घर किनेर पछिसम्म नपछुताउन यी ३ कुराहरूको  पालना गर्नुहोस

हामीले घर किन्दै छौँ भने पक्कै पनि भावनात्मक रुपमा जोडिएका हुन्छौँ । प्राय घर किन्दा जोकोही पनि आफ्नो भावनामा बग्‍ने गर्दछ । तर घर किन्‍ने जस्तो निर्णय हामीले भावनामा बहकिएर कदापी लिनु हुन्‍न । अहिलेको अवस्था हेर्ने हो भने घर खरिदकर्ताहरु पूर्वतयारी बिना नै घर किन्‍न तमसिन्छन् । अझै पहिलो पटक घर किन्‍नेहरूले त  बुझ्‍नैपर्ने  कुराहरू (जस्तै घरको प्राविधिक पक्ष, छरछिमेकको अवस्था, सामान्य सेवासुविधाको पहुँच, भविष्यलाई सोचेर आफ्नो आवश्यकताको अध्ययन नगरी) नबुझी आत्तिएर घर किनिरहेको पनि देखिन्छ । 

सबै पक्षबाट अनुसन्धान नगरि घर किन्दा आफ्नो लगानी जोखिममा पर्न सक्ने सम्भावना रहन्छ । आफ्नो बजेट कतिसम्म रहेको छ त्यसलाई पनि ध्यानमा राखेर घरमा लगानी गर्नुपर्छ ।  त्यसैले घर किन्‍नु भनेको हामीले दुःख गरेर कमाएको पैसाको उचित व्यवस्थापन गर्नु हो।  घर किन्‍ने काम जीवनमा विरलै मात्र गर्न सकिन्छ, त्यसैले घर किन्दै हुनुहुन्छ भने पछिसम्म आफू नपछुताउने गरी घर किन्‍न निम्‍न क़ुराहरूको पालना गर्नुपर्ने घरजग्गा व्यवसायी बताउँछन् :

शान्त भएर सोच्‍ने

घरको आवश्यकतासँगै दैनिक जीवनका स–साना आवश्यकता जोडिएका हुन्छन् । सामान्यतया हामीले घर किन्दा केही समय निकालेर आनन्दसँग सोच विचार गरि लिनुपर्छ । हामीले घर किन्‍ने काममा पनि हतार गर्यौ भने, "हतारको काम लतार" भनेझैँ घर किने पछि धेरै कुराहरु चित्त नबुझ्‍न सक्छ । त्यसकारण आफु स्वयमले नै घरका विज्ञहरुसित जानकारी लिने ,वा तपाईले भन्दा अघि घर किन्‍ने आफ्ना आफन्त, साथीभाईहरुसँग पनि सरसल्लाह लिनु भए राम्रो हुन्छ । हामी कपडा किन्दा त कति धेरै सोचेर हेरेर किन्‍ने गर्छौ भने घर त सधैँ किन्‍न सकिदैन त्यसैले एकचोटी झट्ट हेर्दैैमा निर्णय लिनु गलत हुन्छ ।

तपाईको जीवनकाल भरि गरिने लगानी मध्ये सबैभन्दा ठूलो लगानी भनेको घर खरिद गर्नु वा निर्माण हो  । यदि तपाई आफुले किनेको घरमा सन्तुष्‍ट हुनुभएन भने त्यो घर बेच्‍न त सक्नुहुन्छ तर त्यसका लागि धेरै समय र मेहेनत  लाग्छ । घरले तपाई र तपाईको परिवारको सदस्यको आवश्यकतालाई समेट्ने क्षमता राख्नुपर्ने भएकोले सबै पक्षबाट विचार नगरि निर्णय लिनु हुदैन । 

चुनौतीको सामना गर्न तैयार रहने 

यदि तपाई घर किन्दै हुनुहुन्छ भने आइपर्ने चुनौतीहरुलाई आत्मसात गदैँ निडर भइ त्यसको सामना गर्नुपर्छ । तपाईको शैक्षिक स्तर जे जति भएपनि तपाई किनबेच सम्बन्धि कुराकानी गर्ने क्रममा चुक्नु भयो भने अर्काे पक्षले फाइदा उठाउन सक्छ । तपाईले घरको डिल गर्दा अनावश्यक कुराहरु नबोल्नु उचित हुन्छ । बिक्रेताले त सकभर महँगो मूल्यमा आफ्नो घर बेच्‍न खोज्छन् । तर तपाईले त्यस क्षेत्रको बजार भाउ बुझेर तर्कसंगत विचारहरु राखेर मोलमोलाईको क्रममा उचित बिक्रि मूल्यमा उसलाई सहमत गराउने कोसिस गर्नुपर्छ ।

घर किन्‍नु अघि आफ्नो आवश्यकता र चाहना बुझ्‍ने 

घर किन्‍ने क्रममा सबैको आवश्यकता र चाहाना एकापसमा मेल खादैँन । तपाईको आवश्यकतालाई सम्बोधन गर्ने घरले अरु कसैको आवश्यकतालाई नसमेट्न सक्छ । विज्ञहरुको सल्लाह पक्कै पनि प्रभावकारी हुन सक्छ । सर्वप्रथम आफुले घर सँगै के के कुराको अपेक्षा राखेको छु ,भन्‍ने कुरामा स्पष्‍ट हुनुपर्छ । आफ्नो परिवारको सदस्य संख्या र एक आपसको आवश्यकता हेरेर  घर लिनु राम्रो हुन्छ ।

बैंकबाट कर्जा लिएर घरको स्वामित्व ग्रहण गर्दा पनि आफुले आर्थिक भार कति वहन गर्न सक्छु भनेर निश्‍चित गर्नुपर्छ । त्यसैले कस्तो घरले आफ्नो आवश्यकता पूरा गर्छ त्यो निर्क्यौल गर्नुहोस र तपाईंले बैंकबाट ऋण लिएर उक्त घर किन्‍ने हो भने आफ्नो ऋण तिर्न सक्ने क्षमतामा विश्‍वस्त नभइ अघि नसर्नुहोस। 

तपाईंलाई घरमा गाडी पार्किंगका लागि पर्याप्त ठाउँ चाहिन सक्छ , यो तपाईंको आवश्यकता हो तर ठूलो बगैँचा आवश्यकता नभइ चाहना हुन सक्छ।  त्यसैले घरमा नभइ नहुने कुराहरू अर्थात आफ्ना आवश्यकताको विस्तृत अध्ययन गर्नुहोस र आफूलाई इच्छा लागेका कुरा तर ती नभए पनि फरक नपर्ने हो भने ती कुराहरूमा कम्प्रमाइज गरेर कस्तो घर लिने भन्‍ने निर्णय गर्नुहोस।    
 

Thu Sep 23 2021 07:45:01 GMT+0545 (Nepal Time)