जेठमा घरजग्गा किनबेच १८ प्रतिशतले बढ्यो, सुनसरीमा सबैभन्दा धेरै कारोबार

काठमाडौं । वैशाख महिनामा सुस्ताएको घरजग्गा कारोबार जेठमा पुनः उकासिएको छ । तरलता अभाव र ब्याजदर वृद्धिकै बाबजुद जेठमा घरजग्गा किनबेच १७.८१ प्रतिशतले बढेको भूमि व्यवस्था तथा अभिलेख विभागको तथ्यांकले देखाएको छ ।

तर, चैत र फागुन महिनाको तुलनामा जेठको कारोबार पनि निकै न्यून हो । 

जेठ महिनामा देशभरी ५४ हजार ५१४ घरजग्गा किनबेच भएका छन् । यो संख्या बैशाखको तुलनामा ९ हजार ७११ ले बढी हो । वैशाखमा ४४ हजार ८०३ घरजग्गा किनबेच भएका थियो । चैतमा देशभरी ७० हजार ८३० घरजग्गा किनबेच भएकोमा वैशाखमा ३६.७४ प्रतिशतले कारोबार ओर्लिएको थियो । फागुन महिनामा ७४ हजार ३६ हजार घरजग्गा किनबेच भएको विभागले जनाएको छ ।

वैशाखमा स्थानीय तहको निर्वाचनका कारण घरजग्गा किनबेच घटेको हुन सक्ने रियलस्टेट व्यवसायीको अनुमान छ ।

जेठमा देशभरीका मालपोत कार्यालयले एक लाख २३ हजार ६५२ सेवा प्रवाह गरेका छन् । यस्तो सेवा वैशाखमा ९८ हजार ९७४ र चैतमा एक लाख ५९ हजार रहेको थियो ।

जेठमा २७ हजार ४८४ घरजग्गा रोक्का भएका छन् भने १९ हजार ७७० घरजग्गा फुकुवा भएको विभागले जनाएको छ । 

जेठमा कहाँ कति किनबेच ?

जेठ महिनामा पनि सबैभन्दा धेरै घरजग्गा किनबेच गराउने मालपोत कार्यालयमा सुनसरीकै इनरुवा पहिलो नम्बरमा परेको छ । इनरुवाबाट २६ सय ४५ घरजग्गा किनबेच भएका छन् । दोस्रो नम्बरमा मोरङको बेलवारीले आफ्नै स्थान छाडेको छैन । जेठमा बेलवारी मालपोतबाट २२ सय ७४ घरजग्गा किनबेच भएको विभागले जनाएको छ ।

जेठमा झापाको भद्रपुरमा २१ सय ५५ घरजग्गा किनबेच हुँदा धनुषाको जनकपुरमा १९ सय ७९ घरजग्गा कनिबेच भएका छन् । बाँकेको नेपालगञ्‍ज मालपोतबाट १७ सय ७६ घरजग्गा किनबेच भएका छन् । 

यस्तै, झापाको दमकमा ११ सय ९, मोरङको बिराटनगरमा ११ सय ८९, सप्तरीको राजविराजमा १२ सय २०, सिराहाको लाहानमा एक हजार, महोत्तरीको जलेश्‍वरमा एक हजार ४८, सर्लाहीको मलंगवामा एक हजार ३७ घरजग्गा किनबेच भएका छन् ।

काभ्रेमा एक हजार ४८, ललितपुरको लगनखेलमा १३ सय १५, कलंकीमा एक हजार २४, मकवानपुरमा एक हजार ९७, बाराको कलैयामा एक हजार ७८, पर्सामा ११ सय ७३, चितवनमा ११ सय ७०, कपिलवस्तुमा १२ सय २९, दाङको घोराहीमा एक हजार ३४, दाङकै तुलसीपुरमा ११ सय २० घरजग्गा किनबेच भएका छन् । 

Wed Jun 15 2022 11:42:50 GMT+0545 (Nepal Time)