काठमाडौं । कोभिड महामारीले थला परेको व्यापारीक क्षेत्र दरबारमार्ग सामान्य अवस्थामा पनि पुरानो लयमा फर्किन सकेन । महामारी कम भएपछि व्यापार व्यवसाय लयमा फर्किने व्यवसायीहरुको आशा विपरित देशकै अर्थतन्त्रमा मन्दी छाउँदा दरबारमार्गको ब्रान्डेड बजार तंग्रिन नपाउँदै पुनः थला परेको छ ।
कोभिडपछि दरबारमार्ग त खुल्यो, तर व्यापारमा चमक नै आएन । अहिले अवस्थामा सामान्य भइसक्दा पनि दरबारमार्ग सुनसान देखिन्छ । पसल खुलेका छन्, तर ग्राहक भेटिदैनन् ।
पछिल्लो समय काठमाडौं महानगरले दरबारमार्गबाट पार्किङ हटाएपछि अलिअलि भइरहेको व्यापार पनि चौपट भएको व्यवसायीको गुनासो छ ।
पार्किङ हटाउने निर्णयपछि दरबारमार्गको व्यापारमा ५० प्रतिशतले गिरावट आएको दरबारमार्ग विकास बोर्डका अध्यक्ष सञ्विव तुलाधरको गुनासो छ ।
बोर्डले गत शुक्रबार पत्रकार सम्मेलन गरेर महानगरलाई दरबारमार्गमा पार्किङको व्यवस्था गर्न आग्रह गर्यो । पार्किङ खुला नगरे महानगरका विरुद्ध आन्दोलनमा उत्रिने तयारी दरबारमार्गका व्यवसायीहरुको छ ।
दरबारमार्गको पाँच लेनको सडकमा दुईतर्फ दुई÷दुई लेन सडक छुट्याएर एकातर्फ एक लेनमा पार्किङको व्यवस्था गरिएको थियो । तर, डेडिकेटेड पार्किङ लेनमा सवारी साधन पार्किङ गर्न रोकेर महानगरले प्रमुख व्यापारिक र पर्यटकीय गन्तव्यमाथि प्रहर गरेको व्यवसायीको गुनासो छ ।
बेसमेन्टमा चलाइएको व्यवसाय बन्द
यसअघि काठमाडौं महानगरपालिकाले पार्किङका लागि भनेर बनाइएका बेसमेन्टमा व्यवसाय सञ्चालन गरेको भन्दै बेसमेन्टका क्लव, पब र पसल हटाएको छ ।
बेसमेन्टमा सञ्चालित लन्डन पब, आइक्लव र फेसन पसल महानगरले बन्द गराएको छ । तर, ती ठाउँमा अझै पार्किङको व्यवस्था मिलाइएको छैन ।
दरबारमार्गकै चर्चित एवं पुरानो आइक्लब बेसमेन्टमा सञ्चालन गरेको भन्दै महानगरले बन्द गाएपछि सञ्चालक अदालतको ढोका ढकढकाउन पुगेका छन् ।
घरभाडाको मिटर बढ्याबढ्यै, तर छैन व्यापार
दरबारमार्गमा सर्वाधिक महंगो व्यपारीक क्षेत्रमा पर्छ । ‘ब्रान्डेड हब’ भनेर चिनिएको दरबारमार्गमा व्यवसायीले एउटै सटरको प्रतिमहिना १०/१५ लाखसम्म भाडा बुझाउनुपर्छ । कोभिडको बन्दाबन्दीको समयमा पनि घरधनीले भाडा मिनाहा वा छुट नदिएको गुनासो व्यवसायीको छ ।
कोभिड कम भएपछि कमाएर कोभिडको घाटा ‘रिकभरी’ गर्ने सोँच बनाएका व्यवसायी अहिले अर्थतन्त्रमा देखिएको मन्दीले तनावमा छन् । घरधनीले असुल्ने घरभाडाको मिटर बढ्या बढ्यै छ, तर व्यापार छैन ।
दरबारमार्गका ब्रान्डेड पसलमा जाडो नसकिँदै ‘विन्टर सेल’ सुरु भएको छ । ग्राहक नभएपछि व्यवसायी बाध्य भएर विन्टर सेल लगाउन थालेका हुन् । कतिपय पसलमा ८० प्रतिशतसम्म छुट भन्ने सूचना टाँसेको देखिन्छ ।
चर्चित ब्रान्डहरु केटीएम सिटी, पुमा, एडिडास, सोच, मिटर्सवानवी, पिटर इङ्ल्यान्ड, लिभाइज लगायत ब्रान्डेड आउटलेटले भारी छुट दिएका छन् । छुटले पनि ग्राहक आकर्षित हुन नसकेको व्यवसायीको गुनासो छ ।
‘दरबारमार्ग आएर किनमेल गर्ने, रेष्टुरेन्टमा खाने र रमाउने ग्राहकहरुलाई पार्किङको चिन्ता हुन थालेको छ,’ बोर्डका अध्यक्ष तुलाधरले भने, ‘पार्किङ गर्ने ठाउँ नभएपछि ग्राहकहरु दरबारमार्ग नै आउन छाडे ।’
