गत वर्ष उपत्यकाभित्र घरजग्गा कारोबार ९२५ र राजश्व संकलन दुई अर्ब ७२ करोड रुपैयाँले बढेको छ
काठमाडौं । गत वर्ष ०८१ मा काठमाडौं उपत्यकाभित्र अघिल्लो वर्षको तुलनामा घरजग्गा कारोबार सामान्य मात्रै बढेको छ ।
एक वर्षको अवधिमा उपत्यकाका नौ मालपोत कार्यालयबाट ४६ हजार ९५८ घरजग्गाको लिखत पारित भएको भूमि व्यवस्थापन तथा अभिलेख विभागले जनाएको छ ।
अघिल्लो वर्ष ०८० मा उपत्यकाभित्र ४६ हजार ३३ घरजग्गा मात्र किनबेच भएका थिए । तथ्यांकले गत वर्ष उपत्यकामा करिव ९ सय २५ घरजग्गा बढी किनबेच भएको देखिन्छ ।
घरजग्गा कारोबारमा उल्लेख्य सुधार नदेखिए पनि राजश्व संकलन भने उत्साहप्रद रुपमा बढेको छ । ०८० मा उपत्यकाका मालपोत कार्यालयले १६ अर्ब ४८ करोड ४० लाख रुपैयाँ राजश्व संकलन गरेकोमा ०८१ मा १९ अर्ब २१ करोड ११ लाख रुपैयाँ राजश्व संकलन भएको विभागले जनाएको छ ।
गत वर्ष राजश्व उपत्यकाभित्र संकलन दुई अर्ब ७२ करोड ७० लाख रुपैयाँले बढेको छ ।
भक्तपुरमा सबैभन्दा धेरै किनबेच
उपत्यकाभित्रका तीन जिल्लामा नौ मालपोत रहेका छन् । काठमाडौंमा ६ वटा मालपोत छन् भने ललितपुरमा दुई र भक्तपुरमा एउटा मालपोत छ ।
गत वर्ष भक्तपुर मालपोत (भक्तपुरक जिल्लाकै एकमात्र) कार्यालयबाट सबैन्दा धेरै घरजग्गा किनबेच भएको छ । एक वर्षमा भक्तपुरमा ११ हजार २२५ घरजग्गाको लिखत पारित भएको छ ।
ललिपतुरमा दुईवटा मालपोत कार्यालय भएपनि गोटीखेलबाट अत्यन्तै न्यून किनबेच हुने गरेको छ । ललितपुरको लगनखेल मालपोतबाट १० हजार ४०३ घरजग्गाको लिखत पारित भइ उपत्यकाकै दोस्रो ठूलो कारोबार गर्ने मालपोत बनेको छ । गोटीखेल मालपोतबाट १९० मात्र लिखत पारित भएका छन् ।
काठमाडौंमा रहेका ६ मध्ये सबैभन्दा धेरै कलंकी मालपोतबाट घरजग्गा किनबेच हुने गरेका छन् । एक वर्षमा कलंकी मालपोतबाट सात हजार ६१२, चावहिलबाट पाँच हजार ४६८, मनमैंजूबाट चार हजार ४८३, साँखुबाट तीन हजार ३५६, डिल्लीबजारबाट दुई हजार ३९४ र टोखा मालपोतबाट एक हजार ८२७ घरजग्गा किनबेच भएको देखिन्छ ।
०८१ मा सबैभन्दा धेरै घरजग्गा किनबेच अन्तिम महिना चैतमा भएको छ । चैतमा उपत्यकामा ४ सय ७९ घरजग्गाको लिखत पारित भएको छ ।
वैशाखमा ३९ सय ३८, जेठमा ४८ सय ६३, असारमा ४९ सय, साउनमा ३९ सय २१, भदौमा ३६ सय २३, असोजमा ३१ सय ९४ घरजग्गाको लिखत पारित भएका छन् ।
यस्तै, कात्तिकमा २९ सय नौ, मंसिरमा ३६ सय ६२, पुसमा ३८ सय ८९, माघमा ३८ सय ९०, फागुनमा ३८ सय ९० र चैतमा ४४ सय ७९ लिखत पारित भएको विभागको तथ्यांक छ ।
राजश्व संकलनमा लगनखेल अगाडि
गत वर्ष उपत्यकाभित्र सबैभन्दा धेरै राजश्व ललितपुर मालपोत कार्यालयबाट संकलन भएको छ । एक वर्षमा लगनखेलबाट चार अर्ब ३२ करोड ७३ लाख रुपैयाँ राजश्व उठेको छ । ललितपुरकै गोटीखेलबाट ९४ लाखमात्र उठेको विभागको तथ्यांक छ ।
भक्तपुरबाट तीन अर्ब २९ करोड, डिल्लीबजारबाट तीन अर्ब २६ करोड, चावहिलबाट दुई अर्ब ७८ करोड, कलंकीबाट दुई अर्ब ८७ करोड, साँखुबाट एक अर्ब सात करोड, मनमैंजूबाट ८९ करोड र टोखाबाट ७० करोड रुपैयाँ राजश्व उठेको छ ।
महिनागत रुपमा हेर्दा वैशाखमा एक अर्ब ६७ करोड, जेठमा एक अर्ब ७४ करोड, असारमा दुई अर्ब ११ करोड, साउनमा एक अर्ब ५६ करोड, भदौमा एक अर्ब ४५ करोड, असोजमा एक अर्ब ४८ करोड, कात्तिकमा एक अर्ब १० करोड, मंसिरमा एक अर्ब ४७ करोड राजश्व उठेको छ ।
यस्तै, पुसमा एक अर्ब ६१ करोड, माघमा एक अर्ब ७६ करोड, फागुनमा एक अर्ब ५८ करोड र चैतमा एक अर्ब ८५ करोड रुपैयाँ राजश्व उठेको छ ।