घरखर्च व्यवस्थापन सहि तरिकाले गर्नुमात्र तपाईंको अन्तिम उपलब्धी भने होइन । आफ्नो आम्दानीको केही हिस्सा भोलीका लागि बचत गर्दै जानु वा ऋण भए त्यो तिर्दै जानु पनि अपरिहार्य हुन्छ ।
तपाईंलाई पैसाको राम्रो व्यवस्थापन गर्नका लागि गणितमा राम्रो हुनु पर्दैन । घर खर्चको उचित व्यवस्थापन गर्नका लागि तपाईंले आफ्नो खर्च गर्ने शैलीमा केहि चनाखो हुनु जरुरी हुन्छ ।
घरखर्च व्यवस्थापन सहि तरिकाले गर्नुमात्र तपाईंको अन्तिम उपलब्धी भने होइन । आफ्नो आम्दानीको केही हिस्सा भोलिका लागि बचत गर्दै जानु वा ऋण भए त्यो तिर्दै जानु पनि अपरिहार्य हुन्छ ।
घरायसी बजेटको राम्रो व्यवस्थापन गर्नको लागि सम्पूर्ण आय–व्ययको विवरण रेकर्ड राख्नुपर्छ । आम्दानी र खर्चको विवरण रेकर्ड लाग्दा पट्यार लाग्दो भए पनि वास्तवमै तपाईंलाई आम्दानीको राम्रो व्यवस्थापन गर्न मद्दत पुर्याउँछ ।
हामी तपाईंको घरेलु बजेटको कुशल व्यवस्थापन गर्न सघाउ पुग्ने १० टिप्सका बारेमा जानकारी गराउँदै छौं ।
१) परिवारको आम्दानी
सबैभन्दा पहिला तपाईंले घरायसी बजेट विवरणको शिर्षस्थानमा आफ्नो कुल आम्दानी लेख्नुपर्छ । आम्दानीमा तपाईंका परिवारका सदस्यहरुको कमाई पनि जोडेर राख्न सक्नुहुन्छ । यदि आम्दानी हरेक महिना तलमाथि भइराख्छ भने औषत आम्दानी विवरण राख्नुहोस् ।
यसबाहेक तपाईंले केहि अतिरिक्त रकम आम्दानी गर्नुहुन्छ भने त्यसलाई आम्दानी र खर्चको बिवरणमा नलेखी बचत वा सानो लगानीको लागि छुट्टै राख्न सक्नुहुन्छ ।
२) मासिक हुने नियमित खर्च
अब तपाईंको मासिक रुपमा हुने निश्चित खर्चहरु समावेश गर्नुहोस् । यी खर्चहरुलाई कुल आम्दानीबाट घटाउनुहोस् । निश्चित खर्चहरुमा ऋणको किस्ता, घरभाडा, स्कुल फिस, केवल टिभी, टेलिफोन, इन्टरनेट, बिजुली, पत्रिका, रासन, कर, यातायात खर्च आादि पर्छन् ।
अघिल्लो महिना भएको खर्चको आधारमा पनि मासिक नियमित खर्च यति हुन्छ भनेर अनुमान लगाउन सकिन्छ । यी बाहेक अन्य खर्चहरु पनि हुन्छन् भने त्यसलाई औषत रुपमा आँकलन गरी खर्चमा जोडेर कुल आम्दानीबाट घटाउनुपर्छ ।
३) खर्चपछिको कुल आम्दानी
आम्दानीबाट घरायसी सम्पूर्ण खर्चहरु घटाएर निस्किएको बाँकी रकम तपाईंको कुल आम्दानी हो । बाँकी रहेको रकमलाई आफ्नो बजेट योजनाको तालिकामा छुट्टै टिपोट गर्न सक्नुहुन्छ । कथम कदाचित तपाईले हिसाब गर्दा आम्दानीबाट खर्च घटाउदा परिणाम नेगेटिभ आयो भने तपाईंले आम्दानीभन्दा धेरै खर्च गरेको बुझिन्छ ।
