यसरी बन्दैछ भैरहवा मुलुककै सुविधा सम्पन्न शहर

यदि तपाईं पछिल्लो एक दशक भैरहवा क्षेत्रतिर जानुभएको छैन भने एयरपोर्टमा झर्नेबित्तिकै कुनै नौलो सहर पुगेको भन्ठान्न सक्नुहुन्छ । भैरहवाको विकास निर्माण एयरपोर्टबाटै देखिन सुरु हुन्छ ।

92A885692D25A6C-Bhairawa-City-final-2.jpg

यतिबेला भैरहवा पुग्ने जोकोहीलाई लाग्न सक्छ, विकास निर्माणको ‘मूल’ यहाँबाटै फुटिसकेको रहेछ ! साँच्चिकै भन्नुपर्दा, मुलुक निर्माणको काम पनि भैरहवाबाटै सुरु भएको महसुस हुन सक्छ ।

यदि तपाईं पछिल्लो एक दशक भैरहवा क्षेत्रतिर जानुभएको छैन भने एयरपोर्टमा झर्नेबित्तिकै कुनै नौलो सहर पुगेको भन्ठान्न सक्नुहुन्छ । भैरहवाको विकास निर्माण एयरपोर्टबाटै देखिन सुरु हुन्छ ।

अहिले भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणले तीव्रता पाइरहेको छ । एयरपोर्टसम्म पुग्न ६ लेनको बाटो तयार हुँदै छ । भैरहवा–बुटवल जोड्ने ६ लेनको चिल्लो सडकमा कुदिरहँदा कुनै विकसित मुलुक पुगेको महसुस हुन्छ ।

सडकको दुवैतर्फ राखिएका स्ट्रिट लाइटले रातीको समयलाई थप रंगीन बनाउँछ । सहरमा पुगेपछि कहाँ बस्ने भनेर दोधारमा पर्नुपर्दैन । तपाईंलाई स्वागत गर्न दर्जन बढी तारे होटल तम्तयार छन् । 

हामी अहिले तपाईंसँग चमत्कारिक विकास गरिरहेको भैरहवा क्षेत्रबारे चर्चा गर्न गइरहेका छौँ । कसरी बन्दै छ त भैरहवा मुलुककै नमुना सहर, जहाँ बसोबास गर्नदेखि उद्योग व्यवसाय सञ्चालन गर्न तँछाडमछाड चलिरहेको छ:

बन्दै छ आधुनिक सहर

भैरहवाको नगरपालिका रोडमा सञ्चालित अत्याधुनिक रेस्टुरेन्ट ब्ल्याक फरेस्टमा युवा युवतीहरुको बाक्लो भीड देखिन्छ । रेस्टुरेन्टका टेबलहरू परिवार, साथीभाइ र कर्पोरेट ग्राहकले भरिएका हुन्छन् । फेसेनेबल युवतीहरू स्कर्ट लगाएर रेस्टुरेन्टमा छिरेको देख्दा भैरहवाको जीवनशैली आधुनिक बन्दै गइरहेको प्रस्ट हुन्छ । 

ब्ल्याक फरेस्टका वेटरहरू डिजिटल प्रविधि ‘ट्याब’ बोकेर ग्राहकसँग अर्डर लिन आइपुग्छन् । वेटरले ग्राहकको अर्डर कपीमा होइन, ट्याबमा टिपेर लैजान्छ । यस्तो लाग्छ, कुनै विकसित मुलुकको रेस्टुरेन्टमा बसेर कफी पिइरहेको छु । काठमाडौँका रेस्टुरेन्टमा पनि नदेखिने आधुनिकता भैरहवाको ब्ल्याक फरेस्ट रेस्टुरेन्टमा देख्न पाइन्छ ।

भैरहवाकै हार्डवेयर लाइनमा रहेको बामा रेस्टुरेन्ट पनि ग्राहकले भरिएको हुन्छ । बाहिरको ठन्डा वा गर्मी मौसमबाट आधुनिक साजसज्जासहित सञ्चालनमा ल्याएको बामा छिरेपछि आनन्द महसुस हुन्छ । त्यहाँ पनि युवायुवती र कर्पोरेट ग्राहक बढी देखिन्छन् ।

