रंगीन पर्व तिहार आउँदैछ, घर कसरी रंग्याउने ?

कुनै पनि पर्वहरू आउने भन्‍ने वित्तिकै घर रंग्याएर चिटिक्क पार्ने भन्‍ने हुन्छ । जब घर रंग्याउने काम  शुरु हुन्छ, तब पर्व आएको आभास हुन्छ । कतिपयले घर रंग्याउन दशैंतिहार नै कुर्ने पनि गर्छन् । दशैंतिहारमा घरमा कलर गरेर चिटिक्क पार्ने, नयाँ लुगा किन्‍ने, नयाँ सरसामान जोडजाड गर्ने पुरानै चलन हो तर पछिल्लो समय घरमा कलर गर्नका लागि दशैंतिहार कुर्न छाडिएको छ । गाउँघरतिर अझै पनि दशैंतिहारमा घरमा कलर लगाउने चलन छ । तर शहरीकरणको बृद्धिसंगै घरमा आवश्यकता अनुसार कलरिङ गर्न थालिएको छ ।

पहिला पहिला दशैंतिहारमा धेरैजसो रातो, सेतो र पँहेलो कलर लगाउने चलन थियो ।  आजकल त यही नै कलर लगाउनुपर्छ भन्‍ने पनि छैन । घरको प्रोटेक्सन र झट्ट हेर्दा आँखा लाग्‍ने आकर्षक कलर लगाउने चलन बढ्दै गइरहेको छ ।

पछिल्लो समय कलरमा पनि च्वाइसेस बढ्न थालेको छ । अब घर हेर्दा राम्रो भएर मात्र पुग्‍न छाडिसक्यो; कलरले फिलिङ्स पैदा गर्नुपर्छ । घरमा लाइटिङ्गदेखि कलरिङ्गसम्म निकै ध्यान दिन थालिएको छ । आकर्षक कलरिङ्गले घरको माहौल नै परिवर्तत गरिदिन्छ । घरमा भब्यता थपिदिने काम गर्छ । 

अहिले इन्टेरियर डिजाइनरले कोठाहरुको प्रकार र आकार अनुसार आकर्षक र सुहाउँदो कलर छनौट गरिदिन थालेका छन् । घरका कोठाहरुको अवस्थिति अनुसार म्याच हुने खालको कलर लगाउँदा राम्रो हुन्छ ।

घरमा पेन्ट गर्नु भनेको घरको प्रोटेक्सन पनि हो । घरको भित्ताहरु प्रोटेक्सन गर्न पनि गुणस्तरीय पेन्ट लगाउनुपर्छ । आफ्नो घरमा कलर लगाउनका लागि चाडपर्व नै कुर्नुपर्छ भन्‍ने छैन । घरमा लगाउने कलर (Shade) ब्यक्तिगत रोजाइ हो । प्रत्येक परिवारमा ब्यक्ति अनुसार कलरको च्वाइस पनि छुट्टाछुट्टै हुने गर्छ त्यस्तो अवस्थामा परिवारका सबै सदस्य बसेर निर्णय गर्नुपर्ने हुन्छ वा कुनै इन्टेरियर डिजाइनर तथा  अनुभवी बिक्रेता का साथै टेक्निसियनलाई छनौटको जिम्मा दिनुपर्ने हुन्छ । 

कलर छान्दा ध्यान दिनुपर्ने पक्ष

कलर छान्दा केही पक्षहरूमा बिचार पुर्याउनै पर्ने हुन्छ । भित्र लगाउने कलर र बाहिर लगाउने कलरमा पनि ध्यान दिनुपर्छ । घरमा भित्र लगाउने र बाहिर लगाउने कलर फरक फरक हुन्छन् । घरको भित्र लगाउने कलर बाहिर लगाउन हुँदैन । 

बाहिर लगाउने कलर  र भित्र लगाउने कलरमा भिन्‍नता छ । कोठामा बाहिरबाट कति उज्यालो पस्छ र भित्र कस्तो किसिमका लाइटिङ्ग र फ्लोरिङ्ग राखिएको छ भन्‍ने कुरालाई पनि मध्यनजर गरेर कलर छान्‍नुपर्छ । खुल्ला घर छ र कोठामा बाहिरबाट राम्रै उज्यालो प्रवेश गर्छ भने त्यस कोठामा डार्क शेडहरु प्रयोग गर्न सकिन्छ । तर उज्यालो छिर्ने ओपनिङ्गहरू कम छन् भने कोठामा डार्क शेड प्रयोग गर्दा कोठा झनै अँध्यारो हुन्छ । त्यस्ता कोठामा लाइट शेड प्रयोग गर्नुपर्छ। विशेष रुपले बाहिरी भागमा कलर गर्दा शेडमा ध्यान दिनुपर्छ ।

