हामीले केही चलाखी गर्न सकेको खण्डमा तिब्र प्रतिस्पर्धाकै बिचमा पनि आफ्नो घरको सही मूल्य पाउन सक्छौं । आफ्नो घरको मूल्यांकनमा वृद्धि ल्याउन खरिदकर्ताले कुनै पनि आलोचना गर्ने ठाउँ छाड्नु हुँदैन ।

अहिले रियलस्टेट मार्केटमा आवासीय घरहरुको अत्याधिक आपूर्ति रहेको छ । अर्थात बिक्रीका लागि राखिएका घरहरुको संख्या अत्यन्तै धेरै हुन्छ । रियलस्टेटका अनलाइन प्लेटफमहर्रु, सामाजिक सञ्जाल जताततै घर बिक्रीमा राखेको देखिन्छ ।
कोभिड महामारीपछि नेपालमा आवासिय र व्यवसायिक घरहरु धेरै बिक्रीमा राखेको देखिन्छ । अझ महंगो मूल्यका प्रोपर्टी धेरै बिक्रीमा राखिएको छ ।
यस्तो बेला बिक्रेताहरु बिचमा प्रतिस्पर्धा हुने नै भयो । बजारमा सप्लाई बढ्दै गएपछि मूल्य घट्दै जाने अर्थशास्त्रको सामन्य सिद्धान्त नै हो ।
तर पनि हामीले केही चलाखी गर्न सकेको खण्डमा तिब्र प्रतिस्पर्धाकै बिचमा पनि आफ्नो घरको सही मूल्य पाउन सक्छौं । आफ्नो घरको मूल्यांकनमा वृद्धि ल्याउन खरिदकर्ताले कुनै पनि आलोचना गर्ने ठाउँ छाड्नु हुँदैन् । अर्थात्, तपाइँको घर खरिदकर्ताले पहिलो पटक हेर्ने वित्तिकै मन पराइहालोस् ।
जब कोही ग्राहक दुई सम्पत्तिको तुलना गर्न आउँछन्, त्यहाँ तपाईंले गर्न सक्ने केहि कार्यहरु हुन्छन् जसले गर्दा तपाईं आफ्नो सम्पत्तिको बिक्री मूल्य बढाउन सक्नुहुन्छ । र, खरिदकर्ताको रोजाइमा अन्य घरभन्दा तपाइँको घर नै पहिलो हुन सक्छ ।
सफा र व्यवस्थित प्रस्तुती
घर सधै चिटिक्क, सफा र व्यवस्थित हुनुपर्छ । झट्ट हेर्दा कसैले पनि छिः भन्ने खालको हुनुहुँदैन । चिटिक्क घर देखेपछि खरिदकर्ताहरु आकर्षिक हुन्छन र त्यहाँ बसुबसु लाग्ने भावना पैदा हुनसक्छ ।
तपाइँले आफ्नो घरको बृहत सरसफाईको लागि केहि रकम खर्च गरेर सरसफाइ गर्ने कम्पनीलाई कामको जिम्मा दिन सक्नुहुन्छ । उनीहरुले विभिन्न केमिकलको प्रयोग गरी विशिष्ट तरीकाले सरसफाई गरी घरको फोहोर, दुर्गन्ध हटाउनुका साथै अनावश्यक सामान हटाउने सल्लाह दिइ घरलाई व्यवस्थित र आकर्षक पार्नमा मद्दत पुर्याउँछन् ।
खरिदकर्ताहरुले सरसफाई र घरको व्यवस्थापनलाई ध्यान दिँदै त्यस घरमा स्थानान्तरण हुँदा गर्नुपर्ने यी कामहरुको बोझ नरहने कुरालाई महशुस गर्नु भनेको तपाईको लागि राम्रो पक्ष हो ।
भान्छाकोठा र बाथरुमको काम

लामो समय घरजग्गा खरिद बिक्री व्यवसायमा आबद्ध प्रोपर्टी ३६० का सञ्चालक सन्तोष प्रधानका अुनसार खरिदकर्ताहरुले चाहने आवश्यकता र सुविधा भनेको घरको भान्छा र बाथरुम हो जुन खरिदकर्ताले सम्पत्तिको मूल्याङकन गर्दा राम्ररी जाँच गर्छन ।
अहिलेको समयमा मानिसले मोडुलार किचेनको चाह राख्छन् । यदि तपाईको घरमा पहिल्यै आधुनिक सुविधा सम्पन्न भान्छाघर छैन भने भान्छाको क्षेत्रलाई आकर्षक र उत्कृष्ट बनाउन केही लगानी गर्दा राम्रो हुन्छ । यो सुनिश्चित गर्नुहोस् चिम्नी र होब (आधुनिक ग्यास स्टोभ) आधुनिक भान्छाघरको हिस्सा हो ।
यस्तै बाथरुमको कुरा गर्नुपर्दा त्यसमा जडित सबै पाइप तथा उपकरणहरुले राम्रोसँग काम गर्ने हुनुपर्छ र बाथरुम एकदम सफा हुनु अपरिहार्य कुरा हो । यदि बाथरुमको भित्ता वा छतको कुनै भाग चर्किएको छ र त्यसबाट पानी रसाउने गर्छ भने तुरुन्त त्यसको मर्मत गरी रंगरोगन गर्नुपर्छ । यस्ता किसिमका सामान्य समस्याले गर्दा पनि खरिदकर्तामा नकारात्मक प्रभाव पर्न जान्छ र उनीहरु खरिद प्रक्रिया बाट पछाडि हट्न सक्छन् ।
नयाँ रङ लगाउनुस्

तपाईले आफ्नो सम्पत्ति बिक्रि गर्नु भन्दा अगाडि पुरै घरमा नँया रङ लगाउनु राम्रो हुन्छ । त्यसमा पनि आर्कषक रङ लगाउँदा सम्पत्ति हेर्न आउने व्यक्ति स्वतः आकर्षित हुन्छ । ताजा रङले सुःखद र सकारात्मक भावना प्रदान गर्छ । बैठक कोठामा सकभर सेतो अथवा सादा हल्का रंगको प्रयोग गर्नु राम्रो हुन्छ । यसले बैठक कोठालाई शान्त र खुल्ला देखाउन महत्वपूर्ण भूमिका निर्वाह गर्छ । केहि महँगो मूल्य परे पनि गुणस्तरीय कम्पनीको रंग प्रयोग गर्नुपर्छ । जसले गर्दा लामो समयसम्म त्यसको चमक र स्थायित्व रहिरहन्छ ।
यसरी केहि रकम खर्चिएर आफ्नो घरलाई व्यवस्थित र चिटिक्कको बनाउँदा खरिदकर्तामा त्यसले सकारात्मक उर्जा प्रवाह गर्छ र तपाईले अलिकति बढि बिक्रि मूल्य राख्दा पनि त्यसमा मोलमोलाई गर्ने र धेरै घटाउने मानसिकता उनीहरुले राख्दैनन् । उनीहरुमा तपाईको घरको आकर्षण, व्यवस्थापन र प्रस्तुतीकरणले गर्दा यस घरमा उच्च गुणस्तरीय र आधुनिक सामाग्रीको प्रयोग भएको छ भन्ने बोध हुन्छ र अन्तिम बिक्रि मूल्य सान्दर्भिक र तपाईलाई फाइदा हुने गरी तय हुन सक्छ ।