निर्माणको सिजनमा ‘एएसी ब्लक’को मूल्य प्रतिघनमिटर ५ सय रुपैयाँ बढ्यो

माटोबाट बनाइने रातो इँटाको बैकल्पिक निर्माण सामाग्री एएसी ब्लकको मूल्य पनि बढेको छ । अहिले एएसी ब्लकको मूल्य प्रतिघनमिटर करीव ५ सय रुपैयाँ मूल्य बढेको उत्पादक कम्पनीहरुले बताएका छन् । 

नेपालमा आधुनिक प्रविधिको निर्माण सामाग्री ‘एएसी ब्लक’ उत्पादन गर्ने ठूला कम्पनीहरु हुन् एएसी इँटा प्रालि र एरोब्रिक्स प्रालि । एएसी इँटा प्रालिले ‘एएसी इँटा’ र एरोब्रिक्स प्रालिले ‘एएसी ब्लक’ ब्रान्ड नेमबाट गारो लगाउने आधुनिक प्रविधिको ब्लक बजारमा ल्याएका छन् ।   

एएसी ब्लकको मूल्य मंसिर १६ गतेदेखि बढाएको एरोब्रिक्स प्रालिकी सिनियर ट्रेड मार्केटिङ अफिसर कुलदा नेपालले बताइन । यस्तै, एएसी इँटाको मूल्य मंसिर १४ गतेदेखि नै बढाएको एएसी इँटा प्रालिका सेल्स अफिसर सन्तोष बिकेले बताए । 

निर्माणको सिजनमा रातो इँटाको मूल्यसँगै एएसी ब्लकको पनि मूल्य बढेको हो । यसअघि नै १० प्रतिशत मूल्य बढिसकेको रातो इँटाको मूल्य छिट्टै १५/२० प्रतिशतले बढाउने तयारी भइरहेको इँटाभट्टीका सञ्‍चालकले बताएका छन् । कोइलाको अभाव र मूल्य बढेको हुँदा पाकेका राता इँटाको मूल्य बढाउनु परेको व्यवसायीको भनाई छ ।

यता माटोका इँटाको बैकल्किप निर्माण सामाग्री मानिएको एएसी ब्लकको मूल्य बृद्धि हुनुमा पनि कच्चा पदार्थको मूल्य बृद्धि प्रमुख कारण रहेको व्यवसायीले बताएका छन् । ‘इन्डियाबाट कच्चा माल ल्याउनुपर्छ, एकातिर कच्चा मालको मूल्य बढेको छ भने अर्कोतिर तेलको मूल्य बढ्दा ढुवानी खर्च पनि बढेको छ’ एएसी इँटा प्रालिका सेल्स अफिसर बिकेले भने, ‘हामीले बजार अनुसार एएसी इँटाको मूल्य थपघट गर्छौं ।’

एरोब्रिक्स प्रालिकी नेपालले पनि बालुवा, आल्मुनियम, ढुवानी खर्च सबै बढेका कारण एएसी ब्लकको मूल्य बढाउनु परेको बताइन ।

सरकारले गाडी भाडामा भ्याट लगाउन नपाउने व्यवस्था गरेकै कारण यस पटक ढुवानी खर्च पनि जोडेर एएसी ब्लक बजारमा पठाएको नेपालले बताइन् । यसअघि एएसी ब्लक बजारमा पठाउँदा गाडीभाडा जोड्ने नगरेको उनको भनाई छ । 

एएसी ब्लकको मूल्य 

एरोब्रिक्स प्रालिले बजारमा एएसी ब्लक ब्रान्डमा ब्लक बिक्री गरिरहेको छ । कम्पनीकी सिनियर मार्केटिङ अफिसर नेपालका अनुसार एएसी ब्लकको मूल्य पहिला प्रतिघनमिटर ८ हजार ६५० रुपैयाँ प्लस भ्याट रहेकोमा अहिले बढेर ९ हजार ५० रुपैयाँ प्लस भ्याट, प्लस गाडी भाडा पुगेको छ । 

पहिला एएसी ब्लक बजारमा पठाउँदा छुट्टै गाडी भाडा नजोडे पनि यस पटकदेखि गाडी भाडा छुट्टै जोडेर ब्लक बजारमा पठाउन थालेको उनले बताइन । 

एएसी इँटाको मूल्य 

एएसी इँटाको मूल्य प्रतिघनमिटर करीव ५ सय रुपैयाँ मूल्य बढेको छ । सेल्स अफिसर बिकेका अनुसार एएसी इँटाको मूल्य पहिला प्रतिघनमिटर ११ हजार ९५२ रुपैयाँ थियो । अहिले मूल्य बढेर प्रतिघनमिटर १२ हजार ४५० रुपैयाँ पुगेको उनले बताए । 

पहिला एएसी इँटा किन्दा ४ इन्च साइजको इँटाको मूल्य प्रतिगोटा १४४ रुपैयाँ पर्थ्यो, अहिले १५० रुपैयाँ पुगेको छ । पहिला प्रतिगोटा २१६ रुपैयाँ रहेको ६ इन्चको एएसी इँटाको मूल्य अहिले बढेर २३० रुपैयाँ पुगेको छ । यस्तै, पहिला ८ इन्चको इँटाको मूल्य २८८ रुपैयाँ रहेकोमा अहिले ३०० रुपैयाँ पुगेको बिकेले बताए ।

एक घनमिटरमा कति ब्लक हुन्छन् ?

एक घनमिटरमा कति ब्लक अटाउँछन् भन्‍ने कुरा ब्लकको साइजले निर्धारण गर्छ । नेपालका अनुसार, एक घनमिटरमा ४ इञ्‍चको ब्लक ८३.३३ वटा हुन्छन् भने ६ इञ्‍चको ब्लक ५५.५६ वटा र ८ इञ्‍चको ४१.६७ वटा हुने गर्छन् । 

आधुनिक प्रविधिमा आधारित एएसी ब्लकको प्रयोग पछिल्लो समय बढ्दै गइरहेको छ । पाकेका रातो इँटाको तुलनामा सस्तो, गारो लगाउन पनि सजिलो र छिटो हुनुका साथै हलुका पनि हुने भएकोले धेरैले एएसी ब्लक प्रयोग गर्न थालेको व्यवसायीको भनाई छ ।

Tue Dec 07 2021 10:23:21 GMT+0545 (Nepal Time)