काठमाडौं महानगरभित्र प्रमुख पर्यटकीय रुटमा पर्ने घरहरूको मोहडा लिच्छवीकालीन तथा मल्लकालीन शैली झल्किने गरी निर्माण गर्न प्रोत्साहित गर्ने मेयर बालेन्द्र शाहले घोषणा गरेका छन् ।
काठमाडौं । काठमाडौं महानगरपालिकाले काठमाडौंलाई ‘ओपन एन्ड लाइभ म्युजियम’ र ‘क्रियटिभ सिटी’का रूपमा विकास गर्ने भएको छ । महानगरका मेयर बालेन्द्र शाहले ल्याएको आगामी आर्थिक वर्ष ०८१/८२ को नीति तथा कार्यक्रममा महानगरका पर्यटकीय स्थलहरुलाई समेटी थिम बेस्ड टुरिजमलाई प्रवर्द्धन गर्ने घोषणा गरिएको छ ।
महानगरपालिका क्षेत्रमा रहेका ऐतिहासिक, धार्मिक, पुरातात्विक, सांस्कृतिक, सामाजिक, महत्वका मठ, मन्दिर, द्यःछे, बहाल, पोखरी, हिटी, चैत्य, बिहार, स्तुप, साःगा, बहाः बही, ननी, चोक लगायतका स्थानहरूको संरक्षण, सम्वर्द्धन र प्रवर्द्धन गर्दै डिजिटल अभिलेख, मौलिक नामाकरण र नक्सांकन गरिने भएको छ ।
प्रमुख पर्यटकीय रुटमा पर्ने घरहरूको मोहडा लिच्छवीकालीन तथा मल्लकालीन शैली झल्किने गरी निर्माण गर्न प्रोत्साहित गर्ने नीति तथा कार्यक्रम तय गरिएको छ ।
पार्किङ एप प्रयोगमा ल्याइने
महानगरले आफ्नो कार्यक्षेत्रभित्रका निजी घर जग्गामा व्यवसायिक सवारी साधन पार्किङको रूपमा प्रयोग गर्न प्रोत्साहन गर्ने भएको छ । सार्वजनिक तथा व्यवसायिक रूपमा प्रयोग हुने निजी पार्किङ व्यवस्थापनका लागि पार्किङ एपको प्रयोग अनिवार्य गरिने बताइएको छ ।
महानगरको नीति तथा कार्यक्रममा भनिएको छ, ‘सडकहरूको वैज्ञानिक तथा मौलिक नामाकरण गरी घर नम्बर प्रणालीलाई व्यवस्थित गरिनेछ । महानगर क्षेत्रभित्र कुरियर सेवाको लागि मेट्रो पोष्ट सञ्चालन गरिनेछ । होम डेलिभरी सरकारको अवधारणा अनुरुप सेवा प्रवाहलाई घरघरमा पुर्याइनेछ ।’
काठमाडौंको इतिहास र सभ्यतासँग जोडिएको टुकुचा खोलालाई खुला गरी प्राकृतिक रूपमा बग्न दिन र संरक्षण गर्न विशेष परियोजना सञ्चालन गरिने भएको छ । यस्तै, महानगर क्षेत्रभित्रका अन्य नदी, खोला, खोल्साको संरक्षण गर्ने तथा करिडोर विस्तारको कार्यलाई निरन्तरता दिइनेछ ।
भु–सूचना प्रणालीमा आधारित सहरी पूर्वाधार सूचक
महानगरले भु–सूचना प्रणालीमा आधारित सहरी पूर्वाधार सूचक तयार गरी कार्यान्वयनमा ल्याउने जनाएको छ । निर्माण कार्यमा प्रयोग हुने निर्माण सामग्रीहरूको गुणस्तर र मापदण्ड सुनिश्चितताका लागि गुणस्तर नियन्त्रण तथा परीक्षण गर्न पूर्वाधार प्रयोगशाला स्थापना गरिने भएको छ ।
सडक निर्माण तथा मर्मत कार्यलाई व्यवस्थित र गुणस्तरीय बनाउनका लागि आस्फाल्ट प्लाण्ट स्थापना गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ । यस्तै, महानगर क्षेत्रभित्रका सडक तथा फुटपाथमा विभिन्न निकायबाट निर्माण गरिने संरचनाहरूको निर्माण प्रारम्भ गर्नुपूर्व महानगरको अनिवार्य स्वीकृति लिनुपर्ने प्रावधान लागू गर्ने बताइएको छ ।
काठमाडौंका प्रमुख सडकहरूमा यूटिलिटी डक्ट निर्माण गरी नेपाल दूरसञ्चार प्राधिकरण र इन्टरनेट सेवा प्रदायक संस्थासँग सहकार्य गरी अव्यवस्थित रुपमा रहेका तारहरूको उचित व्यवस्थापन गर्ने उल्लेख छ ।
व्यस्त ठाउँमा अन्डर पास निर्माण गर्दै जाने
काठमाडौं महानगरपालिकाले सहज सवारी आवागमन तथा पैदलयात्रीहरूको सहजताका लागि सम्भावित स्थानहरूमा क्रमशः अन्डर पास निर्माण गर्दै लैजाने घोषणा गरेको छ ।
मास पब्लिक ट्रान्सपोर्टको अवधारणा बमोजिम सार्वजनिक यातायात प्रवद्र्धन गर्ने र सार्वजनिक यातायातलाई जीपीएस वा आधुनिक प्रविधिमा आवद्ध गर्ने पनि नीति तथा कार्यक्रममा उल्लेख छ । यस्तै, इन्टेलिजेन्ट ट्राफिक सिग्नल, उचित ट्राफिक व्यवस्थापन, वैज्ञानिक ढंगले वन वे निर्धारण, नो भेहिकल जोन सम्बन्धी अध्ययन गरेर सोको सिफारिश क्रमशः कार्यान्वयन गर्दै लैजाने पनि घोषणा गरिएको छ ।
