के तपाईंलाई थाहा छ, घर निर्माण अनुमतिका सात प्रकृयाहरु ?

घर निर्माण प्रक्रिया खर्चिलो त हुन्छ तर प्रक्रियामा केही गडबडी भए अझै झन्झटिलो पनि हुन सक्छ

367B408218B985F-icon.png
1331views
122372EF269AFAE-Blog-Image02-940x630px.jpg

काठमाडौं । हरेक मान्छेको चाहना हुन्छ, एउटा आफ्नै घर होस् । घर मान्छेको आधारभूत आवश्यकता हो । आफ्नो सपनाको घर निर्माणका लागि जीवनभरको कमाई खर्चिनुपर्ने हुन्छ ।

घर वा भवन निर्माण प्रक्रिया समाज, समुदाय, वातावरण, सहरी व्यवस्था, प्रदूषण तथा व्यक्तिगत आवश्यकतालाई ध्यानमा राखेर गरिन्छ । घर निर्माण प्रक्रिया खर्चिलो त हुन्छ तर प्रक्रियामा केही गडबडी भए अझै झन्झटिलो पनि हुन सक्छ । 

यसका लागि सम्पूर्ण निर्माण प्रक्रिया र त्यसको अनुमतिका बारेमा बुझ्न जरुरी छ । भवन निर्माण अनुमतिको प्रक्रिया निम्न रूपमा प्रस्तुत गरिएको छ ।

१) नक्सा डिजाइन
घर बनाउनको लागि घरधनीको जग्गा र आवश्यकतालाई नगरपालिका/गाउँपालिकाको भवन निर्माण संहिता र मापदण्डबमोजिम नक्सामा उतार्ने काम नक्सा डिजाइनमा पर्छ । 

भवन डिजाइन तथा निर्माणमा संलग्न प्राविधिकको मद्दतले घरको नक्सा डिजाइन गरिन्छ । सो नक्साको मद्दतले ठेकेदार/निर्माणकर्मीले भवन निर्माण गर्न सक्छन् । नयाँ घर बनाउन र तल्ला थप्न भवनमा केही परिवर्तनहरू गर्नुपरेमा नक्सा डिजाइन गर्नुपर्छ ।

नक्सा डिजाइन गर्दा, घरधनीले सम्पूर्ण आधारभूत सुविधाहरू जस्तै खानेपानी, ढल निकास, बत्ती, टेलिफोन आदिलाई सुनिश्चित गर्नुपर्छ । आफ्नो जग्गाको लम्बाई, चौडाइ, चार किल्ला, भिरालोपन र बाटोको नाप जाँच गराई स्थानीय भवन मापदण्डको बारेमा बुझेर मात्रै जानकारी भएको प्राविधिकलाई नक्सा बनाउन दिनुपर्छ । 

नक्सा बनाउँदा आफ्नो सम्पूर्ण आवश्यकता जस्तै कोठाको आकार, परिमाण, झ्याल ढोकाको स्थान, भर्याङ स्थान र अन्य कोठाहरूको आकार र स्थानबारे आफ्नो व्यक्तिगत र पारिवारिक आवश्यकता, धार्मिक आस्था र आर्थिक अवस्थालाई मध्यनजर गर्दै प्राविधिकलाई खुलस्त रूपमा व्यक्त गर्नुपर्छ । 

घर बनेपछि परिवर्तन गर्न कठिन हुने भएकाले समय दिएर नक्सालाई आवश्यकता अनुसार परिमार्जन गर्नुपर्छ । नक्सा पास भएपछि केही परिवर्तन गर्नु परेमा स्थानीय निकायबाट फेरि स्वीकृति लिनुपर्छ ।

२) नक्सा पेस, चेकजाँच र दर्ता
यस प्रक्रियामा सर्वप्रथम निम्न आवश्यक कागजातसहित आवेदन भर्नुपर्छ ।

