बैंकले पर्सा, मुगु, रौतहत, सुर्खेत, कपिलवस्तु, बर्दिया र पर्वतमा रहेको घरजग्गा बिक्री गर्न लागेका हो ।
काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले ऋणीबाट लिलाम सकारेको धितो (घरजग्गा) बिक्रीका लागि होडबाजी गर्न लागेका छन् । पत्रपत्रिकाका पेजहरु बैंकका धितो लिलाम वा गैर बैंकिङ सम्पत्ती बिक्रीका लागि प्रकाशित सार्वजनिक बोलपत्रका सूचनाले भरिने गरेका छन् ।
यसै क्रममा बुधबार फेरी एनआइसी एशिया बैंकले गैर बैंकिङ सम्पत्ती बिक्रीका लागि शिलबन्दी बोलपत्र आह्वान गरेको छ । बैंकले आफ्नो नाममा २८ ठाउँमा रहेको ४८ कित्ता जग्गा तथा त्यसमा बनेको घर–भवन गोप्य शिलबन्दी बोलपत्रबाट बिक्री गर्नका लागि सार्वजनिक आह्वान गरेको हो ।
उक्त सम्पत्ति खरिद गर्न इच्छुक व्यक्ति, फर्म, कम्पनी वा संघ–संस्थाहरुले सात दिनभित्र गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्ने बैंकले जनाएको छ । बोलपत्र सम्बन्धी शर्तबन्देज सहितको बोलपत्र फारम बैंकको केन्द्रीय कार्याल्य कर्जा असुली विभाग, राधाभवन त्रिपुरेश्वरबाट एक हजार रुपैयाँ तिरेर प्राप्त गर्न सकिने बताइएको छ ।
बोलपत्र पेश गर्ने अन्तिम दिनको भोलिपल्ट दिनको तीन बजे बैंकको केन्द्रीय कार्यालय कर्जा असुली विभाग त्रिपुरेश्वरमै बोलपत्र खोलिने बैंकले जनाएको छ ।
बैंकले पर्सा, मुगु, रौतहत, सुर्खेत, कपिलवस्तु, बर्दिया र पर्वतमा रहेको घरजग्गा बिक्री गर्न लागेका हो । बैंकले बिक्री गर्न लागेको अधिकांश घरजग्गाहरु पर्सा र सुर्खेत जिल्लामा रहेको सार्वजनिक सूचनाले देखाउँछ ।