पछिल्लो समय अनलाइन प्लेटफर्ममा करोडौं मूल्यका आलिशान बंग्ला र ठूला जग्गा पनि बिक्रीका लागि लिस्टिङ हुन थालेका छन् । कोभिडअघि ठूला घरजग्गा बिक्रीका लागि अनलाइन प्लेटफर्ममा लिस्टिङ गरिँदैनथे । भित्रभित्रै ग्राहक खोजेर डिल गरी बिक्री गर्ने चलन थियो ।
कोभिड–१९ महामारी लम्बिँदै गएसँगै रियलस्टेटमा शिथिलता देखिन थालेको छ । बजारमा घरजग्गा बिक्री गर्नेको चाप बढ्दै गइरहेको छ तर खरिदकर्ता भेटिँदैनन् । पैसावाल पनि महामारीले प्रोपर्टीको मूल्य घट्ने अनुमान गरी ‘पर्ख र हेर’को अवस्थामा छन् ।
घरजग्गा खरिद–बिक्री गरिदिने अनलाइन प्लेटफर्ममा घरजग्गा बिक्री गर्नका लागि लिस्टिङ गर्नेहरू ह्वात्तै बढेका छन् । महामारीले रियलस्टेटमा मन्दी ल्याउन सक्ने अनुमानले पनि धेरै घरजग्गा धनी बिक्रीका लागि कस्सिएको नेपालभूमि रियलस्टेट एजेन्सीका सञ्चालक विक्रम लामा बताउँछन् ।
कतिपय बैंक ऋणको दबाबका कारण पनि घरजग्गा बिक्री गर्न कस्सिएका हुन् । अहिले एकाधबाहेक धेरैजसो व्यापार–व्यवसाय लगभग ठप्प छन् । ‘अहिले धेरैको रोजगारी गुमेको छ,’ लामा भन्छन्, ‘त्यसैले पनि टुक्रा जग्गा र घर बिक्रीको चाप बढ्न थालेको हो ।’
पछिल्लो समय अनलाइन प्लेटफर्ममा करोडौं मूल्यका आलिशान बंग्ला र ठूला जग्गा पनि बिक्रीका लागि लिस्टिङ हुन थालेका छन् । कोभिडअघि ठूला घरजग्गा बिक्रीका लागि अनलाइन प्लेटफर्ममा लिस्टिङ गरिँदैनथे । भित्रभित्रै ग्राहक खोजेर डिल गरी बिक्री गर्ने चलन थियो । अघिल्लो वर्षमात्र टेलिकम कम्पनी एनसेलकी साझेदार भावना सिंह श्रेष्ठले बागबजारस्थित श्रेष्ठ टेलरिङ भएको ६ रोपनी जग्गा र भवन १ अर्ब २० करोड रुपैयाँमा भित्रभित्रै डिल गरेर किनेकी थिइन् ।
बुढानीलकण्ठ, गोल्फुटार, भैँसेपाटी, सानेपालगायत हाईप्रोफाइल बसोबास गर्ने ठाउँका बंग्ला अहिले बिक्रीमा राखेको देखिन्छ । त्यस्तै, दरबारमार्ग, ठमेललगायत व्यावसायिक हबका व्यावसायिक भवन पनि बिक्रीमा राखिन थालेका छन् ।
घरजग्गाका अनलाइन प्लेटफर्ममा १० करोड रुपैयाँभन्दा बढी मूल्यका प्रशस्तै बंग्ला र व्यावसायिक भवन बिक्रीमा राखिएका छन् । ‘दुई÷तीनटा घर हुनेहरूले महँगा घर बिक्रीमा राख्न थालेका छन्’ लामा भन्छन्, ‘भविष्यमा मूल्य घट्न सक्ने सम्भावना देखेर कतिपयले महँगा प्रोपर्टी बिक्रीमा राखेका हुन् । व्यापार–व्यवसाय ठप्प भएपछि व्यावसायिक भवन पनि बिक्रीको लिस्टमा चढ्न थालेका हुन् ।’
