गैरआवासिय नेपाल रामेश्वर शहले देशकै प्रमुख पर्यटकीय गन्तव्य चितवनमा पाँचतारे रिसोर्ट सञ्चालनमा ल्याउन लागेका हुन् ।
काठमाडौं । चितवनको सौराहामा निर्माण भइरहेको पाँचतारे फाइभस्टार रिसोर्टको सिभिल स्ट्रक्चर निर्माणको काम सकिएको छ । ०८१ वैशाखदेखि सञ्चालनमा ल्याउने लक्ष्य राखिएको रिसोर्टमा अहिले धमाधम मेकानिकल, प्लम्बिङ, इलेक्ट्रिकल र फिनिसिङको काम भइरहेको छ ।
गैरआवासिय नेपाल रामेश्वर शहले देशकै प्रमुख पर्यटकीय गन्तव्य चितवनमा पाँचतारे रिसोर्ट सञ्चालनमा ल्याउन लागेका हुन् । यो चितवनकै पहिलो पाँचतारे रिसोर्ट हुनेछ ।
चितवन राष्ट्रिय निकुञ्ज नजिकै रहेको रिसोर्टको व्यवस्थापन सम्हाल्न विश्वभर होटेल साम्राज्य फैलाइरहेको फ्रान्सेली लुभ्र ग्रुप आउने भएको छ, जसले रोयल टुलिप ब्रान्डमा रिसोर्ट सञ्चालन गर्नेछ ।
करिव ३४ रोपनी क्षेत्रफलमा निर्माण भइरहेको रिसोर्टमा ६४ कोठा रहने केटिएम ग्रुपका अध्यक्ष शाहले बताए । सुरुमा साधारण रिसोर्ट सञ्चालनको तयारी गरिरहेका उनले विदेशी ब्रान्ड भित्र्याएर लक्जरी रिसोर्ट निर्माण सुरु गरेका हुन् ।
लक्जरी रिसोर्टमा जाने भएपछि लगानी पनि बढ्दै गएको छ । रिसोर्ट निर्माण भएर सञ्चालनमा आइसक्दा लगानी एक करोड २५ लाख पुग्ने शाहले बताए । रिसोर्टलाई सुविधा सम्पन्न बनाउन कुनै सम्झौता गरिएको छैन ।
ठूपो पोपर्टी हुनुका साथै लुभ्र ग्रुपको स्टान्डर्ड अनुसार रिसोर्ट बनाउँदा लगानी ह्वात्तै बढेको हो । यसअघि ८५ करोडमा रिसोर्ट सञ्चालनमा ल्याउने लक्ष्य उनको थियो । त्यसो त पछिल्लो समय सिमेन्ट तथा फिनिसिङका सामाग्रीहरुको मूल्य बढ्दा पनि रिसोर्टको लगानी बढेको छ ।
रिसोर्टमा प्रतिकोठा लागत झन्डै दुई करोड रुपैयाँ पुग्ने बताइएको छ । जसमा ८० प्रतिशत बैंकको ऋण र २० प्रतिशत संस्थापकको इक्विटी लगानी हुने छ ।
रिसोर्ट निर्माणका लागि बैंकबाट १ अर्ब रुपैयाँ ऋण लिन क्रेडिट रेटिङ गराइएको छ । क्रेडिट रेटिङ कम्पनी इक्रा नेपालबाट साढे ९५ करोड दीर्घकालिन र साढे चार करोड अल्पकालिन ऋण सुविधाको रेटिङ पाएको छ ।
लुभ्र होटेल्स ग्रुपले विश्वबजारमा ११ वटा विभिन्न ब्रान्डसहित उपस्थित जनाएको छ । विश्वभरका ६० भन्दा बढी देशमा एक हजार ६ सयभन्दा बढी होटेल सञ्चालन गरेको अनुभव भएको ब्रान्डसँग केटिएम ग्रुपले साझेदारी गरेको हो ।
सौराहामा खर्चालु पर्यटकलाई आकर्षित गर्ने गरी पाँचतारे रिसोर्ट सञ्चालनमा ल्याउन लागिएको हो । देशकै तेस्रो पर्यटकीय गन्तव्य भनेर चिनिएको सौराहामा होटेल तथा रिसोर्टहरुको बाढी आएपनि खर्चालु पर्यटक लक्षित गरेर महंगा रिसोर्ट सञ्चालनमा आउन सकेका छैनन् ।
रोयल टुलिप रिसोर्टले त्यो ग्याप पुरा गर्ने अपेक्षा गरिएको छ ।