औपचारिक बुकिङ नखोल्दै समिट रेसिडेन्सीका सबै अपार्टमेन्ट बुकिङ

ललितपुरको कुपण्डोल हाइटस्थित समिट होटल परिसरमा निर्माण गर्न लागिएको विलासी अपार्टमेन्टको औपचारिक रुपमा बुकिङ खुला नगर्दै सबै अपार्टमेन्ट बुकिङ भइसकेका छन् । बुकिङ सुरु गरेको करीव एक महिनामै अधिकांश अपार्टमेन्ट बुकिङ भइसकेको सञ्‍चालकहरुले बताएका छन् । बुकिङकर्तामध्ये करीव १० प्रतिशतले एडभान्स रकम बुझाइसकेका छैनन्, अरु सबैले एडभान्स पनि बुझाइसकेको बताइएको छ ।

तीन व्यवसायिक घरानाहरु चौधरी समूह, एनई समूह र समिट समूहले पुरानो होटल भत्काएर पाँचतारे लक्जरी होटलसहितको एलिट क्लास अपार्टमेन्ट निर्माण थालनी गरिसकेका छन् । त्यहाँ १७ तलाको हाइराइज अपार्टमेन्ट बनाउने तयारी भइरहेको छ । तर, अहिले ११ तलासम्म मात्र बुकिङ खुला गरिएको थियो । अझै नगरपालिकाबाट स्वीकृत नभइसकेको हुँदा १२ तलाभन्दा माथि तत्काल बुकिङ खुला नगरेको सञ्‍चालकहरुको भनाइ छ ।

‘शहरका एलिट क्लासलाई लक्षित गरेर अपार्टमेन्ट निर्माण बनाउँदै छौं’, एनई ग्रुपका अध्यक्ष रविभक्त श्रेष्‍ठले भने, ‘हामीले बनाउन लागेको अपार्टमेन्ट काठमाडौं उपत्यकाकै अहिलेसम्मको लक्जरीयस अपार्टमेन्ट हुनेछ ।’

समिटका सञ्‍चालकहरुले सर्भिस र आवासीय गरी दुई प्रकारका अपार्टमेन्ट बनाउन लागेका छन् । सर्भिस अपार्टमेन्ट होटलका लागि प्रयोग हुनेछन् । सुरुमा आवासीय अपार्टमेन्टको संख्या ९६ हुने बताइएको थियो । तर, एउटै व्यक्तिले ठूलो स्पेश खरिद गरेपछि अपार्टमेन्टको संख्या पनि घट्दै गएका छन् ।

यो पनि पढ्नुहोस : यस्तो बन्दैछ समिट होटलको ठाउँमा पाँचतारे होटलसहित लक्जरी अपार्टमेन्ट

अपार्टमेन्टको १६ र १७औं तलामा दुई-दुई  तलाका पेन्ट हाउस निर्माण गरिने भएको छ जुन तीनजना लगानीकर्ताले नै राख्‍ने भएका छन् । पेन्ट हाउसमा पर्याप्त खुला ठाउँ, निजी गार्डेन लगायत विलासी सुविधाहरु हुनेछन् । पेन्ट हाउसबाट काठमाडौं उपत्यकाका अधिकांश ठाउँहरु अवलोकन देख्‍न सकिन्छ ।

१२ देखि १५ तलासम्मका अपार्टमेन्टको बुकिङ केही दिनभित्र खुला गर्ने तयारी भइरहेको बताइएको छ । आवासीय अपार्टमेन्टको ग्राउन्डमा स्वीमिङ पुल हुनेछ । दुई तला बेसमेन्ट हुनेछ । सर्भिस अपार्टमेन्टमा रुफटप स्वीमिङ पुल बनाउने तयारी भइरहेको छ । अपार्टमेन्ट परिसरमा २० प्रतिशत खुला र हरियाली ठाउँ हुनेछ । जीम, रेष्टुरेन्ट, मल्टिपर्पोज हल लगायत सुविधाहरु पनि हुनेछन् । 

Mon Sep 20 2021 06:46:17 GMT+0545 (Nepal Time)