हात्तिवनमा धेरै अपार्टमेन्ट बिक्रीमा, दुई करोडसम्मका बढी, कहाँ कति ?

काठमाडौं उपत्यकाभित्र हात्तिवनमा सबैभन्दा धेरै अपार्टमेन्ट बिक्रीमा रहेको एक अध्ययनले देखाएको छ । जसमा एक करोडदेखि दुई करोड मूल्यसम्मका अपार्टमेन्टको बाहुल्यता छ । बिक्रीमा राखिएका अपार्टमेन्टमा धेरै फुल फर्निस्ड र थ्रि बेडरुमवाला रहेका छन् । 

पायोनियर अनलाइन रियलस्टेट प्लेटफर्म नेपालहोम्स डटकमले विभिन्‍न अनलाइन प्लेटफर्ममा बिक्रीका लागि लिस्टिङ गरेका उपत्यका भित्रका अपार्टमेन्टको अध्ययन गरेको थियो । बिक्रीमा लिस्टिङ गरिएका अपार्टमेन्टमध्ये धेरै हात्तिवन र धापाखेल क्षेत्रमा रहेको देखिएको हो । 

नेपालहोम्सले उपत्यकाभित्र रहेका विभिन्‍न अपार्टमेन्ट कम्पनीका एक सय ६१ फ्ल्याटको स्याम्पल लिएर अध्ययन गरेको थियो, जसमा ९६ ललितपुर र ६५ काठमाडौंका अपार्टमेन्ट हुन् । 

सबैभन्दा धेरै अपार्टमेन्ट बिक्रीमा राख्‍नेमा मेरोसिटी, डाउनटाउन र सिटी भ्यू अपार्टमेन्ट परियोजनाका हुन् । न्यूनतम ४० लाख रुपैयाँ देखि ६ करोड ३० लाख रुपैयाँसम्मका अपार्टमेन्ट बिक्रीमा राखिएको छ । ६ करोड मूल्यका दुई र ६ करोड ३० लाख मूल्यको एउटा अपार्टमेन्ट बिक्रीमा छन् ।

कुन कम्पनीका कति अपार्टमेन्ट बिक्री ?

बिक्रीमा राखिएका कुल १६१ अपार्टमेन्ट मध्ये मेरो सिटीका १५, डाउनटाउनका ११, सिटी भ्यूका १०, सनराइज र सिटी स्केपका ९–९ अपार्टमेन्ट बिक्रीमा छन् । 

वेष्टार, टिसीएच टावर थ्रि, सनराइज टावर र सनसिटी टावरमा ८–८ वटा, बज्र एन्ड सांग्रिला रेसिडेन्सीमा ७, सोल्टी सिटी अपार्टमेन्ट, इम्प्रेरियल कोर्ट अपार्टमन्टे र सेन्ट्रल पार्क अपार्टमेन्टमा ६–६ वटा अपार्टमेन्ट बिक्रीमा छन् । क्लासिक टावरमा ५ वटा अपार्टमेन्ट बिक्रीमा राखिएको छ ।

हात्तिवन र धापाखेलमा धेरै

हात्तिवनमा ३० वटा अपार्टमेन्ट बिक्रीमा छन् भने धापाखेलमा १३, धोविघाटमा ९ वटा अपार्टमेन्ट बिक्रीमा राखिएको छ । यस्तै, पेप्सिकोला, बालकुमारी र बखुण्डोलमा ८–८ युनिट, पानीपोखरीमा ७, ठाडोढुंगा, सानेपा, रवि भवन, नक्साल, नख्खु र विशालनगरमा ६–६ युनिट अपार्टमेन्ट बिक्रीमा छन् ।

भैंसेपाटीमा ५ युनिट, महाराजगञ्‍ज र चण्डोलमा ४–४ युनिट, ताहाचल, सितापाइला र लाजिम्पाटमा ३–३ युनिट, सानो गौचरण, झम्सिखेल, धुमबाराही र धापासीमा २–२ अपार्टमेन्ट बिक्रीमा राखिएको छ ।

धेरै फुल फर्निस्ड

बिक्रीमा राखिएका कुल १६१ अपार्टमेन्टमध्ये ९४ अपार्टमेन्ट फुल फर्निस्ड हुन् । २४ युनिट सेमि–फर्निस्ड र १७ युनिट फर्निसिङ नगरेका अपार्टमेन्ट हुन् भने २६ अपार्टमेन्टले बिक्रीका लागि लिस्टिङ गर्दा खुलाएका छैनन् । 

थ्रि बिएचके धेरै

बिक्रीमा राखिएका धेरै थ्रि बिएचके अपार्टमेन्ट रहेका छन् । थ्रि बिएचके ८९ अपार्टमेन्ट, दु बिएचके ५१, फोर बिएचके १२, एक बिएचके ७ र ५ पाँच बिएचके एउटा रहेका छन् ।  

रिङरोडभित्र

सिंगल युनिट घरका हाउजिङ परियोजना रिङरोड बाहिर धेरै भएपनि हाईराइज अपार्टमेन्ट रिङरोड भित्र धेरै रहेका छन् । 

अध्ययनमा समेटिएका कुल १६१ अपार्टमेन्टमध्ये ८३ युनिट रिङरोडभित्र र ७८ युनिट रिङरोड बाहिर रहेका छन् ।

१५औं तलासम्मका अपार्टमेन्ट बिक्री

बिक्रीका लागि अपार्टमेन्ट अनलाइनमा लिस्टिङ गर्दा धेरैले कुन तलामा भनेर उल्लेख गरेका छैनन् । उल्लेख गरिएका मध्ये सबैभन्दा धेरै नबौं तलाका रहेका छन् । नौं तलामा नौं युनिट, १०, ५ र ७ तलामा ८–८ युनिट, दोस्रो तलामा ७ युनिट, ८, ४ र ३ तलामा ६–६ युनिट, ग्राउन्ड र पहिलो तलामा ५–५ युनिट, बाह्रौं तलामा ४ युनिट, १३, १४, १५औं तलामा ३–३, छैठौं तलामा दुई युनिट अपार्टमेन्ट बिक्रीमा रहेको देखिन्छ ।

कति मूल्यका कति अपार्टमेन्ट ?

बिक्रीका लागि लिस्टिङ गरिएका कुल अपार्टमेन्ट मध्ये ४० लाख देखि एक करोड मूल्यसम्मका २१ युनिट बिक्रीमा छन् । यस्तै, एक करोड डेढ करोडसम्मका ३५ युनिट, डेढ करोडदेखि दुई करोडसम्म मूल्यका ३१ युनिट, दुई करोडदेखि ३ करोडसम्म मूल्यका ३० युनिट अपार्टमेन्ट बिक्रीमा राखिएको छ ।

यस्तै, तीन करोडदेखि चार करोड मूल्यसम्मका २२ युनिट, चार करोडदेखि चार करोड ८० लाखसम्मका १४ युनिट, पाँच करोड मूल्यका चार युनिट, ५ करोड २० लाख मूल्यको एक, ६ करोड मूल्यको दुई र ६ करोड ३० लाख मूल्यको एउटा अपार्टमेन्ट बिक्रीमा छ ।

Thu Jun 09 2022 12:33:02 GMT+0545 (Nepal Time)