ठूलो लगानीमा सञ्चालनमा आएको होटलसहितको रेस्टुरेन्ट पौवामा पारिवारिक ग्राहक बढी देख्न पाइन्छ । बिदाको दिनमा वा साँझपख पौवा रेस्टुरेन्टमा खानपिन गर्न जाने ग्राहकको भीड देख्दा यस्तो लाग्छ, भैरहवाको सबैभन्दा चमकदार व्यवसाय भनेको रेस्टुरेन्ट होला ।

कुनै बेला देहातका रूपमा लिइने भैरहवा पूर्वाधार निर्माणले झकिझकाउ भएपछि समृद्ध सहरमा परिणत हुँदैछ ।  

पछिल्लो समय भैरहवाका नागरिकहरू फुर्सद निकालेर परिवारसँग खानपिन गर्न रेस्टुरेन्ट धाउन थालेका छन् । साथीभाईसँग भेटघाट गर्नु परे पनि रेस्टुरेन्ट गजबको लोकेसन बनेको छ । सानातिना कर्पोरेट मिटिङ पनि रेस्टुरेन्टमै हुन थालेका छन् । ठूला कर्पोरेट मिटिङ तारे होटलमा हुन्छन् ।

भैरहवामा होटल, उद्योग, व्यवसाय, बैंक तथा वित्तीय संस्थाहरू बढेसँगै रेस्टुरेन्टका ग्राहक पनि बढ्दै गइरहेको व्यवसायी बताउँछन् । भैरहवाबाट लुम्बिनी २५ किमिको दूरीमा रहेको छ । नजिकै अन्तर्राष्ट्रिय विमानस्थल बनिरहेको हुँदा भैरहवामा स्तरीय रेस्टुरेन्ट र होटलको संख्या बढ्दै गइरहेका हुन् । 

भैरहवामा होटल र रेस्टुरेन्ट मात्र स्तरीय खुलेका होइनन् । यहाँको जीवनशैली पनि लोभलाग्दो गरी परिवर्तन भइरहेको छ । सहरमा निस्कँदा युवा युवतीहरू आधुनिक फेसन पहिरिएर हिँडिरहेको देख्न पाइन्छ । भैरहवामा पहाडी बस्ती मिश्रित भएपछि त्यहाँको जीवनशैली परिवर्तन हुँदै गइरहेको स्थानीय बताउँछन् । 

एक समय भैरहवा भन्नेबित्तिकै नाक खुम्चाउने गरिन्थ्यो । मच्छर लाग्ने, फोहोर, डुबान भइरहने भैरहवालाई देहातका रूपमा लिइन्थ्यो । तर, अहिले समयले कोल्टो फेरिसकेको छ । अहिले भैरहवा उद्योग व्यवसाय सञ्चालन गर्न मात्र होइन, बसोबास गर्नका लागि पनि रोजाइमा पर्न थालेको छ । 

०२० को दशकसम्म भैरहवा पूरै गाउँको रूपमा थियो । ७० को दशकमा आइपुग्दा भैरहवाले काँचुली फेरिसकेको छ । मुलुककै आधुनिक र सुविधासम्पन्न सहरको पहिचान बनाउँदै छ, भैरहवा । 

अहिले भैरहवामा चौडा सडक मात्र बनेका छैनन्, ढल निकासको पनि राम्रो प्रबन्ध भइसकेको छ । मूल सडक मात्र नभएर भित्री सडक पनि विस्तार र कालोपत्रे भइरहेका छन् । जग्गाको भाउ छोइनसक्ने गरी अकासिएको छ ।

भैरहवा–बुटवल सडक खण्डमा एउटै घडेरीलाई करोडभन्दा बढी मूल्य तिर्नुपर्ने सिद्धार्थ ग्रुपका राजेश अग्रवाल बताउँछन् । 

