बुढानीलकण्ठ: किन बन्दै छ रियल इस्टेटको हट स्पट ?

नेता, व्यापारी, उच्चपदस्थ कर्मचारी, कूटनीतिक नियोगका कर्मचारी, डाक्टर, इन्जिनियरलगायत बुढानीलकण्ठ क्षेत्रमा बस्ने गरेका छन् । शहरको कोलाहलभन्दा यहाँको वातावरण शान्त र सुन्दर छ ।

B9E8BF0887E16BC-47E57262DC6DD95-budhanilkhantha-Final.jpg

काठमाडौँ उपत्यकाभित्र रहेका आवासीय ठाउँमध्ये बुढानीलकण्ठ क्षेत्र पहिलो रोजाइमा पर्न थालेको छ । वरिष्ठ नेता, उच्चपदस्थ कर्मचारी, व्यापारीलगायत हाई–प्रोफाइलले बसोबासका लागि यो ठाउँलाई रोज्ने गरेका छन् । काठमाडौँको उत्तरी भेगमा रहेको बुढानीलकण्ठ विशिष्ट वर्गको ‘जक्सन’ बनेको छ ।

काठमाडौँ, रत्नपार्कबाट ११ किलोमिटर दूरीमा रहेको बुढानीलकण्ठ शिवपुरी राष्ट्रिय निकुञ्जको काखमा रहेको छ । शहरको कोलाहलभन्दा यहाँको वातावरण शान्त र सुन्दर छ । बुढानीलकण्ठ नगरपालिकाभित्र पर्ने बुढानीलकण्ठ, हात्तीगौँडा, मण्डिकाटारलगायत ठाउँ भीआईपी बसोबास गर्ने ठाउँ हुन् ।

‘व्यवस्थित योजना बनाएर यो ठाउँमा बस्ती विकास भएको होइन,’ आवास विज्ञ किशोर थापा भन्छन्, ‘नेता, उच्चपदस्थ कर्मचारी, घरानियाँहरूले बस्न थालेपछि यो ठाउँ उपत्यकाकै सबैभन्दा आकर्षक आवासीय ठाउँ बनेको हो ।’ 

यहाँको मुख्य आकर्षण भनेकै शिवपुरी जंगल हो । बिहान मर्निङ वाकका लागि महाराजगञ्जदेखि समेत मान्छेहरू आउने गरेको रियल स्टेट व्यवसायी रामशरण भण्डारी बताउँछन् । ‘घना जंगल भएकाले स्वच्छ हावा बहन्छ,’ उनी भन्छन्, ‘चराचुरुंगी कराएको सुनिन्छ । शहरको कोलाहलबाट टाढा आनन्द प्राप्त हुन्छ ।’ 

बुढानीलकण्ठ मन्दिरका कारण पनि यो क्षेत्र प्रसिद्ध छ । आवास विज्ञ थापा मनग्ये पैसा हुनेले ठूलो क्षेत्रफल जग्गा किनेर आलिसान बंगला बनाई बसोबास गरिरहेको बताउँछन् ।

पार्क भिलेज रिसोर्टका मालिक कर्ण शाक्य बुढानीलकण्ठमा ढुंगै ढुंगा र भंगालै भंगाल रहेको बताउँछन् । ‘मैले रिसोर्टका लागि ३२ रोपनी जग्गा किन्दा भाउ निकै कम थियो,’ शाक्य भन्छन्, ‘अहिले त यो भीआईपी एरिया बनेको छ । जग्गाको भाउ छोइनसक्नु भइसक्यो ।’

बुढानीलकण्ठ भरिँदै र महँगिँदै गएपछि बस्ती हात्तीगौँडा, टोखा, मण्डिकाटार हुँदै कपनसम्म फैलिएको छ । यो क्षेत्रमा तीव्र गतिमा बस्ती विकास भइरहेको छ । रियल स्टेट व्यवसायी भण्डारी भन्छन्, ‘२०७२ को भूकम्पपछि यो क्षेत्रमा घरजग्गा किनेर बसोबास गर्ने अझ धेरै बढेको हुन् । किनभने, भूकम्पले यस क्षेत्रमा ठूलो क्षति पु¥याएको थिएन ।’

