३० प्रतिशत सस्तो, घरघरै बनाउन मिल्ने ‘इन्टरलक इँटा’

के तपाईँलाई थाहा छ ? परम्परागत पोलेको इँटाको विकल्पमा ‘इन्टरलक ब्रिक’ प्रयोगमा आएको छ नि ! यस्तो इँटाले घर बनाउँदा लागत पनि ३० प्रतिशत हाराहारी सस्तो पर्न आउँछ ।

367B408218B985F-icon.png
1350views
FA19CF75E952507-Inter-Lock-itta-house.jpg

के तपाईँलाई थाहा छ ? परम्परागत पोलेको इँटाको विकल्पमा ‘इन्टरलक ब्रिक’ प्रयोगमा आएको छ नि ! यस्तो इँटाले घर बनाउँदा लागत पनि ३० प्रतिशत हाराहारी सस्तो पर्न आउँछ ।

नेपालमा यो इँटा प्रयोग हुन थालेको एक दशक नाघिसक्यो । तर, २०७२ सालको भूकम्पपछि इन्टरलक इँटाको प्रयोगमा व्यापकता आएको हो । छोटो अवधिमै यो इँटा निर्माणमा लोकप्रिय बनिसकेको छ । खास गरी पोलेका इँटाको सहज पहुँच नभएका भूकम्प प्रभावित ग्रामीण क्षेत्रमा इन्टरलक ब्रिकको व्यापक प्रयोग भइरहेको छ ।

भूकम्पपछि बलियो निर्माण सामग्रीको खोजी गर्दै जाँदा गारो लगाउन इन्टरलक ब्रिक प्रविधि अपनाउन थालिएको हो । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका अनुसार भूकम्प गएको साढे पाँच वर्षमा झण्डै पाँच लाख आवास निर्माण भएका छन् । जसमध्ये केही घरमा इन्टरलक ब्रिक प्रयोग गरिएको छ ।

गैरआवासीय नेपाली संघले निर्माण गरेको गोर्खाको लाप्राक नमुना बस्तीका घर बनाउन यही इँटा प्रयोग गरियो । निर्माण स्थलमै ठूलो अटोमेटिक मेसिन राखेर इन्टरलक ब्रिक उत्पादन गरिए, जसले गर्दा स्थानीय बासिन्दाले रोजगारीसमेत पाएका थिए ।

नेपालको ग्रामीण क्षेत्रदेखि शहरी क्षेत्रमा पनि इन्टरलक इँटाको प्रयोग बढ्दै गइरहेको छ । साना टहरादेखि ठूलठूला बिल्डिङको गारो लगाउन इन्टरलक इँटा प्रयोग भइरहेको इन्टरलक इँटा उत्पादक कम्पनी ‘इको सेल’का अकाउन्टेन्ट सुजेन श्रेष्ठ बताउँछन् । 

इन्टरलक इँटा आकर्षक, हलुका र बलियो हुनुका साथै भूकम्प प्रतिरोधी पनि हुन्छ । ‘बिल्डअप नेपाल’का अनुसार यी इँटा वातावरणमैत्री हुन्छन् । अहिले नेपालमा इको सेल, बिल्ड अप नेपाल, हिमालयन ब्रिक्सलगायत दर्जनौँ कम्पनीले इन्टरलक इँटा उत्पादन गरिरहेका छन् । र, गाउँ–गाउँमा साना हाते मेसिनबाट इन्टरलक इँटा उत्पादन गर्ने उद्योगको संख्या सयौँ पुगिसके ।  

कसरी बन्छ इन्टरलक इँटा ?

यी कम्पनीले इन्टरलक इँटा उत्पादन गरेर बिक्री गर्छन्, सँगसँगै इँटा बनाउन आवश्यक तालिम र मेसिन उपलब्ध गराएर उद्यमशीलता विकासमा पनि ठूलो सहयोग पुर्‍याउँदै आइरहेका छन् । अहिले जुम्लादेखि दोलखा, सिन्धुपाल्चोक नुवाकोटका गाउँ–गाउँमा इन्टरलक इँटा उत्पादन र प्रयोग भइरहेको छ ।