भैरहवा–भूमही र भैरहवा–लुम्बिनी सडक खण्डमा बढी उद्योग व्यवसाय सञ्चालन भइरहेका छन् । भैरहवा क्षेत्रको विकास तीव्र गतिमा भइरहेको देखिन्छ । भैरहवामा स्कुल, कलेज, मेडिकल कलेज खुलिसकेका छन् । अभिभावकले छोराछोरी पढाउनका लागि बाहिर पठाउनु पर्दैन । 

चौडा सडक र अपांगमैत्री पुल

अहिले भैरहवाबाट बुटवल २०/२५ मिनेटको यात्रामै पुगिन्छ । किनभने, भैरहवा र बुटवल ६ लेनको फराकिलो र चिल्लो सडकले जोडिइसकेको छ । सर्भिस ट्रयाक काम अझै बाँकी रहे पनि मूल सकडको पूरै खण्ड निर्माण भइसकेको छ ।

सडकको माथिपट्टि ठाउँ ठाउँमा अपांगमैत्री अकासे पुल राखिएको छ, जुन काठमाडौँका सडकमा पनि देख्न पाइँदैन ।

यही सडकका कारण पनि अहिले भैरहवालाई हेर्ने नजर परिवर्तन भएको स्थानीयको बुझाइ छ । यो सडक भारतको सीमा  बेलहियादेखि बुटवलसम्म पुगेको छ ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल

अहिले भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको अन्तिम तयारीमा पुगिसकेको छ । अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि यस क्षेत्र कायापलट हुने अनुमान गरिएको छ । अब लुम्बिनी जाने बौद्धमार्गी पर्यटक सीधै भैरहवा विमानस्थलमा ओर्लिने अनुमान छ ।

यही विमानस्थललाई हेरेर तारे होटलमा लगानी ओइरिएको हो । यो विमानस्थलको करिब ९० प्रतिशत काम सकिइसकेको छ । यो विमानस्थलबाट वार्षिक १० लाखभन्दा बढी यात्रुलाई सेवा दिने लक्ष्य राखिएको छ ।

गौतमबुद्ध विमानस्थल निर्माणमा ऋण लगानी गरेको एसियाली विकास बैंक (एडीबी) ले भैरहवा सहरलाई व्यवस्थित र सुन्दर बनाउन पनि थप लगानी गरिरहेको छ । सहरको ढल निकास, सरसफाइदेखि सडकको दायाँबायाँ हरियाली सिर्जना गर्नेसम्मको काममा एडीबीको सहयोग छ ।

तारे होटलमा लगानी 

विश्वभरका बौद्धमार्गीहरूको आस्थाको केन्द्र लुम्बिनी र निर्माणाधीन अन्तर्राष्ट्रिय विमानस्थलका कारण भैरहवामा तारे होटलमा लगानी ओइरिएको छ । मणिग्राममा अस्ट्रेलियाको बहुराष्ट्रिय कम्पनीले ५ अर्ब रुपैयाँ लगानीमा पाँचतारे टाइगर प्यालेस रिसोर्ट सञ्चालनमा ल्याएको छ । १६ बिघा क्षेत्रफलमा फैलिएको यस रिसोर्टमा क्यासिनो पनि सञ्चालनमा छ ।

भैरहवामा मिठाईको व्यवसाय गर्दै आइरहेका पवन कुमार हलुवाईले लुम्बिनी रोडमा पाँचतारे होटल पवन प्यालेस सञ्चालनमा ल्याएका छन् । बेलहियमा पाँचतारे होटल नान्स निर्माणकै अवस्थामा छ । भैरहवाका होटल व्यवसायी सीपी श्रेष्ठले आफ्नो तीन तारे होटलमा १ अर्ब रुपैयाँ लगानी थपेर स्तरोन्नति गरी चारतारे स्तरको बनाएका छन् । 