भीआईपीको ‘जक्सन’

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, कांग्रेसका महामन्त्री शशांक कोइराला र नेता रामशरण महतको घर यहाँ छ । राप्रपाका वरिष्ठ नेता कमल थापा, अख्तियारका पूर्व प्रमुख आयुक्त सूर्यनाथ उपाध्याय, नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष सुरज वैद्य, राष्ट्रपति विद्यादेवी भण्डारी, नेपाल प्रहरीका पूर्व आइजीपी  मोतीलाल बोहरालगायत पनि बुढानीलकण्ठमै बस्छन् । मण्डिकाटारमा कांग्रेसकै नेतृ सुजाता कोइराला बस्छिन् । नेताबाहेक व्यापारी, सुरक्षा निकायका उच्चपदस्थ कर्मचारी, कूटनीतिक नियोगका कर्मचारी, डाक्टर, इन्जिनियर, कर्पोरेट हाउसका कर्मचारीलगायत यहाँ बस्ने गरेको आवास विज्ञ थापा बताउँछन् । 

आकर्षक ठाउँ

बुढानीलकण्ठको जंगल छेउतिर आकर्षण बढी रहेको भण्डारी बताउँछन् । भंगाल, गणेश चोक आसपास क्षेत्र, चपली हुँदै पासिकोट, रुद्रेश्वर, देउवा निवास, टउलुंग, नारायणस्थान, मुहानपोखरीलगायत ठाउँमा घर बनाएर बस्न वा जग्गामा लगानी गर्न धेरैले रुचाउने गरेको रियल स्टेट एजेन्सी बताउँछन् । यस क्षेत्रमा बनेका अपार्टमेन्ट र हाउजिङमा पनि भीआईपीहरू बस्ने गरेका छन् ।

फैलिँदै बस्ती 

बुढानीलकण्ठ क्षेत्र भरिँदै र महँगिँदै गएपछि बस्ती फैलिन थालेको छ । हात्तीगौँडा, झोर महांकाल, टोखा, मण्डिकाटार, कपन र टोखाको बीचमा रहेको करिडोरतिर बसोबास फैलिँदै छ ।

भण्डारी हिजोआज धेरै मान्छे टोखातिर सर्न थालेको बताउँछन् । बुढानीलकण्ठ र टोखाको चण्डेश्वरी मन्दिरसम्म बाटो जोडिसकिएको छ । त्यहाँ ११ मिटरको हाइवे पनि निर्माण भइसक्यो । मण्डिकाटारमा पनि धेरै भीआईपी बस्ने गर्छन् । ‘तुलनात्मक रूपमा जग्गाको भाउ सस्तो हुनाले पछिल्लो समय आकर्षण बढेको छ,’ भण्डारी भन्छन्, ‘टोखामा चाइना जाने सुरुङमार्ग र चाइनाबाट आउने रेलमार्गको स्टेसनलगायत बन्ने भएपछि अझ आकर्षण बढेको छ ।’

योजना र विकास 

‘बुढानीलकण्ठ एरियाको विकास प्लानिङ गरेर योजनाबद्ध ढंगले भएको होइन,’ आवास विज्ञ थापा भन्छन्, ‘हाई प्रोफाइलहरू बस्न थालेपछि भीआईपी आवासीय क्षेत्रमा परिणत भएको हो ।’ यहाँ मुख्य सडकबाहेक भित्री सडक साना छन् । शिवपुरी जंगल र बुढानीलकण्ठ मन्दिरबाहेक पर्याप्त खुला ठाउँ छैन । 

नेता, व्यापारी, उच्चपदस्थ कर्मचारी, कूटनीतिक नियोगका कर्मचारी, डाक्टर, इन्जिनियरलगायत बुढानीलकण्ठ क्षेत्रमा बस्ने गरेका छन् । शहरको कोलाहलभन्दा यहाँको वातावरण शान्त र सुन्दर छ ।

‘महाराजगञ्जदेखि बुढानीलकण्ठसम्म फराकिलो सडक बनेपछि उच्च वर्गको आकर्षण बढ्यो,’ उनी भन्छन्, ‘नेता बस्ने ठाउँ भएपछि पक्कै सेवासुविधा पुग्नेछ भनेर धेरैको रोजाइमा यो ठाउँ परेको हो ।’

