घरमा चोरी हुन नदिन कस्ता सुरक्षा उपायहरु अपनाउने ?

हामीले आफ्नो घरको सुरक्षाका बारेमा धेरै सोच्‍नुपर्छ । किनकी, सधै दिनहरु एकैनास हुँदैनन् । कुनै दिन तपाईं घर बाहिर निस्कने वित्तिकै चोर पसेर चोरी गर्न सक्छ । घरमा चोर पसेर चोरी गरेका समाचार हाम्रा लागि कुनै नौला होइनन् ।

दशैं तिहारमा धेरै चोरीका घटनाहरु सुनिन्छन् । घरमा कोही पनि नभएको मौका छोपेर चोरहरु घरमा पसेर पैसा, गरगहना, महत्वपूर्ण र बहुमूल्य सामाग्रीहरु चोर्छन् । त्यसैले धेरै घरधनीहरुलाई दशैं तिहारमा घर कुरेर बस्‍नुपर्ने बाध्यता पनि छ ।

हामीले घरको सुरक्षाका लागि विभिन्‍न तरिकाहरु अपनाउन सक्छौँ, जसले घरमा चोरी हुनबाट जोगाउन सक्छन् । 

सुरक्षा साइरन जडान

यदि तपाईं आफ्नो घरको सुरक्षाको लागि साच्चै नै गम्भीर भएर सोचिरहनु भएको छ भने तपाईंले आफ्नो घरमा सुरक्षा साइरन जडान गर्नु ठिक हुन्छ । सुरक्षा साइरन जडान गरेपछि चोरि डकैती वा अन्य जोखिमको सम्भावना कम हुन्छ । 

सुरक्षा साइरन जडान गरिसकेपछि प्रत्येक दिन रातीको समयमा सुत्‍न जानुअघि तपाईंले साइन सेट गर्ने बानी बसाल्नुपर्छ । जसले गर्दा राती हुन जाने घटनाहरुबाट साइरनको आवाजद्वारा अगाडि नै जानकारी पाउन सक्नुहुन्छ ।

घरको प्रवेशद्वार लक गर्ने

तपाईले घरको मुख्य ढोका लक गर्दा बलियो चाबी लगाउने गर्नुपर्छ । यसो गर्नाले घरको सुरक्षा हुन्छ ,जोकोही तपाईको घरमा अनुमति बिना पस्न सक्दैन । चाबी प्रयोग गर्दा खिया लागेको प्रयोग गर्नु हुँदैन । खिया लागेको चाबी राम्रोसँग लागेको हुदैन र चोरी हुने सम्भावना बढि हुन्छ । त्यसैले मुख्यद्वारमा चाबी प्राय परिवर्तन गरिरहनुपर्छ, धेरै पुरानो प्रयोग गर्नु हुदैन ।

झ्याल राख्दा सुरक्षित तरिकाले राख्नुपर्छ

तपाई आफ्नो घर सुरक्षित राख्‍न चाहनुहुन्छ तर, तपाई बाहिर कतै  निस्किनु परेमा झ्याल बन्द छ वा खुला छ याद नै नगरि जानुभयो भने जे पनि हुन सक्छ । अर्थात, घरमा जोकोही पनि जान सक्छन् । त्यसैले तपाई आफ्नो घरको झ्यालमा अलि धेरै नै विचार गर्नुपर्छ । आफु घरबाट बाहिर जाँदा होस् वा राती सुत्ने समयमा होस् राम्रोसँग झ्याल लागेको छ  कि छैन हेर्नुपर्छ । गर्मी मौसमहरुमा राति झ्याल खोलेर राख्‍न धेरैको बानी हुन्छ त्यसको लागि तपाईले झ्यालहरुमा बलियो खाले जालीवाला झ्याल राख्नु ठिक हुन्छ । 

बहुमुल्य सामान घरमै राख्दा पनि नदेखिने गरि राख्नुपर्छ 

सकभर बहुमूल्य गरगहना घरमा राख्नै हुँदैन । बैंकको लकरमा सुरक्षित राख्नुपर्छ । तपाईले घरमा त सुरक्षित भइहाल्छ नि भनेर आफ्नो गरगहना यतिकै बाहिर राख्नुभयो भने चोरी हुन सक्छ । आफ्ना बहुमूल्य सामानहरु यतातत्र छरेर राख्नु हुँदैन । 

बहुमूल्य सामानहरु झ्याल ढोकाको नजिक राख्नुहुदैन । चोरहरुले रड तथा लठ्ठीमा अंकुशको साहराले सजिलै त्यस्ता सामान चोरेर लैजान सक्छन् । 

चाबी सुरक्षित गरि कहाँ राख्‍ने ?

तपाईले आफ्नो घरबाट बाहिर निस्कदा चाबी जुत्तामा, डोरम्याटमुनी, र्याकमा, गमला आदिमा राख्‍ने गर्नुभएको होला । यदि त्यसो हो भने त्यो एकदमै गलत बानी हो । किनभने गलत नियतका मान्छेको नजरमा त्यो कुरा पर्न गइ ठुलो धनमाल चोरि हुन सक्छ । यसैले गर्दा आफ्नो घरको चाबी त्यस्तो ठाउँमा राख्नु वा लुकाउनु हुदैन । त्यसको लागि अरु विकल्प सोच्‍न सकिन्छ । परिवारको सदस्य संख्या हेरी आवश्यकता अनुसार अतिरिक्त चाबी बनाउनु बुद्धिमानी हुन्छ ।

स्मार्ट लाइटिङ राख्नुपर्छ 

प्रायजसो चोर्ने नियतले आएका चोरहरु अध्यारोमै बढि सक्रिय हुन्छन् । अध्यारोमा सजिलै अरुले नदेख्ने भएकोले चोरलाई सहज हुन्छ । प्रविधिको बढ्दो विकास सँगै बजारमा अहिले स्मार्ट लाइटहरु उपलब्ध हुन थालेको छ । यस्तो बत्तीमा सेन्सर हुने भएकोले बत्ती जडान भएको नजिक मान्छेकको चाल अनुरुप स्वतः बल्छ । त्यसकारण उज्यालो भएपछि चोर आउने सम्भावना कम हुन्छ ।

आफु घरमा नभएको भान पर्न नदिनुहोस् 

जुनघरमा मान्छे छैन भन्‍ने थाहा हुन्छ त्यस घरमा चोरको नजर धेरैै परेको हुन्छ । आफु केही दिनको लागि घरबाट कतै जानुपर्ने छ भने घरमा दैनिक रुपमा ल्याइदिने सामानहरु लाई अगाडि नै खबर गरिदिनु पर्छ । जसले गर्दा बाहिरी मान्छेलाई घरमा कोही नभएको भान पदैन र जोकोही पनि तपाईको घरमा आउन सक्दैनन् ।

आफुले राखेको सुरक्षा प्रणालीको नियमित रुपमा जाँच गर्नुहोस् 

तपाईले घरमा सुरक्षाको लागि जडान गरिएको तथा राखिएको सुरक्षा प्रणालीले सहि तरिकाले काम गरेको छ छैन विचार गर्नुहोस् । जस्तो कि सुरक्षा साइरन त घरमा राख्नु भएको छ तर त्यसले काम नै गरेको छैन घरमा चोरहरु आउन सक्छन् । घरको प्रवेशद्वारहरु झ्यालहरु राम्रोसँग लागेको नलागेको पनि दैनिक रुपमा आफु घर बाहिर जाँदा होस् या राती सुत्‍ने बेलामा सधैँ चेकजाँच गनुहोस् । 

Mon Nov 14 2022 12:37:59 GMT+0545 (Nepal Time)