प्रिमियम व्यावसायिक केन्द्र दरबारमार्गमा साढे नौ आना क्षेत्रफलमा बनेको व्यावसायिक भवन बिक्रीमा राखिएको छ । रियलस्टेटको अनलाइन प्लेटफर्म नेपालहोम्स डटकममा बिक्रीका लागि लिस्टिङ गरिएको भवन मुख्य सडकसँग जोडिएको छ । सन् २००५ मा बनेको यस व्यावसायिक भवनको मूल्य ९२ करोड रुपैयाँ तोकिएको छ ।
बुढानीलकण्ठमा ४० करोडको बंग्लो
भीआईपी एरिया बुढानीकलण्ठमा ४० करोड मूल्यको आलिशान बंग्लो बिक्रीमा राखिएको छ । बसोबास डटकममा राखिएको बंग्लो ४ रोपनी ९ आना क्षेत्रफलमा फैलिएको छ । पूर्वी मोहडा भएको आकर्षक बंग्लोमा पुग्न २० फिटको पक्की सडक छ । २०७३ सालमा बनेको बंग्लोमा आधारभूत सुविधा इन्टरनेट, सोलार, वासिङ मेसिन, माइक्रो ओभन, बगैँचा, ग्यारेजलगायत सुविधा छन् ।
२६ देखि ३० करोडसम्मका घर
धुम्बाराहीमा २० फिटको बाटोमा ५२ आना जग्गामा फैलिएको आकर्षक बंग्लो बिक्रीका लागि लिस्टिङ भएको छ । पूर्वी मोहडा भएको बंग्लोमा ग्यारेज, बालकोनी, बगैँचा, जिम, खेल मैदानलगायत सुविधा छन् । साढे दुई तले यस बंग्लोको मूल्य ३० करोड रुपैयाँ राखिएको छ ।
गोल्फुटारमा प्राइभेट स्विमिङ पुलसहितको ४८ आना क्षेत्रफलमा बनेको साढे दुई तले आवासीय बंग्लो बिक्रीमा राखिएको छ । २० फिटको पक्की सडकमा रहेको बंग्लो आयातीत इटालियन मार्बलले सुसज्जित, अतिथि कक्ष भएको, ठूलो बगैँचा, ठूला रूखले भरिएको, दक्षिण–पूर्वी मोहडा भएको आकर्षक छ । नेपालहोम्स डटकममा बिक्रीका लागि लिस्टिङ गरिएको यस बंलोको मूल्य २७ करोड रुपैयाँ रहेको छ ।
विशालनगरमा २७ करोड रुपैयाँ मूल्य तोकिएको अत्याधुनिक सुविधा सम्पन्न घर बिक्रीमा राखिएको छ । २० फिटको बाटोमा २५ आना क्षेत्रफलमा बनेको आलिशान भवन बिक्रीका लागि नेपालहोम्स डटकममा लिस्टिङ भएको छ ।
बालाजुमा २६ करोड मूल्यको व्यावसायिक भवन बिक्रीमा राखिएको छ । १८ आना क्षेत्रफलमा बनेको घरमा ३५ कोठा र तीन वटा सटर रहेका छन् ।
२१देखि २५ करोड मूल्यका प्रोपर्टी
स्युचाटारमा १२ फिट बाटो भएको ४ रोपनी ४ आना जग्गामा बनेको बंग्लो बिक्रीमा छ । साढे दुई तले यस बंग्लोको मूल्य २४ करोड रुपैयाँ तोकिएको छ ।