यस्तो अवस्थामा तपाईंले खर्चको पुनः मुल्यांकन गर्नुअघि तपाईंको खर्चलाई ‘चाहना’ र ‘आवश्यकता’ बिचमा विभाजन गर्नुपर्छ । यदि यसो गर्नु भएन भने तपाईले खर्च धान्न थप ऋणमा डुब्नुपर्ने अवस्था आउँछ ।
४) आपतकालिन कोष खडा
तपाईंको आम्दानीबाट खर्च घटाउदा बचेको कुल आम्दानीबाट १० देखि ३० प्रतिशत रकम आपतकालिन कोषका लागि छुट्याउनुहोस् । अझ यसका लागि तपाईंले नजिकैको बैंकमा मासिक रुपमा निश्चित रकम बचत पनि गर्न सक्नुहुन्छ । यो रकम कुनै आपतकालिन अवस्था आइपर्दा मात्र प्रयोग गर्नुहोस् ।
५) पुरै परिवारलाई यस योजनामा समावेश गर्नुहोस्
घरको बजेट योजनामा परिवारका सबै सदस्यलाई सामेल नगराइकन तपाईं एक्लैले यसको व्यवस्थापन गर्न सक्नुहुन्न । सबैको खर्च गर्ने बानीमा प्रतिबन्ध लगाउन कडा रुपमा प्रस्तुत भई आफूलाई कठोर र गलत आचरणको व्यक्तिको रुपमा प्रस्तुत गर्नु ठिक हुदैन ।
यसका लागि कसरी घरायसी खर्चलाई कटौती गर्न सकिन्छ भनेर परिवारका सबै सदस्यसँग सल्लाह लिने र आफूले पनि सुझाव दिएर आग्रह गर्नु उचित हुन्छ । यदि तपाईंका साना बच्चाहरु छन् भने उनीहरुलाई पनि यस प्रक्रियामा समावेश गर्न सकिन्छ ।
यसले बच्चाहरुमा पैसा व्यवस्थापनको भावना र सचेतनाको विकास हुनुको साथै कुन चिजको मूल्य कति पर्छ भन्ने कुरा बुझ्न पनि सहयोग पुग्छ ।
६) खर्च गर्ने बानीमा समायोजन
सम्भावित खर्चहरु बाहेक अप्रत्याशित रुपमा हुन आउने खर्चको लागि पनि केहि पैसा बचत गर्नुपर्छ । कहिलेकाहिँ आफन्त वा साथीभाईकोमा विवाह समारोह तथा शुभकार्यहरु हुन सक्छन । कुनै बेला आफूले पनि केहि विशेष अवसरमा पाहुना निम्त्याएर भोज भतेर गर्नुपर्ने हुन सक्छ । त्यस्तो अवस्थामा पैसा खर्च हुने भएकाले केहि रकम छुट्याएर राख्नु उत्तम हुन्छ ।
तपाईंको बाहिर गएर खाने, रमाउने गरी अनावश्यक खर्च गर्ने बानी छ भने त्यसलाई त्याग्नुपर्छ । आवश्यकता र चाहना बिचको भिन्नता बुझेर चल्न सिक्नुपर्छ ।
७) किनमेल गर्दा सूचि बनाउने
किनमेल गर्न जाँदा सूचि नबनाई जानु हुँदैन । सूचीलाई एउटा अनिवार्य नियमको रुपमा लागू गर्नुहोस् । सम्भव भएसम्म किनमेलमा निस्कदा साना बच्चाहरुलाई साथमा लैजान हुँदैन । बच्चाहरुले अतिरिक्त खर्च गरिदिन्छन् ।
जहिले पनि किनमेल गर्न जाँदा आफूलाई आवश्यक पर्ने सामाग्रीहरुको मात्र सूचि बनाउनुहोस् र त्यति नै रकम बोक्नुहोस् । बजारमा किनमेलमा निस्कँदा आवश्यकताभन्दा बढी रकम बोकेर हिँड्न हुँदैन ।
यदि कुनै सामान किन्दा तपाईले बनाउनुभएको सूचीको मूल्यभन्दा बढि तिर्नुप¥यो भने अर्को सामानमा त्यसलाई घटाएर मिलाउनुहोस । यस्तो बानीको विकास गर्न एकदमै जरुरी पर्छ किनभने यसले तपाईको बजेटको योजनालाई सुदृढ बनाउनमा मद्दत पुग्छ ।
