समिटलाई मुलुककै उत्कृष्ट बुटिक होटल बनाउने घोषणा गरेका सञ्चालकहरु कोभीड महामारीपछि एलिट बर्गलाई लक्षित गरेर लक्जरियस सर्भिस अपार्टमेन्ट र रेसिडेन्सियल अपार्टमेन्ट बनाउने निर्णयमा पुगेका हुन् ।
ललितपुरको कुपण्डोल हाईटस्थित चर्चित पर्यटकीय होटल समिट सुपर लक्जरियस अपार्टमेन्टमा परिणत हुने भएको छ ।
समिटलाई मुलुककै उत्कृष्ट बुटिक होटल बनाउने घोषणा गरेका सञ्चालकहरु कोभीड महामारीपछि एलिट बर्गलाई लक्षित गरेर लक्जरियस सर्भिस अपार्टमेन्ट र रेसिडेन्सियल अपार्टमेन्ट बनाउने निर्णयमा पुगेका हुन् ।
मुलुककै पुरानोमध्येमा पर्ने समिट होटल सरकारले ११ चैतमा गरेको लकडाउनयता बन्द अवस्थामा छ । बन्द अवस्थामा रहेको होटललाई कसरी सञ्चालन गर्ने भनेर सञ्चालकबीच छलफल हुँदा अपार्टमेन्ट बनाउने निर्णय भएको बताइएको छ ।
अपार्टमेन्ट बनाएपनि समिट होटल पनि सञ्चालनमै हुनेछ । त्यहाँ होटलसहित सर्भिस र रेसिडेन्सियल अपार्टमेन्ट निर्माण गर्न लागेको एक सञ्चालकले बताए । अपार्टमेन्टहरु मोडर्न डिजाइनमा निर्माण गरिने छ भने होटलमा हेरिटेज र मोडर्न डिजाइनको फ्युजन गरिने बताइएको छ । अहिले सिंगापुरको कम्पनीले आर्किटेक्ट डिजाइनको काम गरिरहेको छ ।
समिट होटल मुलुककै पुरानो प्रिमियम होटलमध्येमा पर्छ । शहरको प्राइम लोकेसनमा रहेको समिट १८ रोपनी क्षेत्रफलमा फैलिएको छ । त्यहाँ निर्माण गरिने रेसिडेन्सियल अपार्टमेन्ट एलिट बर्गलाई बिक्री गरिने छ भने सर्भिस अपार्टमेन्ट लङटर्म बस्ने पाहुना (पर्यटक)लाई लक्षित गरिएको छ ।
होटल करीव ११० कोठाको बनाइने छ । तर, सर्भिस अपार्टमेन्ट र रेसिडेन्सियल अपार्टमेन्ट कति तला र कति फ्ल्याटको हुन्छ भनेर अझै फाइनल भइसकेको छैन । अपार्टमेन्टको मूल्य पनि अझै तय भइसकेको छैन ।
त्यहाँ निर्माण गरिने सर्भिस अपार्टमेन्ट पनि एक किसिमको होटल नै हो । सञ्चालकले होटल व्यवस्थापनका लागि इन्टरनेशनल चेनसँग कुरा गरिरहेका छन् ।
सन् १९७८ मा डच समूहले खोलेको समिट होटल सन् २०१२ मा नेपाली व्यवसायीले आफ्नोस्वामित्वमा लिएका हुन् । अहिले समिटमा प्रतिष्ठित व्यवसायिक घरानाहरु चौधरी ग्रुप, एनई ग्रुप र समिट ग्रुपको लगानी रहेको छ ।
सिजी र एनई ग्रुपले आरएनआर हेरिटेज कम्पनीमार्फत समिट होटलको ६० प्रतिशत शेयर हिस्सा खरिद गरेका हुन् ।
०७१ चैत ९ गते पत्रकार सम्मेलन गरेर समिटमा ६० देखि ८० कोठा थपेर स्तरोन्नती गरी विश्वकै उत्कृष्ट बुटिक होटल बनाउने घोषणा गरिएको थियो । करीव डेढ अर्ब रुपैयाँ लगानी गरेर दुई वर्षभित्र स्तरोन्नतीको काम सम्पन्न गरिसक्ने लक्ष्य राखिएको थियो ।
बुटिक होटल बनाउने घोषणा गरेको ७ वर्षपछि सञ्चालकहरु लक्जरियस अपार्टमेन्ट बनाउन कस्सिएका छन् । अहिले समिट होटलमा ८३ कोठाहरु रहेका छन् । यो समूहले कान्तिपथमा पाँचतारे अर्बन हाइराजइ बुटिक होटल र विशंखुनारायणमा इको रिसोर्ट सञ्चालन गर्ने लक्ष्य लिएको थियो ।
तीनवटा होटल सञ्चालनमा ल्याउँदा करीव ६ अर्ब लगानी हुने होटलका अध्यक्ष अमृतरत्न शाक्यले त्यतिबेला बताएका थिए ।