बाहिर पिंक, ओरेन्ज भायोलेट शेडहरु प्रयोग गर्दा चाँडै चमक हराउने सम्भावना बढी हुन्छ । घरको बाहिर प्रयोग गर्दा बलौटे (sandy) कलर वा  क्रिम कलर गर्दा राम्रो हुन्छ । यस्तो कलर सदाबहार पनि हुन्छ । आजकल बाहिरी भागमा लगाउनका लागि घाम–पानीले पनि नबिग्रिने उच्च गुणस्तरका उत्पादनहरू उपलब्ध छन् । 

हामी सबैले बुझ्‍नै पर्ने तथ्य के पनि हो भने कतिपय कलर चाँडै उड्ने हुन्छन्, कतिपय कलर हत्तपत्त उडेर डिसकलर हुँदैनन् । यो कलरको प्रकृति नै हो । विशेष गरेर बिक्रेता–विज्ञहरु वा अनुभवी टेक्निसियनसँग सल्लाह गरेर कलर गर्दा राम्रो हुन्छ । 

कोठा अनुसार कसरी कलर छनौट गर्ने ?

कुन कोठामा कुन कलर लगाउने भनेर यकिन गर्न  धेरै अन्यौल भएको पाईन्छ तर कलरको कुनै रेस्ट्रिक्सन  हुँदैन । कलर अथाह छ, मान्छेको च्वाइस पनि अथाह छ । कलर भनेको नितान्त व्यक्तिग च्वाइस हो । एउटा परिवारमा त व्यक्तिपिच्छे च्वाइसेस फरक फरक हुन्छन् भने करोडौं नेपालीहरूको  च्वाइसमा कहाँ एकररूपता हुनु !  कलरका हजारौं शेडहरु हुन्छन् । घरमा कलर च्वाइस गर्दा त्यसको फ्लोरिङ लगायत फर्निसिङ्गमा पनि ध्यान दिनुपर्छ । बाहिरबाट कोठामा छिर्ने उज्यालोको पनि ध्यान दिनुपर्छ । यिनै कुराहरु याद गरेर कलरमा प्ले गर्ने हो । कलरमा जति खेल्न सक्यो त्यति सुन्दर !

आजकल कोठाको ४ वटा भित्तामा फरक फरक कलर लगाउने पनि चलन बढ्दो छ । हामीले ग्राहकलाई कलर बुकमा भएका १ हजार ५० भन्दा बढी शेडमध्येबाट कलर छनौट गर्न दिन्छौं । तर ग्राहकले त्यो भन्दा पनि फरक खालको शेड बनाइदिन चाहना गरेमा पनि च्वाइस अनुसारको शेड तयार पारिदिन्छौं । कलरमा हजारौं डिजाइनमा खेल्न सकिन्छ । जति ब्यापक खेल्यो त्यति फेस्टिभ माहौल बन्छ । चाडपर्वको मुड आउँछ । 

वास्तु अनुसारको कलर छनौट

पछिल्लो समय बास्तु अनुसार पनि कलर छनौट गर्ने चलन बढ्दै छ । वास्तुशास्त्र एक विज्ञान हो । कलर लगाउँदा वास्तु अनुसार म्याचिङ्ग गर्न  पनि सकिन्छ । वास्तुविज्ञसँग सल्लाह गरेर ग्राहकहरु आएको खण्डमा हामीले सोही अनुसारको कलर उपलब्ध गराउन सक्छौं । 

कलरमा किन चाँडै समस्या आउँछ ? 

यो बिषयमा सबैजना सचेत हुन अत्यन्तै जरुरी छ । कतिपयले घरमा कलर गरेपछि चाँडै उप्कियो भने पेन्ट कम्पनीलाई दोष दिन्छन् । ब्रान्डप्रति अविश्‍वास प्रकट गर्छन् । त्यो सरासर गलत हो । हुन सक्छ कतिपय पेन्ट गुणस्तरहीन पनि होलान ; भाँती पुर्याएर लगाउँदा पनि चाँडै उप्किन सक्छ । तर, राम्रो ब्रान्ड छनोट गरेर सामान्य नियम पुर्वक पेन्ट गर्यो भने  तत्कालै उप्किने वा बिग्रिने हुँदैन । ग्राहकले घरमा पेन्ट लगाउने बेलामा थोरै पनि सचेत भइदिए  कलर बर्षौं उस्तै रहन्छ ।

