काठमाडौं महागनरले १० महिनामा दुई अर्ब रुपैयाँ घरबहाल कर उठाएको छ, जुन गत आवको तुलनामा १४ प्रतिशतले वृद्धि हो
काठमाडौं । काठमाडौं महानगरभित्र मन्दीले सटरहरु बन्द हुने क्रम जारी रहे पनि चालू आर्थिक वर्षको १० महिनामा घरबहाल कर १४ प्रतिशतले बढेको छ ।
काठमाडौं महानगरले साउनदेखि वैशाखसम्म दुई अर्ब रुपैयाँ घरबहाल कर उठाएको छ । गत आवको सोही अवधिमा घरबहाल कर एक अर्ब ७५ करोड रुपैयाँ १६ लाख रुपैयाँ उठेको थियो । यो वर्ष २४ करोड ४० लाख रुपैयाँले घरबहाल कर बढेको हो ।
तर, मन्दीका कारण नयाँ घर तथा भवनहरु निर्माण सुस्त बनेपछि महानगरको नक्सापास दस्तुर भने घटेको छ । गत आवको पहिलो १० महिनामा ८४ करोड १४ लाख रुपैयाँ नक्सापास दस्तुर उठेकोमा यो वर्षको सोही अवधिमा ३६ प्रतिशतले घटेर ५३ करोड ४९ लाख रुपैयाँमात्र उठेको छ ।
१० महिनाको अवधिमा काठमाडौं महानगरले सम्पत्ति कर, घरबहाल कर, पार्किङ शुल्क, नक्सापास दस्तुर, व्यवसाय रजिष्ट्रेसन दस्तुर लगायत विभिन्न २३ शिर्षकमा कुल चार अर्ब ४७ करोड १९ लाख रुपैयाँ आन्तरिक राजश्व उठाएको छ । जुन गत वर्षको तुलनामा १.९५ प्रतिशत मात्रै वृद्धि हो ।
यस वर्ष सम्पत्ती बहाल तथा पट्टा वापतको आयमा लाग्ने कर, सम्पत्ति कर, भूमि तथा मालपोत कर, न्यायिक दस्तुर, पार्किङ शुल्क, नक्सापास दस्तुर, व्यक्तिगत घटना दर्ता दस्तुर संकलन घटेको छ ।
१० महिनामा सम्पत्ति कर ८४ करोड ६० लाख, भूमि तथा मालपोत ९९ लाख, पर्यटन शुल्क १५ करोड ७१ लख, सेवा शुल्क २४ करोड ५० लाख, पार्किङ शुल्क एक करोड २१ लख, सिफारिस दस्तुर सात करोड ४१ लख, व्यवसाय रजिष्ट्रेसन दस्तुर ४७ करोड ३४ लाख रुपैयाँ उठेको महानगरले जनाएको छ ।
महानगरले घरजग्गा रजिष्ट्रेसन दस्तुर, बाँडफाँडबाट प्राप्त हुने भ्याट, अन्तःशुल्क, सवारी साधन कर, मनोरञ्जन कर, विज्ञापन कर र वन रोयल्टी करवापत थप एक अर्ब ३७ करोड ३१ लाख रुपैयाँ उठाएको छ । यो रकम गत वर्षको सोही अवधिको तुलनामा २० प्रतिशतले बढी हो ।
यस्तै, केन्द्र र प्रदेश सरकारबाट प्राप्त गर्ने विभिन्न शिर्षकको अनुदानवापत एक अर्ब ९६ करोड ९४ लाख रुपैयाँ संकलन भएको महानगरले जनाएको छ । यो रकम पनि अघिल्लो आवको तुलनामा १८.७८ प्रतिशतले बढी हो ।
यसरी महानगरले १० महिनाको अवधिमा आन्तरिक राजश्व, बाँडफाँडबाट प्राप्त हुने राजश्व र आन्तरिक अनुदान गरी कुल सात अर्ब ८१ करोड ४५ लाख रुपैयाँ आम्दानी गरेको छ । यो रकम गत आवको तुलनामा ६२ करोड ६७ लाख रुपैयाँले बढी हो । गत वर्ष महानगरले सात अर्ब १८ करोड ७८ लाख रुपैयाँ कुल आम्दानी गरेको थियो ।