अघिल्लो साउनमा व्यक्तिगत आवासीय घरकर्जा शिर्षकमा चार अर्ब १७ करोड रुपैयाँ कर्जा प्रवाह भएको थियो ।
काठमाडौं । अघिल्लो साउनको तुलनामा चालु आर्थिक वर्षको साउनमा व्यक्तिगत आवासीय शिर्षकमा घरकर्जा बढेको छ । बैंक तथा वित्तीय संस्थाहरुले एक महिनामा ११ अर्ब २४ करोड रुपैयाँ व्यक्तिगत आवासीय घरकर्जा प्रवाह गरेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
अघिल्लो साउनमा व्यक्तिगत आवासीय घरकर्जा शिर्षकमा चार अर्ब १७ करोड रुपैयाँ कर्जा प्रवाह भएको थियो ।
चालु आवको मौद्रिक नीतिमार्फ राष्ट्र बैंकले व्यक्तिगत आवासीय घरकर्जाको सीमा ५० लाखले बढाएर अधिकतम दुई करोड रुपैयाँ पुर्याएको छ । यसअघि यस्तो कर्जाको अधिकतम सिमा डेढ करोड रुपैयाँ रहेको थियो ।
रियल इस्टेट कर्जा ऋणात्मक
बैंकबाट व्यक्तिगत आवासीय घरकर्जा प्रवाह बढे पनि रियल इस्टेट कर्जा भने ऋणात्मक देखिएको छ । साउन महिनामा रियल इस्टेट कर्जा ९ अर्ब ३२ करोड रुपैयाँले ऋणात्मक रहेको छ । जबकी, अघिल्लो साउनमा रियल इस्टेटतर्फ १२ अर्ब ६३ करोड रुपैयाँ कर्जा प्रवाह भएको थियो ।
बैंक तथा वित्तीय संस्थाले कुनै पनि शिर्षकमा प्रवाह गर्ने नयाँ कर्जाभन्दा पुरानो कर्जा असुली धेरै भयो भने समग्रमा कर्जा ऋणात्मक देखिन्छ । साउन महिनामा रियल इस्टेट क्षेत्रमा पनि बैंकहरुको नयाँ कर्जा लगानी भन्दा पुरानो कर्जा असुली अधिकतम भएको देखिन्छ ।
पछिल्लो समय घरजग्गा कारोबारमा मन्दी छाएको छ । घरघडेरी खरिद गर्ने ग्राहक नभेटिँदा नयाँ प्लटिङ, हाउजिङ तथा अपार्टमेन्टमा लगानी पनि घटेको छ । रियल इस्टेट कम्पनीहरु अझै पनि ‘पर्ख र हेर’को अवस्थामा छन् ।
दुई करोडभन्दा बडीका घरजग्गा किनबेच सुस्त
रियल इस्टेट कर्जा ऋणात्मक देखिनुको अर्को मुख्य कारण दुई करोडभन्दा बढी मूल्यका घर–घडेरीको किनबेच सुस्ताउनु पनि हो । किनभने, २ करोडभन्दा बढी रकमको घरकर्जा स्वतः रियल इस्टेट कर्जामा गणना हुन्छ ।
साउनमा रेसिडेन्सियल रियल इस्टेट कर्जा (अधिकतम दुई करोडसम्मको व्यक्तिगत आवासीय घरकर्जा बाहेक) १० अर्ब ३२ करोड रुपैयाँ ऋणात्मक छ । आम्दानी सिर्जना गर्ने कमर्सियल कम्पलेक्सतर्फको कर्जा पनि २१ करोड ऋणात्मक छ ।
कमर्सियल कम्पलेक्स तथा रेसिडेन्सियल अपार्टमेन्ट निर्माणतर्फ साउनमा एक अर्ब २७ करोड रुपैयाँ कर्जा प्रवाह भएको छ । यस्तै, कमर्सियल रुपमा जग्गा खरिद तथा प्लटिङ गर्न पनि साउनमा ५७ करोड कर्जा प्रवाह भएको देखिन्छ ।