बैंकले आफ्नो नाममा रहेको विभिन्न आठ ठाउँमा रहेको गैरबैंकिङ सम्पत्ति घरजग्गा बिक्री गर्न लागेको हो ।
काठमाडौं । सरकारी स्वामित्वको नेपाल बैंक लिमिटेडले आफ्नो नाममा रहेको घरजग्गा बिक्रीमा राखेको छ । बैंकले उक्त घरजग्गा खरिद गर्न इच्छुक व्यक्ति वा फर्मलाई सोमबार २१ दिन समय दिएर सार्वजनिक बोलपत्र पेश गर्न आह्वान गरेको हो ।
बैंकले आफ्नो नाममा रहेको विभिन्न आठ ठाउँमा रहेको गैरबैंकिङ सम्पत्ति घरजग्गा बिक्री गर्न लागेको हो । बैंकले बिक्रीका लागि राखेको घरजग्गाको ५६ लाख ६९ हजारदेखि १५ करोड ९३ लाख ६१ हजार न्यूनतम मूल्य तोकेको छ ।
बैंकले ललितपुर, काभ्रे, झापा, सुनसरी र सिराहामा रहेको गैरबैंकिङ सम्पत्ति बिक्रीका लागि बोलपत्र आह्वान गरेको हो । उक्त घरजग्गा खरिद गर्न इच्छुक व्यक्ति वा फर्मले पाँच हजार रुपैयाँ तिरेर फारम भरी १४ अशोजसम्म कार्यालय समयभित्र सिलबन्दी बोलपत्र पेश गर्नुपर्ने बताइएको छ ।
सुनसरी जिल्लाको साविक सोनापुर–८ स्थित पाँच कित्ता जग्गा तथा भवनलाई १५ करोड ९३ लाख ६१ हजार न्यूनतम मूल्य तोकेर बोलपत्र माग गरिएको छ । यस्तै, बैंकले सुनसरीकै साविक दुशबी–५ख स्थित ६ कित्ता जग्गा र भवनलाई न्यूनतम मूल्य ८ करोड ७१ लाख ८६ हजार तोकेर बोलपत्र माग गरेको छ ।
बैंकको नाममा रहेको झापाको साविक सुरुङ्गा गाविस–५ स्थित ३६४.०३ वर्गमिटर जग्गा तथा सोले चर्चेको जग्गाको ५६ लाख ६९ हजार पाँच सय न्यूनतम मूल्य तोकिएको छ । पर्साको साविक वीगरञ्ज नगरपालिका–२ (हाल वीरगञ्ज महानगरपालिका–२) स्थित ००४८१.८० वर्गमिटर जग्गा तथा घरलाई न्यूनतम दुई करोड ७३ लाख ७० हजार मूल्य तोकिएको छ ।
यस्तै, सिन्धुपाल्चोक जिल्ला साविक नवलपुर–६ (हाल इन्द्रावती गाउँपालिका–४) मा दुईवटा कित्तामा बैंकको नाममा रहेको जग्गा तथा भवन बिक्रीका लागि न्यूनतम मूल्य ७२ लाख २३ हजार रुपैयाँ तोकिएको छ ।
सिराहा विद्यानगर गाविस–१ स्थित दुईवटा कित्तामा रहेको जग्गा एक करोड ३७ लाख ८७ हजार र काभ्रेको बनेपा नगरपालिका–६ स्थित दुईवटा कित्तामा रहेको ५३ वर्गमिटर जग्गा र घर बिक्रीका लागि एक करोड ४१ लाख ३९ हजार न्यूनतम मूल्य तोकिएको छ ।
यस्तै, ललितपुर उपमहानगरपालिका–५ज्ञ स्थित ६७४ नम्बर कित्ताको १४३.०६ वर्गमिटर जग्गा र त्यस जग्गामा बनेको घर बिक्रीका लागि दुई करोड १२ लाख ८५ हजार न्यूतम मूल्य कायम गरिएको छ ।