गत साउनमा पाल्पा सिमेन्टले ४९ लाख रूपैयाँ बराबरको सिमेन्ट निर्यात यो यात्रा सुरू गरेको थियो ।
काठमाडौं । गएको आर्थिक वर्ष ०७९/८० मा नेपालबाट ७८ करोड रूपैयाँ बराबरको सिमेन्ट निर्यात भएको छ । भन्सार विभागका अनुसार गत आवमा तीन सिमेन्ट उद्योगले ७७ करोड ९३ लाख ६ हजार रूपैयाँको १० लाख चार हजार २३ टन सिमेन्ट निर्यात गरेका हुन् ।
विभागका अनुसार गत आवमा ३५ करोड ८९ लाख ५१ हजार रूपैयाँ बराबरको ६ लाख सात हजार ७३ मेट्रिक टन सिमेन्ट र ४२ करोड तीन लाख ५५ हजार रूपैयाँ बरारबरको तीन लाख ९६ हजार ९५० मेट्रिक टन क्लिंकर निर्यात भएको छ।
हाल पाल्पा, अर्घाखाँची र बालाजी गरी तीन सिमेन्ट उद्योगले भारतमा सिमेन्ट निर्यात गरिरहेका छन् । साथै अन्य उद्योग निर्यातको तयारीमा छन् । गत असार २४ गतेदेखि पाल्पा सिमेन्टको ‘तानसेन’ ब्राण्ड भारततर्फ निर्यात सुरु भएको थियो । साथै असोज ३१ गतेदेखि अर्घाखाँची र जेठ २९ गतेदेखि बालाजी सिमेन्टले ‘बाहुबली’ र ‘श्रृष्टी’ ब्राण्डमा पिपिसी सिमेन्ट निर्यात सुरु गरेका थिए ।
सरकारले सिमेन्ट र स्टीललगायत सामान निर्यातमा आठ प्रतिशत अनुदान र वार्षिक १० करोडभन्दा बढीको विद्युत् खपत गर्ने उद्योगलाई दुईदेखि १५ प्रतिशतसम्म महसुलमा छुट दिने घोषणा गरेपछि नेपाली सिमेन्ट उद्योगीले निर्यात सुरु गरेका हुन् ।
सरकारले गत आर्थिक वर्षको बजेटमा छुटको घोषणा गरेसँगै नेपाली तीन समेन्ट तथा एक स्टील उद्योगले निर्यात गरेका हुन् । सिमेन्ट उत्पादक संघले भारत सरकारबाट सिमेन्ट निर्यातमा गुणस्तर प्रमाणपत्रको पर्खाइमा धेरै सिमेन्ट उद्योग रहेको संघले जनाएको छ ।
नेपाली सिमेन्ट उद्योगले भारत निर्यातका लागि भारत सरकारबाट गुणस्तरको प्रमाणपत्र लिनुपर्छ । नेपालमा सञ्चालित सिमेन्ट उद्योगसँग वार्षिक करिब दुई करोड २० लाख टन सिमेन्ट उत्पादन क्षमता छ ।
२४ असार ०७९ मा पाल्पा सिमेन्ट उद्योगले पहिलो पटक भारतमा सिमेन्ट निर्यात सुरू गरेको थियो । साउन महिनामा ४९ लाख रूपैयाँ बराबरको सिमेन्ट निर्यात भएको तथ्यांक छ ।