यो इँटामा बढी मात्रामा चिम्टाइलो माटो प्रयोग हुन्छ । इकोब्रिक इन्डष्ट्रीजका अनुसार ४० प्रतिशत माटो, ५० प्रतिशत बालुवा र १० प्रतिशत सिमेन्ट राखेर इन्टरलक इँटा बनाइन्छ । 

तीन हजार पीएसआई फोर्समा आइड्रोलिक मेसिनबाट कम्प्रेस गरेर इँटा बनाइन्छ । इँटा बनाएपछि २४ घण्टा घाम नलाग्ने ठाउँमा राख्नुपर्छ । त्यसमा २१ दिनसम्म पानी राख्नुपर्छ । अनि, मात्र इँटा प्रयोग गर्न सकिन्छ ।

इँटाको बीचमा रडमा छिराउन मिल्ने गरी प्वाल राखिएको हुन्छ । प्वाल भएको ठाउँ दुई वटा इँटा इन्टरलकिङ हुने गरी बनाइन्छ अर्थात् एउटा इँटामाथि अर्को इँटा इन्टरलकिङ हुन्छ । 

भवन निर्माण संहिताले पनि इन्टरलक इँटाको प्रयोगलाई स्वीकृति दिँदै यसका १७ वटा डिजाइन सिफारिस गरेको छ । विज्ञहरूका अनुसार यो इँटाको प्रयोगबाट भूकम्प प्रतिरोधी संरचना निर्माण गर्न सकिन्छ ।

मूल्य कति ?

इन्टरलक इँटा समान आकारका हुन्छन् । एउटा इँटाको आकार चार वटा पोलेका इँटा बराबर हुन्छ । एउटा इन्टरलक इँटाको मूल्य ५० रुपैयाँजति पर्छ । एउटा पकाएको रातो इँटाको मूल्य १६ रुपैयाँ हाराहारी पर्छ । यो हिसाबले चार वटा रातो इँटाको मूल्य ६४ रुपैयाँ पर्न जान्छ । यसो हुँदा रातो इँटा र इन्टरलक इँटा खरिद गर्दा १४ रुपैयाँ फरक पर्न आयो । 

‘स्ट्रक्चर डिजाइन एन्ड सर्भिसेज’का प्रोजेक्ट म्यानेजर रमेश फुयाँलका अनुसार चार कोठाको एक तले घर बनाउँदा १२ हजार पाकेको इँटा खपत हुन्छ । अर्थात्, एक तला घर बनाउन इँटा खरिद गर्दा १ लाख ९२ हजार रुपैयाँ खर्च हुन्छ । जबकि, एक तला घरका लागि इन्टरलक इँटा खरिद गर्दा १ लाख ५० हजार रुपैयाँले पुग्छ । यो भनेको एक तला घर बनाउँदा पोलेको इँटाको सट्टामा इन्टरलक इँटा प्रयोग गर्दा ४२ हजार अर्थात् २८ प्रतिशत रकम कम खर्च हुन्छ ।

इन्टरलक इँटाको जडान खर्च पनि कम छ । यो इँटामा मसलाको खपत कम हुने इको सेलका अकाउन्टेन्ट श्रेष्ठ बताउँछन् । ‘इन्टरलक इँटामा फलामे रड छिराउने प्वाल हुन्छ,’ उनी भन्छन्, ‘तल्लो र माथिल्लो इँटा इन्टरलक भएको प्वालमा मगबाट मसलाको झोल राखेर जमाउनुपर्ने हुन्छ । यस्तै, फलामे रड छिराएको प्वालमा पनि मसलाले भरिन्छ ।’ 

इन्टरलक इँटा जडान गर्ने मसला बनाउँदा पानी बढी प्रयोग गरिन्छ भने पोलेको इँटा जडान गर्न बाक्लो मसला प्रयोग हुन्छ । चार वटा पाकेको इँटा बराबर एउटै इन्टरलक इँटा हुने भएकोले पनि मसलाको खपत कम हुन जान्छ । र, गारो लगाउन धेरै जनशक्ति पनि लाग्दैन । रातो इँटाले गाह्रो लगाउन १० दिन लाग्थ्यो भने इन्टरलक इँटाले पाँच दिनमै गारो लगाउन सकिन्छ । यो इँटाको गाह्रोमा प्लास्टर गरिरहन पर्दैन । 

