सिंगापुपरको आर्किटेक्चरल कम्पनी मेनहार्डट इन्फ्राष्ट्रक्चर पीटीई लिमिटेडले पाँचतारे होटलसहितको अपार्टमेन्ट परियोजना ‘द समिट होटल एन्ड रेसिडेन्सेस्’को आर्किटेक्चरल डिजाइन तयार पारिसकेको छ ।

काठमाडौं । ललितपुरको कुपण्डोल हाईटस्थित पुरानो समिट होटल भत्काएर अत्याधुनिक पाँचतारे होटलसहित लक्जरी अपार्टमेन्ट निर्माण हुने भएको छ । कोभिड महामारीपछि समिटका सञ्चालकहरु पुरानो होटल भत्काएर भव्य होटल र अपार्टमेन्ट निर्माणमा जुटेका हुन् ।
उपत्यकाको हटस्पटमा रहेको समिट होटलमा चौधरी समूह, एनई समूह र समिट समूहको लगानी छ ।
सिंगापुपरको आर्किटेक्चरल कम्पनी मेनहार्डट इन्फ्राष्ट्रक्चर पीटीई लिमिटेडले पाँचतारे होटलसहितको अपार्टमेन्ट परियोजना ‘द समिट होटल एन्ड रेसिडेन्सेस्’को आर्किटेक्चरल डिजाइन तयार पारिसकेको छ ।
यो परियोजना निर्माण गर्नका लागि करीव ६ अर्ब रुपैयाँ लाग्ने अनुमान गरेको एनई समूहका अध्यक्ष रविभक्त श्रेष्ठले जानकारी दिए । ‘यो परियोजना नेपालकै सुविधा सम्पन्न र भव्य हुनेछ’ उनले भने, ‘हामीले विश्वका खर्चालु पर्यटकदेखि नेपालको एलिट बर्गलाई आकर्षित गर्ने परियोजना तयार पार्दैछौं ।’
असोज मध्यदेखि परियोजना निर्माण थालेर सन् २०२५ को पर्यटकीय सिजनमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ । अहिले कोभिड महामारीले थलिएको पर्यटन क्षेत्रले पनि त्यतिबेलासम्म लयमा फर्किएर रफ्तार समातिसकेको हुने अनुमान छ ।
पाँचतारे होटलसहित अपार्टमेन्ट परियोजनाको कन्सेप्ट, साइट प्लान र सेक्सन सार्वजनिक गरिएको छ । काठमाडौंको रैथाने नेवारी आर्किटेक्चर डिजाइनमा आधुनिक डिजाइन फ्युजन गरेर परियोजना निर्माण गरिने भएको छ जहाँ १३० कोठा भएको पाँचतारे होटल हुनेछ ।

परियोजनाभित्र १६० युनिटको लक्जरी अपार्टमेन्ट निर्माण हुनेछन् जसमध्ये अधिकांश अपार्टमेन्ट एलिट बर्गलाई बिक्री गरिने छ भने केही अपार्टमेन्ट भाडामा सञ्चालन गर्ने तयारी छ । होटलमा बस्न आउने पर्यटकले पनि अपार्टमेन्ट भाडामा लिन सक्नेछन् । सर्भिस अपार्टमेन्ट लामो समय बस्ने खर्चालु पाहुनाहरु (पर्यटक)लाई लक्षित गरेर सञ्चालन गर्न लागिएको हो । अपार्टमेन्ट प्रिमियम हुने हुनाले धनाढ्य बर्गले मात्र पहुँच राख्नेछन् ।
परियोजनाको भवन मुलुककै सबैभन्दा भव्य र सुविधा सम्पन्न हुने दाबी गरिएको छ । अहिले भइरहेको समिट होटलको सम्पूर्ण भाग भत्काएर नयाँ संरचना निर्माण गर्न लागेको श्रेष्ठले जानकारी दिए ।
समिट होटलमा करीव १८ रोपनी क्षेत्रफल छ । पाँचतारे होटलसहितको सर्भिस अपार्टमेन्ट व्यवस्थापनमा इन्टरनेशनल चेन ब्रान्ड भित्र्याउने तयारी छ ।
नेपालमा आएका हाईप्रोफाइल विदेशी पाहुनाको रोजाईमा पर्दै आइरहेको समिट होटल सन् १९७८ मा डच समूहले सञ्चालनमा ल्याएका हुन् । यो होटल सन् २०१२ मा नेपाली व्यवसायीहरुको स्वामित्वमा आइपुगेको हो ।
सिजी र एनई ग्रुपले आरएनआर हेरिटेज कम्पनीमार्फत समिट होटलको ६० प्रतिशत शेयर हिस्सा खरिद गरेका हुन् ।

