नेपालमै पहिलो पटक यसरी बन्दैछ ‘स्टील स्ट्रक्चर’बाट गगनचुम्बी भवन

१० रोपनी क्षेत्रफलमा बनाउन लागिएको पाँचतारे होटल, कम्पलेक्स र मल्टिप्लेक्स सहितको गोपीकृष्ण काठमाडौं उपत्यकाकै ल्यान्डमार्क बन्‍ने छ

विदेशी मुलुकका ठूला शहरहरुमा स्टिल स्ट्रक्चरबाट गगनचुम्बी भवन ठड्याउने अब काम सामान्य भइसक्यो । त्यहाँ ठूला भवन तथा टावरहरु निर्माणमा आरसीसी (कंक्रिट) प्रविधि हराउँदै गइरहेको छ भने स्टिल प्रविधिले व्यापकता पाइरहेको छ ।

अमेरिका, जापान, चाइना, कोरिया, युरोपलगायत विकसित मुलुकहरुमा हाईराइज भवन निर्माणमा स्टिल प्रविधिको प्रयोग हुन थालेको दशकौं भइसक्यो । दक्षिणी छिमेकी मुलुक भारतमा पनि ठूला भवन निर्माणमा स्टिल स्ट्रक्चर प्रयोग गर्न थालिएको छ ।

जापानको सबैभन्दा अग्लो टावर ‘टोक्यो स्काईट्री’ स्टिलबाट बनेको गगनचुम्बी स्ट्रक्चर हो जसको उचाई ६३४ मिटर (१०८० फिट) रहेको छ । यो १३० तलाभन्दा बढी उचाइको टावर हो ।

अमेरिकाले सिकागोमा स्टिल प्रविधिबाट ५२७ मिटर (१७२९ फिट) अग्लो विलिस टावर ठड्याइसकेको छ । अमेरिकामै वर्ल्ड ट्रेड सेन्टर (१९७३–२००१) पनि स्टिल स्ट्रक्चरबाट बनेको भवन हो जसको उचाई ५२६ मिटर (१७२८ फिट) अग्लो छ । 

अमेरिकामा ठूला भवनहरु स्टिलबाटै बनाउन थालिएको छ । चिनमा पनि ठूला भवन स्टिल टेक्नोलोजीबौट बन्‍न थालेका छन् । तर, नेपालमा अझै स्टिलबाट दुई/तीन तलाभन्दा ठूला भवन बनेका छैनन् । साना भवन निर्माणमा स्टिल प्रविधि प्रयोग हुन थालेको पनि धेरै भर्खरै हो । 

पछिल्लो समय नेपालमा पनि २०-२२ तलासम्मका अग्ला भवनहरु बन्‍न थालेका छन् जसमा कंक्रिटकै प्रयोग भइरहेको छ । निर्माणाधिन अधिकांश ठूला भवनहरु पनि कंक्रिटको प्रयोग गरिँदैछ । 

अहिलेसम्म नेपालमा कसैले पनि ठूला भवन निर्माणमा स्टिल स्ट्रक्चर प्रयोग गर्ने हिम्मत गर्न सकेका छैनन् । तर, गोपीकृष्ण मुभिजका सञ्‍चालक निरक पौडेल १४ तले भवन स्टिलबाट बनाउँदैछन् । नेपालको सन्दर्भमा कंक्रिटभन्दा स्टिल स्ट्रक्चर भवन बनाउँदा लागत १०-१५ प्रतिशत बढी नै पर्न गए पनि निरकले स्टिलबाटै भवन बनाउने निर्णय गरिसकेका छन् ।

चाबाहिलको गोपीकृष्णमा स्टिलबाट बनेको आइकोनिक भवनमा पाँचतारे होटल र सपिङ कम्पलेक्स सञ्‍चालनमा आउनेछ । अब बन्‍ने गोपीकृष्णको नाम जीकेसिसी (गोपीकृष्ण सेन्ट्रल प्लाजा) हुनेछ ।

काठमाडौं उपत्यकाको पुरानोमध्येको गोपीकृष्ण हलमा आधुनिक सेवा सुविधा सहितको इन्टरटेनमेन्ट हब बनाउन लागेको निरक सुनाउँछन् । कोभिड महामारीपछि सिनेमा हल बन्द भएपछि पौडेल परिवार नयाँ परियोजना निर्माणमा जुटेको हो । 

निरकका बुवा उद्धव पौडेलले २५ बर्ष अगाडि सञ्‍चालनमा ल्याएको गोपीकृष्ण हल भएको ठाउँमा आधुनिक भवन बनाइँदैछ जहाँ पाँचतारे होटल, सपिङ कम्पलेक्स, रेष्टुराँ, चिल्ड्रेन पार्क, फुड पार्क, गेमिङ जोन, एयर स्वीमिङ पुल, थ्रिडी डिजिटल बिलबोर्ड लगायत सुविधाहरु हुनेछन् ।

‘हामी विकसित मुलुकका आधुनिक शहरको जीवनशैलीको अनुभूति आफ्नै शहर काठमाडौंमा उपलब्ध गराउन चाहान्छौं, जसमा ६ अर्ब रुपैयाँ लगानी हुनेछ’ निरक भन्छन्, ‘समय अनुसार चल्नुपर्ने रहेछ, अब सिनेमा हलसहित मनोरञ्‍जननका अरु गतिविधिहरु पनि थपेर जिकेसिसीलाई ल्यान्डमार्क बनाउने सपना छ ।’

गोपीकृष्णमा सञ्‍चालन हुने पाँचतारे होटलमा १५७ कोठा हुनेछन् जसको व्यवस्थापनमा विदेशी चेन होटल आउँदैछ । होटलमा क्यासिनो पनि सञ्‍चालन गर्ने बताइएको छ । 