  • जग्गा धनी प्रमाण पूर्जाको प्रमाणित प्रतिलिपि
  • चालु आर्थिक वर्ष सम्मको मालपोत तिरेको रसिदको प्रतिलिपि
  • घर भएको जग्गामा नयाँ घर बनाउन वा तला थप गर्न नक्सा पेस गर्ने भए सम्पत्ति कर समेत तिरेको रसिदको प्रतिलिपि
  • नागरिकता प्रमाणपत्रको प्रमाणित प्रतिलिपि
  • कित्ता नम्बर स्पष्ट भएको नापीको प्रमाणित नक्सा
  • प्रस्तावित घरको नक्सा (डिजाइनर र घरधनीको हस्ताक्षरसहित) ३ प्रति
  • डिजाइनरको इजाजत पत्रको नवीकरण सहितको फोटोकपी (सरोकारवालाबाट प्रमाणित)
  • घर निर्माण हुने जग्गा (घडेरी) मा पुग्ने बाटो प्रस्ट नभएमा बाटो प्रमाणित हुने गरी वडा कार्यालयको सिफारिस
  • जग्गा कुनै निकायमा धितोको लागि सुरक्षण राखिएको भए सम्बन्धित निकायबाट स्वीकृति पत्र
  • गुठीको जग्गा भए गुठीको स्वीकृति पत्र र नक्सावाला मोही भएमा जग्गाधनीको र जग्गाधनीले भवन निर्माण गर्ने भएमा मोहीको मन्जुरी

घरधनी आफू उपस्थित हुन नसक्ने भएमा एकाघरको व्यक्ति वा कानुन बमोजिमको अधिकारप्राप्त व्यक्तिको प्रमाणित नागरिकताको प्रतिलिपि १ प्रति
यसरी पेस गरिएको कागज र नक्सा कानुन र हालको भवन निर्माण मापदण्ड हेरी चेकजाँच गरिन्छ। ठिक भएको खण्डमा आवश्यक दस्तुर तिरेर नक्सा दर्ता गर्न सकिन्छ । दस्तुर भने नगरपालिका/गाउँपालिका अनुसार फरक हुन सक्छ ।

३) सँधियारको नाममा १५ दिने सूचना
आवेदन दर्ता गरेपछि सँधियारको नाममा नगरपालिका वा गाँउपालिकाबाट १५ दिने सूचना जारी हुन्छ । नगरपालिका वा गाउँपालिकामा आवेदन दर्ता भएको मितिले १५ दिनपछि घरधनीले नगरपालिका वा गाउँपालिकाको भवन नक्सा पास उपशाखामा सम्पर्क गरी सर्जमिनको समय मिलाउनु पर्छ ।

४) सर्जमिन
सर्जमिन भनेको १५ दिने सूचना नगरपालिकाका कर्मचारी स्थलगत सर्जमिनमा आउँदा आफ्ना सबै सँधियार र सोही वडाको नागरिकता भएका न्यूनतम ७ जना (सँधियारसहित) को रोहवरमा बस्ने मानिसहरू बोलाई राख्नुपर्छ । त्यसपछि सबै सँधियारले सर्जमिनमा सही गरिदिए तथा नक्सामा पनि सबै ठिक भएमा २/३ दिन भित्र नगरपालिकाबाट प्लिन्थ लेभलसम्मको निर्माण अनुमति पत्र प्रदान गरिन्छ ।

प्लिन्थ लेभल भनेको भवनको भुईँको स्तर र वरपरको जमिनभन्दा थोरै माथिको स्तर हो । यदि सँधियारमध्ये कोही एक जनाले मात्र पनि सर्जमिनमा कुनै पनि कारणले असहमत भई सही नगरेको खण्डमा नगरपालिकालाई निवेदन लेखी सिफारिस लगेर नगरपालिकाको नापी विभागको अमिन/सर्वेक्षकको स्थलगत नापी प्रतिवेदन पेस गरेपछि मात्र अनुमति प्रदान हुन्छ ।

५) प्लिन्थ लेभलसम्मको निर्माण अनुमति
सर्जमिन गराउने काम भइसकेपछि प्लिन्थ लेभल (टाई बिम) सम्मको निर्माण अनुमति पाउन सकिन्छ । यो भवन निर्माणको अस्थायी अनुमति हो र यसलाई प्रथम चरणको अनुमति पत्र पनि भनिन्छ । यस चरणमा विशेष विचार पुर्याएर जग खन्ने ठाउँमा चिन्ह लगाउने, जग खन्ने, जग निर्माण, जग बिम निर्माण, पिलर निर्माण तथा प्लिन्थ बिम निर्माण गर्नुपर्छ ।

निर्माण मापदण्ड तथा भवन निर्माण संहिता अनुरूप भएन भने भत्काएर पुनः निर्माण गर्नुपर्ने अवस्था आउन सक्छ । यस्तो अवस्था आउन नदिन अनुमति प्राप्त नक्सा अनुसार निर्माण गर्नुपर्छ ।

६) दोस्रो चरण निर्माणको अनुमति
अनुमति अनुसार प्लिन्थ लेभलसम्म निर्माण गरिसकेपछि नगरपालिकामा गई घरको जगभन्दा माथिको भाग अर्थात् सुपरस्ट्रक्चर निर्माणको लागि दोस्रो चरणको अनुमति लिनुपर्छ । यस चरणको लागि नगरपालिकामा घरधनीले निवेदन दिनुपर्ने हुन्छ । 

