यदि तपाईं पछिल्लो एक दशक भैरहवा क्षेत्रतिर जानुभएको छैन भने एयरपोर्टमा झर्नेबित्तिकै कुनै नौलो सहर पुगेको भन्ठान्न सक्नुहुन्छ । भैरहवाको विकास निर्माण एयरपोर्टबाटै देखिन सुरु हुन्छ ।

यतिबेला भैरहवा पुग्ने जोकोहीलाई लाग्न सक्छ, विकास निर्माणको ‘मूल’ यहाँबाटै फुटिसकेको रहेछ ! साँच्चिकै भन्नुपर्दा, मुलुक निर्माणको काम पनि भैरहवाबाटै सुरु भएको महसुस हुन सक्छ ।
यदि तपाईं पछिल्लो एक दशक भैरहवा क्षेत्रतिर जानुभएको छैन भने एयरपोर्टमा झर्नेबित्तिकै कुनै नौलो सहर पुगेको भन्ठान्न सक्नुहुन्छ । भैरहवाको विकास निर्माण एयरपोर्टबाटै देखिन सुरु हुन्छ ।
अहिले भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणले तीव्रता पाइरहेको छ । एयरपोर्टसम्म पुग्न ६ लेनको बाटो तयार हुँदै छ । भैरहवा–बुटवल जोड्ने ६ लेनको चिल्लो सडकमा कुदिरहँदा कुनै विकसित मुलुक पुगेको महसुस हुन्छ ।
सडकको दुवैतर्फ राखिएका स्ट्रिट लाइटले रातीको समयलाई थप रंगीन बनाउँछ । सहरमा पुगेपछि कहाँ बस्ने भनेर दोधारमा पर्नुपर्दैन । तपाईंलाई स्वागत गर्न दर्जन बढी तारे होटल तम्तयार छन् ।
हामी अहिले तपाईंसँग चमत्कारिक विकास गरिरहेको भैरहवा क्षेत्रबारे चर्चा गर्न गइरहेका छौँ । कसरी बन्दै छ त भैरहवा मुलुककै नमुना सहर, जहाँ बसोबास गर्नदेखि उद्योग व्यवसाय सञ्चालन गर्न तँछाडमछाड चलिरहेको छ:
बन्दै छ आधुनिक सहर
भैरहवाको नगरपालिका रोडमा सञ्चालित अत्याधुनिक रेस्टुरेन्ट ब्ल्याक फरेस्टमा युवा युवतीहरुको बाक्लो भीड देखिन्छ । रेस्टुरेन्टका टेबलहरू परिवार, साथीभाइ र कर्पोरेट ग्राहकले भरिएका हुन्छन् । फेसेनेबल युवतीहरू स्कर्ट लगाएर रेस्टुरेन्टमा छिरेको देख्दा भैरहवाको जीवनशैली आधुनिक बन्दै गइरहेको प्रस्ट हुन्छ ।
ब्ल्याक फरेस्टका वेटरहरू डिजिटल प्रविधि ‘ट्याब’ बोकेर ग्राहकसँग अर्डर लिन आइपुग्छन् । वेटरले ग्राहकको अर्डर कपीमा होइन, ट्याबमा टिपेर लैजान्छ । यस्तो लाग्छ, कुनै विकसित मुलुकको रेस्टुरेन्टमा बसेर कफी पिइरहेको छु । काठमाडौँका रेस्टुरेन्टमा पनि नदेखिने आधुनिकता भैरहवाको ब्ल्याक फरेस्ट रेस्टुरेन्टमा देख्न पाइन्छ ।
भैरहवाकै हार्डवेयर लाइनमा रहेको बामा रेस्टुरेन्ट पनि ग्राहकले भरिएको हुन्छ । बाहिरको ठन्डा वा गर्मी मौसमबाट आधुनिक साजसज्जासहित सञ्चालनमा ल्याएको बामा छिरेपछि आनन्द महसुस हुन्छ । त्यहाँ पनि युवायुवती र कर्पोरेट ग्राहक बढी देखिन्छन् ।

