घरबेटीहरु सावधान ! डेरावालसँग बिजुलीको बढी महशुल लिए कारबाहीमा परिएला नि

कतै तपाई आफ्नो घरमा भाडामा बस्ने डेरावालसँग बिजुलीको महशुल धेरै लिने गर्नुभएको त छैन । यदि छ भने अबदेखि सतर्क रहनुहोला, नेपाल विद्युत प्राधिकरणले भाडामा बस्‍नेसँग बढी महशुल लिने ग्राहकको घरमा लाइन काट्ने भएको छ ।

काठमाडौं उपत्यकाका धेरैजसो घरधनीहरुले डेरावालसँग बिजुली बढी महशुल लिने गरेको गुनासो बारम्बार सुनिदै आएको छ । यस्तो खालको उजुरी प्राधिकरणको कार्यालयमा आउने गर्थे । तर, बढी महशुल असुल्ने घरधनीलाई कहीँ कतै कारबाही भएको सुनिएको थिएन । 

प्राधिकरले हालसालै संशोधन गरेको विद्युत महशुल संकलन विनियमावलीमा घरधनीले डेरामा बस्‍नेसँग निर्धारितभन्दा बढी महशुल लिएमा बिजुलीको लाइन काटिदिने व्यवस्था गरिएको छ । 

ग्राहकले जोडेको मिटरको क्षमताअनुसार उठेको बिलको जति महशुल हो, त्यो भन्दा बढी तिर्नुपरेमा डेरावालले आफ्नो क्षेत्रको विद्युत वितरण केन्द्रमा उजुरी गर्न सक्छन् । यस्तो उजुरी आउने वित्तिकै प्राधिकरणले सम्बन्धित घरधनीलाई बोलाएर सचेत गराउनेछ । तर, अटेरी गरेको खण्डमा लाइन काटिदिने प्राधिकरणको भनाई छ ।

प्राधिकरणको महशुल दर प्रतियुनिट न्यूनतम ३ रुपैयाँदेखि अधिकतम १२ रुपैयाँसम्म रहेको छ । तर, घरधनीले भाडावालसँग विद्युत महशुल प्रतियुनिट १५ रुपैयाँदेखि २०  रुपैयाँसम्म लिने गरेको भेटिन्छ । 

यसको मतलब सबै घरधनीहरुले बढी महशुल लिने गरेको भन्‍न खोजिएको होइन, तर बहुमत घरधनीले भाडावालसँग चर्को महशुल असुल्ने गरेको गुनासो छ ।

धेरैजसो घरबेटीले प्रत्येक फ्ल्याट वा कोठामा सबमिटर राखेर त्यसमा उठेको युनिटका आधारमा प्रतियुनिट १५ रुपैयाँभन्दा बढी दरले हिसाव गरेर भाडावालसँग महशुल उठाउँछन् । प्राधिकरणले तोकेको भन्दा बढी महशुल बुझाउनुपर्दा पनि डेरावालले निरिह भएर बढी महशुल बुझाउँदै आइरहेका थिए ।

विद्युत प्राधिकरणले भाडामा बस्‍नेहरुले छुट्टै मिटर राख्‍न चाहेमा तुरुन्तै उपलब्ध गराउने जानकारी गराएको छ । 

Tue Dec 28 2021 11:54:13 GMT+0545 (Nepal Time)