नगरपालिकाको इन्जिनियरले स्थलगत जाँच गरी अनुमति अनुसार निर्माण भएको छ भन्ने लेखिदिएपछि मात्र नगरपालिकाबाट सुपरस्ट्रक्चर निर्माण गर्ने स्वीकृति पाइन्छ । सुपरस्ट्रक्चरको निर्माण अनुमति प्राप्त गरेपछि मात्र टाई बिमभन्दा माथिको भागको निर्माण कार्य स्वीकृत नक्सा अनुसार मात्र गर्नुपर्छ ।

७) निर्माण सम्पन्न प्रमाण पत्र
निर्माण पूर्ण सम्पन्न भएको विवरणका साथ नगरपालिकामा निवेदन दिएपछि यो प्रक्रिया सुरु हुन्छ । नक्साअनुसार भवन मापदण्ड र भवन निर्माण संहिता पालन गरी भवन निर्माण गरिएको भनी नगरपालिकाको प्राविधिकले प्रमाणित गरेपछि निर्माण सम्पन्न प्रमाणपत्र प्रदान गरिन्छ । 

यसरी निर्माण सम्पन्न प्रमाणपत्र लिइसकेपछि थप निर्माण कार्य गर्नुपर्दा पुनः भवन निर्माण अनुमति प्रक्रियामा जानुपर्छ । कुनै कारणले भवन निर्माण अनुमति प्रक्रियाको म्याद गुज्रेमा पुनः अनुमति लिनुपर्छ । 

नगरपालिकाले भवन निर्माण स्वीकृति प्रदान गरेका अवधिभित्र निर्माण कार्य सम्पन्न हुन नसकेको खण्डमा भवनको जति निर्माण कार्य सम्पन्न भएको छ सोको निर्माण आंशिक सम्पन्न प्रमाणपत्र लिन मिल्छ । घरमा पानी र बिजुली जडान गर्न पालिका अनुसार निर्माण सम्पन्न प्रमाणपत्र वा प्लिन्थ लेभल निर्माणको अनुमति पत्र चाहिन्छ । 

निर्माण सम्पन्न/आंशिक सम्पन्न प्रमाणपत्र घरको बेचबिखन गर्न वा बैंकिङ र बिमा सम्बन्धी कारोबार गर्न अनिवार्य रूपमा चाहिन्छ ।

यसरी भवन निर्माण अनुमतिका प्रक्रिया अन्तर्गत नक्सा डिजाइन गरी पास गरे पश्चात् क्रमशः प्लिन्थ लेभल (टाईबिम जग) सम्मको निर्माण अनुमति, जगभन्दा माथिको निर्माण अनुमति र निर्माण सम्पन्न प्रमाण पत्र प्राप्त गर्न सकिन्छ ।

जगदम्बा स्टिलसँगको सहयोगमा

चालु आर्थिक वर्षमा घरजग्गा क्षेत्रको वृद्धि २.७२% रहने प्रारम्भिक अनुमान, जीडीपीमा ८.२९% योगदान

एक वर्षमा तीन लाख ८२ हजार घरजग्गा रोक्का, तीन लाख फुकुवा

विदेशीलाई अपार्टमेन्ट खरिद गर्न पाउने व्यवस्था गर्न नेपाली कांग्रेसलाई चेम्बरको सुझाव

नारायणगढ–बुटवल सडकः दाउन्नेमा रातका समयमा सवारी आवागमन वैशाख ३१ सम्म रोकिने

यस्ता छन् व्यवस्थित शहर तथा वस्ती विकासमा ‘खनाल आयोग’ले औंल्याएका १९ समस्या र चुनौतीहरु

वैशाख कृष्ण औंसी: आज आमाको मुख हेर्ने पर्व मनाइँदै

ग्लोबल वार्मिङले मुस्ताङमा सुक्न थाल्यो खानेपानीका मुहान

भूकम्पको दशक: भत्किएका संरचनाहरू अझै अधुरा

136A5B82547A933-74AAED69AE5164D-4d714748c6afc4a5d9f0d0c1437e8037e4177215.jpg

काठमाडौंमा किन बनेनन् नयाँ घर ?

185BBA57E350ED5-images.jpg

नौ महिनामा सवा दुई अर्बको सिमेन्ट निर्यात

E3A9775C7C9314F-605E5DEFD398608-_123891123_land.jpg

चैतमा घरजग्गा कारोबार र राजश्व संकलन बढ्यो, देखियो सुधारको शंकेत