एउटा घरमा रातो पकाएको इँटाको सट्टामा इन्टरलक इँटा प्रयोग गर्दा वालको निर्माण लागत ३० देखि ३५ प्रतिशतसम्म कम पर्न आउने उद्योगी दाबी गर्छन् । यो इँटा आगो प्रतिरोधी र साउन्ड प्रुफ हुने उत्पादकहरूको दाबी छ । बिजुलीको वाइरिङका लागि गारो फोर्न पर्दैन, इँटामा रहेको इन्टरलकबाटै वायरिङको काम गर्न सकिन्छ ।

परम्परागत इँटा बनाउन भट्टामा पोल्नुपर्छ । यो इँटा बनाउन पोल्न पर्दैन । जसले गर्दा धुवाँ उत्सर्जन हुन पाउँदैन । त्यसैले यो इँदा वातावरणमैत्री हुन्छ । इसिमोडका अनुसार एउटा घर बनाउँदा इन्टरलक इँटा प्रयोग गरेमा सातदेखि आठ टनसम्म कार्बन उत्सर्जन कम गर्न सकिन्छ ।

कहाँ–कहाँ प्रयोग गर्न सकिन्छ ?

यो इँटा जुनसुकै भवनमा प्रयोग गर्न सकिन्छ । अहिले गाउँमा बढी प्रयोग भएको देखिन्छ । तर, शहरका ठूला घरमा पनि इन्टरलक इँटा प्रयोग गर्न थालिएको छ । आवासीय, औद्योगिक, व्यापारिक, कार्यालयलगायत भवन हस्पिटल, पर्खाल, थिएटर, विद्यालय, कलेज, टहरालगायत निर्माण गर्न पनि प्रयोग गर्न सकिन्छ । 

यो इँटाले घरको कम्पाउन्ड वाल लगाउन सकिन्छ । इकोसेलका श्रेष्ठका अनुसार पिलर सिस्टमको घरमा जति तलासम्म पनि यो इँटा प्रयोग गर्न सकिन्छ तर वाल सिस्टमको घरमा दुई तलासम्म मात्र जान सकिन्छ । ‘पिलर नभएको धेरै तलाको घरमा इँटाको गाह्रोले नथेग्न सक्छ,’ उनी भन्छन्, ‘यस्तो घर बनाउँदा एक तलामा ढलान र अर्को तलामा जस्तापाता वा यूपीभीसीले छाउन सकिन्छ ।’ 

उद्यमशीलताको विकास

इकोसेल, बिल्ड अप नेपाललगायत कम्पनीले धेरै ठाउँबाट इँटा उत्पादन गर्छन् । इकोसेलले १७ वटा शाखामार्फत १ सय १४ प्रोजेक्टलाई ४ लाख २५ हजार ८ सय इन्टरलक इँटा बिक्री गरिसकेको कम्पनीको वेबसाइटमा उल्लेख छ । यस्तै, सबैभन्दा ठूलो इन्टरलक इँटा उत्पादक कम्पनीमा पर्छ, बिल्ड अप नेपाल । यही कम्पनीले लाप्राकमा बस्ती निर्माण गर्दा परियोजना स्थलमै इन्टरलक इँटा उत्पादन गरेको थियो ।

यी कम्पनीले विभिन्न ठाउँमा मेसिन बिक्रीसहित इन्टरलक इँटा उत्पादन गर्नका लागि प्राविधिक ज्ञान सिकाएर उद्यमशीलता विकास गरिरहेका छन् । यो इँटा स्थानीय स्तरमै उत्पादन गर्न सकिने हुनाले स्थानीय रोजगारी सिर्जनामा पनि सहयोग पुगेको छ ।  

बिल्ड अप नेपालले चार वर्षको अवधिमा देशका विभिन्न ठाउँमा चार सयभन्दा बढी मेसिन जडान गरिसकेको कम्पनीको वेबसाइटमा उल्लेख छ । जसबाट थुप्रैले रोजगारी पाइरहेका छन् । साथै, गाउँ–गाउँमा नयाँ प्रविधिका इँटा भित्रिरहेका छन् । बिल्ड अपले उत्पादन गरेका इन्टरलक इँटाबाट अहिलेसम्म चार हजारभन्दा बढी घर निर्माण भइसकेका कम्पनीले जनाएको छ ।

