रगत–पसिना बगाएर कमाएको पैसाले जिन्दगीमा एकपटक बनाउने घरमा कमसल सामान पर्न दिनु सर्वथा गलत हुन्छ । तपाइको घरको बलियोपनामा सवैभन्दा मुख्य भूमिका हुन्छ सिमेन्टको ।

रगत–पसिना बगाएर कमाएको पैसाले जिन्दगीमा एकपटक बनाउने घरमा कमसल सामान पर्न दिनु सर्वथा गलत हुन्छ । तपाइको घरको बलियोपनामा सवैभन्दा मुख्य भूमिका हुन्छ सिमेन्टको ।
त्यसैले सिमेन्ट किन्दा त्यसको गुणस्तरमा ढुक्क हुनका लागि धेरै कुरामा ध्यान दिनुपर्छ । त्यसका लागि तपाइले सिमेन्टको बोरामा बिभिन्न पक्षबारे जाँच गर्न सक्नुहुन्छ ।
यदि तपाइले निम्न कुराहरु जाँच गरेरमात्र सिमेन्ट किन्नुभयो गुणस्तरमा ठगिने सम्भावना कम हुन्छ ।
ब्राण्डको नाम
सिमेन्ट खरिद गर्दा जहिले पनि लोकप्रिय ब्राण्डेड सिमेन्ट हेर्नुपर्छ । अन्य लोकल सिमेन्टको तुलनामा ब्राण्डेड सिमेन्टको मूल्य ५ % देखि १५ % सम्म महँगो पर्न सक्छ । तर मूल्यअनुसार सिमेन्टको गुणस्तर पनि राम्रो हुने कुरामा निश्चिन्त रहन सकिन्छ । आफूले किन्न लागेको ब्राण्डको सिमेन्टको बोरामा सो ब्राण्डको नामको हिज्जे सहि छ कि छैन जाँच्नुपर्छ । यसरी हेर्दा ओरिजिनल हो भन्ने कुरामा ढुक्क हुन्छ ।
ट्रेडमार्क/लोगो
सबै ब्राण्डेड सिमेन्टको आफ्नो अलग लोगो रहेको हुन्छ । सो लोगो सिमेन्टको बोरामा माथि पट्टि देख्न सकिन्छ । नक्कली (कपि गरिएको) नपरोस् भन्नका लागि ब्राण्डको लोगो हेर्नुपर्छ ।
नेपाल गुणस्तर (एनएस) चिन्ह
नेपालमा गुणस्तर तथा नापतौल विभागबाट गुणस्तर (एनएस) चिन्ह प्राप्त नगरी सिमेन्ट बिक्री वितरण गर्न पाइँदैन । विभागले सिमेन्टको गुणस्तर परीक्षण गरेर मात्र एनएस चिन्ह प्रदान गर्ने गरेको शिवम सिमेन्टका निखिल अग्रवाल बताउँछन् ।
यदि सिमेन्टको बोरामा एनएस चिन्ह प्रिन्ट गरिएको छैन भने त्यस्तो सिमेन्ट किन्नु हुँदैन । तपाईले निर्माण गर्ने भौतिक संरचनाको आयु बढाउनको लागि एनएस चिन्ह नभएका सिमेन्टबाट टाढै रहनुपर्छ ।
गुणस्तर मापदण्ड पालना नगरेका उत्पादनले तपाईको निर्माण कार्यमा समस्या उत्पन्न गराई संरचनालाई कमजोर बनाउँछ ।
नेपालमा उपलब्ध सिमेन्टको ग्रेड
सिमेन्टको संरचना २८ दिनसम्मको हेरचाह पश्चात राम्रोसँग सेट भई बलियो हुनका लागि विभिन्न ग्रेडमा उत्पादन हुन्छन्, जस्तै ३३ ग्रेड, ४३ ग्रेड र ५३ ग्रेड । यो तीन थरी सिमेन्टको आ–आफ्नै उपयोगिता छन् । ३३ ग्रेडको साधारण ओपीसी सिमेन्ट हो ।
अग्रवालका अनुसार सहि ढंगले काम सम्पन्न होस् भन्नका लागि आफ्नो निर्माण संरचनाको प्रकारलाई सुहाउँदो ग्रेडको सिमेन्टको छनौट गर्नुपर्छ ।

नेपालमा घरको स्ट्रक्चर बनाउँदा सबैभन्दा बढी ४३ ग्रेडको सिमेन्ट प्रयोग भइरहेको छ । अलि ठूला भवन बनाउँदा पनि ४३ ग्रेडको सिमेन्ट प्रयोग गरिन्छ । अग्ला आइराइज भवन, टावर, जलविद्युतका ड्याम, खानेपानीका ड्याम बनाउँदा बढी ५३ ग्रेडको सिमेन्ट प्रयोग हुने गर्छ । ठूला पूर्वाधार निर्माणमा ४३ ग्रेडको सिमेन्टले काम नगर्ने भन्ने होइन ।