भवनको पाँच तलासम्म सपिङ कम्पलेक्स हुनेछ भने ६ देखि १४ तलासम्म होटल हुनेछ । पाँचौं तलामा पारदर्शी स्वीमिङ पुल बनाइँदैछ । जहाँ स्वीमिङ गरिरहेको तल कम्पलेक्सबाट देख्‍न सकिन्छ ।

गो ग्रिन टोक्नोलोजी

विश्‍वभरी स्टिल स्ट्रक्चर गो ग्रिन टेक्नोलोजी मानिन्छ, जुन वातावारणमैत्री पनि हुन्छ । यो साउन्ड प्रुफ र डस्ट प्रुफ पनि हुने निरक बताउँछन् । स्टिलबाट २ बर्षभित्रमा भवन निर्माण सम्पन्‍न हुने उनको भनाई छ । जबकी कंक्रिटबाट यही भवन बनाउन ४/५ बर्षसम्म लाग्छ । 

गोपीकृष्णमा कंक्रिटको प्रयोग अन्डरग्राउन्डमा मात्र हुनेछ, जुन ठाउँ पार्किङका लागि प्रयोग हुनेछ । भवन पुरै आधुनिक शैलीको हुनेछ । चिनियाँ अर्किटेक्ट कम्पनी सीसीइजीसीले भवनको डिजाइन तयार पारेको छ । यो प्रोजेक्ट डाइरेक्टर पनि चाइनिज नै राखिएको छ । 

‘स्टिल स्ट्रक्चरमा जाँदा फाउन्डेसनमा ५/६ महिना लाग्यो भने स्ट्रक्चर निर्माणमा एक बर्षजति लाग्ला, बाँकी ६ महिना फिनिसिङको काम सकिन्छ’ निरक भन्छन्, ‘स्टिल स्ट्रक्चरमा चीन लगायत मुलुकबाट स्टिलका रेडिमेट निर्माण सामाग्रीहरु ल्याएर जडान गर्ने काम हुनेछ ।’ कतिपय सामाग्री स्वदेशी स्टिल उद्योगले पनि उपलब्ध गराउन सक्ने उनले बताए ।  
बाहिरबाट आउने इञ्‍जिनियरहरुले नेपालका इञ्‍जिनियरलाई स्टिल स्ट्रक्चर निर्माणका बिषयमा तालिम पनि दिने निरकले जानकारी गराए ।

यस्तो हुनेछ परियोजना

जिकेसिसी उपत्यकाकै आइकोनिक प्रोपर्टी बनाउने निरकको सपना छ । सपिङ कम्पलेक्स पनि अलि भिन्‍न खालको बनाउँदैछन् उनी । कम्पलेक्सको बाहिरी भागमा थ्रिडी डिजिटल बिलबोर्ड राखिँदैछ । अहिलेसम्म सञ्‍चालनमा आएका मलमा साधारण डिजिटल स्क्रिन मात्र राखेको देखिन्छ । डिजिटल बिलबोर्डमा देखिने चित्रहरु मलमा आउने ग्राककलाई दुरुस्तै लाग्छन् जसले रमाइलोपन महशुस हुनेछ ।

पाँचौं तलामा स्वीमिङ पुल हुनेछ । ‘मलको बिचको भागमा स्वीमिङ पुल राख्छौं, पुलको फ्लोर पारदर्शी बनाउने योजना छ’ उनले भने, ‘मलमा आउनेले माथि स्वीमिङ गरिरहेको र स्वीमिङ गरिरहेको व्यक्तिले मलका मानिसहरु देख्‍न सक्नेछन् ।’

गोपीकृष्णमा सातवटा हल सञ्‍चालनमा थिए जसमध्ये ४ वटा हल भत्काएर नयाँ भवन बनाउन लागिएको हो । भवन भत्काउने काम सम्पन्‍न भइसकेको छ । छुट्टै भवनमा रहेका तीनवटा सिनेमा हल भने निरकले नभत्काइ जोगाएर राखेका छन् । 

ओम, नमः र शिवाय तीनवटा हललाई आकर्षक ढंगले रेनोभेट गरेर सञ्‍चालनमा ल्याउने तयारी भइरहेको छ । यी तीनवटा हललाई रेड, ब्लु र ग्रीन नामाकरण गरिनेछ । रेड हलमा सिट, कार्पेट, लाइट, बाथरुम, कार्पेट, रेष्टुरेन्ट, लवीदेखि सबै कुरा रातो हुनेछ भने ब्लुमा सबै निलो र ग्रीनमा सबै हरियो हुने निरक सुनाउँछन् ।

रातो, निलो र हरियो सिनेमामा प्रयोग गरिने प्राथमिक रङ, हुन् त्यसलाई हलमा थिमका रुपमा प्रयोग गर्न लागिएको हो ।

भवनको छतमा हेलीप्याड पनि बनाउन लागिएको छ । हेलिप्याडलाई घडीजस्तो गोलो घेराले घेरिएको हुनेछ जहाँ रोबोटिक सुगा हुनेछ । यो सुगा टाढाबाट हेर्दा भवनमाथि उडिरहेको जस्तै देखिनेछ । घडी सुइ अनुसार रोबोटिक सुगा पनि घुम्‍नेछ । 

मान्छेले टाढैबाट सुगा बसेको ठाउँ हेरेर कति बज्यो भन्‍ने पत्ता लगाउन सक्ने निरक सुनाउँछन् । यो पनि नेपालको सन्दर्भमा नौलो प्रयोग हुनेछ ।

Fri Jan 21 2022 13:51:50 GMT+0545 (Nepal Time)