घरजग्गामा देखियो मन्दीः असोजमा २५ हजारमात्रै घरजग्गा किनबेच, राजश्‍व साढे दुई अर्ब

काठमाडौं । अर्थतन्त्रमा देखिएको संकटसँगै घरजग्गा व्यवसाय पनि सुस्ताएको छ । पछिल्ला महिनामा घरजग्गा कारोबार निरन्तर घटिरहेको भूमि व्यवस्थापन तथा अभिलेख विभागले जनाएको छ ।

असोज महिनामा देशभरी २५ हजार ७८९ घरजग्गामात्रै किनबेच भएका छन् । जबकी गत वर्षको असोजमा ५९ हजार २२७ घरजग्गा किनबेच भएका थिए । यही वर्षको भदौमा देशभरी ३४ हजार ७२० घरजग्गा किनबेच भएको थियो । गत वर्षको भदौमा ७० हजार ९० घरजग्गा किनबेच भएका थिए ।

यस्तै, चालु आर्थिक वर्षको पहिलो महिना साउनमा ३३ हजार ८३४ घरजग्गा किनबेच भएका थिए । जबकी, अघिल्लो साउनमा देशभरीका मालपोतबाट ७५ हजार ४१७ घरजग्गा किनबेच भएको भूमि विभागको तथ्यांक छ ।

यो आर्थिक वर्षमा पनि निरन्तर घरजग्गा किनबेच घट्दै गइरहेको देखिन्छ । 

घरजग्गा कारोबार घटेपछि राजश्‍व असुली पनि प्रभावित भएको छ । असोज महिनामा देशभरीका मालपोत कार्यालयले सेवा प्रवाह गरेर दुई अर्ब ५७ करोड रुपैयाँमात्र राजश्‍व संकलन गरेका छन् । जबकी, गत वर्षको असोजमा सात अर्ब ३३ करोड रुपैयाँ राजश्‍व संकलन भएको थियो ।

अर्थतन्त्र संकटोन्मुख हुँदै गएपछि घरजग्गा कारोबारमा सुस्तता आएको रियलस्टेट व्यवसायीहरु बताउँछन् । घरजग्गामा मन्दी आइसकेको कतिपय व्यवसायीको अनुमान छ । 

लगानी योग्य रकमको अभावले बैंकले ऋण प्रवाह गर्न नसक्नु, ब्याजदर बढ्नु, घरजग्गामा क्षेत्रमा हुने कर्जा प्रवाहमा कडाई गरिनु, चार आनाभन्दा कम क्षेत्रफलको जग्गा कित्ताकाट गर्न नपाउनु लगायत कारणहरुले घरजग्गा किनबेचमा मन्दी छाएको हो ।

त्यसमाथि, सरकारले भूउपयोग नियमावली २०७९ जारी गरेपछि चालु आर्थिक वर्षको सुरुवातदेखि नै घरजग्गा किनबेच झन सुस्ताएको हो । भूउपयोग नियमावली लागू हुनुभन्दा पहिला असारमा, ४७ हजार २७, जेठमा ५४ हजार ५११, वैशाखमा ४४ हजार ८०३ घरजग्गा किनबेच भएका थिए ।

कित्ताकाटमा कडाई नहुँदै पनि वैशाखदेखि नै घरजग्गा किनबेचमा तरलता अभाव र बढ्दो ब्याजदरले प्रभाव पारिसकेको थियो । जसले गर्दा सामान्य महिनामा ७० हजारभन्दा बढी घरजग्गा किनबेच भइरहेको अवस्थामा संकट बढ्दै गएपछि वैशाखदेखि ५० हजारभन्दा कम घरजग्गा किनबेच भएका थिए ।

सरकारले भूउपयोग नियमावली जारी गरेर २७ असारमा कृषि र गैरकृषि भूमिको वर्गीकरण नगरी कित्ताकाट नगर्न मालपोत र नापी कार्यालयलाई निर्देशन दिएको थियो । कृषि र गैरकृषि भूमि छुट्याउनका लागि स्थानीय तहमा रहेका भूउपयोग परिषदलाई अख्तियारी दिइएको छ । तर, स्थानीय तहले अहिलेसम्म पनि जग्गाको वर्गिकरण गर्न नसक्दा कित्ताकाट ठप्प भएको हो । 

देशभरी कित्ताकाट ठप्प भएपछि मालपोत कार्यालयमा सेवाप्रवाह पनि ७५ प्रतिशतभन्दाले घटेको मालपोत अधिकृतहरुको भनाई छ । 

असोजमा देशभरीका मालपोत कार्यालयबाट घरजग्गा किनबेचलगायत विभिन्‍न शिर्षकमा ७४ हजार ८५० सेवा प्रवाह भएका छन् । जबकी, गत वर्षको असोजमा देशभरीबाट एक लाख ६८ हजार सेवा प्रवाह भएको थियो ।

धेरै जग्गा किनबेच हुनेमा इनरुवा पहिलो, बाँके दोस्रो

असोजमा सबैभन्दा धेरै घरजग्गा सुनसरीको इनरुवा मालपोतबाट ११ सय ४९ वटा किनबेच भएका छन् । दोस्रोमा बाँकेबाट एक हजार २८ र धनुषको जनकुपरधामबाट एक हजार चार घरजग्गा किनबेच भएको विभागले जनाएको छ । 

घरजग्गा किनबेचमा पहिलो वा दोस्रो हुँदै आइरहेको मोरङको बेलवारीमा आठ सय ५९ घरजग्गा किनबेच भइ चौथो बनेको छ ।

भदौमा इनरुवाबाट १७ सय ९५ घरजग्गा किनबेच भएर पहिलो बनेको थियो । १४ सय ४४ घरजग्गा किनबेच गराई बाँकेको नेपालगञ्‍ज दोस्रो र १३ सय ६९ घरजग्गा किनबेच गराई धनुषा तेस्रो बनेको थियो । चौथो बनेको बेलवारीबाट १२ सय ६९ घरजग्गा किनबेच भएका थिए । 

भद्रपुर झापामा ६ सय ९१, मोरङको बिराटनगरमा ५५६, सप्तरीको राजविराजमा ८१७, महोत्तरीको जलेश्वरमा ६६६, सर्लाही मलंगवामा ५३२, ललितपुरमा ६०६, भक्तपुरमा ५४०, कलंकीमा ६२०, कपिलवस्तुको तौलिहवामा ६०६, दाङ घोराहीमा ६७५, दाङ तुलसीपुरमा ६७१ र धनगढीमा ५२० घरजग्गा किनबेच भएका छन् । 

असोजमा साढे दुई अर्ब राजश्‍व संकलन

असोजमा दुई अर्ब ५७ करोड रुपैयाँ राजश्‍व संकलन भएको छ । जसमध्ये रजिष्ट्रेशन शुल्कवापत एक अर्ब ३६ करोड र पुँजीगत लाभकरवापत ७५ करोड रुपैयाँ राजश्‍व संकलन भएको छ । सेवा शुल्कवात १६ करोड रुपैयाँ संकलन भएको छ ।

Wed Oct 19 2022 12:57:37 GMT+0545 (Nepal Time)