तर, अहिले ठूला निर्माणमा बढीजसो ५३ ग्रेडको सिमेन्टलाई प्राथमिकता दिन थालिएको उनको भनाई छ ।
नेपालमा घरको संरचना निर्माणका लागि बढी ४३ ग्रेडको सिमेन्ट प्रयोग भइरहेको अग्रवालले बताए । यसको मतलब, ३३ र ५३ ग्रेडको सिमेन्ट प्रयोग नहुने भन्ने होइन ।
सिमेन्टको प्रकार
बजारमा विभिन्न प्रकारका सिमेन्टहरु उत्पादन भएर बिक्रीका लागि आउँछन् । आफ्नो निर्माण संरचनाको प्रकृति, काम गर्ने परिस्थिती, मौषमी अवस्था आदिसँग सुहाउँदो सिमेन्ट खरिद गर्नुपर्छ । सिमेन्टको बोरामा त्यसको प्रकार उल्लेख गरिएको हुन्छ ।
नेपालमा अर्डिनरी पोर्टल्यान्ड सिमेन्ट (ओपीसी), पुजोलोना पोर्टल्यान्ड सिमेन्ट (पीपीसी), पोर्टल्यान्ड स्ल्याग सिमेन्ट (पीएससी) र ह्वाइट सिमेन्ट उत्पादन हुँदै आइरहेको अग्रवाल बताउँछन् । मुलतः घर निर्माणमा ओपीसी र पीसीसी गरी दुई प्रकारका सिमेन्टहरु प्रयोग हुन्छन ।
सामान्यतयाः घरको जमिनमुनिको काम, पिलर, बीम, ढलान लगायतमा ओपीसी सिमेन्ट प्रयोग गरिने अग्रवालको भनाइ छ । पीपीसी सिमेन्ट गारो लगाउन, प्लास्ट गर्न, गेट बनाउन लगायत काममा प्रयोग गरिन्छ । तपाइलाई घर निर्माणका लागि कुन प्रकारको सिमेन्ट जरुरी छ भन्ने कुरा इन्जिनियरसँग सल्लाह लिई सोहीअनुसार सिमेन्ट खरिद गर्न सक्नुहुन्छ ।
घर बनाउन ओपीसी र पीपीसी कुन सिमेन्ट उपयुक्त ?
ओपीसी र पीपीसी दुबै सिमेन्टको आ–आफ्नै विशेषता छन् । घर बनाउँदा दुबै सिमेन्ट आवश्यक पर्छ । ओपीसी सिमेन्टमा क्लिकंरको मात्रा बढी हुने हुँदा पीपीसीभन्दा छिटो सेट हुन्छ । त्यसैले नेपालमा ओपीसी सिमेन्ट टाइपिङ, ढलान, बीम, पिल्लर बनाउन बढी प्रयोग हुन्छ ।
‘गिट्टी, बालुवा र डन्डी भएको ठाउँमा काम गर्दा ओपीसीको घोल प्रयोग गरिन्छ’ अग्रवाल भन्छन्, ‘बालुवा मात्र मिसाएर काम गरिने काममा पीपीसी सिमेन्ट प्रयोग गरिन्छ । अर्थात्, प्लास्टर र गारो लगाउन पीपीसी बढी प्रयोग हुन्छ ।’
पीपीसी सिमेन्ट सेट हुनका लागि अलि बढी समय लाग्छ भने ओपीसीको संरचना सेट हुनका लागि कम समय लाग्छ । ओपीसी सिमेन्टलाई ‘फास्ट सेटिङ’ सिमेन्ट पनि भनिन्छ ।
अग्रवाल भन्छन्, ‘पीपीसी सिमेन्टले ढलान गर्नै नहुने भन्ने होइन । पीपीसी सिमेन्ट प्रयोग गरेर पनि भवन ढलान भइरहेका छन् ।’ ओपीसीले ढलान र पिलर बनाएपछि केही समय पानी हालेर राख्नुपर्छ ताकी तापक्रम नमिलेर ढलान फुट्न नपाओस् ।
तपाइले बनाउन लागेको भवनलाई कति ‘स्ट्रेन्थ चाहिन्छ, कुन ग्रेडको सिमेन्ट प्रयोग गर्नुपर्ने हुन्छ, स्ट्रेन्थ ल्याउन गिट्टी, बालुवा, सिमेन्ट, केमिकल र पानीको रेसियो कति हुनुपर्छ भन्ने कुरा भवन डिजाइनमै तय भइसकेको हुन्छ । यो काम इञ्जिनियर वा परामर्शदाताले गर्छन् ।
खुद परिमाण/सिमेन्टको तौल
सामान्यतया बजारमा ५० किलोग्रामको सिमेन्टको बोरा पाइने गर्छ । त्यसको तौल ठिक छ भन्ने निश्चित गर्नका लागि सिमेन्टको बोरामा त्यसको तौल ५० किलोग्राम लेखिएको छ कि छैन यकिन गर्नुपर्छ । ह्वाइट सिमेन्ट भने १ के.जी., १० के.जी., २५ के.जी., ५० के.जी. आदि परिमाणमा पाइन सक्छ । हरेक प्याकको तौल र मूल्य हिसाब गरेर कुन प्याकेट किन्दा सस्तो पर्छ त्यहि किन्नुपर्छ ।