भैरहवाबाट परासीतर्फ लाग्दा बोधी रेडसन होटल देख्न पाइन्छ । भैरहवाको चल्तीको यस होटललाई पाँचतारे बनाइँदै छ । एक समय भैरहवा पुगेपछि खान–बस्नका लागि समस्या हुन्थ्यो । गर्मीमा जाँदा एसी नपाइने र ठन्डीमा जाँदा जाडोले कठ्यांग्रिनुपर्ने अवस्था थियो । अहिले भैरहवामा वातानुकूलित कोठासहितका दर्जनौँ होटल खुलिसकेका छन् ।

लुम्बिनी क्षेत्रमा पनि दर्जनभन्दा बढी होटल सञ्चालनमा छन् । अझै दर्जन होटल सञ्चालनको तयारीमा छन् ।

पवित्र स्थल लुम्बिनी 

यस क्षेत्रको विकासमा गौतमबुद्धको जन्मस्थल लुम्बिनीको ठूलो भूमिका छ । यही लुम्बिनीलाई आधार मानेर होटलमा लगानी बढेको हो । गौतमबुद्ध विमानस्थल पनि लुम्बिनी आउने पर्यटकलाई लक्षित गरेर निर्माण गर्न लागिएको हो । 

विश्वका बौद्धमार्गीको आस्थाको केन्द्र लुम्बिनीमा विमानस्थल बनेपछि पर्यटकको ओइरो लाग्ने अनुमान छ । लुम्बिनीमा स्वदेशी, भारतीय र तेस्रो मुलुकबाट ठूलो संख्यामा पर्यटक घुम्न जाने गर्छन् ।

औद्योगिक हब

भैरहवा होटलको मात्र नभएर औद्योगिक हब पनि हो । पछिल्लो १० वर्षमा भैरहवामा थुप्रै उद्योग सञ्चालनमा आइसकेका छन् । अझ नाकाबन्दीको समय भैरहवा तुलनात्मक रूपमा शान्त भएपछि देशभरका उद्योगीहरू असल श्रम सम्बन्ध भएको भैरहवालाई गन्तव्य बनाइरहेका छन् । 

भैरहवा–भूमही रोडमा सिमेन्ट, डन्डी, ब्लक, होटल, खाद्यन्न मिल, मदिरा, जुत्ता–चप्पल उद्योगलगायत खुलेका छन् । लुम्बिनी औद्योगिक करिडोरमा एक दर्जन हाराहारी सिमेन्ट उद्योग सञ्चालनमा छन् । नेपालभरि उत्पादन हुने कुल सिमेन्टको करिब ३३ प्रतिशत हिस्सा भैरहवा क्षेत्रले मात्र ओगट्ने व्यवसायी बताउँछन् ।

सञ्चालनमा रहेका कुल २५ डन्डी उद्योमध्ये ८ वटा भैरहवा क्षेत्रमै छन् । 

असल श्रम सम्बन्ध, नजिकै बोर्डर, पश्चिमतर्फ ढुवानीका लागि सहज र निर्माणाधीन विमानस्थलका कारण भैरहवामा लगानी ओइरिएको सिद्धार्थनगर उद्योग वाणिज्य संघका अध्यक्ष कुलप्रसाद न्यौपाने बताउँछन् । 

देशकै पहिलो विशेष आर्थिक क्षेत्र (सेज) पनि भैरहवामा सञ्चालनमा आएको छ । सेजभित्र पनि थुप्रै उद्योग सञ्चालनमा आउनेछन् ।   

लुम्बिनी सम्मेलन केन्द्र

लुम्बिनीमा ५ हजार मानिस अटाउने अन्तर्राष्ट्रिय बौद्ध ध्यान केन्द्र तथा सभागृह निर्माण भइरहेको छ । लुम्बिनी क्षेत्र विकास कोषले ३१ करोड ७९ लाख रुपैयाँ लागतमा सभागृह निर्माण गर्न लागेको हो । यो सभागृह एएनके अर्घाखाँची बबुल जेभीले निर्माण गरिरहेको छ ।