बुढानीलकण्ठको चपलीमा २५ करोड मूल्यको भिला बिक्रीमा राखिएको छ । बसोबास डटकममा सूचिकृत भिला १४ फिटको ग्राभेल बाटो र ३ रोपनी ४ आना जग्गामा रहेको छ । पूर्ण फर्निसिङ गरिएको यस भिलामा कामदारको लागि दुई तलाको बेग्लै क्वार्टर रहेको छ । यहाँ आकर्षक बगैँचा, १२ वटासम्म कार पार्किङ सुविधा छ । घरभित्रै खेल मैदान पनि रहेको भिला सन् २०१६ मा निर्माण सम्पन्न भएको हो ।
बुढानीलकण्ठमै पूर्वी मोहडा भएको २५ करोड मूल्यको अर्को बंग्लो बिक्रीमा छ । १८ फिट चौडा सडकमा छ रोपनी क्षेत्रफलमा फैलिएको बंग्लोमा प्राइभेट स्विमिङ पुल, मोटर ग्यारेज, बालकोनी, जिम, बगैँचा, खेल मैदानलगायत सुविधा छन् ।
दरबारमार्गमा चार आना क्षेत्रफलमा बनेको व्यावसायिक भवन बिक्रीमा राखिएको छ । अन्नपूर्ण केक सपसँगै जोडिएको भवन पूर्वी मोहडाको हो । यो घरको मूल्य पनि २५ करोड रुपैयाँ तोकिएको छ ।
बालुवाटारमा ३० आना क्षेत्रफलमा बनेको तीन तले बंग्लो बिक्रीमा राखिएको छ । १५ फिटको बाटोमा रहेको बंग्लोमा मोटर पार्किङ, बालकोनी, बगँैचालगायत सुविधा छन् । पूर्वी मोहडा रहेको घरको मूल्य २५ करोड रुपैयाँ तोकिएको छ ।
ललितपुरको लामाटारमा १० रोपनी क्षेत्रफलमा बनेको एक तले कटेज बिक्रीमा राखिएको छ । जसको मूल्य २१ करोड १ रुपैयाँ राखिएको छ ।
भाटभटेनी, नक्सालमा पूर्वी मोहडा भएको २ रोपनी १ आना क्षेत्रफलमा फैलिएको घर बिक्रीमा राखिएको छ । १६ फिट बाटो भएको घरको मूल्य २३ करोड ५० लाख रुपैयाँ रहेको छ ।
कमलादीमा १० आना जग्गामा बनेको छ तले व्यावसायिक भवन बिक्रीमा छ । सन् २०१६ मा निर्माण सम्पन्न भएको भवनको प्रत्येक तलाको क्षेत्रफल १५५८.५ स्क्वायरफिट रहेको छ । विद्युतीय ब्याकअप, खानेपानी, रिजर्भ ट्यांकी, पार्किङलगायत सुविधा रहेको भवनको मूल्य २२ करोड रुपैयाँ तोकिएको छ ।
२० करोड मूल्यका घर
सामाखुशीमा साढे दुई तले बंग्लो बिक्रीमा छ । २० करोड रुपैयाँ मूल्य तोकिएको बंग्लोमा २० फिटको बाटो रहेको छ ।
बुढानीलकण्ठमा पूर्ण फर्निसिङ गरिएको २० करोड मूल्यको बंग्लो बिक्रीमा छ । २० फिटको बाटो, पूर्वी मोहडा, बगैँचा, मोटर पार्किङलगायत सुविधा त्यहाँ छन् ।
भैँसेपाटीमा दुई रोपनी क्षेत्रफलमा बनेको साढे दुई तले घर २० करोड मूल्यमा बिक्री गर्न राखिएको छ । नेपाली मौलिक कलात्मक ढाँचामा बनाइएको भवन नेपालहोम सर्चमा बिक्रीका लागि लिस्टिङ गरिएको छ ।
महादेवटार, सामाखुशीमा साढे तीन तले बंग्लो २० करोड ५० लाख रुपैयाँमा बिक्री गर्न राखिएको छ । २३ आना जग्गामा बनेको बंग्लोमा पुग्न २० फिटको बाटो छ ।