ठूलो लगानीमा सञ्चालनमा आएको होटलसहितको रेस्टुरेन्ट पौवामा पारिवारिक ग्राहक बढी देख्न पाइन्छ । बिदाको दिनमा वा साँझपख पौवा रेस्टुरेन्टमा खानपिन गर्न जाने ग्राहकको भीड देख्दा यस्तो लाग्छ, भैरहवाको सबैभन्दा चमकदार व्यवसाय भनेको रेस्टुरेन्ट होला ।
कुनै बेला देहातका रूपमा लिइने भैरहवा पूर्वाधार निर्माणले झकिझकाउ भएपछि समृद्ध सहरमा परिणत हुँदैछ ।
पछिल्लो समय भैरहवाका नागरिकहरू फुर्सद निकालेर परिवारसँग खानपिन गर्न रेस्टुरेन्ट धाउन थालेका छन् । साथीभाईसँग भेटघाट गर्नु परे पनि रेस्टुरेन्ट गजबको लोकेसन बनेको छ । सानातिना कर्पोरेट मिटिङ पनि रेस्टुरेन्टमै हुन थालेका छन् । ठूला कर्पोरेट मिटिङ तारे होटलमा हुन्छन् ।
भैरहवामा होटल, उद्योग, व्यवसाय, बैंक तथा वित्तीय संस्थाहरू बढेसँगै रेस्टुरेन्टका ग्राहक पनि बढ्दै गइरहेको व्यवसायी बताउँछन् । भैरहवाबाट लुम्बिनी २५ किमिको दूरीमा रहेको छ । नजिकै अन्तर्राष्ट्रिय विमानस्थल बनिरहेको हुँदा भैरहवामा स्तरीय रेस्टुरेन्ट र होटलको संख्या बढ्दै गइरहेका हुन् ।
भैरहवामा होटल र रेस्टुरेन्ट मात्र स्तरीय खुलेका होइनन् । यहाँको जीवनशैली पनि लोभलाग्दो गरी परिवर्तन भइरहेको छ । सहरमा निस्कँदा युवा युवतीहरू आधुनिक फेसन पहिरिएर हिँडिरहेको देख्न पाइन्छ । भैरहवामा पहाडी बस्ती मिश्रित भएपछि त्यहाँको जीवनशैली परिवर्तन हुँदै गइरहेको स्थानीय बताउँछन् ।
एक समय भैरहवा भन्नेबित्तिकै नाक खुम्चाउने गरिन्थ्यो । मच्छर लाग्ने, फोहोर, डुबान भइरहने भैरहवालाई देहातका रूपमा लिइन्थ्यो । तर, अहिले समयले कोल्टो फेरिसकेको छ । अहिले भैरहवा उद्योग व्यवसाय सञ्चालन गर्न मात्र होइन, बसोबास गर्नका लागि पनि रोजाइमा पर्न थालेको छ ।
०२० को दशकसम्म भैरहवा पूरै गाउँको रूपमा थियो । ७० को दशकमा आइपुग्दा भैरहवाले काँचुली फेरिसकेको छ । मुलुककै आधुनिक र सुविधासम्पन्न सहरको पहिचान बनाउँदै छ, भैरहवा ।
अहिले भैरहवामा चौडा सडक मात्र बनेका छैनन्, ढल निकासको पनि राम्रो प्रबन्ध भइसकेको छ । मूल सडक मात्र नभएर भित्री सडक पनि विस्तार र कालोपत्रे भइरहेका छन् । जग्गाको भाउ छोइनसक्ने गरी अकासिएको छ ।
भैरहवा–बुटवल सडक खण्डमा एउटै घडेरीलाई करोडभन्दा बढी मूल्य तिर्नुपर्ने सिद्धार्थ ग्रुपका राजेश अग्रवाल बताउँछन् ।
भैरहवा–भूमही र भैरहवा–लुम्बिनी सडक खण्डमा बढी उद्योग व्यवसाय सञ्चालन भइरहेका छन् । भैरहवा क्षेत्रको विकास तीव्र गतिमा भइरहेको देखिन्छ । भैरहवामा स्कुल, कलेज, मेडिकल कलेज खुलिसकेका छन् । अभिभावकले छोराछोरी पढाउनका लागि बाहिर पठाउनु पर्दैन ।
चौडा सडक र अपांगमैत्री पुल

अहिले भैरहवाबाट बुटवल २०/२५ मिनेटको यात्रामै पुगिन्छ । किनभने, भैरहवा र बुटवल ६ लेनको फराकिलो र चिल्लो सडकले जोडिइसकेको छ । सर्भिस ट्रयाक काम अझै बाँकी रहे पनि मूल सकडको पूरै खण्ड निर्माण भइसकेको छ ।
सडकको माथिपट्टि ठाउँ ठाउँमा अपांगमैत्री अकासे पुल राखिएको छ, जुन काठमाडौँका सडकमा पनि देख्न पाइँदैन ।
यही सडकका कारण पनि अहिले भैरहवालाई हेर्ने नजर परिवर्तन भएको स्थानीयको बुझाइ छ । यो सडक भारतको सीमा बेलहियादेखि बुटवलसम्म पुगेको छ ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल
अहिले भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको अन्तिम तयारीमा पुगिसकेको छ । अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि यस क्षेत्र कायापलट हुने अनुमान गरिएको छ । अब लुम्बिनी जाने बौद्धमार्गी पर्यटक सीधै भैरहवा विमानस्थलमा ओर्लिने अनुमान छ ।

