अपुतालीको सम्पत्तिमा कसको हुन्छ अधिकार ? यस्तो छ कानुनी व्यवस्था

सामान्य अर्थमा अपुताली भन्नाले सन्तान, अंशियारा नभएको व्यक्तिको सम्पत्ति भन्ने जनाउछ । मुलुकी देवानी संहिताको परिच्छेद ११ मा अपुतली सम्बन्धि व्यवस्था छ । ऐनले मृतकको ऋण, धन र सम्पत्ति सम्बन्धी दायित्व र अधिकार कानून बमोजिम नजिकको हकवालामा सर्ने कार्यलाई अपुताली भनी व्याख्या गरेको छ । 

79CE4F0F852695E-photo.jpeg

दावी नगरेको अपुतालीे सम्पत्ति स्थानीय तहको हुने, बिदेशीलाई चार महिनाको म्याद 

सम्पत्ति मालिकको मृत्युपछि त्यसको हकवाला को हुने भन्‍ने सम्बन्धमा हाम्रो समाजमा विभिन्‍न विवाद हुने गरेका छन् । यस सम्बन्धमा मानिसहरुले आफ्नै अनुभव र बुझाइका आधारमा विभिन्‍न तर्कहरु दिने गरेका छन् । कानूनमा के छ र कसरी अभ्यास भैरहेको भन्‍ने सम्बन्धमा भने धेरैलाई थाहा नहुन सक्छ ।

के हो अपुताली ?

सामान्य अर्थमा अपुताली भन्‍नाले सन्तान, अंशियारा नभएको व्यक्तिको सम्पत्ति भन्‍ने जनाउछ । मुलुकी देवानी संहिताको परिच्छेद ११ मा अपुतली सम्बन्धि व्यवस्था छ । ऐनले मृतकको ऋण, धन र सम्पत्ति सम्बन्धी दायित्व र अधिकार कानून बमोजिम नजिकको हकवालामा सर्ने कार्यलाई अपुताली भनी व्याख्या गरेको छ । 

कसरी पर्छ अपुताली ?

कुनै निसन्तान व्यक्तिको मृत्यु भएमा निजको अपुताली खुला भएको मानिने व्यवस्था कानूनले गरेको छ । त्यसरी कुनै व्यक्तिको मृत्यु भई अपुताली खुला भएमा निजको नजिकको हकवालाले त्यस्तो अपुताली पाउने उल्लेख छ । यसरी अपुताली पाउने हकवालाको पनि प्राथमिकता क्रम तोकिएको छ ।

हकवालाको प्राथमिकताक्रममा को–को पर्छन त ? 

अपुताली पाउने नजिकको हकवालाको प्राथमिकताक्रम पनि कानूनले तोकेको छ । जस अनुसार पहिलो क्रममा सगोलको पति वा पत्नी दोस्रो क्रममा सगोलको छोरा, छोरी, विधवा बुहारी तेस्रो क्रममा सगोलका बाबु, आमा, सौतेनी आमा, छोराछोरी तर्फका नाति, नातिनी, नातिनी बुहारी चौथो क्रममा भिन्‍न भएका पति, पत्नी, छोरा, छोरी, बाबु, आमा, सौतेनी आमा पाँचौ क्रममा भिन्‍न भएका छोरातर्फका नाति, नातिनी, छैटौं क्रममा भिन्‍न भएका बाजे, बज्यै, सातौँ क्रममा सगोलका जिजुबाजे, जिजुबज्यै, दाजु, भाइ, दिदी, बहिनी, विधवा भाउजू वा भाइ बुहारीलाई राखिएको छ भने आठौँ क्रममा सगोलका काका, काकी, भतिजा, भतिजी पर्छन् भने नवौँ क्रममा भिन्‍न भएका दाजु, भाइ, दिदी, बहिनी, विधवा भाउजू वा भाइ बुहारीलाई राखिएको छ ।

कुनै व्यक्तिको मृत्यु भई अपुताली खुला हुँदाका बखत प्राथमिकताक्रममा पहिलो प्राथमिकताक्रममा रहेको व्यक्ति भएसम्म त्यसपछिको प्राथमिकताक्रममा रहेको व्यक्तिले अपुताली नपाउने व्यवस्था छ ।

एउटै प्राथमिकताक्रमका एकभन्दा बढी हकवाला भएमा निजहरू सबैले समानरूपमा अपुताली पाउने व्यवस्था कानूनले गरेको छ । अपुताली पाउने प्राथमिकताक्रमको कुनै हकवालाले अपुताली लिन नचाहेमा सोही क्रमका अन्य हकवालाले र त्यस्ता क्रमका कुनै हकवालाले पनि अपुताली लिन नचाहेमा त्यसपछिको क्रमको हकवालाले अपुताली पाउने व्यवस्था छ ।

नजिककाले नहेरे स्याहासम्भार गर्नेले पाउने 

कुनै व्यक्ति नजिकको हकवाला हुँदाहुँदै आफ्नो अंश लिई टाढाको कुनै हकवालासँग बसेको अवस्थामा निजको मृत्यु भई अपुताली खुला भएमा त्यस्तो व्यक्तिको अपुताली त्यसरी सँगै बस्ने हकवालाले पाउने व्यवस्था कानूनले गरेको छ । कुनै व्यक्तिलाई नजिकको हकवालाले स्याहार सम्भार नगरी टाढाको हकवालाले स्याहार सम्भार गरेको रहेछ भने निजको अपुताली त्यसरी स्याहारसम्भार गर्ने हकवालाले पाउने व्यवस्था छ ।

सँगोलकोले नहेरे अंश लिएकोले अपुताली पाउने

सगोलको हकवालाले राम्रो स्याहार सम्भार नगरेको कारणबाट चित्त नबुझाई सम्पूर्ण सम्पत्ति सहित कुनै व्यक्ति आफ्नो अंश लिई भिन्‍न बसेको हकवालासँग बस्‍न गएको अवस्थामा मृत्यु भएमा निजको अपुताली त्यस्ता भिन्‍न भएका हकवालाले पाउने कुरा कानूनमा छ । तर कुनै व्यक्ति आफ्नो अंश केही नलिई पाहुनाको रुपमा केही दिनको लागि मात्र कुनै हकवालासँग बस्‍न गएको अवस्थामा निजको मृत्यु भएमा त्यसरी पछि बस्‍न गएका हकवालाले अपुताली नपाउने व्यवस्था छ ।

अपुताली वाध्यात्मक नहुने, ऐच्छिक हुने

कुनै पनि व्यक्तिलाई अपुताली परेमा स्वीकार गर्नै पर्छ भन्‍ने वाध्यता वा कर छैन ।  कुनै व्यक्तिले अपुताली स्वीकार नगरेमा अपुताली परेको तीन वर्षभित्र त्यस्तो कुराको जानकारी सम्बन्धित जिल्ला अदालतलाई लिखित रूपमा दिनु पर्ने व्यवस्था कानूनले गरेको छ ।

कानूनमा तोकिए बमोजिमको अवधि भित्र अपुताली स्वीकार नगरेमा त्यस्तो अपुताली त्यस पछिका प्राथमिकता क्रमको अन्य हकवालामा सरेको मानिने व्यवस्था कानूनमा छ । कुनै हकवालाले अपुताली स्वीकार नगरेमा पनि निजले मृतकको रीत, परम्परा अनुसार सद्गत भने गर्नु पर्ने कानूनमा छ ।

बदनियत गरे अपुताली नपाउने 

कसैले कुनै रिसइबि वा अपुताली पाउने वद्नियतले कसैको ज्यान लिएमा वा लिन लगाएमा त्यसरी ज्यान लिने वा लिन लगाउने व्यक्ति र निजको हकवालाले मृतक वा निजको हकवालाको अपुताली नपाउने व्यवस्था कानूनमा छ ।

कानूनले अपुताली पाउने व्यक्तिको दायित्व तथा अधिकारको समेत उल्लेख गरेको छ । जस अनुसार अपुताली पाउने व्यक्तिले मृतकको रीत परम्परा अनुसार सद्गत तथा किरिया गर्नु वा गराउनु पर्ने, मृतकले लिएको ऋण साहूलाई भुक्तानी गर्नुपर्ने, र मृतकले दिएको ऋण तथा लगानी गरेको सम्पत्ति माथि निजको अधिकार हुने व्यवस्था गरेको छ ।

कुनै व्यक्तिको मृत्यु भई निजको सदगत तथा किरिया अपुताली पाउने व्यक्ति बाहेक अन्य व्यक्तिले गरेको भए अपुताली पाउने व्यक्तिले मृतकको सद्गत तथा किरिया गर्दा लागेको खर्च र त्यस्तो खर्चको थप पच्चीस प्रतिशत रकम त्यसरी सदगत तथा किरिया गर्ने व्यक्तिलाई दिनु पर्ने व्यवस्था गरेको छ ।