यो सभाहल बनेपछि लुम्बिनीमा अन्तर्राष्ट्रिय स्तरका सभा–सम्मेलन हुनेछन् । अहिले मुलुकमा ठूला सभाहलको निकै खाँचो देखिन्छ । यो हल निर्माणपछि एक हदसम्म ठूला सुविधासम्पन्न हलको अभाव कम हुनेछ ।

लुम्बिनी–भैरहवा सडक विस्तार

भैरहवादेखि लुम्बिनी हुँदै तौलिहवासम्म सडक विस्तारको काम भइरहेको छ । भैरहवादेखि एयरपोर्टसम्म ६ लेनको सडक हुनेछ । एयरपोर्टदेखि लुम्बिनीसम्म ४ लेन र लुम्बिनीदेखि तौलिहवासम्म २ लेनको सडक निर्माण थालिएको छ । यो सडकको आधाजति काम सम्पन्न भइसकेको बताइएको छ । 

एडीबीको ऋण सहयोगमा सडक निर्माण भइरहेको हो । यो सडकले लुम्बिनीमा आन्तरिक पर्यटक बढाउन मद्दत पुग्ने स्थानीय बताउँछन् । 

द हब लुम्बिनी

मुलुकको अग्रणी निर्माण कम्पनी सीई ग्रुपले भैरहवा र लुम्बिनीको बीचमा बृहत् परियोजना ‘द हब लुम्बिनी’ बनाउँदै छ । ठूलो लगानीमा निर्माण हुन थालेको हब लुम्बिनी परियोजनाभित्र होटल, अपार्टमेन्ट, रेस्टुरेन्ट, सपिङ कम्पलेक्स, मुभी थियटर, मनोरञ्जन पार्क, विभिन्न रेस्टुरेन्ट रहने बताइएको छ । 

नजिकै भन्सार नाका

भैरहवाको अर्को मुख्य विशेषता भनेको नजिकै बोर्डर हुनु पनि हो । सुनौली नाका वीरगञ्जपछिको दोस्रो ठूलो हो । बोर्डर नजिकै हुँदा कच्चा पदार्थ आयात र समान विदेश सप्लाइ गर्न सहज हुने ठानेर भैरहवामा ठूला उद्योग सञ्चालन भइरहेका छन् । 

भारतीय नाकाबन्दी र मधेसवादी दलको आन्दोलनमा पनि शान्त रहेको भैरहवा नाकासम्म ६ लेनको सडक छ ।

भैरहवा नाकाबाट नौतनहवा ८ किमि दूरीमा पर्छ, जहाँ भारतीय रेल कुदिरहेका हुन्छन् । भैरहवाबाट २ सय किमि दूरीमा रहेको लखनउमा रेलसँगै अन्तर्राष्ट्रिय उडान पनि हुने गर्छ, जसले भैरहवा–लुम्बिनीमा भारतीय पर्यटक आउन सहज छ ।

बुद्धिष्ट चक्रपथ 

भैरहवा तथा लुम्बिनी क्षेत्रमा बुद्धिष्ट चक्रपथ बनाउने काम पनि अगाडि बढेको छ । यसले यस क्षेत्रको आकर्षण थप बढाउनेछ । ९० किलोमिटर बुद्धिष्ट सर्किट रामग्राम, देवदह, मणिग्राम, फर्साटिकर, लुम्बिनी हुँदै गोरुसिंगेसम्म पुग्नेछ । यो सडक १३ मिटर चौडाइको हुने बताइएको छ । यसमा ९ मिटर पिच गरिनेछ भने बाँकी भागमा नाली र फुटपाथ निर्माण गरिनेछ ।

मेडिकल र बैंकिङ हब

भैरहवामा डाक्टरी पढ्नका लागि मेडिकल कलेज पनि सञ्चालनमा छन् । यहाँको आँखा अस्पताल भारतीयमाझ निकै लोकप्रिय मानिन्छ । भैरहवामा व्यावसायिक गतिविधि बढ्दै गएपछि अधिकांश बैंक तथा वित्तीय संस्थाहरूले आफ्नो सेवा विस्तार गरिसकेका छन् । यो क्षेत्रमा राम्रा स्कुल, कलेज पनि सञ्चालनमा छन् । भैरहवाबाट १८ किमि दूरीमा रहेको बुटवल शिक्षाका लागि काठमाडौँपछिको हबका रूपमा चिनिन्छ ।

