काठमाडौं । फागुनमा घरजग्गा किनबेच घटेपनि हाईराइज आवासीय भवनका अपार्टमेन्ट किनबेच भने बढेको छ ।
एक महिनामा देशका प्रमुख शहरहरुमा रहेका ५१ वटा अपार्टमेन्ट किनबेच भएका छन् । फागुनमा भएको अपार्टमेन्ट किनबेच चालु आर्थिक वर्षको आठ महिनाकै धेरै हो ।
चालु आवको पहिलो महिनामा साउनमा २५, भदौमा ३१, अशोजमा २२, कार्तिकमा ३०, मंसिरमा २६, पुसमा २४ र माघमा २२ मात्रै अपार्टमेन्ट खरिद बिक्री भएको भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांक छ ।
फागुनमा कलंकी मालपोत कार्यालयबाट सबैभन्दा धेरै किनबेच भएका छन् । फागुनमा किनबेच ५१ अपार्टमेन्टमध्ये कलंकीबाट मात्रै ३३ अपार्टमेन्ट किनबेच भएको विभागले जनाएको छ ।
यस्तै, लितपुरको लगनखेलबाट ८, डिल्ली बजार मालपोत कार्यालयबाट ४, चावाहिलबाट १, टोखाबाट ५ अपार्टमेन्ट किनबेच भएका छन् ।
निरन्तर सुस्ताइरहेको अपार्टमेन्ट किनबेच फागुनमा बढेको हो । फागुनमा नयाँ अपार्टमेन्ट बनेर किनबेच बढेको भने होइन । पछिल्लो समय एउटा पनि अपार्टमेन्ट परियोजना निर्माण सकिएर बिक्रीमा आएका छैनन् । फागुनमा पनि पुरानै अपार्टमेन्ट किनबेच भएका हुन् ।
तथ्यांक हेर्दा अपार्टमेन्ट किनबेच सबैभन्दा धेरै काठमाडौं उपत्यकामा हुने गरेको छ ।
पछिल्लो समय पोखरा, वीरगञ्ज, भैरहवालगायत ठाउँमा पनि अपार्टमेन्ट निर्माण सुरु भएको छ । तर, उपत्यका बाहिर फागुनमा अपार्टमेन्ट किनबेच भएको देखिएन ।
पोखरामा एक दर्जनभन्दा बढी अपार्टमेन्ट निर्माण भइरहेका छन् भने काठमाडौंमा पनि धनाढ्य वर्गलाई लक्षित गरेर प्रिमियम लक्जरी अपार्टमेन्ट निर्माण भइरहेको देखिन्छ ।
नेपालमा भर्खर अपार्टमेन्ट कल्चर विकास हुँदै गरेको बेलामा २०७२ भूकम्प गएपछि अपार्टमेन्ट किनबेच सुस्ताएको थियो । अपार्टमेन्ट किनबेच घटेपछि डेभलपर पनि सिंगल यनिट घरका हाउजिङ परियोजनामा केन्द्रित भए ।