नीति तथा कार्यक्रममा भनिएको छ, ‘उपत्यकाभित्र रात्रिकालीन सार्वजनिक सवारी साधन सञ्चालन गर्न आवश्यक प्रबन्ध मिलाइनेछ । विद्युतीय सार्वजनिक यातायातलाई प्रवर्द्धन गर्दै डिजेल वा पेट्रोलबाट सञ्चालन हुने सार्वजनिक तथा निजी सवारी साधनको प्रयोगलाई क्रमशः घटाउदै लगिनेछ । चार्जिङ स्टेसन सञ्चालन गर्न निजी क्षेत्रलाई प्रोत्साहन गरिनेछ ।’
न्यूरोड, हाडीगाउँजस्ता ठाउँलाई ‘नो भेहिकल जोन’
सूचीकृत सम्पदा क्षेत्रलगायत नयाँ सडक, हाडीगाउँजस्ता प्राचीन, पुरातात्विक र विशेष महत्वका क्षेत्रहरूलाई नो भेहिकल जोनको रुपमा विकास गर्ने महानगरले घोषणा गरेको छ ।
बृहत हाँडीगाउँ गुरुयोजना तयार गरी लिच्छवीकालीन हाँडीगाउँको पुनर्विकास गर्ने पनि नीति तथा कार्यक्रममा उल्लेख छ । हाँडीगाउँलाई विश्व सम्पदा क्षेत्रको रूपमा सूचीकृत गर्न प्रस्ताव गरिने भएको छ । बृहत वसन्तपुर गुरुयोजना तयार गरी मल्लकालीन वसन्तपुरको रुपमा विकसित गर्ने जनाएको छ ।
हाँडीगाउँ, वसन्तपुरलगायतका स्थानहरूमा होमस्टे सञ्चालनका लागि प्रोत्साहनसहितको आवश्यक प्रबन्ध मिलाउने पनि महानगरको कार्यक्रम छ ।
अमूर्त सम्पदाहरू इन्द्रजात्रा, सेतो मछिन्द्रनाथ जात्रा, पचली भैरव जात्रा, पाँहाँचहे जात्रा, अन्य जात्रा तथा पर्व, स्थानीय परिकार, परम्परालाई संरक्षण र प्रवर्द्धन गर्दै सम्भावना भएका थप कला, संस्कृति र सम्पदाहरू युनेस्कोमा सूचीकृत गर्ने प्रक्रिया सुरु गर्ने पनि नीति तथा कार्यक्रममा उल्लेख छ ।
काठमाडौंलाई चलचित्र छायांकनको उपयुक्त गन्तव्य बनाइने
चलचित्र, संगीत, कला, स्थानीय पेयपदार्थ, मौलिक र परम्परागत खानालाई ब्रान्डिङ गरिनेछ । काठमाडौंलाई फिल्म सिटीको रुपमा पहिचान गराई चलचित्र छायांकनको उपयुक्त गन्तव्यका रुपमा विकसित गरिने बताइएको छ ।
महानगरपालिकाले हनुमानढोका दरबार क्षेत्रदेखि स्वयम्भूसम्मको हेरिटेज वाकलाई प्रवद्धन गर्न नीति लिएको छ । वसन्तपुर– स्वयम्भुनाथ–बौद्धनाथ– पशुपतिनाथ–वसन्तपुरलाई हेरिटेज रूटका रुपमा विकास गरिनेछ । अन्य स्थानहरूमा पनि रणनीतिक, व्यवसायिक र पर्यटकीय रूटको पहिचान तथा नक्सांकन गरी हेरिटेज रूटको रूपमा विकसित गरिनेछ ।
पानी रिचार्जका लागि नयाँ पोखरीहरू बनाउन सम्भावित स्थानहरू पहिचान गरिने
महानगर क्षेत्रभित्रका पोखरी, ढुंगेधाराहरूको पुनस्र्थापना गर्दै रिचार्ज काठमाडौँ अभियान अन्तर्गत आकाशे पानी संकलन तथा पुनर्भरण गर्ने कार्यलाई निरन्तरता दिइने छ । नयाँ पोखरीहरूको निर्माण गर्न सम्भावित स्थानहरूको पहिचान गरिने भएको छ ।
तिनकुनेको जग्गा अधिग्रहणका लागि सरकार र काठमाडौँ महानगरपालिकाको लागत साझेदारीमा मुआब्जा वितरण गर्न रकम विनियोजन गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।
महानगर क्षेत्रभित्र सार्वजनिक प्रयोगका लागि सञ्चालन हुने निजी तथा सार्वजनिक शौचालयको न्यूनतम मापदण्ड तय गरिनेछ । निजी, सरकारी तथा गैरसरकारी संस्थाहरूले आफ्नो स्वामित्वमा रहेको शौचालय निःशुल्क रूपमा उपलब्ध गराएवापत प्रोत्साहनको व्यवस्था गरिने भएको छ ।
काठमाडौंको खुलामञ्चलाई खुला व्यायामस्थल र खेलकुद विकासको लागि उपयोग गरिने उल्लेख छ । महानगरले आफ्नो कार्यक्षेत्रभित्र रहेका सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका अनधिकृत संरचना हटाई खुला क्षेत्रको रुपमा विकास गर्ने नीति लिएको छ ।
खुला क्षेत्रको विस्तार गर्न, संरक्षण गर्न र बहुउपयोग हुने गरी सार्वजनिक प्रयोजनका लागि सार्वजनिक तथा सरकारी जग्गालाई महानगरपालिका मातहत ल्याउन पहल गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ ।