लिलामी हुन नसकेका झण्डै २४ अर्बका घरजग्गा बैंकमा थुप्रिए

बैंकमा थुप्रिदैछन् घरजग्गा, लिलामीमा सकस

367B408218B985F-icon.png
4486views
BC7C7E3FD30F522-bank.jpg

काठमाडौं । आर्थिक मन्दीका कारण कर्जा बिग्रिन थालेपछि बैंक तथा वित्तीय संस्थाहरुको गैरबैंकिङ सम्पत्ती (एनबीए) ह्वात्तै बढेको छ । पछिल्लो दुई वर्षमा मात्रै बैंक तथा वित्तीय संस्थाहरुको गैरबैंकिङ सम्पत्ती झन्डै तीन गुनाले बढेको राष्ट्र बैंकको तथ्यांक छ ।

झण्डै २४ महिना अगाडी राष्ट्र बैंकले डरल सञ्‍चिति अभाव देखाएर आयातमा प्रतिवन्ध लगाएसँगै नेपालमा आर्थिक मन्दीको सुरुवात भएको थियो । बिगत २४ महिनामा देशमा वस्तु तथा सेवाको मागमा तिब्र ह्रास आउँदा आर्थिक संकट जटिल बन्दै गएको छ । यसको प्रत्यक्ष असर देखिएको छ– घरजग्गा ब्यबसायमा ।

आर्थिक संकटको प्रभाव घरजग्गा र बैंकमा कस्तो परेको छ भन्‍ने थाहा पाउन २४ महिनायता बैंकले लिलामी गर्न नसकेर आफैले सकार्नुपरेका घरजग्गाको मूल्य हेर्दा प्रष्ट हुन्छ ।

०७८ पुससम्म बैंक तथा वित्तीय संस्थाहरुको कुल गैरबैंकिङ सम्पत्ति नौ अर्ब ६ करोड रुपैयाँ रहेको थियो । आर्थिक मन्दीले कर्जा बिग्रिन थालेपछि ०८० पुससम्म आइपुग्दा बैंकको गैरबैंकिङ सम्पत्ति बढेर २३ अर्ब ७१ करोड रुपैयाँ पुगेको छ ।

पछिल्लो २४ महिनामा बैंक तथा वित्तीय संस्थाहरुले १४ अर्ब ६५ करोड रुपैयाँको गैरबैंकिङ सम्पत्ती सकारेका छन् । जुन अवस्था अत्यन्तै भयावह रहेको बैंकिङ क्षेत्रका जानकार बताउँछन् ।

राष्ट्र बैंकको गाइडलाइन अनुसार कुनै पनि ऋणीले कर्जा तिर्न नसके वा तिर्न नचाहेमा बैंकहरुले धितो लिलाम (बेचविखन) गरेर उठ्न बाँकी साँवा–ब्याज असुल गर्न सक्ने व्यवस्था छ । तर, कर्जा उठाउन अक्सनमा जाँदा धितो बिक्री नभएमा बैंकले आफैले सकार्नुपर्ने हुन्छ । यसरी सकारेको धितो नै गैरबैंकिङ सम्पत्ति हो ।

घरजग्गा कारोबार मन्दीमा फसेका कारण बैंक तथा वित्तीय संस्थाहरुले धितो लिलाम गर्न सकेका छैनन् । अहिले घरजग्गा खरिद गर्ने भन्दा बिक्री गर्नेहरुको चाप बढी रहेको छ । गोजीमा पैसा हुनेहरु पनि अझै घरजग्गाको मूल्य घट्न सक्छ, राम्रो ठाउँमा सस्तोमै घरजग्गा किन्‍न पाइएला कि भनेर कुरेर बसिरहेको पनि देखिन्छ ।

मन्दीसँगै बजारमा घरजग्गाको सप्लाई बढ्दा बैंक तथा वित्तीय संस्थाहरुलाई धितो लिलाम गर्न सकस भइरहेको प्रभु बैंकका एसिस्टेन्ट जनरल म्यानेजर रेणु प्रसाद पाण्डेले बताए । ‘अहिले घरजग्गा बिक्री गर्ने धेरै भए, खरिद गर्ने कम छन्, फेरी खरिदकर्तामा कन्फिडेन्स पनि देखिदैन्’ उनले भने, ‘व्यक्तिदेखि बैंकसम्म घरजग्गा बिक्री गर्न कस्सिएर लागेका छन्, सेलिङ प्रेसर अत्यन्त धेरै हुँदा बैंकले धितो लिलाम बिक्री गर्न नसकेर एनबीएमा जानुपरेको छ ।’

