८ वर्षअघि कम पढे लेखेका र बेचबिखनको जोखिममा रहेका नेपाली महिलाहरुलाई देशभित्रै सम्मानजनक रोजगारी दिइ महिलाहरुलाई समाजिक, आर्थिक हिसाबले सबल बनाउने उद्देश्यले हाम्री बहिनी "द ग्रीन एन्जल्स" समाजिक उध्यमको सुरुवात भएको थियो। स्थापनाकालदेखि नै सामाजिक, वातावरणीय र आर्थिक मुद्दाहरुलाई समेट्दै, तीनको समाधानका उपायहरू सुझाउँदै हाम्री बहिनी अभियानले काम गर्दै आएको छ।

८ वर्षअघि कम पढे लेखेका र बेचबिखनको जोखिममा रहेका नेपाली महिलाहरुलाई देशभित्रै सम्मानजनक रोजगारी दिइ महिलाहरुलाई समाजिक, आर्थिक हिसाबले सबल बनाउने उद्देश्यले हाम्री बहिनी "द ग्रीन एन्जल्स" समाजिक उध्यमको सुरुवात भएको थियो। स्थापनाकालदेखि नै सामाजिक, वातावरणीय र आर्थिक मुद्दाहरुलाई समेट्दै, तीनको समाधानका उपायहरू सुझाउँदै हाम्री बहिनी अभियानले काम गर्दै आएको छ।
सुरुवाती दिनहरुमा नै हाम्री बहिनीले प्लास्टिकका झोलालाई हटाउने उद्देश्यका साथ नेपालका ठुला डिपार्टमेन्टल स्टोर जस्तै भाट्भटेनी , बिग मार्ट्,सेल्वेजआदीसँग सहकार्य गरेको थियो। लामो समयदेखि प्लास्टिकका झोलामा अभ्यस्त भइ विकल्प नै बिर्सेका नेपाली उपभोक्ताहरुमाझ कटन र कागजका झोलाको पुनरावृत्ति गराउनमा हाम्री बहिनीले ठूलो भूमिका खेलेको छ। हजारौंको संख्यामा युवाहरु स्वयंसेवक बनेर उपभोक्ताहरुलाई सचेत बनाउन हरेक सुपरमार्केटमा गरेको अभियानदेखि लिएर सेलिब्रेटी, सुपरमार्केटका कर्मचारी सबैको संलग्नताका कारण हाम्री बहिनी एउटा परिचित नाम बन्न पुगेको थियो।
सुपरमार्केटबाट प्लास्टिक हटाउने अभियान कै निरन्तरताको रूपमा प्लास्टिक झोलालाई नेपाल मै प्रतिबन्ध लगाउने नीति ल्याउनको लागि हाम्री बहिनीसँग आवद्ध युवाहरुले‘ पर्दैन, मसँग आफ्नै झोला छ’ (No Thanks I Carry My Own Bag) नामको अभियान पनि चलाएका थिए जसको कारण २०७२ बैशाख १ गतेदेखि काठमाडौंमा सरकारले प्लास्टिक झोला प्रतिबन्ध गरेको थियो। तर त्यसको १२ दिनपछी आएको महाविनाशकारी भूकम्पका कारण सो प्रतिबन्ध सबैतिर सरकारले लागु गर्न नसके पनि सो नीतिका कारण काठमाडौंका सबैभन्दा धेरै प्लास्टिक झोला प्रयोगकर्ता, यहाँका अधिकांश सुपरमार्केटमा प्लास्टिकका झोलाको प्रयोग हुन २०७२ सालयता नै बन्द भइसकेको छ।
