बजेटले रियलस्टेट क्षेत्रलाई जुन तहको सम्बोधन गर्नुपर्थ्यो, त्यो तहमा सम्बोधन गरेको देखिएन
काठमाडौं । आगामी आर्थिक वर्षको बजेटले रियल इस्टेट क्षेत्रका व्यवसायीलाई उत्साहित बनाउन सकेन । मन्दीले शिथिल बनेको रियल इस्टेट व्यवसायलाई चलायमान बनाउने गरी बजेट नआएको व्यवसायीको गुनासो छ ।
बजेटले रियलस्टेट क्षेत्रलाई जुन तहको सम्बोधन गर्नुपर्थ्यो, त्यो तहमा सम्बोधन नगरेको नेपाल जग्गा तथा आवास विकास महासंघका अध्यक्ष भेषराज लोहोनीले बताए । उनले भने, ‘सरकारको निती तथा कार्यक्रममा निजी क्षेत्रसँगको साझेदारीमा जग्गा विकासका कार्यक्रममा सञ्चालन गर्ने भनिए पनि बजेटमा सम्बोधन नै भएन ।’
घरजग्गा कारोबारलाई चलायमान बनाउने गरी बजेट नआएको नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष एवं घरजग्गा व्यवसायी दीपक मलहोत्राले बताए ।
‘विदेशीले अपार्टमेन्ट किन्न पाउने नीतिगत व्यवस्था गर्न र घरजग्गा व्यवसायमा प्रत्यक्ष वैदेशिक लगानी (एफडिआइ) खुला गर्न माग गरेका थियौं, तर बजेटले यस विषयमा पनि केही बोलेको देखिएन’ मलहोत्राले भने, ‘निश्चित शर्तसहित विदेशीलाई अपार्टमेन्ट किन्न दिने भनेर अघिल्लो बजेटमा सम्बोधन गरिएको थियो, तर कार्यान्वयन भएन । यो पटक बजेटमै समेटिएन, विदेशीलाई अपार्टमेन्ट किन्न र रियल इस्टेटमा एफडिआइ खुला गरिदिए यो क्षेत्र पनि चलायमान हुन्थ्यो ।’
काठमाडौं उपत्यका तथा बाहिरका सम्भाव्य स्थानहरुमा सरकारी र निजी क्षेत्रको सहभागितामा जग्गा विकास गरी विपद् प्रतिरोधी र सुपथ मुल्यका ५० हजार आवास इकाईको विकास गर्ने विषय बजेटमा समेटिएको छ । यो बुँदालाई निजी क्षेत्रले सकरात्मक रुपमा लिएको छ । तर, कार्यान्वयनमा भने पूर्ण आशंका गरिएको छ ।
निजी क्षेत्रसँग मिलेर ५० हजार घर निर्माण गर्ने बजेटको व्यवस्था सकरात्मक रहेको लोहनीले बताए । व्यवस्थित शहर र एकीकृत वस्ती विकासमा निजी क्षेत्रलाई साझेदार बनाउन खाजिएको छ । विदेशीलाई अपार्टमेन्ट बिक्री गर्न दिने विषय बजेटमा नअटाउँदा उनले पनि असन्तुष्टी जनाए ।
निजी क्षेत्रले घरजग्गा कारोबार व्यवस्थित बनाउन स्टक मार्केट अवधारणमा जानुपर्ने कुरा उठाउँदै आएको थियो । सरकारले निती तथा कार्यक्रममा पनि लाइसेन्सप्राप्त व्यक्ति वा कम्पनीले मात्र घरजग्गा सम्बन्धि कारोबार गर्न पाउने व्यवस्था गरिने उल्लेख थियो । यो विषयले पनि बजेटमा प्रवेश पाएन ।
‘हुन त बजेटमा कोट नगर्दैमा कार्यान्वयन नै गर्न नखोजेको पनि नहोला, एक पटक सम्बोधन गरेको कुरा पटक–पटक किन दोहोराइरहने भनेर पनि हुन सक्छ’ लोहोनीले भने, ‘यहाँ सम्बोधन भन्दा पनि कार्यान्वयन महत्वपूर्ण छ ।’
घरजग्गा कारोबार चलायमान बनाउने महत्वपूर्ण अस्त्र मौद्रिक नीति हो । पक्कै पनि मौद्रिक नीतिमार्फत शिथिल बनेको घरजग्गा कारोबार चलायमान बनाइने छ । तर, अहिलेको बजेटले घरजग्गा कारोबार चलायमान नहुने व्यवसायीको ठोकुवा छ ।