कात्तिकमा देशभरीबाट २६ हजार घरजग्गाको लिखत पारित र दुई अर्ब १६ करोड रुपैयाँ मात्र मालपोत राजश्व संकलन भएको छ
काठमाडौं । कात्तिक महिनामा देशभरी घरजग्गा कारोबारसँगै कित्ताकाट पनि घटेको छ । एक महिनामा ३० हजार ३८७ कित्ता जग्गा कित्ताकाट भई ७० हजार ११६ पुगेका छन् ।
अघिल्लो महिनामा असोजमा एक लाख ६ हजार ३४९ कित्ताकाट भएको भूमि व्यवस्थापन विभागको तथ्यांक छ । कात्तिकमा दशैं\तिहार बिदा र शनिबारसहित करिव १५ दिन देशभरीका मालपोत कार्यालय बन्द भएका थिए । १५ दिनमात्रै कारोबार हुँदा घरजग्गा किनबेच, राजश्व संकलनदेखि कित्ताकाटसम्म प्रभावित भएको छ ।
कात्तिकमा देशभरीबाट २६ हजार घरजग्गाको लिखत पारित र दुई अर्ब १६ करोड रुपैयाँ मात्र मालपोत राजश्व संकलन भएको छ ।
कुन मालपोतबाट कति कित्ताकाट ?
कात्तिक महिनामा सबैभन्दा धेरै धनुषाको जनकपुर मालपोतबाट २९ सय ३३ कित्ताकाट भएका छन् । सप्तरीको राजविराज मालपोतबाट २९ हजार ७, झापाको भद्रपुरबाट २८ सय ७७, सुनसरीको इनरुवा मालपोतबाट २४ सय ५३ कित्ताकाट भएको भूमि विभागको तथ्यांक छ ।
बेलवारी मालपोतबाट दुई हजार ३०, महोत्तरीको जलेश्वरबाट दुई हजार तीन, कैलालीको धनगढी मालपोतबाट १९ सय ८२, पर्साबाट १७ सय ९५, सिराहाबाट १७ सय २७ कित्ताकाट भएका छन् ।
सर्लाहीको मलंगवा मालपोत कार्यालयबाट १६ सय ९२, बाराको कलैयाबाट १५ सय ६०, सिराहाको लाहानबाट १५ सय एक, घोराहीबाट १२ सय ३७, झापाको दमक मालपोतबाट १२ सय २३ कित्ताकाट भएका छन् ।
उपत्यकामा साढे ४५ सय कित्ताकाट
काठमाडौं उपत्यकामा खाली जग्गा कम हुँदै गएपछि कित्ताकाटमा पनि कमी आउन थालेको छ । कात्तिकमा उपत्यकाका तीन जिल्लाका नौ मालपोतबाट चार हजार ५४८ कित्ताकाट भएका छन् ।
लगनखेल मालपोतबाट ११ सय ३५, गोटीखेलबाट १४, भक्तपुरबाट ९४०, डिल्ली बजारबाट ९६, चावहिलबाट ४३९, कलंकीबाट ८१२, साँखुबाट ४२४, मनमैजुबाट ५५८, टोखाबाट १३० कित्ताकाट भएका छन् ।