पछिल्लो समय पत्रपत्रिकाका पानाहरु बैंकका लिलामीका सूचनाले भरिन थालेका छन् । आठ वा बाह्र पेज छपाई गर्ने पत्रिकाले पनि लिलामीका सूचनाकै कारण पेज थप्नुपर्ने अवस्था छ । खासगरि, पत्रपत्रिकामा बैंकले कर्जा असुली नभएपछि चार थरी सूचना प्रकाशित गरेको देखिन्छ,

१) कर्जा भुक्तानी गर्न आउने सूचना

२) कर्जा सूचना केन्द्रको कालोसूचिमा राखिने सूचना

३) धितो लिलाम बिक्रीको गोप्य शिलबन्दी बोलपत्र आह्वान

४) बैंकको नाममा दर्ता रहेको गैरबैंकिङ सम्पत्ती विक्रीबारे गोप्य शिलबन्दी बोलपत्र आह्वान

एनआइसी एशियासँग सबैभन्दा धेरै गैरबैंकिङ सम्पत्ति

अहिले अस्तित्वमा रहेका ५४ वटा बैंक तथा वित्तीय संस्थाहरुमध्ये सबैभन्दा धेरै गैरबैंकिङ सम्पत्ती एनआईसी एशिया बैंकमा थुप्रिएको छ । ०८० पुससम्म एनआइसी एशियाले तीन अर्ब ४० करोड ८० लाखको गैरबैंकिङ सकारेको राष्ट्र बैंकको तथ्यांक छ । जबकी, दुई वर्षअघि ०७८ पुसम्म यस्तो सम्पत्ती एक अर्ब २४ करोड ११ लाख रुपैयाँ बराबरको थियो ।

कर्जा बिग्रिएकै कारण पछिल्लो दुई वर्षमा एनआइसी एशीयाको गैरबैंकिङ सम्पत्ती ह्वात्तै बढेको हो । गैरबैंकिङ सम्पत्ती हदबन्दी भन्दा बढी राखेको भन्दै मालपोत कार्यालयले समेत पत्राचार समेत गरेको स्रोत बताउँछ । पछिल्लो समय पत्रपत्रिका देखिने लिलाम बिक्री र गैरबैंकिङ सम्पत्ती बिक्रीका सूचनाहरुमा सबैभन्दा धेरै एनआइसी एशियाका हुने गर्छन् ।

दुई अर्बभन्दा बढीको गैरबैंकिङ सम्पत्ती थुप्रिनेमा प्राइम कमर्सियल बैंक र ग्लोबल आइएमई बैंक रहेका छन् । यी बैंकमा क्रमशः दुई अर्ब आठ करोड र दुई अर्ब चार करोडको गैरबैंकिङ रहेको छ ।

नबिल बैंकसँग एक अर्ब ८८ करोड, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकमा एक अर्ब ८८ करोड, माछापुच्छ्रे बैंकमा एक अर्ब ५५ करोड, कुमारी बैंकमा एक अर्ब ५५ करोड, लक्ष्मी बैंकमा एक अर्ब ३९ करोडको गैरबैंकिङ सम्पत्ती छ ।

एक अर्बभन्दा कमको गैरबैंकिङ सम्पत्ती हुने वाणिज्य बैंकहरुमा नेपाल बैंकमा १८ करोड, राष्ट्रिय वाणिज्य बैंकमा १८ करोड, हिमालयन बैंकमा ८३ करोड, नेपाल एसबिआइ बैंकमा आठ करोड, एभरेष्ट बैंकमा १४ करोड, सनराइज बैंकमा ५५ कारेड, कृषि विकास बैंकमा २५ करोड, सिटिजन बैंकमा २९ करोड, प्रभु बैंकमा ५५ करोड र सानिमा बैंकमा २३ करोडको गैरबैंकिङ सम्पत्ती थुप्रिएको छ ।

