– मागभन्दा आपूर्ति बढी भइसकेको प्रतिस्पर्धी बजारमा सिजी सिमेन्ट उद्योगलाई बजार विस्तारमा भने सकस पर्ने देखिन्छ
काठमाडौं । चौधरी ग्रुपले पाल्पाको सोमादी सर्देवामा निर्माण गरिरहेको सिमेन्ट उद्योगको काम ९० प्रतिशत सम्पन्न भएको छ । निकट भविष्यमै उत्पादन बजारमा ल्याउने तयारीमा उद्योग जुटेको छ ।
यो सिमेन्ट उद्योगमा पौने १५ अर्ब रुपैयाँ लगानी हुने बताइएको छ, जसमध्ये ७५ प्रतिशत बैंकको कर्जा हुनेछ । उद्योगले हालै १२ अर्ब ५५ करोड रुपैयाँ कर्जाका लागि रेटिङ पनि गराएको छ ।
यस उद्योगबाट दैनिक ३ हजार टन क्लिंकर र करिव तीन हजार टन सिमेन्ट उत्पादन हुने बताइएको छ । पाल्पाको उद्योगले नवलपरासीको दुम्किवासमा रहेको अर्को सिजी सिमेन्ट उद्योगलाई क्लिंकर सप्लाई गर्नेछ । यो उद्योगले भर्टिकल रोलिङ प्रविधिबाट सिमेन्ट उत्पादन गर्ने बताइएको छ ।
उद्योगको खानी पनि पाँच किलोमिटर दुरीमारहेको छ, जसले गर्दा उद्योगको क्लिंकर र सिमेन्ट उत्पादन लागत कम पर्नेछ । उत्पादन लागत कम भएपछि बजारमा मूल्यमा प्रतिस्पर्धा गर्न पनि उद्योगलाई सहज हुने कम्पनीको विश्वास छ ।
यो उद्योग प्रविधिका हिसावले पनि अब्बल रहने बताइएको छ । उद्योग सञ्चालनका लागि करिव पाँच सय रोपनी जग्गा खरिद गरेको चौधरी ग्रुपले जनाएको छ ।
चौधरी ग्रुपले ९ वर्षअघि नै नवलपरासीमा सिजी सिमेन्ट उद्योग सञ्चालनमा ल्याएको थियो । सुरुमा दैनिक १२ सय टनको ग्रान्डिङ युनिट राखिएकोमा पछि क्षमता विस्तार गरेर दैनिक ३ हजार टन पुर्याइएको छ ।
क्षमता विस्तारमा मात्रै साढे दुई अर्ब रुपैयाँ हाराहारी लगानी गरेको नवलसारीको उद्योगमा पाल्पाको उद्योगबाट क्लिंकर आउनेछ ।
चौधरी ग्रुपले दाङमा रहेको सम्राट सिमेन्ट उद्योगको ३० प्रतिशत शेयर खरिद गरेको छ । सो सेयर हिस्सा खरिद गर्न तीन अर्ब रुपैयाँ लगानी भएको छ ।
चौधरी ग्रुप सिमेन्ट उद्योगको जाेइन्ट बन्ने ध्याउन्नमा लागेको देखिन्छ । पाल्पा सिमेन्ट सञ्चालनमा आएपछि सिजीसँग दैनिक १० हजार टन सिमेन्ट उत्पादन गर्ने क्षमता पुग्ने देखिन्छ ।
सिमेन्ट उद्योगमा सिजी नेपालकै सबैभन्दा ठूलो सिमेन्ट ब्रान्ड हुँदैछ । चौधरी ग्रुप सिमेन्टमा जायन्ट बन्ने उद्देश्यसहित सिमेन्ट उद्योगमा २० अर्बभन्दा बढी लगानी विस्तार गरेको छ ।
सिजीको उद्योगबाट ले अर्डिनरी पोर्टल्यान्ड सिमेन्ट (ओपीसी) र पोर्टल्यान्ड पोजोनाला सिमेन्ट (पीपीसी) सिमेन्ट उत्पादन हुन्छ ।
यो ग्रुपले एफएमसीजी, इलेक्ट्रोनिक्स, हस्पिटालिटी, बैंक, जलविद्यूत, अटोमोबाइल, टेलिकम्युनिकेसन लगायतमा लगानी छ । सिजीका विश्वभरी डेढ सय हाराहारी होटेल तथा रिसोर्ट सञ्चालनमा छन् ।