पछिल्लो समय बनेका केही हाउजिङ परियोजना भने व्यवस्थित आवास हुन् ।

अपार्टमेन्ट हाउजिङ

पछिल्लो समय यस क्षेत्रमा हाउजिङ र अपार्टमेन्ट परियोजना बन्न थालेका छन् । उच्च वर्गलाई लक्ष्य गरी आवास विकास भएका छन् । बुढानीलकण्ठमा एउटा अपार्टमेन्ट छ । बुद्ध कोलोनी, बुढानीलकण्ठ भिल्ला, कम्फर्ट हाउजिङ, कैलाश कोलोनी, सिद्धार्थ कोलोनीलगायत केही व्यवस्थित कोलोनी बनेका छन् । हात्तीगौँडामा चौधरी ग्रुपको हाउजिङ परियोजना छ । बुढानीलकण्ठबाट पश्चिमतर्फ लाग्ने हो भने टोखामा ग्रान्डी अपार्टमेन्ट छ । 

चक्रपथ–बुढानीलकण्ठ सडक विस्तार र स्तरोन्नति भएसँगै यस क्षेत्रमा भीआईपीसँगै सर्वसाधारण र रियल स्टेट लगानीकर्ताको आकर्षण बढेको छ । व्यवस्थित आवास परियोजनाका रूपमा साना–साना क्लस्टर हाउजिङको निर्माण हुन थालेको छ ।

बुढानीलकण्ठका आकर्षण

यहाँको मुख्य आकर्षण शिवपुरी राष्ट्रिय निकुञ्ज हो । शिवपुरीबाट बहने चिसो हावाले सबैलाई लोभ्याउँछ । यहाँको हावापानी स्वच्छ छ । नारायणथान मन्दिर र बुढानीलकण्ठ स्कुलले पनि यहाँको आकर्षण बढाइदिएका छन् । यस क्षेत्रमा लक्जरी होटल र रिसोर्ट खुलिरहेका छन् । मुख्य सडक चौडा छ । 

डाँडा गाउँ, चिसेनी, जामचेन विजय स्तुप, जगडोल, तारेभीर हुँदै शिवपुरी निकुञ्ज पदमार्ग, शिवपुरी हाइकिङ, मुहानपोखरीलगायत पनि यहाँका आकर्षण हुन् । बिदामा पदयात्रा, साइक्लिङ, हाइकिङमा जानेहरूको घुइँचो नै लाग्छ ।

हस्पिटल सुविधा

बुढानीलकण्ठ वरिपरि ठूला हस्पिटल छन् । बाँसबारीमा न्युरो र शहीद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्र छ । रिङरोडबाट अलिकति भित्र छिर्नेबित्तिकै त्रिभुवन विश्वविद्यालय शिक्षण हस्पिटल र कान्ति बाल अस्पताल छन् । धुम्बाराहीमा हेम्स हस्पिटल छ । पश्चिमतर्फ टोखामा ग्रान्डी अस्पताल रहेको छ । चाबहिलको ओम नर्सिङ होम पनि नजिकै पर्छ । 

बैंकिङ सुविधा, सपिङ मार्ट, होटल

बुढानीलकण्ठमा बस्ती विकास भएसँगै अधिकांश वाणिज्य बैंकले शाखा खोलिसकेको भण्डारी बताउँछन् । त्यस्तै, किनमेलका लागि पनि शहरमा आइरहन पर्दैन । बाँसबारीदेखि बुढानीलकण्ठसम्म पुग्दा बिग मार्टका तीन वटा आउलेट भेटिन्छन् । महाराजगञ्ज चोकमै भाटभटेनी सुपरस्टोर छ । 

यस क्षेत्रमा स्तरीय होटल र रिसोर्ट खुलिरहेका छन् । पार्क भिलेज यहाँ रहेको पुरानो रिसोर्ट हो । शिवपुरी जंगलको छेवैमा वेलनेस रिसोर्ट छ । आन्तरिक पर्यटन बढ्दै गएपछि साना होटल र रेस्टुरेन्टमा पनि लगानी बढ्दै गइरहेको छ ।