कम्पनीको ठेगाना
उत्पादक कम्पनीको ठेगाना तपाईलाई चाहिन सक्छ । खरिद गरेको सिमेन्टको गुणस्तरमा कुनै कमी कमजोरी पाइएमा वा अन्य कुनै कम्प्लेन रहेमा सम्पर्क गर्नका लागि उत्पादक कम्पनीको ठेगाना वा सम्पर्क विवरण याद गर्नुपर्छ ।

बोरामा प्वाल परेको छ कि जाँच्नुहोस्
सिमेन्ट ढुवानी गर्दा लोड वा अनलोड गर्ने क्रममा कतिपय कामदारहरुले हुक (अंकुश)को प्रयोग गर्ने गर्छन् । हुकको प्रयोग गर्दा उनीहरुलाई काम गर्न छिटो भएतापनी त्यसले सिमेन्टको बोरामा प्वाल पर्ने हुन्छ । यसरी हावा पस्न गई सिमेन्टको गुणस्तरमा ह्रास आउँछ । सिमेन्ट खरिद गर्दा बोरामा कहिँ कतै प्वाल परेको छ भने त्यस्तो सिमेन्ट किन्नु हुँदैन ।
म्याद गुज्रिने मिति हेर्नुहोस्
सिमेन्टले निर्माण भएको वा उत्पादन भएको मितिबाट क्रमशः बिस्तारै आफ्नो कडापन अर्थात गुणस्तर घटाउँदै लैजान्छ । कुनै पनि सिमेन्ट उत्पादन मितिदेखि हिसाब गर्दा तीन महिना पुरानो रहेछ भने निर्माण कार्यको लागि अयोग्य रहन्छ । त्यसैले यसको म्याद गुज्रिने मिति पत्ता लगाउनका लागि उत्पादन मितिमा ध्यान दिनुपर्छ । सिमेन्टको सदुपयोग गर्न र यसको सर्वगुण प्राप्त गर्नका लागि सधै हालसालै उत्पादित सिमेन्ट खरिद गर्नुपर्छ ।
सिमेन्ट कसरी भण्डारण गरिएको छ भन्ने कुराले यसको प्रयोग गर्न मिल्ने आयु निर्धारण हुन्छ । राम्रोसँग भण्डारण गरेको सिमेन्ट उत्पादन मितिले तीन महिनासम्म प्रयोग गर्न सकिन्छ ।
प्रिन्ट गरिएको मूल्य
आफुले तिरेको मूल्य यथोचित हो भनेर निश्चिन्त रहनका लागि सिमेन्टको बोरामा प्रिन्ट गरिएको मूल्य हेर्नुपर्छ । यसरी मूल्य हेर्ने बानी गर्दा तपाई ठगिन पाउनुहुन्न ।
सिमेन्टको बोराको सिलाई
कतिपय सिमेन्टमा कम्पनीको बोरामा अरु कमसल सिमेन्ट पुनः भर्ने, अन्य सामाग्री मिसाएर पुनः सिलाई गर्ने कार्य पनि हुन सक्छ । मिसावटयुक्त कमसल उत्पादन खरिद गर्नबाट जोगिनका लागि सिमेन्टको बोराको सिलाई पनि हेर्नुपर्छ । बोरा एकचोटि खोलेर पुनः सिलाई गरेको र कम्पनीबाटै सिलाई भएको बोरा हेर्दाखेरी फरक छुट्टिन्छ ।
आधिकारीक डिलर/सप्लायर
सकभर सधै सिमेन्ट खरिद गर्दा आफूलाई पायक पर्ने ठाउँको आधिकारीक सप्लायर मार्फत गर्नुपर्छ । आधिकारीक डिलरमा नक्कली पर्ला भन्ने डर रहँदैन । कदाचित तपाइले किनेको सिमेन्टको गुणस्तरमा कुनै समस्या देखियो भने साट्न वा गुनासो सम्बोधन गर्न आधिकारिक डिलर जरुरी हुन्छ ।
डल्लो परेको छ कि हेर्नुहोस्
यदि सिमेन्टको बोरालाई गोदाममा राख्दा लापरवाहि तरिकाले राखियो भने चिसोको कारण सिमेन्ट दाना बन्ने, डल्लो पर्ने हुन्छ । सिमेन्ट खरिद गर्दा बोरामा दह्रोसँग थिच्ने, बोराको चारै कुनामा औलाले च्यापेर हेर्ने गर्नुपर्छ । यसरी छाम्दा सिमेन्ट कमलो र पाउडर जस्तो धुलो रहेको महशुस हुनुपर्छ । यदि बोरा छाम्दा कडा र दाना दाना भएको जस्तो लाग्यो भने त्यस्तो बोरा लिनु हुँदैन ।