तीन महिनामा ७८ अपार्टमेन्टमात्रै किनबेच, घरजग्गामा देखियो चरम मन्दी

काठमाडौं । घरजग्गा क्षेत्रमा देखिएको मन्दीको असर हाईराइज अपार्टमेन्ट किनबेचमा पनि देखिएको छ । तीन महिनामा देशभरी ७८ मात्रै अपार्टमेन्ट किनबेच भएको भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांक छ ।

साउन महिनामा २५ अपार्टमेन्ट किनबेच भएका थिए भने भदौमा ३१ र अशोजमा २२ अपार्टमेन्ट किनबेच भएका छन् । भदौको तुलनामा अशोजमा ९ अपार्टमेन्ट कम किनबेच भएका छन् ।

पछिल्लो समय घरजग्गासहित समग्र अर्थतन्त्रमै चरम मन्दी छाएको छ । घरजग्गा किनबेच तीन गुनाभन्दा बढीले घटिसकेको छ । कुनै समय महिनामा ८७ हजारसम्म घरजग्गा किनबेच भएकोमा अशोजमा २५ हजारमात्रै घरजग्गा किनबेच भएका छन् । 

देशभरीका मालपोत कार्यालयबाट संकलन हुने राजश्‍व पनि साढे आठ अर्बबाट घटेर साढे दुई अर्बमा खुम्चिएको विभागको तथ्यांकले देखाउँछ ।

अशोजमा ललितपुर मालपोतबाट १३ वटा अपार्टमेन्ट किनबेच भएका छन् भने डिल्ली बजारबाट पाँचवटा, चावाहिलबाट दुई, कलंकीबाट तीन, टोखाबाट एक र पर्सा (वीरगञ्‍ज)मा एकवटा अपार्टमेन्ट किनबेच भएका छन् ।

बैंकिङ प्रणालीमा तरलता अभाव, चर्को ब्याजदर, नयाँ अपार्टमेन्टको अभावलगायत कारणले अपार्टमेन्ट किनबेच सुस्ताएको हो । त्यसमाथि राष्ट्र बैंकले पनि घरजग्गामा प्रवाह हुने कर्जामा कडाई गरेको छ । घरजग्गामा चौतर्फी कडाई हुँदा किनबेच सुस्ताउँदै गइरहेको विभागको तथ्यांकले नै देखाउँछ ।

नेपालमा अपार्टमेन्ट भन्दा व्यक्तिगत घरमै आकषर्ण बढी देखिन्छ । विभागको तथ्यांक हेर्दा अपार्टमेन्ट किनबेच सबैभन्दा धेरै काठमाडौं उपत्यकामा हुने गरेको छ । त्यसमा पनि लालितपुर सबैभन्दा अगाडि छ । ललितपुरको भैंसेपाटी, नख्खु, धापाखेल, हात्तीवनलगायत ठाउँमा धमाधम अपार्टमेन्ट निर्माण भइरहेका छन् ।

पछिल्लो समय पोखरा, वीरगञ्‍ज, भैरहवालगायत ठाउँमा पनि अपार्टमेन्ट निर्माण सुरु भएको छ । 

पोखरामा एक दर्जनभन्दा बढी अपार्टमेन्ट निर्माण भइरहेका छन् भने काठमाडौंमा पनि धनाढ्य वर्गलाई लक्षित गरेर प्रिमियम लक्जरी अपार्टमेन्ट निर्माण भइरहेको देखिन्छ ।

नेपालमा भर्खरै अपार्टमेन्ट कल्चर विकास हुँदै गरेको बेलामा २०७२ भूकम्प गएपछि अपार्टमेन्ट किनबेच सुस्ताएको थियो । अपार्टमेन्ट किनबेच घटेपछि डेभलपर पनि सिंगल यनिट घरका हाउजिङ परियोजनामा केन्द्रित भए ।

तर, पछिल्लो समय हाईराइज अपार्टमेन्टको खोजी हुन थालेपछि डेभलपरहरु अपार्टमेन्ट निर्माणमा जुटेका छन् ।

Tue Nov 08 2022 13:08:13 GMT+0545 (Nepal Time)