८) क्रेडिट कार्डको दुरुपयोग नगर्नुहोस्
अहिले नेपालका बैंक तथा वित्तीय संस्थाहरुले पनि क्रेडिट कार्ड उपलब्ध गराउन थालेका छन् । क्रेडिट कार्डबाट आफुलाई आवश्यक पर्दा निश्चित रकम निकालेर निश्चित समयसम्म खर्च गर्न सकिन्छ । आफ्नो क्रेडिट कार्ड आपतकालिन अवस्थामा मात्र प्रयोग गर्नुहोस् ।
तपाईलाई मन पर्ने ब्राण्डको सामान बजारमा अभाव हुदैछ वा सकिदैछ भन्दैमा त्यसलाई अत्यावश्यक मान्न सकिदैन । यदि तपाईको आवेशमा खर्च गर्ने बानी छ भने आफ्नो क्रेडिट कार्ड परिवारका कुनै जिम्मेवार सदस्यलाई राख्न दिनुहोस् ।
यदि महिनाको अन्त्यतिर पैसा सकियो र अभाव हुन थाल्यो भने यो बुझ्न सकिन्छ कि तपाईले आफ्नो बजेट योजनाको सीमा नाघेर खर्च गर्नुभयो । तपाईले आफ्नो क्रेडिट कार्ड अनावश्यक कार्यमा खर्च गर्नुभयो भने तपाईले अर्को महिनाको कुल आम्दानीबाट त्यो रकम र ब्याज घटाउनुपर्ने हुन्छ ।
९) अतिरिक्त पैसा कमाउने उपायको खोजी
चाहे तपाईको कमाईले घरको मासिक खर्च मज्जाले पुगिरहेको छ भने पनि बचतको लागि केहि अतिरिक्त कमाइ हुने उयाय सोच्नुपर्छ । बिहान स्कुल तथा कलेजमा क्लास लिन सकिन्छ वा ट्युसान पढाउन पनि सक्नुहुन्छ । यसरी अतिरिक्त आर्जन गरी आफ्नो बजेटलाई सुदृढ बनाई थप रकम बचत गर्न सकिन्छ ।
१०) घरायसी बजेटको पुनः मूल्यांकन
तपाईले सुरुको महिना राम्रोसँग घरायसी बजेटको योजना तयार पार्नुभयो र सोही अनुरुप कार्यान्वयन गर्नुभयो भन्दैमा अर्को एक महिनासम्म फेरी त्यसलाई हेर्नु पर्दैन भन्ने हुँदैन । निश्चित खर्चबाहेक हरेक महिना तपाईको बजेटमा परिवर्तन आउन सक्छ । यसको मतलव तपाईले तयार पार्नुभएको योजना र तालिकालाई धेरै पटक मूल्यांकन गर्नुपर्ने हुन्छ ।
गएको महिना भएका अतिरिक्त खर्च र अप्रत्याशित खर्चलाई छुट्टै टिपेर राख्नुहोस् । यस्ता कुराहरु अलग्गै लेखेर राख्नाले तपाईलाई आफ्नो खर्च गर्ने बानीको बारेमा थाहा हुन्छ ।
आपूmले तिर्नुपर्ने विभिन्न विद्युत, पानी, इन्टरनेट, टेलिफोन, सवारी साधनका बिलहरु समयमै तिर्ने बानी बसाल्नुपर्छ । यसले गर्दा जरिवाना तिर्नबाट जोगिन सकिन्छ । आफ्ना परिवारका सदस्यसँग बसेर पैसा जोगाउनको लागि कसरी यस्ता उपयोगिताहरुको कम खपत गर्न सकिन्छ भनेर सल्लाह गर्नुपर्छ ।
अनावश्यक रुपमा बत्तीहरु नबाल्ने, हिटर नबाल्ने, टेलिफोनमा धेरै कुरा नगर्ने बानीले पनि बिल भुक्तानी गर्दा केहि राहत मिल्न सक्छ ।
Photo Credit: Millenial Money Man