सुधिर बस्‍नेतको कोहिनुर अपार्टमेन्ट लिलामीमा, कर्मचारी सञ्‍चयकोषले निकाल्यो सूचना

काठमाडौं । चर्चित घरजग्गा व्यवसायी सुधिर बस्‍नेतको ललितपुर महालक्ष्मी नगरपालिका–२ ग्वार्कोस्थित १० रोपनी ९ आना जग्गा र सोही जग्गामा निर्माणधिन अपार्टमेन्ट भवन लिलामीमा जाने भएको छ । 

ऋणदाता कर्मचारी सञ्यकोषले बस्‍नेतले धितो राखेको कोहिनुर अपार्टमेन्ट लिलामीका लागि २१ दिने सूचना प्रकाशित गरेको हो ।

बस्‍नेत घरजग्गा व्यवसायबाट टाट पल्टिएपछि एक दशकभन्दा बढी समयदेखि कोहिनुर अपार्टमेन्ट अलपत्र अवस्थामा छ । अपार्टमेन्ट निर्माणका लागि बस्‍नेतले कोषमा सोही प्रोपर्टी धितोका रुपमा राखेका थिए । बस्‍नेतले आफ्नो परियोजनाका लागि कोषबाट एक अर्ब ३८ करोड रुपैयाँको कर्जा प्रस्ताव स्वीकृत गराए पनि २३ करोड ७० लाख रुपैयाँ लैजान पाएका थिए । 

यही बिचमा अन्य बैंकहरुले बस्‍नेततले ऋण नतिरेको भन्दै कर्जा सूचना केन्द्रले कालोसूचीमा राखेपछि कोषबाट बाँकी रकम लैजान पाएनन् । 

कोषको सार्वजनिक सूचनामा बस्‍नेतको जग्गा र आधा बनेको अपार्टमेन्ट परियोजना खरिद गर्नेले २१ दिनभित्र बिडिङ प्रकृयामा भाग लिनुपर्ने उल्लेख छ । यदि कोहिनुर हिल हाउजिङले सो अवधिभित्र कोषको ऋण चुक्ता गरेको खण्डमा भने प्रोपर्टी लिलामीमा जाने छैन् ।

यस अघि डेढ वर्षअघि पनि कोषले कोहिनुर अपार्टमेन्ट लिलामीका लागि सार्वजनिक सूचना जारी गरेको थियो । तर, बस्‍नेतबाट पिडितले अपार्टमेन्ट लिलामी रोक्न अदालतमा मुद्दा हालेपछि प्रकृया रोकिएको थियो ।

लिलामी प्रकृयामा धेरै रकम कबोल गर्नेले बिड खोलेको एक महिनाभित्र सबै रकम कोषमा जम्मा गर्नुपर्ने बताइएको छ । कोषले चार महिनाभित्र उक्त प्रोपर्टी बढी रकम कबुल गरेर खरिद गर्ने ग्राहकलाई हस्तान्तरण गर्ने जनाएको छ । 

कोषबाट यो ऋण सुधीर बस्‍नेत र उनकी श्रीमती नितु थापाले लिएका थिए । कोषले लिलामी प्रकृयामा लैजान लागेको सम्पत्तिको भाउ कति हो भनेर केही पनि खुलाएको छैन ।

Tue Jun 28 2022 13:51:44 GMT+0545 (Nepal Time)