मुग्लिन-पोखरा सडक: पश्‍चिम खण्डमा ‘अस्फाल्ट प्रविधि’द्वारा कालोपत्र सुरु

पहिलो चरणमा एकतर्फी मात्रै कालोपत्र हुने र एकतर्फीको काम अगाडि बढेपछि दुईतर्फी नै कालोपत्र गरिने छ । सडक आयोजनाले अस्फाल्ट प्रविधिबाट कालोपत्रको कामलाई अगाडि बढाएको हो ।

367B408218B985F-icon.png
263views
5232FEFB86E0B14-sadak-road-pitch-1.jpg

तनहुँ । मुग्लिन पोखरा सडक विस्तार योजनाअन्तर्गत तनहुँको पश्‍चिम खण्डमा कालोपत्र सुरु भएको छ । मुग्लिन पोखरा सडक योजना (पश्‍चिम खण्ड)ले जामुने–पोखराअन्तर्गत तनहुँको शुक्लागण्डकी नगरपालिका–२ हलेदीबाट कालोपत्र थालनी गरेको हो ।

पहिलो दिन बिहीबार चार सय २० मिटर एकतर्फी सडक कालोपत्र भएको पश्चिम खण्डका इञ्‍जिनियर एवं सूचना अधिकारी नारायण पौडेलले जानकारी दिए । उनका अनुसार फागुनको अन्तिमसम्म एकतर्फीरुपमा पाँच किलोमिटर खण्ड कालोपत्र गर्ने लक्ष्य छ ।

उनले आजदेखि म्याग्दे गाउँपालिकास्थित जामुने र शुक्लागण्डकी नगरपालिकास्थित बेलचौताराबाट पनि कालोपत्रको काम अगाडि बढ्ने जानकारी दिए । उनले भने, ‘अब कामले तीव्रता पाउँछ, निरन्तर कालोपत्रको काम अगाडि बढ्छ । आवश्यक जनशक्ति र उपकरण तयारी अवस्थामा छन् ।’

पहिलो चरणमा एकतर्फी मात्रै कालोपत्र हुने र एकतर्फीको काम अगाडि बढेपछि दुईतर्फी नै कालोपत्र गरिने उनले जानकारी दिए । सडक आयोजनाले अस्फाल्ट प्रविधिबाट कालोपत्रको कामलाई अगाडि बढाएको हो ।

पश्चिम खण्डअन्तर्गत जामुनदेखि पोखरासम्म विसं २०७८ जेठ २ गते सम्झौता भई विसं २०७८ भदौ १२ गतेदेखि काम सुरु भएको थियो । यो खण्ड निर्माणको जिम्मा चिनियाँ कम्पनी यनहुइ काइयुयान हाइवे एन्ड ब्रिज कन्सट्रक्सनले पाएको छ । यो खण्डको म्याद विसं २०८१ भदौसम्म रहेको छ । यो खण्डको ठेक्का रु सात अर्ब ४० करोड ४६ लाखमा लागेको थियो।

धुलो र हिलालेले आजित भएका स्थानीय बासिन्दा कालोपत्र सुरु भएपछि आशावादी बनेको स्थानीय शंकर पन्तले बताउनुभयो । उनले भने, ‘सडक विस्तारको काम सुरु भएको लामो समयपछि कालोपत्रको काम अगाडि बढ्दा स्थानीयवासी खुसी छन् । धुलो, हिलो र खाल्डाखुल्डी सडकले आजित बनाएको थियो ।’ उनले गुणस्तरीय काम गराउनका लागि आफूहरुले पनि निरन्तर अनुगमन गर्ने उल्लेख गरे ।

मुग्लिन पोखरा सडक विस्तारका लागि यो खण्डमा काम निकै सुस्त थियो । हालै भौतिक पूर्वाधार विकास तथा यातायातमन्त्री प्रकाश ज्वालाले दुई पटक यो खण्डको स्थलगत अनुगमन गर्दै कामलाई तीव्रता दिन निर्देशन दिएका थिए ।

पश्चिम खण्डमा हाल २० किलोमिटर कालोपत्र गर्न आवश्यक सामग्री तयारी अवस्थामा रहेको जनाइएको छ । यो खण्डअन्तर्गत दुलेगौडा र मुख्य बजार क्षेत्रमा सडक ४६ मिटरको हुनेछ । जामुनेदेखि कुम्लेखोलामा १८ मिटर र बाँकी सडक २३ मिटरको कालोपत्र हुने जनाइएको छ ।

यसैगरी पूर्वी खण्डमा भने १९ दशमलव ५ किमी सडकखण्ड कालोपत्र भइसकेको छ । आँबुखैरेनी र बन्दीपुर खण्डमा हालसम्म उक्त दूरीमा कालोपत्र सकिएको हो । मुग्लिन पोखरा सडक योजना पूर्वी खण्डका इञ्जिनियर विष्णुप्रसाद पाण्डेले बन्दीपुर गाउँपालिका–१ नाहालादेखि छिर्कने, आँबुखैरेनी गाउँपालिका–१ सत्रसय, बरादी खण्डमा कालोपत्र सकिएको जानकारी दिए ।त्यसमध्ये ७।२ किमी खण्डमा दुईतर्फी नै कालोपत्र सकिएको छ ।

पूर्वीखण्डअन्तर्गत आँबुखैरेनीदेखि जामुनेसम्मको प्रगति ४४ प्रतिशत रहेको छ । यसअघि खाल्डाखुल्डी र धुलाम्य सडक हुँदा यात्रा असहज भएकामा हाल कालोपत्रको काम अगाडि बढेपछि यात्रामा सहजता आएको छ । पूर्वी खण्डअन्तर्गत दमौली मादी नदीमा आर्क डिजाइनको पुल निर्माणको काम सुरु भएको छ।

व्यास नगरपालिका–४ र ५ जोड्ने मादी नदीमाथि रु एक २१ करोड लागतमा ‘आर्क डिजाइन’मा पुल बन्दैछ । पूर्वी खण्डको कामका लागि विसं २०७७ माघ १७ गते सम्झौता भई २०७८ वैशाख २ गतेदेखि काम सुरु भएको थियो ।

४१.४५ किमी यो खण्डमा तीन ठूला र चार साना पुल निर्माण गरिनेछ । पूर्वी खण्डको ठेक्का चाइना कम्युनिकेशन कन्सट्रक्सनले पाएको छ । यो खण्डको म्याद विसं २०८१ वैशाखसम्म रहेको छ ।