तर कुनै व्यक्तिले मृतकको सद्गत तथा किरिया आफुले नगरी अन्य व्यक्ति मार्फत गराउन लगाएको रहेछ भने त्यसरी सद्गत तथा किरिया गर्दा लागेको वास्तविक खर्च मात्र दिन सक्ने उल्लेख छ ।

साहूले ऋण भराई लिन सक्ने

कुनै व्यक्तिको अपुताली खुला भएमा र निजका साहू भएमा त्यस्ता साहूले अपुताली पाउनेबाट ऋण तथा दायित्व भराई लिन सक्ने व्यवस्था छ । तर मृतकको सम्पत्ति भन्दा बढीको ऋण तथा दायित्व अपुताली पाउने व्यक्तिले तिर्न बाध्य हुने छैन ।

दावी नगरे वा नस्वीकारे अपुतालीको सम्पत्ति स्थानीय तहको हुने

कुनै व्यक्तिको अपुताली खुला भएमा र निजका हकवाला नभएमा वा भए पनि निजले त्यस्तो अपुताली स्वीकार नगरेमा मृतकको सदगत तथा किरिया गर्दा लागेको खर्च कटाई र निजका साहू भए साहूको रकम भुक्तानी गर्दा पनि सम्पत्ति बाँकी रहेकोमा त्यस्तो सम्पत्ति सम्बन्धित स्थानीय तहको हुने व्यवस्था छ ।

कुनै व्यक्तिको मृत्यु भएमा निजको कोही  हकवाला रहेनछ र सम्पत्ति रहेछ भने निजको सदगत गर्ने वा हरहिसाब राख्‍ने व्यक्तिले त्यस्तो कुराको सूचना तुरुन्त सम्बन्धित स्थानीय तहलाई दिनुपर्ने, सूचना प्राप्त भएमा स्थानीय तहले कम्तीमा दुईजना स्थानीय व्यक्ति साक्षी राखी मृतकको सम्पत्तिको विवरण तयार गरी त्यसको एकप्रति मुचुल्का सहित सम्बन्धित जिल्ला स्तरीय प्रशासनिक कार्यालयमा पठाउनु पर्ने, सम्पत्तिको विवरण सहितको मुचुल्का प्राप्त भएमा मृतकको ठेगाना पत्ता लागेमा त्यस्तो कार्यालयले मृतकको हकवालालाई तीन महिनाभित्र मृतकको सम्पत्ति बुझ्न आउन कानून बमोजिम सूचना पठाउनु पर्ने व्यवस्था कानूनले गरेको छ ।

यसरी सूचना गरेकोमा हकवालाले सम्पत्ति स्वीकार नगरेमा वा कानून  बमोजिमको म्यादभित्र मृतकको हकवाला उपस्थित नभएमा वा त्यस्तो हकवालाको ठेगाना पत्ता नलागेमा त्यस्तो कार्यालयले मृतकको कुनै हकवाला भए पैँतीस दिनभित्र मृतकको सम्पत्ति दाबी गर्न आउनु भनी राष्ट्रियस्तरको पत्रिकामा सूचना प्रकाशन गर्नुपर्ने व्यवस्था छ ।

कानून बमोजिमको म्यादभित्र मृतकको हकवाला उपस्थित भएमा मृतकको सदगत गर्दा लागेको खर्च कटाई वा त्यस्तो खर्च सदगत गर्ने व्यक्तिलाई दिई त्यस्तो सम्पत्तिको दश प्रतिशत लिई बाँकी सम्पत्ति सम्बन्धित हकवालालाई फिर्ता दिनु पर्ने कानूनमा उल्लेख छ ।

सार्वजनिक हितको लागि प्रयोग गर्नुपर्ने

कानूनमा तोकिएको म्यादभित्र मृतकको कुनै हकवाला उपस्थित नभएमा वा निजको ठेगाना पत्ता नलागेमा मृतकको सदगत गर्दा लागेको खर्च सदगत गर्ने व्यक्तिलाई दिई बाँकी रहेको सम्पत्ति सम्बन्धित स्थानीय तहलाई जिम्मा दिनुपर्ने र स्थानीय तहले यसरी प्राप्त गरेको सम्पत्ति सार्वजनिक हितको लागि प्रयोग गर्नुपर्ने व्यवस्था कानूनमा छ ।

नेपालभित्र मृत्यु भएको विदेशीको सम्पत्ति के हुन्छ ?