यही विमानस्थललाई हेरेर तारे होटलमा लगानी ओइरिएको हो । यो विमानस्थलको करिब ९० प्रतिशत काम सकिइसकेको छ । यो विमानस्थलबाट वार्षिक १० लाखभन्दा बढी यात्रुलाई सेवा दिने लक्ष्य राखिएको छ ।
गौतमबुद्ध विमानस्थल निर्माणमा ऋण लगानी गरेको एसियाली विकास बैंक (एडीबी) ले भैरहवा सहरलाई व्यवस्थित र सुन्दर बनाउन पनि थप लगानी गरिरहेको छ । सहरको ढल निकास, सरसफाइदेखि सडकको दायाँबायाँ हरियाली सिर्जना गर्नेसम्मको काममा एडीबीको सहयोग छ ।
तारे होटलमा लगानी
विश्वभरका बौद्धमार्गीहरूको आस्थाको केन्द्र लुम्बिनी र निर्माणाधीन अन्तर्राष्ट्रिय विमानस्थलका कारण भैरहवामा तारे होटलमा लगानी ओइरिएको छ । मणिग्राममा अस्ट्रेलियाको बहुराष्ट्रिय कम्पनीले ५ अर्ब रुपैयाँ लगानीमा पाँचतारे टाइगर प्यालेस रिसोर्ट सञ्चालनमा ल्याएको छ । १६ बिघा क्षेत्रफलमा फैलिएको यस रिसोर्टमा क्यासिनो पनि सञ्चालनमा छ ।

भैरहवामा मिठाईको व्यवसाय गर्दै आइरहेका पवन कुमार हलुवाईले लुम्बिनी रोडमा पाँचतारे होटल पवन प्यालेस सञ्चालनमा ल्याएका छन् । बेलहियमा पाँचतारे होटल नान्स निर्माणकै अवस्थामा छ । भैरहवाका होटल व्यवसायी सीपी श्रेष्ठले आफ्नो तीन तारे होटलमा १ अर्ब रुपैयाँ लगानी थपेर स्तरोन्नति गरी चारतारे स्तरको बनाएका छन् ।
भैरहवाबाट परासीतर्फ लाग्दा बोधी रेडसन होटल देख्न पाइन्छ । भैरहवाको चल्तीको यस होटललाई पाँचतारे बनाइँदै छ । एक समय भैरहवा पुगेपछि खान–बस्नका लागि समस्या हुन्थ्यो । गर्मीमा जाँदा एसी नपाइने र ठन्डीमा जाँदा जाडोले कठ्यांग्रिनुपर्ने अवस्था थियो । अहिले भैरहवामा वातानुकूलित कोठासहितका दर्जनौँ होटल खुलिसकेका छन् ।
लुम्बिनी क्षेत्रमा पनि दर्जनभन्दा बढी होटल सञ्चालनमा छन् । अझै दर्जन होटल सञ्चालनको तयारीमा छन् ।
पवित्र स्थल लुम्बिनी