भैरहवालाई मेडिकल पर्यटनका रूपमा पनि विकास गर्ने योजना छ । गौतमबुद्धको जन्मस्थान लुम्बिनीमा बच्चा जन्माउन चाहने स्वदेश तथा विदेशका नागरिकका लागि मेट्रानिटी हस्पिटल खोल्न नेपाल लगानी बोर्डले परियोजना अगाडि बढाएको छ ।

आईसीपी निर्माणको योजना

भैरहवामा एकीकृत भन्सार जाँच चौकी (आइसीपी) निर्माणाधीन अवस्थामा छ । भारतीय पक्षको ढिलाइका कारण अहिले आईसीपी निर्माण अलपत्र छ । नेपाल र भारतले बेलहिया र सुनौली नाकामा आईसीपी निर्माण गर्नेछन् । नेपालले आईसीपी निर्माणका लागि ५२ बिघा जग्गा अधिग्रहण गरिसकेको छ । आईसीपी बनेपछि मालवाहक सवारीले छिट्टै जाँचपास भएर गन्तव्यमा जान पाउँछन् । आईसीपीले आयात–निर्यात व्यापारलाई अझ सहज बनाउने देखिन्छ ।

क्रिकेट रंगशाला विस्तार

भैरहवामा अहिले सिद्धार्थ रंगशालालाई अन्तर्राष्ट्रिय स्तरको रंगशालामा स्तरोन्नति गर्ने काम भइरहेको छ । रंगशाला पनि भैरहवाको महत्वपूर्ण आकर्षण बन्नेछ । आगामी केही वर्षमा बन्ने सिद्धार्थ रंगशालामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेल हुनेछन् । यसले भैरहवाको पहिचान थप बढाउनेछ । 

मल्टिप्रपोज बिल्डिङ

अहिले नगरपालिका रहेको ठाउँमा भव्य मल्टिप्रपोज भवन बनाउने योजना छ । बुट मोडलमा बनाइने ९÷१० तले भवनको ग्राउन्ड र फस्ट फ्लोरमा नगरपालिकाका अफिस राख्ने र बाँकी तलामा सपिङ सेन्टर, मल्टिप्लेक्स सिनेमा हललगायत राख्न सकिन्छ । यो योजना अहिले बहसमा आइसकेको छ ।

फोटोहरु गुगलबाट लिइएको 

ठूला व्यवसायी रियल इस्टेट व्यवसायमा

साढे दुई अर्बको सिमेन्ट निर्यात

हनुमान ढोकास्थित नौ तले दरबार सर्वसाधारणका लागि खुला

भैरहवामा अधिकतम २७ करोड मूल्यांकनको जग्गालाई बैंकले दियो दुई अर्ब २० करोड ऋण !

एसवाई प्यानलको ईपीएस सिट्स बजारमा, घरको इन्सुलेशनका लागि प्रयोग गर्न सकिने

जग्गा वर्गीकरण गर्न स्थानीय तह असफल, १९९ पालिकामा मात्र सम्पन्न, समन्वय गरेर काम गर्न महालेखाको सुझाव

नौ महिनामा घरजग्गा क्षेत्रमा ३२ अर्ब कर्जा प्रवाह

आइएमई ग्रुपको लगानीमा मौलाकालीमा खुल्यो 'इला होटल'

AC0280EE868ADC5-1.jpg

एउटै रङले चिटिक्क पारिँदैछ न्यूरोडका घरहरु (फोटो फिचर)

B2A7BF7B0DEFDD1-IMG-20241030-WA0001.jpg

बाढीपहिरोले बगरमा परिणत भएका भर्रभराउँदा नयाँ शहरहरु

78A57F8F3998008-barpak-1728265672.jpg

भूकम्पको इपिसेन्टर बारपाकमा देखिन छाडे परम्परागत ढुंगाका घर