कोभिडपछि खुले भाटभटेनीका ८ वटा नयाँ स्टोर, देशभर २४ ठाउँमा फैलियो

शहरीया उपभोक्तामाझ विश्‍वास आर्जन गरिसकेको भाटभटेनीले तराईका सीमावर्ती शहरमा पनि उपभोक्ताको उत्तिकै माया पाएको छ । छिमेकी देश भारतमा सपिङ गर्न जाने उपभोक्तालाई पनि भाटभटेनीले आफुतर्फ आकर्षित गर्न सकेको देखिन्छ ।

367B408218B985F-icon.png
4210views
098F48D97CDFFD8-95202160_106333954405769_8442681036961218560_n_RHDK2bMTiE_6awgw9mhvudre2h92xeq20tajp5evqqg0iclcplfxhtikx189ldedo36fngu.jpg

काठमाडौं । नेपालमा आधुनिक सपिङ कल्चर भित्र्याउने श्रेय पाएको भाटभटेनी सुपरमार्केटका देशभर २४ स्टोर पुगेका छन् । गत बुधबारदेखि वीरगञ्‍जको गण्डकमा सञ्‍चालनमा ल्याइएको स्टोर चौबिसौं स्टोर हो ।

देशको अर्थतन्त्रमा देखिएको चरम मन्दीका कारण जताततै निरासा छाइरहेका बेलामा भाटभटेनीका संस्थापक मीन बहादुर गुरुङले औद्योगिक शहर वीरगञ्‍जमा साढे दुई अर्ब लगानी गरेर देशकै ठूलो सपिङ स्टोर सञ्‍चालनमा ल्याएका हुन् । 

स्टोरको भौतिक संरचना निर्माणमा दुई अर्ब र सामान राख्दा ५० करोड रुपैयाँ गरी दुई अर्ब ५० करोड लगानी भएको हो ।

मन्दीकै बिच सञ्‍चालनमा आएको यस स्टोरले आशाको सञ्‍चार जगाएको छ । पछिल्लो समय भाटभटेनी देशभरी स्टोर बिस्तारमा आक्रामक बनेको छ । अरु व्यवसायी कोभिडको कारण देखाउँदै लगानी गर्न पन्छिरहेका बेलामा गुरुङले स्टोरमा ठूलो लगानी गरिरहेका छन् ।

कोभिड सुरु भएपछि भाटभटेनीका आठ ठाउँमा नयाँ आउटलेट सञ्‍चालनमा आइसकेका छन् । कोभिड महामारी स्टोर विस्तारका लागि अवसरका रुपमा लिएका गुरुङले भाटभटेनीका स्टोरलाई देशका सबै प्रमुख सहरमा पुर्याउने लक्ष्यसहित अगाडि बढेका छन् । 

शहरीया उपभोक्तामाझ विश्‍वास आर्जन गरिसकेको भाटभटेनीले तराईका सीमावर्ती शहरमा पनि उपभोक्ताको उत्तिकै माया पाएको छ । छिमेकी देश भारतमा सपिङ गर्न जाने उपभोक्तालाई पनि भाटभटेनीले आफुतर्फ आकर्षित गर्न सकेको देखिन्छ ।

विराटनगर, वीरगञ्‍ज, भैरहवा, नेपालगञ्‍ज लगायत सीमामा रहेका भाटभटेनीका आउटलेटमा पनि उपभोक्ताको उत्तिकै भिड लाग्‍ने गरेको छ ।

‘उपत्यका बाहिरका शहरहरुमा भाटभटेनी किनमेल जाने गर्ने थलो मात्र होइन, घुमफिर गर्न जाने, बच्चाहरु लैजाने पार्कजस्तै बनेको छ’ केही समयअघि एक भेटमा गुरुङले सुनाउँदै थिए, ‘देशभर स्टोर विस्तार गर्दा स्थानीयले आफ्नै शहरमा काठमाडौंको सपिङ एक्सपेरियन्स लिन पाइरहेका छन् ।’

यस्तो छ वीरगञ्‍ज स्टोर

दुई विघा दश कट्ठा क्षेत्रफलमा सञ्‍चालनमा ल्याइएको स्टोर वीरगंज–१४ गण्डकमा रहेको छ । साढे दुई लाख वर्गफिट क्षेत्रफलको स्टोर अन्डरग्राउण्ड बेसमेन्ट पार्किङसहित ७ तल्लाको रहेको छ । 
अरु आउटलेटमा जस्तै वीरञ्‍ज स्टोरमा पनि पेपे पिज्जा, मल्टिप्लेक्स, ब्राण्डेड लुगा लगायत राखिएको छ । यो देशभरी खोलिएका भाटभटेनीका स्टोरमध्ये भवन र सपिङ स्पेसका हिसावले सबैभन्दा ठूलो भएको बताइएको छ ।

कहाँ कहाँ छ भाटभटेनी ?

भाटभटेनीको पहिलो स्टोर नक्सालको टंगालमा खुलेको थियो । यस्तै, सेप्‍टेम्बर २००८ मा महाराजगञ्‍जमा दोस्रो आउटलेट खुल्यो । गत जेठ २७ गते भाटभटेनीले धनगढीमा २३औं स्टोर सञ्‍चालनमा ल्याएको थियो ।

सन् २०११ मा एकै वर्ष भाटभटेनीका तीनवटा स्टोर खुलेका थिए, जसमा कोटेश्‍वर, बौद्ध र ललितपुर कृष्ण गल्लीमा सञ्‍चालनमा छन् ।

गुरुङले सन् २०१२ मा भाटभटेनीको स्टोर पहिलो पटक काठमाडौं उपत्यका बाहिरको शहरमा विस्तार गरेका थिए । १४ जुलाई २०१२ मा पोखराको न्यूरोडमा भाटभटेनीको स्टोर सञ्‍चालनमा ल्याइएको थियो । 

यस्तै, २०१४ मा अनामनगर, बालाजु र कलंकीमा गरी तीनवटा स्टोर सञ्‍चालनमा आए भने २०१६ मा भरतपुर चितवन र धरानमा, २०१७ मा बुटवलमा, २०१८ मा विराटनगर र थिमी भक्तपुर, २०१९ मा सातदोबाटोमा स्टोर सञ्‍चालमा ल्याइयो ।

यस्तै २०२० मा भैरहवा र नेपालगञ्‍ज, २०२१ मा इटहरी र हेटौंडा, २०२२ मा टोखा, सानागाउँ ललितपुर र धनगढीमा स्टोर सञ्‍चालनमा ल्याइएको थियो ।
भाटभटेनीले जनकपुर र विर्तामोडमा पनि नयाँ स्टोर सञ्‍चालनका लागि संरचना निर्माणको काम गरिरहेको छ ।

Image Source: BrandGuff