अहिले व्यवसायीलाई सबैभन्दा ठूलो चिन्ता भाडा र स्टफ खर्च देखिन्छ । व्यापार नभएपनि पुरै भाडा दिनुपर्ने हुँदा व्यवसायीलाई तनाव थपिएको हो । अझ पार्किङ हटाउँदा ग्राहक नआएर व्यवसायी झन हैरानमा छन् ।
यहि अवस्था लम्बिएमा धेरै पसल बन्द हुने एक व्यवसायीले बताए । अहिले प्रमुख व्यपारीक क्षेत्र बनेको दरबारमार्ग भोली खाली हुन सक्छ । ‘कोभिडपछि धेरै व्यवसायीले दरबारमार्ग छाडिसकेका छन्’ ती व्यवसायीले भने ।
पाँचतारे अन्नपूर्ण खुल्नै सकेन
कोभिडपछि बन्द भएको दरबारमार्गस्थित पाँचतारे होेटल अन्नपूर्ण खुल्नै सकेन । अहिले अन्नपूर्ण होटल पार्किङ स्थल बनेको छ । होटलकी सञ्चालक सिर्जना राणाले पुरानो होटेल भत्काएर नयाँ आधुनिक होटल निर्माण गर्न लागेको बताउँदै आएकी छिन् ।
तत्कालिन अधिकारजकुमारी हेलेन शाहको अगुवाईमा सन् १९६५ देखि सञ्चालनमा अन्नपूर्ण होटल देशकै पहिलो पाँचतारे हो ।
तत्कालिन समयमा दरबारमा आयोजना हुने सुभकार्यमा सहभागी हुन आउने विदेशी पाहुनाका लागि भनेर होटेल निर्माण गरिएको थियो । राजाको राज्यभिषेक, राजपरिवारका छोराछोरीको विवाह, बर्तबन्ध, भोजमा विदेशी पाउना आउने चलन थियो ।
कोभिडपछि लामो समय पर्यटक नआएपछि पाँचतारे होटेलको खर्च धान्न नसकेर बन्द गरिएको हो । अहिले विदेशी पर्यटक आगमन बढ्दै जान थालेको छ । तर, होटेल अझै लयमा फर्किन सकेका छैनन् ।
क्लब र रेष्टुरेन्ट पनि बन्द
दरबारमार्ग व्यापारिक क्षेत्रमात्र नभएर पर्यटकीय क्षेत्र पनि हो । सन् १९६५ को दशकबाट अन्नपूर्ण होटेलमार्फत सुरु भएको पर्यटन व्यवसाय दरबारमार्गमा फस्टाइसकेको छ । महंगा होटेल, स्तरीय रेष्टुरेन्ट, क्लब, पव हाउस, क्यासिनो दरबारमार्गमै रहेका छन् ।
कोभिडपछि भने दरबारमार्गका केही क्लव र रेष्टुरेन्टहरु बन्द भइसकेका छन् । कतिपय रेष्टुरेन्ट र क्लवका सञ्चालक फेरिएका छन् । कतिपय रेष्टुरेन्ट क्लव नयाँ नामबाट सञ्चालनमा आएका छन् ।
दरबारमार्ग निकै चलेको कफी पसल पनि बन्द भएको छ । यस्तै, दरबार लाउञ्ज पनि बन्द भइसकेको छ । अशोज २०७६ मा आगलागी भएपछि भिक्ट्री लाउञ्ज बन्द नै भयो । आगलागीबाट भिक्ट्री क्लब पूर्ण रुपमा जलेको थियो । कोभिडका कारण चैतदेखि बन्दाबन्दी नै सुरु भएपछि भिक्ट्री पुन सञ्चालनमा आउन सकेन ।
भिक्ट्री लाउञ्जका सञ्चालकमध्येकी एक निरा श्रेष्ठले लाजिम्पाटमा लाउञ्ज सञ्चालनमा ल्याउने तयारी गरिरहेकी छन् ।
कोभिडको प्रभाव ग्रिनलाइन सेन्टरमा
कोभिड महामारीका कारण लामो समयसम्म कारोबार ठप्प भएपछि दरबारमार्गको भव्य मदिरा पसल ‘ग्रिनलाइन सेन्टर’ पनि बन्द भयो । मदिरा कारोबार ठप्प भएपछि आम्दानी नहुँदा बैंक तथा वित्तीय संस्था र मिटर ब्याजीहरुको पैसा तिर्न नसकेपछि ग्रिनलाइनका सञ्चालक अभिषेक अग्रवाल र अमित अग्रवाल परिवारसहित भाग्नुपरेको थियो ।
तर, केही समयभित्रै नेपाल फर्किएर अग्रवालल परिवारले धमाधम ऋणदाताको पैसा तिरिहेका छन् । कतिपय बैंकको ऋण चुक्ता भइसकेको बताइएको छ । कतिपय बैंकको धितो लिलाम र कतिपय बैंकको मदिरा बिक्री गरेर ऋण तिरिरहेको बताइएको छ ।