नेपालभित्र मृत्यु भएको कुनै विदेशीको नेपालभित्र कोही हकवाला रहेनछ तर सम्पत्ति रहेछ भने निजको सद्गत गर्ने वा हरहिसाब राख्‍ने व्यक्तिले त्यस्तो कुराको सूचना तुरुन्त नजिकको स्थानीय तहलाई दिनुपर्ने, यसरी सूचना प्राप्त भएमा स्थानीय तहले कम्तीमा दुईजना स्थानीय व्यक्ति साक्षी राखी मृतकको सम्पत्तिको विवरण तयार गरी त्यसको एकप्रति मुचुल्का सहित सम्बन्धित जिल्ला स्तरीय प्रशासनिक कार्यालयमा पठाउनु पर्ने, त्यस्तो सम्पत्तिको विवरण सहितको मुचुल्का प्राप्त भएमा  कार्यालयले तुरुन्त सङ्घीय गृह मन्त्रालयलाई जानकारी दिनुपर्ने व्यवस्था छ ।

यस्तो सूचना प्राप्त भएमा सङ्घीय गृह मन्त्रालयले सम्बन्धित देशको कुटनीतिक माध्यम मार्फत मृतकको हकवालालाई चार महिनाभित्र मृतकको सम्पत्ति बुझ्‍न आउन कानून बमोजिम सूचना पठाउनु पर्ने व्यवस्था छ । नेपालसँग कुटनीतिक सम्बन्ध नभएको मुलुकको नागरिकको मृत्यु भई निजको सम्पत्तिको विवरण प्राप्त भएमा सङ्घीय गृह मन्त्रालयले छ महिनाभित्र त्यस्तो सम्पत्ति बुझिलिन राष्ट्रियस्तरको अंग्रेजी भाषाको दैनिक पत्रिकामा सूचना प्रकाशन गर्नु पर्ने र त्यस्तो सूचना सङ्घीय गृह मन्त्रालयले आफ्नो वेवसाइटमा समेत राख्नु पर्ने व्यवस्था छ ।

कानून बमोजिमको म्याद भित्र मृतकको हकवाला उपस्थित भएमा मृतकको सद्गत गर्दा लागेको खर्च कटाई वा त्यस्तो खर्च सद्गत गर्ने व्यक्तिलाई दिई त्यस्तो सम्पत्तिको मूल्यको दश प्रतिशत दस्तुर लिई बाँकी सम्पत्ति सम्बन्धित हकवालालाई फिर्ता दिनु पर्ने व्यवस्था छ ।

यदि मृतकको कुनै हकवाला उपस्थित नभएमा वा निजको ठेगाना पत्ता नलागेमा मृतकको सद्गत गर्दा लागेको खर्च सद्गत गर्ने व्यक्तिलाई दिई बाँकी रहेको सम्पत्ति स्थानीय तहको हुने र यसरी स्थानीय तहले प्राप्त गरेको सम्पत्ति सार्वजनिक हितको लागि मात्र प्रयोग गर्नु पर्ने व्यवस्था कानूनले गरको छ ।

कति हुन्छ हदम्याद ?

कानूनको यसै परिच्छेदको छुट्टा छुट्टै दफामा हदम्याद लेखिएकोमा सोही हदम्यादभित्र अन्यमा अपुताली खुला भएको मितिले तीन वर्ष भित्र नालिस गर्न सकिने व्यवस्था छ ।

कस्ता छन् नजीर

- अंश नभई सँगोलमा बसेका अंशियार अंशवण्डा नहुँदै अंशवण्डा नहुँदै मृत्यु भई अपुताली परेमा अंशवण्डा नभई सम्पत्ति नछुट्टिएको कारणले अपुतालीको हैसियत कायम नहुने भन्न अपुतालीको महलको तत्कालको ४ नं. ले भिन्‍न नभई सँगै बसेका अंशियार सबै मरी अपुताली परेमा सबै अंशियारका छोरीले बाँडी खान पाउने र पछिबाट जो मरी अपुताली परेको हो उसैतिरका छोरीले अपुताली पाउँछन् भन्‍ने भएबाट अंशवण्डा भई बण्डा छुट्टिनुपर्ने अवस्था नदेखिने ।

- अपुतालीको २ नं. मा उल्लिखित नाता सम्बन्धका व्यक्तिहरु समान हैसियतका भएमा मात्र उक्त २ नं. को कानूनी व्यवस्था आर्कषित हुने हो । तर कोही अंश लिई छुट्टिएका छन् र कोही सँगोलमा बसेका छन् भने अपुतालीको सम्बन्धमा निर्णय गर्दा उक्त २ नं. को प्रयोग अन्य नम्बरहरुमा भएका व्यवस्थाहरुलाई समेत सँगै राखेर हेर्नुपर्ने ।

