अर्थतन्त्र सामान्य अवस्थामा फर्किदै गर्दा बैंकबाट कर्जा लिने र नियमित किस्ता तिर्ने ऋणी बढ्न थालेको भूमि व्यवस्थापन विभागको तथ्यांकले देखाउँछ
काठमाडौं । बढ्दो तरलता र घट्दो ब्याजदरका कारण बैंक तथा वित्तीय संस्थाहरुबाट कर्जा लगानी बढ्न थालेपछि गत आर्थिक वर्षमा घरजग्गा रोक्का र फुकुवा पनि बढेको छ ।
अर्थतन्त्र सामान्य अवस्थामा फर्किदै गर्दा बैंकबाट कर्जा लिने र नियमित किस्ता तिर्ने ऋणी बढ्न थालेको भूमि व्यवस्थापन विभागको तथ्यांकले देखाउँछ ।
गत आर्थिक वर्षमा चार लाख १८ हजार १५१ घरजग्गा रोक्का भएका छन् भने तीन लाख २२ हजार ४२ घरजग्गा फुकुवा भएका छन् । अघिल्लो आर्थिक वर्ष ०७९/८० मा तीन लाख ६९ हजार घरजग्गा रोक्का हुँदा दुई लाख ६० हजार ११९ घरजग्गा मात्र फुकुवा भएका थिए ।
नेपालमा बैंक तथा वित्तीय संस्थाहरुले ऋण प्रवाह गर्दा सुरक्षणका लागि धितोको रुपमा घरजग्गा नै राख्ने गर्छन । कुल कर्जाको ६८ प्रतिशतसम्म कर्जा रकम घरजग्गा धितो राखेर प्रवाह भएको नेपाल राष्ट्र बैंकको तथ्यांकमा देखिन्छ ।
कर्जा लिन लागेको बैंकको नाममा सम्बन्धित क्षेत्रको मालपोत कार्यालय वा बैंकमा गएर घरजग्गा धितो बन्धक राखेपछि मात्र ऋण पाइन्छ । आफ्नो वा एकाकार परिवारभित्र घरजग्गा नभएकोले राम्रै आम्दानी भएपनि कर्जा पाउने सम्भवना कम हुन्छ ।
पुरै कर्जा चुक्ता भइसकेपछि मालपोत वा बैंकमै गएर घरजग्गा फुकुवा गर्न सकिन्छ । बैंकको नाममा रोक्का राखेको जग्गा बिक्री वा नामसारी गर्न पाइँदैन । यदि ऋणीले समयमै कर्जा चुक्ता गर्न नसकेमा बैंकहरुले सोही धितो लिलाम बिक्री गरी कर्जा असुल उपर गर्ने कानुनी व्यवस्था छ ।
कुन महिना कति भए रोक्का र फुकुवा ?
गत आर्थिक वर्षको पहिलो महिना साउनमा २८ हजार १३० घरजग्गा रोक्का भएका छन् भने २६ हजार ४२३ घरजग्गा फुकुवा भएका छन् । यस्तै, जेठमा ३५ हजार ४३६ घरजग्गा रोक्का र २४ हजार १४ घरजग्गा फुकुवा, अशोजमा ४२ हजार रोक्का र २८ हजार फुकुवा भएका छन् ।
कात्तिकमा साढे १८ हजार घरजग्गा रोक्का र १५ हजार फुकुवा, मंसिरमा साढे २९ हजार रोक्का र साढे २५ हजार फुकुवा, पुसमा साढे ३५ हजार रोक्का र पौने २६ हजार फुकुवा, माघमा सोढ ३५ हजार रोक्का र २९ हजारभन्दा धेरै घरजग्गा फुकुवा भएका छन् ।
यस्तै, फागुनमा साढे ३९ हजार घरजग्गा रोक्का र साढे २९ हजार घरजग्गा फुकुवा भएका छन् भने चैतमा करिव ४० हजार घरजग्गा रोक्का र २९ हजार घरजग्गा फुकुवा, वैशाखमा साढे ३२ हजार रोक्का र पौने २८ हजार फुकुवा, जेठमा करिव ४५ हजार रोक्का र ३४ हजार फुकुवा, असारमा साढे ३६ हजार रोक्का हुँदा करिव २७ हजार घरजग्गा फुकुवा भएका छन् ।
पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुमा तरलता फालाफाल रहेको छ । यस्तै, तरलता पर्याप्तता बढेपछि बैंकमा कर्जाको ब्याजदर पनि एकल बिन्दूमा झरेको छ । बैंकले सिंगल डिजिट ब्याजदरमै कर्जा उपलब्ध गराउन प्रतिस्पर्धामा उत्रिएका छन् ।
गत आवको मौद्रिक नीतिमार्फत नै सरकारले घरजग्गा र शेयर बजारमा जाने कर्जामा गरिएको कडाई पनि खुकुलो बनाउँलै लगिरहेको थियो ।
पछिल्लो समय अर्थतन्त्र सहज अवस्थामा फर्किन थालेपछि बैंकबाट कर्जा लिएर लगानी गर्ने बढ्न थालेको भूमि विभागको तथ्यांकले नै देखाउँछ । व्यापार व्यवसायसँगै रोजगारीबाट हुने आम्दानी बढ्न थालेपछि नियमित किस्ता बुझाउने ऋणीको संख्या पनि बढ्न थालेको छ ।
यो पनि पढ्नुहोस्