यस क्षेत्रको विकासमा गौतमबुद्धको जन्मस्थल लुम्बिनीको ठूलो भूमिका छ । यही लुम्बिनीलाई आधार मानेर होटलमा लगानी बढेको हो । गौतमबुद्ध विमानस्थल पनि लुम्बिनी आउने पर्यटकलाई लक्षित गरेर निर्माण गर्न लागिएको हो ।
विश्वका बौद्धमार्गीको आस्थाको केन्द्र लुम्बिनीमा विमानस्थल बनेपछि पर्यटकको ओइरो लाग्ने अनुमान छ । लुम्बिनीमा स्वदेशी, भारतीय र तेस्रो मुलुकबाट ठूलो संख्यामा पर्यटक घुम्न जाने गर्छन् ।
औद्योगिक हब
भैरहवा होटलको मात्र नभएर औद्योगिक हब पनि हो । पछिल्लो १० वर्षमा भैरहवामा थुप्रै उद्योग सञ्चालनमा आइसकेका छन् । अझ नाकाबन्दीको समय भैरहवा तुलनात्मक रूपमा शान्त भएपछि देशभरका उद्योगीहरू असल श्रम सम्बन्ध भएको भैरहवालाई गन्तव्य बनाइरहेका छन् ।
भैरहवा–भूमही रोडमा सिमेन्ट, डन्डी, ब्लक, होटल, खाद्यन्न मिल, मदिरा, जुत्ता–चप्पल उद्योगलगायत खुलेका छन् । लुम्बिनी औद्योगिक करिडोरमा एक दर्जन हाराहारी सिमेन्ट उद्योग सञ्चालनमा छन् । नेपालभरि उत्पादन हुने कुल सिमेन्टको करिब ३३ प्रतिशत हिस्सा भैरहवा क्षेत्रले मात्र ओगट्ने व्यवसायी बताउँछन् ।
सञ्चालनमा रहेका कुल २५ डन्डी उद्योमध्ये ८ वटा भैरहवा क्षेत्रमै छन् ।

असल श्रम सम्बन्ध, नजिकै बोर्डर, पश्चिमतर्फ ढुवानीका लागि सहज र निर्माणाधीन विमानस्थलका कारण भैरहवामा लगानी ओइरिएको सिद्धार्थनगर उद्योग वाणिज्य संघका अध्यक्ष कुलप्रसाद न्यौपाने बताउँछन् ।
देशकै पहिलो विशेष आर्थिक क्षेत्र (सेज) पनि भैरहवामा सञ्चालनमा आएको छ । सेजभित्र पनि थुप्रै उद्योग सञ्चालनमा आउनेछन् ।
लुम्बिनी सम्मेलन केन्द्र
लुम्बिनीमा ५ हजार मानिस अटाउने अन्तर्राष्ट्रिय बौद्ध ध्यान केन्द्र तथा सभागृह निर्माण भइरहेको छ । लुम्बिनी क्षेत्र विकास कोषले ३१ करोड ७९ लाख रुपैयाँ लागतमा सभागृह निर्माण गर्न लागेको हो । यो सभागृह एएनके अर्घाखाँची बबुल जेभीले निर्माण गरिरहेको छ ।

यो सभाहल बनेपछि लुम्बिनीमा अन्तर्राष्ट्रिय स्तरका सभा–सम्मेलन हुनेछन् । अहिले मुलुकमा ठूला सभाहलको निकै खाँचो देखिन्छ । यो हल निर्माणपछि एक हदसम्म ठूला सुविधासम्पन्न हलको अभाव कम हुनेछ ।
लुम्बिनी–भैरहवा सडक विस्तार
भैरहवादेखि लुम्बिनी हुँदै तौलिहवासम्म सडक विस्तारको काम भइरहेको छ । भैरहवादेखि एयरपोर्टसम्म ६ लेनको सडक हुनेछ । एयरपोर्टदेखि लुम्बिनीसम्म ४ लेन र लुम्बिनीदेखि तौलिहवासम्म २ लेनको सडक निर्माण थालिएको छ । यो सडकको आधाजति काम सम्पन्न भइसकेको बताइएको छ ।
एडीबीको ऋण सहयोगमा सडक निर्माण भइरहेको हो । यो सडकले लुम्बिनीमा आन्तरिक पर्यटक बढाउन मद्दत पुग्ने स्थानीय बताउँछन् ।
द हब लुम्बिनी


मुलुकको अग्रणी निर्माण कम्पनी सीई ग्रुपले भैरहवा र लुम्बिनीको बीचमा बृहत् परियोजना ‘द हब लुम्बिनी’ बनाउँदै छ । ठूलो लगानीमा निर्माण हुन थालेको हब लुम्बिनी परियोजनाभित्र होटल, अपार्टमेन्ट, रेस्टुरेन्ट, सपिङ कम्पलेक्स, मुभी थियटर, मनोरञ्जन पार्क, विभिन्न रेस्टुरेन्ट रहने बताइएको छ ।
नजिकै भन्सार नाका
भैरहवाको अर्को मुख्य विशेषता भनेको नजिकै बोर्डर हुनु पनि हो । सुनौली नाका वीरगञ्जपछिको दोस्रो ठूलो हो । बोर्डर नजिकै हुँदा कच्चा पदार्थ आयात र समान विदेश सप्लाइ गर्न सहज हुने ठानेर भैरहवामा ठूला उद्योग सञ्चालन भइरहेका छन् ।
भारतीय नाकाबन्दी र मधेसवादी दलको आन्दोलनमा पनि शान्त रहेको भैरहवा नाकासम्म ६ लेनको सडक छ ।