चिसोपना वा ओश 

चिसोपना वा ओश सबैभन्दा सचेत हुनु पर्ने एक समस्या हो । चिसोपना वा ओशको समाधानका लागि प्लम्बिङ्ग देखि प्लास्टरसम्म ध्यान दिनु पर्दछ । घर बनाउने क्रममा काम सक्नका लागि भित्ताको प्लास्टर नसुक्दै हतार हतार कलर लगाइदिन सक्छन् । अझ कतिपय अवस्थामा एकातिर वालपट्टी गर्दै गर्ने अर्कोतिरबाट कलर लगाउँदै जाने पनि गरेको पाइन्छ । त्यो गलत हो ।

कतिपय अवस्थामा घर सर्नका लागि चाँडै घर निर्माण सम्पन्‍न गर्न दबाब दिइरहेका हुन्छन् । सोही कारण भित्ता नसुक्दै कलर गरिदिने गरेको पनि पाइन्छ । चिसो नसुकेको प्लास्टरमा कलर लगाउँदा जतिसुकै गुणस्तरीय कलर भएपनि धब्बा देखिने,चाँडै उप्किने समस्या देखिन्छ । राम्रोसँग प्लास्टर सुकेपछि मात्र कलर गर्नुपर्छ । राम्ररी सुकेको प्लास्टरमा स्तरीय कम्पनिको राम्रो कलर लगायो भने १० बर्षसम्म ढुक्क हुन सकिन्छ ; कलरले राम्रोसँग समात्छ र दाग–धब्बा पनि देखिँदैन । 

घर भनेको एक-दुई बर्षका लागि बनाउने होइन ।  घर जीवन विताउने थलो हो । बर्षेनी कलर लगाइराख्‍न पनि सकिदैन । कलर लगाउँदै गर्दा अलिकति ध्यान पुर्याउन सकेको खण्डमा पछि पछुताउनु पर्दैन । पेन्ट कम्पनीलाई दोष दिन पनि पर्दैन। ब्राण्डप्रति अविश्‍वास प्रकट गर्न पनि पर्दैन ।

हामीलाई पनि ग्राहकहरुका यस्ता गुनासा आइरहेका हुन्छन् । हामीले ग्राहकको घरमै पुगेर राम्रोसँग सम्झाउँछौं । हामीले सम्झाइ बुझाई गरेपछि उहाँहरु कन्भिन्स हुनुहुन्छ । हामीले कलर बिक्री गर्दै चिसो प्लास्टरमा कलर नलगाउन सुझाव पनि दिइरहेका हुन्छौं ।

कलर ठिक कि वालपेपर ? 

पेन्ट वालको प्रोटेक्सन पनि हो । पछिल्लो समय बजारमा विभिन्‍न डिजाइन र कलरका वालपेपर पाउन थालेको छ । कतिपय ग्राहकहरुले वालपेपर लगेर टाँस्‍ने गरेको पनि पाइन्छ । तर, उनीहरु वालपेपरबाट छिट्टै निरास हुने गर्छन् । वालपेपर किन्दै महंगो मूल्य तिर्नुपर्छ । चिसो ठाउँमा वालपेपर टाँस्दा तत्कालै समस्या देखिन्छ । वालपेपरमा कलरमा जस्तो च्वाइस हुँदैन । आजकल कलरबाट पनि वालपेपरको भन्दा राम्रो डिजाइन र बुट्टा निकाल्न सकिन्छ ।

कलरले गरेको डिजाइन टिकाउ पनि हुन्छ । कम्तिमा ८-१० बर्ष त टिक्छ नै । कतै दाग लागिहाल्यो भने पानीले पुछ्न वा धुन पनि सकिन्छ । यो सुविधा वालपेपरमा कहाँ पाउनु ! कोठामा एउटा कुनाको वालपेपर बिग्रियो भने त्यस्तै वालपेपर पुन: नपाउने हुनाले पुरै भित्ताको वालपेपर परिवर्तन गर्नुपर्ने पनि हुन सक्छ जुन अत्यन्तै खर्चिलो हुने गर्छ । 

वालपेपर भन्दा अझ बढी डिजाइन इफेक्ट पेन्टबाट प्राप्त गर्न सकिन्छ । वालपेपर जस्तै प्याटर्न बनाउन र बजेट पनि कम गर्न इफेक्ट पेन्ट प्रयोग गर्न सकिन्छ र यो टिकाउ पनि हुने गर्छ । चिसो भित्तामा वालपेपर उप्किन्छ र  स्क्रयाच हुन्छ भने पेन्टले  वालको सतहमा एकरूपता पनि दिन्छ ।

इन्डिगो पेन्ट्सका सञ्चालक बेदु पाण्डे र तुलसी भुसालसँग गरिएको कुराकानीमा आधारित

Sun Oct 16 2022 10:59:33 GMT+0545 (Nepal Time)