सेवासुविधा 

यस क्षेत्रमा बसोबास गर्ने अधिकांशसँग आफ्नै सवारीसाधन हुन्छ । निजी सवारी नभए पनि चिन्ता मान्नु पर्दैन । यो ठाउँमा सार्वजनिक यातायातको राम्रो प्रबन्ध छ । बिहानदेखि साँझसम्म सार्वजनिक यातायातका सवारीसाधन कुदिरहेका हुन्छन् । ]उपत्यकामा खानेपानीको हाहाकार हुँदा पनि बुढानीलकण्ठमा भने पानीको सुविधा भइरहन्छ । ‘यहाँ घरको चार तलासम्म मोटरले नताने पनि पानी चढ्छ,’ रियल स्टेट व्यवसायी भण्डारी भन्छन्,  ‘पानीको राम्रो सुविधा भएकै कारण पनि धेरै यतातिर आकर्षित भएका हुन् ।’ 

यहाँ सैलुन, ब्युटी पार्लर, स्पा थुप्रै छन् । यी सुविधा खोज्न शहर धाउन पर्दैन । 

नेपाल विद्युत प्राधिकरणले धमाधम बिजुलीका तार भूमिगत गर्ने काम गरिरहेको छ । तार भूमिगत गरेपछि त्यहाँको सुन्दरता अझ बढ्नेछ । 

जग्गाको भाउ 

अहिले बुढानीलकण्ठ क्षेत्रमा जग्गाको मूल्य अकाशिएको छ । कुनाकाप्चामा पनि आनाको १५ लाख रुपैयाँभन्दा कममा जग्गा पाउन मुश्किल पर्छ । मुख्य ठाउँमा आनाकै ५०/६० लाख रुपैयाँसम्म पर्छ । महाराजगञ्ज–बुढानीलकण्ठ सडकमा आनाको एक करोड रुपैयाँसम्म पर्ने भण्डारी सुनाउँछन् । ‘महाराजगञ्ज बुढानीलकण्ठ क्षेत्रमा आनाको ७५/८० लाख रुपैयाँसम्म पर्छ,’ उनी भन्छन्, ‘हात्तीगौँडाभित्र आनाको ३५/४० लाख रुपैयाँ पर्छ । देउवा निवासतिर आनाको ४५/५० लाख रुपैयाँ पुगिसकेको छ ।’ टोखातिर गयो भने आनाको २० लाख रुपैयाँसम्ममा जग्गा पाउन सकिन्छ । ग्रान्डी हस्पिटल आसपासमा आनाको ५०/५२ लाख रुपैयाँ पुगिसक्यो ।
 

ठूला व्यवसायी रियल इस्टेट व्यवसायमा

साढे दुई अर्बको सिमेन्ट निर्यात

हनुमान ढोकास्थित नौ तले दरबार सर्वसाधारणका लागि खुला

भैरहवामा अधिकतम २७ करोड मूल्यांकनको जग्गालाई बैंकले दियो दुई अर्ब २० करोड ऋण !

एसवाई प्यानलको ईपीएस सिट्स बजारमा, घरको इन्सुलेशनका लागि प्रयोग गर्न सकिने

जग्गा वर्गीकरण गर्न स्थानीय तह असफल, १९९ पालिकामा मात्र सम्पन्न, समन्वय गरेर काम गर्न महालेखाको सुझाव

नौ महिनामा घरजग्गा क्षेत्रमा ३२ अर्ब कर्जा प्रवाह

आइएमई ग्रुपको लगानीमा मौलाकालीमा खुल्यो 'इला होटल'

D320DE208F1331D-69517920_1373867986102917_7204198105871286272_n.jpg

शहरी क्षेत्रमा भाडाको आवास कार्यक्रम सञ्चालन गरिनुपर्ने

AE59ECAE4912406-IMG-20250414-WA0010.jpg

नारायणघाटमा सिद्धार्थ हस्पिटालिटीले सुरु गर्‍यो 'सिद्धार्थ होटेल चितवन'

9D10188BB097801-Untitled-1.jpg

नेपालमा सुपरमार्केट कल्चर : न्यूरोडको बिशाल बजार हुँदै मोफसलसम्मको यात्रा