आर्थिक सर्वेक्षणः भैंसेपाटीमा मन्त्री र मुख्यमन्त्री आवास निर्माण ७६ प्रतिशत सम्पन्‍न

काठमाडौं । ललितपुरको भैंसेपाटीमा निर्माण भइरहेको मन्त्री, प्रदेश प्रमुख र मुख्यमन्त्री आवासको काम ७५ प्रतिशत भन्दा बढी सम्पन्‍न भइसकेको छ ।

०७८ फागुनसम्म मन्त्री आवास ७७ प्रतिशत र प्रदेश प्रमुख तथा मुख्यमन्त्री आवास ७६ प्रतिशत निर्माण सम्पन्‍न भएको ‘आर्थिक सर्वेक्षण ०७८/७९ ले देखाएको छ । मन्त्री निवास (दोस्रो चरणको) काम ३ प्रतिशत र चन्डी दल भवनको ३ प्रतिशत निर्माण सकिएको छ ।

यस्तै, सिंहदरबारभित्र निर्माण भइरहेको संघीय संसद भवनको निर्माण कार्य ४२ प्रतिशत सम्पन्‍न भएको छ भने प्रधानमन्त्री आवासको काम ९३ प्रतिशत सम्पन्‍न भइसकेको छ ।

देशैभरी सभाहल

ललितपुरको गोदावरीमा ३ हजार र रुपन्देहीको बुटवलमा एक हजार दुई सय व्यक्ति क्षमताको अन्तर्राष्ट्रिय सभाहलको निर्माण कार्य अन्तिम चरणमा छ । यस्तै, विभिन्‍न जिल्लामा २६ सभाहल निर्माणाधिन रहेको अर्थमन्त्री जनार्दन शर्माले बताए ।

लुम्बिनीमा निर्माण गरिएको ५ हजार क्षमताको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र प्रधानमन्त्री शेर बहादुर देउवाले २ जेठमा उदघाटन गरिसकेका छन् । सोही हलमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सम्बोधन समेत गरेका थिए ।

७३८ घर निर्माण सम्पन्न

जनता आवास कार्यक्रम अन्र्तगत फागुनसम्म सात सय ३८ आवास निर्माण सम्पन्न भइसकेको आर्थिक सर्वेक्षणमा उल्लेख छ ।

शिक्षा, स्वास्थ्य, पूर्वाधार र रोजगारीका अवसरसहितको एकीकृत आधुनिक सुरक्षित वस्ती विकासका कार्यक्रम अन्तर्गत मुगुमा ३५ परिवारको आवास निर्माण सम्पन्न भएको सरकारले जनाएको छ । डढेलधुराको परशुराम नगरपालिकाका ३२ परिवारको लागि एकीकृत बस्ती निर्माण धमाधम भइरहेको छ ।

फागुनसम्म सुरक्षित नागरिक आवास कार्यक्रम अन्र्तगत ७५३ स्थानीय तहका एक लाख ८९ हजार २३० फुसका छानालाई जस्तापाताले विस्थापन गर्न आवास संख्या निर्धारण भएको छ ।

यस अवधिमा एक लाख ३७ हजार १५ लाभग्राही छनौट भइसकेको सरकारले जनाएको छ । यस्तै, एक लाख २६ हजार ६९८ लाभग्राहीसँग सम्झौता पनि भइसकेको छ । त्यस्तै, २४ हजार ५९७ आवास इकाइहरुको निर्माण सम्पनन भएको छ ।
 

Sun May 29 2022 11:01:51 GMT+0545 (Nepal Time)