- आँफैबाट जन्मिएको सन्तान उसको सबैभन्दा नजिकको हकवाला हुन्छ र त्यस्तो जन्मेको छाेरी रहिछे भने सौतेनी छोरीको तुलनामा आफ्नै छोरी नजिकको हकवाला हुन्छ, छोरी विवाहिता हुनु वा नहुनुबाट कुनै असर पर्दैन । एकै उमेरका छोराछोरी वा विवाह भएको छोरी वा कन्या छोरी भएमा मात्र ती वीच अपुताली पाउने क्रममा असर पर्ने हुन सक्छ । प्रस्तुत मुद्दाको तथ्यमा  फरक उदरबाट जन्मेका छोरा र आफैंबाट जन्मेकी छोरी भएको हुँदा आमाको अपुताली छोरीले पाउने स्थिति रहेको देखिने ।

- अंश र अपुताली एउटै कुरा नभई यो फरक फरक कुरा हो । हाम्रो प्रचलित कानूनी व्यवस्था अनुसार अंश जन्मसिद्ध नैसर्गिक हकको रुपमा रहेको पाइन्छ भने त्यसरी अंश हक द्धारा प्राप्त सम्पत्ति प्रयोगकर्ताको मृत्यु पश्चात क्रम अनुसारका व्यक्तिले अपुताली पाउने व्यवस्था कानूले गरेको पाइन्छ । अपुताली स्याहार संम्भार गर्ने व्यक्तिले समेत पाउने व्यवस्था गरेको पाइन्छ भने अंश बाबु, आमा, लोग्‍ने, स्वास्‍नी, छोरा, छोरीहरुको जीयजीयैको अनिवार्य रुपमा गर्नुपर्ने हुन्छ । अंश विवाहिता छोरीले प्राप्त गर्न सक्दैनन् जबकी अपुताली विवाहित छोरीले पनि पाउने उल्लिखित अपुतालीको २ नं. समेतले व्यवस्था गरेबाट कानूनी व्यवस्था र सम्पत्तिको स्वामित्व सर्ने प्रकृति र प्रक्रिया समेतबाट अपुताली र अंश एकै र एउटै अवधारणाका विषयवस्तु होइनन् भन्‍ने कुरा स्पष्ट देखिने ।

- कानूनले छोरीभन्दा अघि छोरा राखेको हुँदा निश्चय पनि छोरीभन्दा छोराको अपुतालीमा हक अघि पाएको देखियो । तर छोरा र सौतेनी छोरामा केही अन्तर भने अवश्य हुन्छ । जो मरी अपुतली पर्ने हो उसको नजिकको नाता भनेको उसैबाट जन्मेको उसैको रगतका छोरा र छोरी रहेसम्म अरु कुनै पनि नाता सो भन्दा नजिकको हुन सक्दैन ।

[email protected]

काठमाडौं उपत्यकामा ४०% सम्म मूल्य घट्दा पनि किन बढेन घरजग्गा कारोबार ?

रुकुमको ‘चौरजहारी नयाँ शहर’ निर्माणका लागि जग्गा प्राप्ती सुरु, अब काम आगडि बढ्ला ?

१० करोड लगानीमा 'त्रिशुली भिल्ला' सञ्चालन

घरजग्गा किनबेच घट्दा पनि बढ्यो मालपोत राजश्व

आँबुखैरेनीको मर्स्याङ्दी जलासयमा मोटरबोट सुरु, कति लाग्छ शुल्क ?

ब्याज घट्दा पनि किन बढ्न सकेन घरजग्गा कारोबार ?

रियल इस्टेटबाट बनेका संसारकै धनाढ्यहरु

यी हुन् घरमा विद्युतीकरण गर्दा ध्यान दिनुपर्ने कुराहरू

4CD2787D682958F-parking news.jpg

काठमाडौं महानगरले तोक्यो पार्किङ शुल्क, व्यवसायिक भवनले पार्किङ शुल्क लिन नपाउने

7C876F0376554BE-Kathmandu Valley-1597749993.jpg

मन्दीकै बिच वर्षमा पौने पाँच लाख घरजग्गा खरिद बिक्री, ४१ अर्ब राजश्‍व संकलन

0A879F479FCB489-D49DAAFB1194BEA-F03308F1229F2CB-A9ED9AF1C4F05FE-kmc-mahanagarpalika-kathmandu.jpg

कुन व्यवसायले कति कर तिर्नुपर्छ ? यस्तो छ काठमाडौं महानगरको कर नीति