इको सेलका अकाउन्टेन्ट श्रेष्ठ भन्छन्, ‘हाम्रा मेसिन पूर्वदेखि पश्चिमसम्म पुगिसकेका छन् । हामीले म्यानुअल र अटोमेटिक मेसिन उपलब्ध गराउँछौँ र तालिम पनि दिन्छौँ ।’ 

बिल्ड अप नेपालका अनुसार इन्टरलक इँटाका लागि चार प्रकारका मेसिन उपलब्ध छन्, सिंगल मोल्ड मेसिन, मल्टी मोल्ड मेसिन, सानो इन्टरलक मेसिन र सेमी अटोमेटिक हाइड्रोलिक मेसिन । 

सिंगल मोल्ड मेसिन हातबाट चलाउनुपर्छ । यो मेसिनबाट आठ घण्टामा छ सय पिस इँटा उत्पादन गर्न सकिन्छ । यो मेसिनले एउटा इँटा बनाउँदा लेवर खर्च प्रतिइँटा ११ रुपैयाँ पर्ने बताइन्छ । यो मेसिन किनेर जडान गर्न चार दिनको तालिमसहित २ लाख ९५ हजार रुपैयाँ पर्न आउँछ । 

मल्टी मोल्ड मेसिन पनि हातबाटै चलाउन हो । यो मेसिनबाट आठ घण्टामा आठ सय इँटा उत्पादन गर्न सकिन्छ । यो मेसिनबाट इँटा बनाउँदा प्रतिइँटा लेवर खर्च नौ रुपैयाँ लाग्छ । बिल्ड अप नेपालले मेसिन जडान गर्न चार दिनको तालिमसहित चार लाख २५ हजार रुपैयाँ लिने गरेको छ ।

सानो इन्टरलक मेसिन हात र बिजुली दुवैबाट चलाउन सकिन्छ । यो मेसिनबाट आठ घण्टामा आठ सय इँटा उत्पादन गर्दा प्रतिइँटा लेवर खर्च सात रुपैयाँ पर्न आउँछ । कम्पनीले यो मेसिन जडान गर्न तालिमसहित ६ लाख ८५ हजार रुपैयाँ लिन्छ । 

सेमी अटोमेटिक हाइड्रोलिक मेसिन बिजुलीबाट चल्छ । यो मेसिनको उत्पादन क्षमता आठ घण्टाको १५ सय पिस रहेको छ । यो मेसिनबाट इँटा उत्पादन गर्दा प्रतिइँटा लेवर खर्च पाँच रुपैयाँ पर्न आउँछ । कम्पनीले यो मेसिन जडान गरेको ११ लाख ५० हजार रुपैयाँ लिने गरेको छ । मेसिनको मूल्य १० लाख ५० हजार, पाँचदिने उत्पादन तालिमको ७५ हजार र दुईदिने विद्युतीय तालिमको २५ हजार शुल्क लिन्छ ।

उल्लेखित मूल्यमा ढुवानी खर्च जोडिएको छैन । जुन रकम मेसिन खरिद गर्नेले बेहोर्नुपर्ने हुन्छ । मेसिन बिक्री गरिसकेपछि कम्पनीले साइटमै गएर इँटा उत्पादन गर्ने तालिम दिने गर्छ ।

इको सेलका अकाउन्टेन्ट श्रेष्ठका अनुसार ठूलो मेसिनले दैनिक १२/१५ सयदेखि चार हजारसम्म इँटा उत्पादन गर्न सक्छ । 

अझै जनचेतनाको खाँचो 

इन्टरलक इँटा बलियो र भरपर्दो मात्र नभई सस्तो पनि पर्छ । तर, अझै पनि मान्छे यो प्रविधि ढुक्कसाथ प्रयोग गर्न हिचकिचाउने श्रेष्ठ बताउँछन् । ‘गाउँमा भूकम्पबाट भत्किएका घरमा यो इँटाको प्रयोग बाक्लै भए पनि शहरमा रातो इँटा नै बढी प्रयोग हुने गर्छ,’ उनी भन्छन्, ‘जीवनमा एक पटक बनाउने घरमा नयाँ प्रविधि प्रयोग गरिहाल्न मान्छे डराउने गर्छन् । इन्टरलक इँटाको प्रयोग बढाउन उपभोक्तालाई अझै जानकारी दिन बाँकी रहेको छ ।’