भैरहवा नाकाबाट नौतनहवा ८ किमि दूरीमा पर्छ, जहाँ भारतीय रेल कुदिरहेका हुन्छन् । भैरहवाबाट २ सय किमि दूरीमा रहेको लखनउमा रेलसँगै अन्तर्राष्ट्रिय उडान पनि हुने गर्छ, जसले भैरहवा–लुम्बिनीमा भारतीय पर्यटक आउन सहज छ ।
बुद्धिष्ट चक्रपथ
भैरहवा तथा लुम्बिनी क्षेत्रमा बुद्धिष्ट चक्रपथ बनाउने काम पनि अगाडि बढेको छ । यसले यस क्षेत्रको आकर्षण थप बढाउनेछ । ९० किलोमिटर बुद्धिष्ट सर्किट रामग्राम, देवदह, मणिग्राम, फर्साटिकर, लुम्बिनी हुँदै गोरुसिंगेसम्म पुग्नेछ । यो सडक १३ मिटर चौडाइको हुने बताइएको छ । यसमा ९ मिटर पिच गरिनेछ भने बाँकी भागमा नाली र फुटपाथ निर्माण गरिनेछ ।
मेडिकल र बैंकिङ हब

भैरहवामा डाक्टरी पढ्नका लागि मेडिकल कलेज पनि सञ्चालनमा छन् । यहाँको आँखा अस्पताल भारतीयमाझ निकै लोकप्रिय मानिन्छ । भैरहवामा व्यावसायिक गतिविधि बढ्दै गएपछि अधिकांश बैंक तथा वित्तीय संस्थाहरूले आफ्नो सेवा विस्तार गरिसकेका छन् । यो क्षेत्रमा राम्रा स्कुल, कलेज पनि सञ्चालनमा छन् । भैरहवाबाट १८ किमि दूरीमा रहेको बुटवल शिक्षाका लागि काठमाडौँपछिको हबका रूपमा चिनिन्छ ।
भैरहवालाई मेडिकल पर्यटनका रूपमा पनि विकास गर्ने योजना छ । गौतमबुद्धको जन्मस्थान लुम्बिनीमा बच्चा जन्माउन चाहने स्वदेश तथा विदेशका नागरिकका लागि मेट्रानिटी हस्पिटल खोल्न नेपाल लगानी बोर्डले परियोजना अगाडि बढाएको छ ।
आईसीपी निर्माणको योजना
भैरहवामा एकीकृत भन्सार जाँच चौकी (आइसीपी) निर्माणाधीन अवस्थामा छ । भारतीय पक्षको ढिलाइका कारण अहिले आईसीपी निर्माण अलपत्र छ । नेपाल र भारतले बेलहिया र सुनौली नाकामा आईसीपी निर्माण गर्नेछन् । नेपालले आईसीपी निर्माणका लागि ५२ बिघा जग्गा अधिग्रहण गरिसकेको छ । आईसीपी बनेपछि मालवाहक सवारीले छिट्टै जाँचपास भएर गन्तव्यमा जान पाउँछन् । आईसीपीले आयात–निर्यात व्यापारलाई अझ सहज बनाउने देखिन्छ ।
क्रिकेट रंगशाला विस्तार

भैरहवामा अहिले सिद्धार्थ रंगशालालाई अन्तर्राष्ट्रिय स्तरको रंगशालामा स्तरोन्नति गर्ने काम भइरहेको छ । रंगशाला पनि भैरहवाको महत्वपूर्ण आकर्षण बन्नेछ । आगामी केही वर्षमा बन्ने सिद्धार्थ रंगशालामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेल हुनेछन् । यसले भैरहवाको पहिचान थप बढाउनेछ ।
मल्टिप्रपोज बिल्डिङ
अहिले नगरपालिका रहेको ठाउँमा भव्य मल्टिप्रपोज भवन बनाउने योजना छ । बुट मोडलमा बनाइने ९÷१० तले भवनको ग्राउन्ड र फस्ट फ्लोरमा नगरपालिकाका अफिस राख्ने र बाँकी तलामा सपिङ सेन्टर, मल्टिप्लेक्स सिनेमा हललगायत राख्न सकिन्छ । यो योजना अहिले बहसमा आइसकेको छ ।
फोटोहरु गुगलबाट लिइएको