चौधरी ग्रुप, एमएस समूह, सिजी होल्डिङ्स, डाउनटाउन, रोड शोल, मंगलम, केसी ग्रुपलगायत यसअघि नै रियल इस्टेट व्यवसायमा संलग्न छन्
काठमाडौं । व्यवसाय विस्तारमा जोडतोडले लागिरहेका व्यवसायीहरुको रोजाइमा रियल इस्टेट (घरजग्गा) व्यवसाय पर्न थालेको छ । पछिल्लो समय ठूला घरानाहरु धमाधम रियल इस्टेटमा प्रवेश गर्न थालेका छन् ।
पछिल्लो समय भाटभटेनी समूह, ज्ञानेन्द्रलाल प्रधान समूह र अपी पावर समूह हाउजिङ तथा अपार्टमेन्ट व्यवसायमा लागेका हुन् । त्यसअघि विशाल समूह, दुगड समूह, सेञ्चुरियन समूह हाउजिङ व्यवसायमा प्रवेश गरेका थिए ।
चौधरी ग्रुप, एमएस समूह, सिजी होल्डिङ्स, डाउनटाउन, रोड शोल, मंगलम, केसी ग्रुपलगायत यसअघि नै रियल इस्टेट व्यवसायमा संलग्न रहँदै आएका छन् ।
ठूला व्यवसायिक घरानाहरुले आवास निर्माणलाई व्यवसाय विस्तारको क्षेत्रका रुपमा लिन थालेका हुन् ।
भाटभटेनी समूहका अध्यक्ष मीन बहादुर गुरुङले रोड सो रियल इस्टेटसँगको सहकार्यमा चुच्चेपाटीमा अपार्टमेन्ट निर्माण गर्न थालेका छन् । कालु गुरुङ नेतृत्वको रोड सो अपार्टमेन्ट र हाउजिङ निर्माणमा अग्रणी कम्पनी हो । यो कम्पनीले काठमाडौं उपत्यका र पोखरामा आवास निर्माण गरिरहेको छ ।
पौने ४ रोपनी क्षेत्रफलमा बन्ने अपार्टमेन्टको भूमि पुजा भइसकेको छ । ६४ युनिट रहने अपार्टमेन्टमा एक, दुई र तीन बीएचके (बेडरुम, हल र किचन) फ्ल्याट रहने बताइएको छ ।
फुल फर्निस्ड अपार्टमेन्टको औषत मूल्य प्रतिवर्गफिट ३० हजार रुपैयाँ रहने छ । जेठभित्र निर्माण सुरु गरेर डेढ वर्षभित्र सम्पन्न गर्ने लक्ष्य भाटभटेनी समूहले लिएको छ । यो समूहले तीनकुनेमा निर्माणाधिन काठमाडौं इन्टरनेशनल हस्पिटलको ४५ प्रतिशत हिस्सा खरिद गरिसकेको छ ।
यस्तै, भाटभटेनी समूहले कपिल राणा र उमेश श्रेष्ठसँगको साझेदारीमा दरबारमार्गमा २५ तलाको अन्नपूर्ण स्क्वायर निर्माण गरिरहेको छ । विराटनगरमा निर्माण भइरहेको मलसहितको सेञ्चुरियन होटेलको ८० प्रतिशत हिस्सा खरिद गरिसकेको छ ।
उर्जा उद्यमी ज्ञानेन्द्रलाल प्रधान पनि हाउजिङ व्यवसायमा प्रवेश गरेका छन् । उनले काठमाडौंको मनमैंजूमा ३५ युनिटको हाउजिङ र कमर्सियल विशेजन कम्पलेक्स निर्माण गर्दैछन् ।
हाउजिङ र कम्पलेक्स निर्माणमा एक अर्ब ३० करोड रुपैयाँ लगानी रहने बताइएको छ । १८ रोपनी क्षेत्रफलमा निर्माण हुने हाउजिङको बुकिङ समेत खुला भइसकेको छ ।
यी घरहरु ४ आनादेखि ११ आनासम्मका हुनेछन् । परियोजनाका करिव आधा घरहरु निर्माण सुरु भइसकेका छन् ।
अपी पावर समूहले ललितपुरको झम्सिखेलमा लक्जरी अपार्टमेन्ट निर्माण सुरु गरेको छ । एक अर्ब २० करोड लगानीमा तीन रोपनी क्षेत्रफलमा ४३ युनिटको अपार्टमेन्ट निर्माण भइरहेको कम्पनीले जनाएको छ ।
तीन व्यवसायिक घराना विशाल, देवेनारा र बाबा समूहको लगानी रहेको भूमि डेभलपर्सले ललितपुरको टौखेलमा हाउजिङ परियोजना ‘गोदावरी भ्याली’ निर्माण गर्दैछ ।
४० रोपनी क्षेत्रफलमा ७१ युनिट अल्ट्रा मोर्डन घर बनाउन लागेको भूमि डेभलपर्सले जनाएको छ ।