प्लास्टिक झोलाका विकल्पको अलावा हाम्री बहिनीले महिला दिदीबहिनीहरुलाई अन्य हरित रोजगारी , जस्तै पेट बोटलको सङ्कलन र प्रशोधनलगायत हरित घर व्यवस्थापन तालिम दिइ घर तथा अफिसमा सहयोगीको रूपमा पठाउनेलगायत विभिन्न काममार्फत हालसम्म १३८५ भन्दा बढी रोजगारी नेपालभित्रै सृजना गरिसकेको छ भने घर व्यवस्थापनको कामलाई मर्यादित र व्यावसायिक पेसाको रूपमा समेत स्थापित गरिसकेको छ।
हाम्री बहिनीबाटहरित घर व्यवस्थापन तालिम सम्पन्न गरेका दिदीबहिनीहरू
"हाम्री बहिनी" अभियानकी संस्थापक शिलशिला आचार्य भन्छिन्, "हामीले लगभग ८ वर्षअघि यो अभियान सुरु गर्दा आम सर्वसाधारण, व्यापारी वर्गलगायतको समर्थन जुटाउन अप्ठ्यारो थियो। जलवायु परिवर्तनले पार्ने असर कम गर्न यस्ता किसिमका उपायहरू अपनाउनुपर्ने आवाज निरन्तर उठ्दै आएकाले आजभोलि उपभोक्ताले वैकल्पिक झोलाको खोजी गर्न थालेका छन्। नेपालमा लामो समयसम्म हाम्री बहिनी र अरू विभिन्न सरकारी, गैरसरकारी निकाय/अभियानको सहकार्यमा स्थानीय स्तरदेखि नै विभिन्न जनचेतनामूलक कार्यक्रम सञ्चालन हुँदै आएकाले अहिले देशैभरि प्लास्टिकका झोलाको सट्टा कपडाका झोलाहरूको प्रयोग उल्लेख्य रूपले बढेको छ।" पृथ्वी र सम्पूर्ण मानवजातिको रक्षा गर्न सबैभन्दा पहिला हाम्रै जीवनशैलीमा महत्वपूर्ण परिवर्तन (जस्तै प्लास्टिक छोडेर वैकल्पिक झोलाको प्रयोग गर्ने) ल्याउनु अपरिहार्य भएकाले अहिले सम्पूर्ण विश्वले नै यस्ता अभियान अगाडि बढाइरहेको आचार्य बताउँछिन्।
"हाम्री बहिनी"की संस्थापक शिलशिला आचार्य
हाम्री बहिनीको उदाहरण पछ्याउँदै यही अभियानबाट काम सिकेका दर्जनौं महिला दिदीबहिनीहरु र युवाहरु अहिले यस्तै वातावरणमैत्री वस्तु तथा सेवा दिने उद्दमहरु सञ्चालन गरिरहेका छन्। नेपालभरका हजारौं दिदीबहिनीहरुका लागि यस अभियानले वातावरणमैत्री समानको माग सिर्जना गरी त्यो मागअनुसार काम गर्ने बाटो खोलिदिएको छ।
हाम्री बहिनीसँग आवद्ध युवाहरु कै निरन्तर प्रयास र मागस्वरुप नेपाल सरकार प्लास्टिकका झोला प्रतिबन्ध गर्ने दिशामा अघि बढ्दै गएको देखिन्छ।यही श्रावण १ गतेदेखि नेपालभर प्लास्टिक झोलाको प्रयोग बन्द गर्नेगरी सरकारले सबैतिर जानकारी गराइसकेको छ।
तर यो सरकारको मात्रै प्रयासले सम्भव छैन। यो काम सबैको हितमा भएको हुनाले सबै उपभोक्ता, उद्योगी, व्यापारी, सरकारी निकायलगायत हरेक तहबाट सबै मिली यसलाई सफल पार्न भूमिका खेल्न सक्यौं भने नेपालभित्रै हाम्री बहिनीजस्ता उध्यमहरु र हजारौं दिदीबहिनीहरुलाई सम्मानित, हरित रोजगार सिर्जना गर्दै वातावरण सफा राख्नमा ठुलो टेवा पुग्ने आचार्य बताउँछिन्।