सबैभन्दा कम गैरबैंकिङ सम्पत्ती हुनेमा नेपाल एसबिआई बैंक रहेको छ ।

सुरक्षित धितो नै बन्दैछ बोझ

बैंक तथा वित्तीय संस्थाहरुलो कर्जा प्रवाहका लागि घरजग्गालाई सबैभन्दा सुरक्षित धितोका रुपमा लिँदै आएका छन् । आफ्नो वा परिवारको नाममा घरजग्गा नहुनेले जतिसुकै कमाई भएपनि बैंकबाट कर्जा पाउन नसक्ने स्थिती छ । नेपालमा बैंक तथा वित्तीय संस्थाहरुले प्रवाह गरेको कुल कर्जामध्ये करिव ७८ प्रतिशत कर्जा घरजग्गा धितो बन्धक राखेर प्रवाह गरेको राष्ट्र बैंकको तथ्यांकले देखाउँछ ।

यदि कर्जा बिग्रिहालेमा धितो लिलाम गरेर असुलउपर गर्ने व्यवस्था छ । यसैले बैंकले इञ्जिनियर खटाई ऋणीको धितो राख्‍ने सम्पत्तीको फेयर मार्केट भ्यालू निकालेर त्यसको ५० प्रतिशतसम्म मात्र कर्जा प्रवाह गर्दै आएका छन् । तर, धितो लिलाम गर्न नसकेर बैंकले नै सकार्नुपर्ने अवस्था आउनु भनेको धितोको गुणस्तरमा पनि प्रश्‍न उठ्नु हो ।

राष्ट्र बैंकको गाइडलाइन अनुसार बैंकहरुले १ देखि ३ महिनासम्म भाका नाघेको कर्जालाई सुक्ष्म निगरानीमा राखेर १.२५ प्रतिशत रकम प्रोभिजनिङ गर्नुपर्छ । ६ महिनासम्म भाका नाघेमा कमसल कर्जामा वर्गीकरण गरी २५ प्रतिशत, एक वर्षसम्म भाका नाघेको कर्जालाई शंकास्पद वर्गीकरण गरी ५० प्रतिशत र एक वर्षभन्दा बढी भाका नाघेमा खराब कर्जाका रुपमा वर्गीकरण गरी १०० प्रतिशत प्रोभिजनिङ गर्नुपर्ने व्यवस्था छ ।

कुल गैरबैंकिङ सम्पत्तीमध्ये सबैभन्दा धेरै क वर्गका वाणिज्य बैंकहरुमा थुप्रिएको छ । ०८० पुससम्म वाणिज्य बैंकहरुमा १९ अर्ब ८८ करोड रुपैयाँ गैरबैंकिङ सम्पत्ती थुप्रिएको छ । ०७८ पुससम्म यस्तो सम्पत्ती सात अर्ब ७२ करोड रुपैयाँको मात्रै थियो । यस्तै, ०८० पुससम्म विकास बैंकहरुसँग दुई अर्ब ५२ करोड र फाइनान्स कम्पनीहरुसँग एक अर्ब ३२ करोड रुपैयाँ बराबरको गैरबैंकिङ सम्पत्ती रहेको राष्ट्र बैंकको तथ्यांक छ ।

गैरबैंकिङ सम्पत्ती बढेपछि बैंकको नाफा र लाभांशसमा समेत ठूलो असर परेको देखिन्छ । नियमित असुली हुने कर्जा नउठेपछि प्रोभिजनिङ गर्नुपर्दा र धितो लिलाम बिक्री नभएर बैंकले सकार्दा बैंकको नाफामा समस्या आउने नै भयो । साथै, बैंकले गैरबैंकिङ सम्पत्ती बुक गर्दा क्यापिटल चार्ज तिर्नुपर्ने हुन्छ । जसले बैंकमा क्यापिटल क्रञ्‍च हुने र कर्जा प्रवाह क्षमता पनि घट्ने हुन्छ । अहिले गैरबैंकिङ सम्पत्ती सकार्छु भन्दा बैंकसँग क्यापिटल चार्ज तिर्ने पैसा समेत नभएको गुनासो आउन थालेको छ ।

‘एकातिर बैंकको कर्जा उठ्न सकिरहेको छैन्, अर्कोतिर धितो लिलाम बिक्री नहुँदा बैंक एनबीएमा जानु परेको छ, पाण्डेले भने, ‘बैंक तथा वित्तीय संस्थाहरुमा यति कठिन अवस्था आएको यसम्भवतः पहिलो पटक हो ।’

सरकारले पहाड, तराई र हिमालमा जग्गाको हदबन्दी तोकेको छ । बैंकलाई हदबन्दी छुटको व्यवस्था छैन । तर, कर्जा खराब भएपछि बैंकको नाममा घरजग्गा बढ्दै गइरहेका छन् । कतिपय बैंकमा थुप्रिएको गैरबैंकिङ सम्पत्तीले हदबन्दी नाघिसकेको छ । पहाडमा ७५ रोपनी र तराईमा ११ विघा जग्गा राख्‍न पाउने व्यवस्था छ ।

