महामारीमा नगलेको रियलस्टेट बैंकमा तरलता अभावले थलियो

कोभिड महामारीकै बिचमा रेसिडेन्सियल तथा कमर्शियल दुबै प्रोपर्टीको कारोबार र मूल्य दुबै आकाशिएको थियो । काठमाडौं उपत्यकाको कुनाकाप्चासम्म जग्गाको मूल्य छोइनसक्नु बढेको थियो । घरजग्गा किनबेचमा पनि उछाल आइरहेको थियो । यतिसम्म कि, गत बर्ष कोभिडकै बिचमा घरजग्गा कारोबारले हरेक महिना नयाँ–नयाँ किर्तिमान राखेको थियो । 

अर्थतन्‍त्रका अरु गतिविधिहरु सुस्ताउँदा पनि घरजग्गा कारोबारमा भने निरन्तर उछाल आइरहेको थियो । कोभिडले लगानीका अरु क्षेत्रहरु अनिश्‍चित बनिदिँदा धेरैले घरजग्गा र शेयर बजारलाई लगानीको गन्तव्य बनाएका थिए ।

तर, पछिल्लो समय कोभिड महामारी घट्दै जाँदा पनि घरजग्गा कारोबार भने सुस्ताउँदै गइरहेको छ । 

उपत्यकासहित देशभरका मालपोत कार्यालयमा घरजग्गा किनबेच गर्ने सेवाग्राहीको भिड कम भइरहेको छ । साना घरजग्गा फाट्टफुट्ट किनबेच भइहाले पनि ठूला घरजग्गा (रेसिडेन्सियल तथा कमर्शियल) किनबेच हुन कम भइसकेको मालपोत कार्यालयका कर्मचारी बताउँछन् ।

आखिर घरजग्गा किनबेच किन सुस्ताउन थाल्यो त ? जवाफ सिधा छ, बैंक तथा वित्तीय संस्थाहरुमा लगानीयोग्य रकम (तरलता) संकट भएपछि त्यसको असर घरजग्गा कारोबारमा पनि देखिन गएको हो । 

पछिल्लो केही महिनायता बैंकहरुले कर्जा दिन सकिरहेका छैनन् । अझ सरकारले नै अनुत्पादक क्षेत्र मानेको घरजग्गा व्यवसायमा बैंकको कर्जा लगानी करीव ठप्पप्राय छ जसले गर्दा घरजग्गा किनबेच सुस्ताउँदै गइरहेको नेपालभूमि रियलस्टेट कम्पनीका सञ्‍चालक बिक्रम लामाको भनाई छ ।  

कोरोना महामारी कम हुँदै गएपछि आर्थिक गतिविधि बढ्ने र घरजग्गा कारोबारमा सकरात्मक प्रभाव पर्ने रियलस्टेट व्यवसायीको अपेक्षा विपरित घरजग्गा कारोबार निरन्तर आरालो लागिरहेको हो ।

तरलता अभावले यतिबेला रियलस्टेट बजार थलिएको छ । बैंकबाट घरजग्गा किन्न ऋण पाउनु असम्भवप्रायः छ । जसको असर होमलोनका बलमा घर–जग्गा खरिद गर्ने ग्राहकमा परेको छ । बैंक ब्याज तिर्दै बसेका ठूला कमर्शियल प्रोपर्टी धनीहरु पनि यतिबेला मूल्य बढाउनुभन्दा बिक्रीलाई प्राथमिकता दिन थालेका छन् । 

अहिले रियलस्टेटका अनलाइन प्लेटफर्ममा कमर्शियल प्रोपर्टी र ठूला आवासिय घरजग्गा बिक्रीका लागि राख्नेहरु बढेको देखिन्छ । तर, ग्राहकहरु पाउन भने त्यति सजिलो छैन, जसले गर्दा मूल्यको बढोत्तरी पनि तत्कालका लागि रोकिएको छ ।

रियलस्टेट कम्पनी प्रोपर्टी ३६० का सञ्‍चालक सन्तोष प्रधानका अनुसार, तरलता अभावले साना टुक्रा जग्गाको मूल्यमा ठूलो असर नपारे पनि ठूला प्लटहरु, बंग्लो र कमर्शियल प्रोपर्टीमा प्रत्यक्ष प्रभाव देखिएको छ ।

बैंकमा भएको तरलता अभावकै कारण कतिपय घरजग्गा बैना गरेर पनि पास गराउन  नसकेको रियलस्टेट एजेन्सीहरु बताउँछन् । अहिले मालपोतमा रोक्का, फुकुवा र राजिनामा पासका कामहरु घटिरहेको मालपोत अधिकारी बताउँछन् । 

भूमि व्यवस्था तथा अभिलेख विभागको तथ्यांकले पनि पछिल्ला महिनामा दृष्टिबन्धक र लिखत पारितको संख्या घटिरहेको देखाउँछ । 

२०७६ चैतदेखि २०७७ अशोजसम्म कोभिड महामारीको त्रास कायमै रहिरहँदा घरजग्गा कारोबार खुम्चिएको थियो । चैतदेखि जेठसम्म मालपोत कार्यालय नै बन्द गरिएको थियो । तर, २०७७ मंसिरदेखि महामारीको कहर घट्न थालेपछि घरजग्गा किनबेचमा उछाल आएको थियो । 

गत बर्ष हरेक महिना किर्तिमानी कारोबार हुँदै चैतमा मात्रै ८७ हजार घरजग्गा किनबेच भएको तथ्यांक भूमि विभागको छ । तर, २०७८ बैशाखदेखि असारसम्म पुनः घरजग्गा कारोबार सेलायो । बैशाखदेखि कोभिडको दोस्रो लहर रफ्तारमा फैलिन थालेपछि सरकारले १६ गतेदेखि देशभर निषेधाज्ञा जारी गरेको थियो । 

२०७८ असारदेखि खुलेको कारोबार पनि विस्तारै बैंकमा तरलता अभाव भएपछि बढ्न सकेन । पछिल्ला महिना तरलता अभाव चर्किएपछि बैंकले ऋण दिनै छाडिसकेका छन्, जसको प्रभाव घरजग्गा कारोबारमा पनि देखिन थालेको हो ।

अहिले सरकारले आयात, शेयर र घरजग्गा किनबेचका लागि ऋण दिन कडाइ गरिसकेको छ । तैपनि तरलता अभाव समाधान हुन सकेको छैन् । 

निर्माण सामाग्रीको कारोबार पनि घट्यो 

तरलता अभाव र सरकारले विकास खर्च गर्न नसकेपछि निर्माण क्षेत्र पनि प्रभावित बनेको छ । आवासीय घर, कमर्शियल भवनलगायत निर्माणमा सुस्तता छाउँदा निर्माण सामग्रीको खपत ५० प्रतिशतले घटेको व्यवसायी बताउँछन् । 

निर्माण सामाग्रीको बिक्री घटेपछि मूल्य पनि निरन्तर ओरालो लागिरहेको छ । अहिले सिमेन्ट तथा डन्डी उद्योगले ५० प्रतिशत उत्पादन पनि बिक्री गर्न सकेका छैनन् । अहिले सिमेन्टमा प्रतिबोरा ५० र डन्डीमा प्रतिकिलो ५ रुपैयाँसम्म मूल्य घटिसकेको छ ।

Sun Jan 09 2022 10:11:43 GMT+0545 (Nepal Time)