यसले भान्सा कोठाको स्वरुपमा निखार त ल्याउँछ नै, भान्सालाई विलासी देखाउन पनि सघाउ पुर्याउँछ । काठको फ्लोरिङको परिष्कृत गुण रहेको हुन्छ अर्थात यसलाई परिमार्जन गरी मर्मत सम्भार गरी पुनः नयाँ जस्तो देखाउन सकिन्छ ।

टिकाउ

काठ यसैपनि बलियो र टिकाउ निर्माण सामाग्रीमा पर्छ । बाक्लो र कडा काठले फ्लोरिङ गर्दा त्यसको स्थायित्वको गुण उच्च हुन्छ । काठको फ्लोरिङ लामो समयसम्म टिक्ने गर्छ । तर, यसमा दाग लाग्‍ने र कोरिने जोखिम हुने हुँदा टेबल तथा कुर्सीको खुट्टामा रबर वा अन्य नरम पदार्थ राखेर सपोर्ट दिनु उचित हुन्छ ।

न्यानोपन

मार्बल र टायलको तुलनामा काठले बढि तापक्रम सञ्‍चित गर्छ । काठको फ्लोरिङले न्यानो प्रदान गर्छ । काठको फ्लोरिङमा खाली खुट्टा हिड्दा पनि आराम र न्यानो महशुस हुन्छ । जाडो मौसममा टायल र मार्बल फ्लोरिङले असह्‍य चिसो गराउने भएकोले काठको फ्लोरिङ तुलनात्मक हिसाबले राम्रो मानिन्छ । 

सफा र मर्मत गर्न सहज

भान्सा कोठामा फोहोर धेरै हुुने गर्छ । खानेकुरा बनाउँदा विभिन्‍न पदार्थहरुले फोहोर बढ्ने वा खाना खाँदा पोखिएर दाग बस्‍ने सम्भावना धेरै हुन्छ । काठको फ्लोरिङ नरम र चम्किलो हुने हुँदा दाग गढेर बस्दैन । नियमितरुपमा बढार्ने र मप गर्ने गरेमा लामो समयसम्म यो चम्किलो र नयाँ देखिन्छ । 

भान्सामा काठको फ्लोरिङ राख्दाका बेफाइदाहरु:

चाँडै क्षति हुनसक्ने

काठको फ्लोरिङको उचित स्याहार गरेर राखेमा दशकौसम्म टिक्न सक्ने भएतापनि यसमा कोरिने, चर्किने, फुट्ने सम्भावना प्रबल हुन्छ । पातलो खालको काठले फ्लोरिङ गर्दा त्यसमाथि भारी सामान राख्दा चर्किने, टुट्ने जोखिम रहन्छ । विशेष गरी भान्सा कोठामा पानीको बढि काम हुने हुँदा पानीले काठ गल्दै गई त्यसका तहहरु उप्किने र मक्किने गर्छ । चिसोपनले काठलाई क्रमशः कमजोर बनाई चाँडै क्षति हुन सक्छ ।

महँगो मूल्य

सेरामिक टायलभन्दा काठको फ्लोरिङ निकै महँगो हुन्छ । फ्लोरिङका अन्य सामाग्री भन्दा काठको फ्लोरिङ लगाउनमा समय पनि ज्यादा लाग्‍ने भएकोले ज्याला समेत जोड्दा यसको लागत खर्च चर्को पर्न आउँछ । काठमा पनि साल, सिसौ आदिको फ्लोरिङ गर्दा बलियो हुनाका साथै महँगो पनि हुन्छ । सिमित बजेट छ भने काठको बदलामा अन्य फ्लोरिङको विकल्प रोज्‍न सकिन्छ ।

नियमित हेरचाह आवश्यक

यदि तपाईले काठको फ्लोरिङ राख्नुहुन्छ भने नियमित रुपमा त्यसको हेरचाह गर्नु अनिवार्य हुन्छ । काठ कहिले पनि पानी प्रतिरोधी नहुने भएकाले पानी र अन्य तरल पदार्थ चुहिएमा तुरुन्तै पुछिहाल्नुपर्छ । भाडा माझ्‍ने ठाउँको नजिकै भुइँमा म्याट्रेस राख्नुपर्छ नत्र पानीले फ्लोरिङ बिगार्न सक्छ ।

काठको फ्लोरिङको सौन्दर्य अन्य फ्लोरिङ भन्दा निकै उच्च कोटिको हुन्छ । भान्सामा धेरै काम हुने र पानी पोखिने समस्या हुने भएकोले धेरै सावधानी अपनाउनु पर्ने हुन्छ । काठको फ्लोरिङ महँगो पनि हुने गर्छ र साथसाथै यसलाई दिगोरुपमा नयाँ र चमकदार देखाउनको लागि नियमित हेरचाहको आवश्यकता पर्छ । आफ्नो बजेटले भ्याउने र नियमितरुपमा हेरचाह गर्न सकिने अवस्था भएमा भान्सामा काठको फ्लोरिङ गर्नु उचित हुन्छ ।
 

Cover image: Coswick, Inner Image: Unsplash

Tue Sep 21 2021 07:42:58 GMT+0545 (Nepal Time)