०७१ चैत ९ गते पत्रकार सम्मेलन गरेर समिटमा ६० देखि ८० कोठा थपेर स्तरोन्नती गरी विश्वकै उत्कृष्ट बुटिक होटल बनाउने घोषणा गरिएको थियो । करीव डेढ अर्ब रुपैयाँ लगानी गरेर दुई वर्षभित्र स्तरोन्नतीको काम सम्पन्न गरिसक्ने लक्ष्य राखिएको थियो ।
तर, बुटिक होटल बनाउने घोषणा गरेको ७ वर्षपछि सञ्चालकहरु पाँचतारे होटलसहित लक्जरियस अपार्टमेन्ट बनाउन कस्सिएका छन् । अहिले समिट होटलमा ८३ कोठाहरु रहेका छन् ।
यो समूहले कान्तिपथमा पाँचतारे अर्बन हाइराजइ बुटिक होटल र विशंखुनारायणमा इको रिसोर्ट सञ्चालन गर्ने लक्ष्य लिएको थियो ।
चौधरी ग्रुप र एनई ग्रुपको लगानी रहेको झम्सिखेलको होटल भारतीय बहुराष्ट्रिय होटल कम्पनी ताज ग्रुपको भिभान्ता ब्रान्डबाट सञ्चालनमा छ । चौधरी ग्रुपको एकल लगानी रहेको चीतवनको मेघौली सेराई रिसोर्ट ताज सफारीले व्यवस्थापन गरिरहेको छ । पछिल्लो समय नेपालमा सञ्चालनमा आएका होटलको व्यवस्थापनमा विदेशी चर्चित ब्रान्ड भित्र्याउने क्रम बढ्दो छ ।

चौधरी ग्रुपसँग विश्वभरी लक्जरी होटल सञ्चालन गरेको अनुभव छ । यो समूहले पहिल्यै अपार्टमेन्ट र हाउजिङमा पनि लगानी गरिसकेको छ । एनई समूहसँग पनि पाँचतारे सोल्टी, झम्सिखेलमा भिभान्ता लगायत होटल सञ्चालनको अनुभव छ । तीन व्यवसायिक घरानाले आ–आफ्नो अनुभवलाई कोलाब्रेसन गरी लक्जरी होटलसहितको अपार्टमेन्ट निर्माण गर्न लागेका हुन् ।
यो समूहले कान्तिपथमा पाँचतारे अर्बन हाईराइज बुटिक होटल र विशंखुनारायणमा इको रिसोर्ट सञ्चालन गर्ने घोषणा गरेको थियो ।
सिजी हस्पिटालिटीका प्रबन्ध निर्देशक राहुल चौधरीले एक भेटमा कान्तिपथको जग्गामा भव्य सपिङ मलसहितको पाँचतारे होटल सञ्चालन गर्न लागेको सुनाएका थिए । तर, पछिल्लो समय कन्तिपथमा होटल भन्दा पनि लक्जरी सर्भिस तथा रेसिडेन्सियल अपार्टमेन्ट निर्माणको गृहकार्यमा जुटिरहेका छन् ।