कतिपय मालपोत कार्यालयले हदबन्दीको कुरा उठाउन थालिसकेको हुँदा बैंक तथा वित्तीय संस्थालाई थप पिरलो थपिएको छ ।

यसरी बन्छ धितो गैरबैंकिङ सम्पत्ती

कुनै पनि ऋणीले नियमित किस्ता तिर्न ढिलाई गर्ने वित्तिकै कर्जा सुक्ष्म निगरानीमा गइहाल्छ । बैंकका कर्मचारीले फोन गरेर किस्ता तिर्न ताकेता गर्छन् । त्यति गर्दा पनि किस्ता तिर्न नआए बैंकले पत्र पठाउँछ । पत्र पठाउँदा पनि आएन भने बैंकले अब हामी धितो लिलामी प्रकृयामा जान्छौं भनेर जानकारी गराउँछ । त्यो अवधिमा पनि नियमित किस्ता नबुझाएमा ७ दिनको अक्सन (धितो लिलाम) नोटिस निकाल्छ । चित्तबुझ्दो बिड आयो भने बैंकले बिड गरेर त्यो सम्पत्ति हस्तान्तरण गर्छ र आफ्नो बाँकी साँवा व्याज असुली गर्छ । त्यो अधिकार बैंकलाई हुन्छ ।

बिड परेन भने बैंकले फेरी १५ दिनको सूचना निकाल्छ । त्यो १५ दिनमा पनि बिड परेन भने बैंक बल्ल एनबीएको प्रकृयामा जाने हुन् । एनबीएमा जानुभन्दा अघि बिड परे पनि नपरे पनि स्थानीय प्रतिनिधि, जिल्ला प्रहरीलगायत राखेर मुचुल्का उठाउनुपर्छ । दुई पटक पनि बिड परेन भने पञ्चकृति भ्यालुयसनको काम हुन्छ ।

एनबीएको प्रकृयामा जाँदासम्म धेरै लामो प्रकृया हुन्छ । त्यो अवधिमा ग्राहकले कर्जा मिलाउँछु भन्यो भने बैंकले जसको प्रोपर्टी हो उसलाई नै हस्तान्तरण गर्न प्राथमिकता दिने गर्छ । तर, त्यो बेलासम्म पनि कर्जा तिर्न नखोजे उक्त धितो बैंकले सकार्छ, जसलाई गैरबैंकिङ सम्पत्ती (एनबीए) भनिन्छ ।

काठमाडौं महानगरमा बढ्यो घरबहाल कर, घट्यो नक्सापास दस्तुर

निजी क्षेत्रले पनि जग्गा विकास कार्यक्रम सञ्चालन गर्न पाउने नीतिगत व्यवस्था गरिँदै

नीति तथा कार्यक्रम ०८१/८२: घरजग्गा कारोबार व्यवस्थित र मूल्यांकन वैज्ञानिक बनाइने

गुणस्तरीय सिमेन्ट कसरी छान्‍ने ? सिमेन्ट किन्‍नुअघि जान्‍नैपर्ने ८ टिप्सहरु

जेठमा पनि घट्यो बैंकको ब्याजदर

बढ्न थाल्यो घरजग्गा कर्जा, नौ महिनामा साढे ४१ अर्ब प्रवाह

मालपोत ऐन यथाशीघ्र संशोधन गर्नुपर्ने भन्दै घरजग्गा व्यवसायी महासंघको ९ बुँदे सुझाव

अहिले बजारमा कुन निर्माण सामाग्रीको मूल्य कति छ ?

48567ED0608A59C-8535F5EB07FED17-LoweredInterestRates.jpg

जेठमा पनि घट्यो बैंकको ब्याजदर

807C2BF20DB9472-CE4D9B49BB8B3BE-A54C5DD579A9A2F-4222943AE6649CA-news cover.jpg

बढ्न थाल्यो घरजग्गा कर्जा, नौ महिनामा साढे ४१ अर्ब प्रवाह

CE4D9B49BB8B3BE-A54C5DD579A9A2F-4222943AE6649CA-news cover.jpg

चार गुनाले बढ्यो व्यक्तिगत आवासीय घरकर्जा