किन निरन्तर घट्दैछ घरजग्गा कारोबार ?

काठमाडौं । दशैं–तिहारपछि घरजग्गा व्यवसायमा क्रमशः सुधार आउने अपेक्षा विपरित कात्तिकमा पनि किनबेच लयमा फर्किन सकेन ।  

कात्तिक महिनामा देशभरीका मालपोत कार्यालयबाट २७ हजार ९३९ लिखत पारित भएका छन् । यो तथ्यांकमा घरजग्गा किनबेचसँगै अशंबण्डा, एकाकार परिवारभित्र नामसारी लगायतका लिखत पारित समेटिएका छन् । गत वर्षको कात्तिकमा देशभरी ५० हजार ८३ घरजग्गाको लिखत पारित भएको भूमि व्यवस्थापन तथा अभिलेख विभागले जनाएको छ ।

अशोजको तुलनामा कात्तिकमा लिखत पारित करिव २२ सयले बढेपनि अपेक्षित नभएको घरजग्गा व्यवसायी बताउँछन् ।

पछिल्लो समय अर्थतन्त्रमा देखिएको चरम संकटको सामान घरजग्गा व्यवसायले गरिरहेको छ । सरकारी तथा निजी क्षेत्रबाट हुने गरेका निर्माणजन्य कामहरु पनि ठप्प भइदिँदा निर्माण सामाग्री उत्पादक उद्योगहरु करिब बन्द हुने अवस्थामा पुगेका छन् । 

अहिले बजार माग घटेपछि सिमेन्ट, डन्डी लगायत उद्योग करिव ३० प्रतिशत क्षमतामा मात्र सञ्‍चालन गरिरहेको उद्योगीको गुनासो छ ।

कोभिड महामारीपछि ह्वात्तै बढेको घरजग्गा किनबेच बजारमा तरलता संकट देखिन थालेपछि सुस्ताउँदै गएको हो । त्यसमाथि सरकारले जग्गाको कित्ताकाटमा कडाई गरेपछि कारोबार करिव ठप्पजस्तै छ ।

अहिले बैंकले तरलता अभावका कारण ऋण लगानी गर्न सकिरहेका छैनन् । तरलता अभावकै कारण वाणिज्य बैंकहरुकै ब्याजदर बढेर १८ प्रतिशतसम्म पुगेको छ । जबकी, कोभिडपछि बैंकको ब्याजदर घटेर ७ प्रतिशतसम्म झरेको थियो । पछिल्लो एक÷डेढ वर्षमा ब्याजदर दोब्बरभन्दा बढीले बढेको देखिन्छ ।

नेपाल राष्ट्र बैंकले पनि घरजग्गा क्षेत्रमा प्रवाह हुने कर्जामा कडाई गरेको छ । चालु आर्थिक वर्षको मौद्रिक नीतिमा घरजग्गामा प्रवाह हुने कर्जाको सिमा काठमाडौंमा फेयर मार्केट भ्यालूको ३० प्रतिशत कायम गरिएको छ । यसअघि बैंकले काठमाडौंमा घरजग्गामा ४० प्रतिशतसम्म कर्जा लगानी गर्दै आइरहेका थिए ।

दुई आर्थिक वर्षमा भएको घरजग्गा कारोबार

महिना

०७८/७९

०७९/८०

साउन

७५,४१७

३३,८३४

भदौ

७०,०९०

३४,७२०

अशोज

५९,२२७

२५,७८९

कात्तिक

५०,०८३

२७,९३९

भूमि विभागले भूउपयोग नियमावली २०७९ लागू गरेर कित्ताकाटमा कडाई गरेसँगै असारदेखि नै घरजग्गाको कारोबार ५० प्रतिशतभन्दा बढीले घटेको छ ।

स्थानीय तहले कृषि र गैरकृषि भूमि वर्गिकरण गरी सिफारिस दिएपछि मात्र कित्ताकाट गर्न पाइने व्यवस्था छ । तर, स्थानीय तहहरुले जग्गाको बर्गिकरण गर्न सकेका छैनन् । जसले गर्दा देशभरी नै कित्ताकाट हुन सकेको छैन् ।

चालु आवको पहिलो महिना साउनमा ३३ हजार ८३४ लिखत पारित भएका छन् । जबकी, गत वर्षको साउनमा ७५ हजार ४१७ लिखत पारित भएका थिए । यस्तै, गत भदौमा ७० हजार ९० घरजग्गाको लिखत पारित भएकोमा यस भदौमा ३४ हजार ७२० लिखतमात्र पारित भएको तथ्यांक छ ।

गत अशोजमा ५९ हजार २२७ लिखत पारित भएकोमा यो अशोजमा २५ हजार ७८९ घरजग्गाको लिखत पारित भएको देखिन्छ ।

यसरी घरजग्गकाको कारोबार निरन्तर खस्किनुमा कित्ताकाटमा रोकावटसँगै तरलता अभाव र ब्याजदर वृद्धि पनि मुख्य कारण रहेको व्यवसायीको तर्क छ ।

कात्तिकमा कहाँ कति कारोबार ?

कात्तिकमा पनि सबैभन्दा बढी घरजग्गा किनबेच सुनसरीको इनरुवा (इटहरी क्षेत्र) मालपोत कार्यालयले गराएको छ । इनरुवा मालपोतबाट एक महिनामा ११ सय ७६ घरजग्गा किनेबच भएका छन् ।

बाँकेको नेपालगञ्‍ज मालपोतमा ११ सय ४२ घरजग्गाको लिखत पारित भएको भूमि विभागले जनाएको छ । यस्तै, धनुषाको जनकपुर मालापोत कार्यालयबाट एक हजार सात घरजग्गाको लिखत पारित भएको छ ।

झापाको भद्रपुरमा ८५२, मोरङको बेलवारीमा ९५०, सप्तरीको राजविराजमा ८०३, रुपन्देहीको बुटवलमा ६८२, दाङको घोराहीमा ६९९, कैलालीको धनगढीमा ६३५ घरजग्गा किनबेच भएका छन् । 

Fri Nov 18 2022 09:39:41 GMT+0545 (Nepal Time)