१५ देखि १९ करोडसम्मका घर
भक्तपुरमा ३७ आना क्षेत्रफलमा बनेको आकर्षक बंग्लो बिक्रीमा छ । साढे दुई तले यस बंग्लोको मूल्य १८ करोड ५० लाख रुपैयाँ तोकिएको छ ।
चप्पल कारखानानजिकै तीन रोपनी जग्गा भएको बंग्लो बिक्रीमा छ ।जसको मूल्य १८ करोड रुपैयाँ रहेको छ ।
महाराजगञ्जमा अमेरिकी दूतावासनजिकै २० आना जग्गा भएको सुविधा सम्पन्न घर बिक्रीमा राखिएको छ । जसको मूल्य १६ करोड रुपैयाँ राखिएको छ ।
कलंकीमा १६ करोड मूल्यको व्यावसायिक भवन बिक्रीमा राखिएको छ । १२ आना जग्गामा बनेको भवनमा अहिले सिद्धार्थ बैंक, प्रभु बैंक र अन्य व्यावसायिक पसल सञ्चालित छन् ।
भैँसेपाटीमा ३१.५ आनामा बनेको साढे दुई तले घर १६ करोड मूल्यमा बिक्री गर्न राखिएको छ । १३ फिटको बाटोमा रहेको घर उत्तर–पूर्वी मोहडामा फर्किएको छ । यो घर आंशिक फर्निसिङ गरिएको छ ।
सानेपामा १५ आना १ पैसा जग्गामा बनेको घर बिक्रीमा छ । आवासीय, व्यावसायिक र कार्यालय प्रयोजनका लागि उपयुक्तयस घरको मूल्य १५ करोड ७५ लाख रुपैयाँ तोकिएको छ ।
महाराजगञ्ज चुनदेवीमा २० फिटको बाटोमा १९ आना २ पैसा जग्गा भएको आकर्षक बंग्लो बिक्रीमा छ । जसको मूल्य १५ करोड ५० लाख रुपैयाँ रहेको छ । त्यस्तै, चुनदेवीमा २६ आना जग्गामा रहेको आकर्षक बंग्लो बिक्रीमा छ । जसको मूल्य १५ करोड रहेको छ ।
बत्तीसपुतलीमा २० आनामा बनेको १५ करोड १० लाखमूल्यको घर बिक्रीमा छ । भीमसेनगोलामा १ रोपनी ६ आना जग्गा रहेको आकर्षक बंग्लो बिक्रीमा छ ।जसको मूल्य १५ करोड रुपैयाँ तोकिएको छ ।
ललितपुर, कुपण्डोलमा २२ आना जग्गामा बनेको आवासीय बंग्लो बिक्रीमा राखिएको छ । यो बंग्लोमा सुन्दर बगैंचा रहेको छ । बंग्लोको मूल्य १५ करोड रुपैयाँ रहेको छ ।
महाराजगञ्जमा साढे तीन रोपनी जग्गामा रहेको तीन तलाको आकर्षक घर १८ करोड रुपैयाँमा बिक्रीमा छ । दक्षिण–पूर्वी मोहडा भएको यस घरमा ग्यारेज, पार्किङ, बगैँचा, इन्टरनेट, ढल, पानी आदिको सुविधा रहेको छ । पाँच बेडरुम भएको यस घरको सबै बेडरुममा बाथरुम एट्याच्ड छ ।
१० देखि १४ करोडसम्मका घर
सानेपामा १९ आना क्षेत्रफलमा फैलिएको सुन्दर आवासीय घर बिक्रीमा छ । यो घरको मूल्य १३ करोड ५० लाख रुपैयाँ तोकिएको छ ।
विशालनगरमा १४ फिटको बाटोमा १० आना जग्गामा बनेको बंग्लो १३ करोड रुपैयाँमा बिक्रीमा राखिएको छ ।